महामारीका बेला राज्यप्रति नागरिक अविश्वास
सरकारले आफ्नो लागि केही गर्छ भन्ने नागरिकलाई विश्वास छैन । सरकारप्रतिको नागरिकको यो अविश्वास लोकतन्त्रका लागि पनि खतरा हो ।
प्रधानमन्त्रीको अन्तर्वार्ता हालै सार्वजनिक भएको छ । सरकारले कोरोना महामारी नियन्त्रणार्थ लकडाउन गरेको र यो प्रभावकारी दाबी गरेका छन् । अर्थतन्त्रबारे पछि सोचौँला अहिलेलाई ज्यान बचाउने भन्दै प्रधानमन्त्री लकडाउनको बचाउमा छन् । तर, लकडाउनको लागि देशमा महामारी विज्ञानलाई सरकार कसरी राजनीतिक हतियारको रूपमा प्रयोग गर्दै छ, महामारी नियन्त्रणका सरकारी निकाय, स्वास्थ्य विज्ञानका विज्ञ र अभ्यासरत चिकित्सकको भूमिकाबारे प्रश्न उठाउन आवश्यक छ । साथै, महामारीको चिकित्सा विज्ञानसँग जोडिएको पेसागत नैतिक आचार (प्रोफेसनल इथिक्स) बारे प्रश्न अहिले उठाउनै पर्छ । त्यस्तै समाजमा मर्दै गएको संवेदनामाथि पनि प्रश्न उठाउनु वान्छनीय छ ।
संसारभरि फैलिए पनि नेपालमा कोरोना भाइरसको महामारी आएको दाबी गलत हो । नेपालमा महामारीविज्ञान (इपिडिमियोलोजी) को परिभाषा र अर्थमा दुवै आधारमा महामारी होइन । मुख्य कुरा– नेपालमा महामारी आएको दाबी वैज्ञानिक अध्ययनको आधार र कारणबाट भएको होइन ।
भौतिक, रसायन, वा जीवविज्ञान (हार्ड साइन्स) होस् वा समाजविज्ञान (सोसल साइन्स) को वैज्ञानिक ज्ञान उत्पादनको विधि (साइन्टिफिक रिजनिङ) दुइटा हुन्छन् । पहिलो– आगमनात्मक तर्क (इन्डक्टिभ लजिक) र दोस्रो– निगनात्मक तर्क (डिडक्टिभ लोजिक) । पहिलो विधिमा प्रयोगशाला प्रयोग वा अवलोकनको संख्यात्मक आधार वैज्ञानिक सामान्यीकरण गरिन्छ वा निष्कर्षमा पुगिन्छ । दोस्रोमा स्थापित सामान्य परिसर (जनरल प्रीमाइसेस) बाट विशिष्टिकृत निष्कर्ष निकालिन्छ र परिणाम प्रक्षेपण गरिन्छ ।
नेपालमा महामारी छ भनेर दाबी गर्ने पहिलो वैज्ञानिक विधि अर्थात् ‘इन्डक्टिभ लजिक’ का केही आधार छन्: एक– अस्पतालमा बिरामीको चाप हो । अस्पतालले बिरामी संख्याको रेकर्ड राख्छ । त्यो आधारमा अवलोकन गर्दा कोरोना छैन । दुई– रुघाखोकीमा अस्पताल नजाने नेपालीको आदतलाई आधार मान्ने हो भने अज्ञात रोगको कारण मृत्युको संख्या बढ्नुपर्ने हो । तर घाट, चिहानघारी र कब्रस्थानमा अन्त्येष्टिको चाप बढेको छैन । उल्टो लकडाउनमा प्रहरीको कुटपिट, लुकिछिपी घर जाँदा लडेर र गलत उपचारले ३ जनाको ज्यान गइसकेको छ । तीन– रगत, सिँगान, खकारजस्ता मानव शरीरको तरल पदार्थ (बडी फ्ल्युड) को नमुना स्थापित विधिबाट परीक्षणपछि संक्रमण भए/नभएको निष्कर्ष निकालिन्छ । अहिलेसम्मको कोरोना भाइरस देखिएका ३१ मध्ये ३० जना देश बाहिरबाट आएका हुन् । १९ जना त भारतीय नागरिक छन् । साथै, नेपालको परीक्षणमा अहिलेसम्म स्थापित भाइरसको ‘इन्क्युवेसन’ समयावधिसँग पनि मेल खाँदैन । यो तीनै आधारमा देशभित्र महामारी नभएको प्रमाणित हुन्छ ।
दोस्रो– विधि ‘डिडक्टिभ लजिक’ लाई आधार मान्दा अन्य देशका महामारीबारे अध्ययन, प्रकाशित जर्नल र यसको आधिकारिक संस्थाले स्थापित सिद्धान्त र सामान्यीकरणको आधारमा जारी गरेको निर्देशिका हुन् । नेपालले अनुसरण गरेको विश्व स्वास्थ्य संगठनको ‘गाइडलाइन्स’ हो । तर, विश्व स्वास्थ्य संगठन आफैँ कोरोनाबारे निष्कर्षमा पुगेको छैन । दिनैपिच्छे आफैँ ‘गाइडलाइन्स’ फेरिरहेको छ । त्यस्तै, विकसित देशमा अध्ययन अनुसन्धान संस्थाले पनि ठोकुवा गरेको वैज्ञानिक ‘इन्डक्टिभ लजिक’ छैन । साथै, नेपालमा विदेशबाट आएका कोराना भाइरसको संक्रमण भेटिएका भनिएका व्यक्तिमा पनि रोगको लक्षण छैन । यदि संक्रामक रोगको लक्षण छैन भने त्यो व्यक्ति रोगी मानिँदैन । ‘डिडक्टिभ लजिक’ ले पनि महामारी प्रमाणित गर्दैन ।
यो दुवैको आधारमा नेपालमा कोरोनाको महामारी थिएन/छैन । भविष्यको कुरा अनुमानसम्म गर्ने हो । यो विषयमा यस्तै हुन्छ भनेर देशका जानेमाने इपिडिमियोलोजिस्ट वा नेपाल मेडिकल काउन्सिल नै यकिन प्रक्षेपण गर्न सक्ने अवस्थामा छैन । अहिले इपिडिमियोलोजिस्टले गर्ने अन्तर्बाेधीय अनुमान (इन्ट्युटिभस्पेकुलेसन) मात्रै हो । महामारी आउन नदिने उपाय गर्ने हो । समयमा गर्नुपर्ने उपाय गरेन सरकारले । त्यो बेला गरेको कमजोरीले अहिले आम जनताले दु:ख पाइरहेका छन् ।
कोरोनाको सामनामा राम्रो उपलब्धि गरेका देशको अनुभवलाई हेर्दा पनि ओलीको लकडाउनको सफलताको दाबी गलत छन् । महत्त्वपूर्ण उदाहरण मानिएको न्युजिल्यान्डको सफलता लकडाउन होइन, सीमाबन्द हो । देशभित्र आउने सबै हवाई र जलमार्ग बन्द गर्यो । विदेशबाट आएका सबैको पहिचान गर्दै अनिवार्य ‘क्वारिन्टिन’ मा राख्यो । त्यसपछि लकडाउन गरिएको थियो । तर, लकडाउन यस्तो अमानवीय थिएन । ४८ घण्टाअगाडि घोषणा गरिएको थियो । त्यस्तै ताइवानले यस्तो लकडाउनबिना नै कोरोना भाइरस नियन्त्रण गर्न सफल भएको छ । उत्तर कोरियाको उल्लेख नगरौँ ।
लकडाउन लम्बिनुको खास कारण छन् । पहिलो– सरकार योभन्दा अगाडि भएका कमी–कमजोरी ढाकछोप गर्दै छ । ताइवान र न्युजिल्यान्डले सबै हवाई उडान बन्द गरेको समयमा नेपाल कोरोनामुक्त देश घोषणा गर्दै थियो, सरकार । अन्तर्राष्ट्रिय हवाई उडान बन्द र समयमा सीमा सिल भएन । दोस्रो– सम्भावित संक्रमितको पहिचान गर्न कमजोरी देखियो । हवाईमार्गबाट लकडाउनको १५ देखि ३० दिन अगाडिसम्म आएकाको पहिचान गर्ने र तिनको परीक्षण गर्ने कार्य गर्न सकेन । पहिचान गर्ने रणनीतिमै चुक्यो । ‘फ्लाइट मेनिफेस्टो’ मा यात्रीको नाम र पासपोर्ट नम्बर हुन्छ । सबै एमआरपी भएपछि ठेगाना र फोन नम्बर पनि पाइन्छ । जीपीएस तथा फोन ट्रयाकिङ प्रविधिको प्रयोग गरेर पत्ता लगाउन सकिन्थ्यो । केहीको सिम सक्रिय नभएकाको स्थानीय सरकारसँग सहयोग लिएर प्रहरीले ट्रयाक गर्न सक्थ्यो, स्थायी ठेगानामार्फत ।
स्थलमार्गबाट आएकालाई नाकामै ‘क्वारिन्टिन’ पनि गरेन । स्थानीय सरकारको वडा कार्यालय र जनप्रतिनिधि, सबै राजनीतिक पार्टीको स्थानीय कमिटी/समितिबाट सहयोग लिएर विवरण संकलन गर्न सक्थ्यो । उनीहरूलाई ‘क्वारिन्टिन’ मा राख्ने र परीक्षण गर्न सक्थ्यो । ‘क्वारिन्टिन’ को लागि सरकारी विद्यालय, कलेज वा अन्य सार्वजनिक स्थलमा राख्ने र रेडक्रस र अन्य संस्थासँगको सहयोगमा खाने–बस्ने व्यवस्था मिलाउन सक्थ्यो ।
तेश्रो– यी दुई कमजोरी लुकाउँदै सरकार कामको परिणाम र उपलब्धि देखाउन चाहन्छ । लकडाउन लम्बाएको कारणले कोरोना नियन्त्रण परिणामको रूपमा आएको भन्ने वैज्ञानिक तर्क स्थापित गर्न खोज्दै छ । तर लकडाउनकै कारण संक्रमण नियन्त्रण आएको प्रामाणिक दाबी इपिडिमियोलोजिस्ट गर्न सक्दैन ।
चौथो– सरकारले गत निर्वाचन घोषणापत्रमा सरकार गठनको एक, दुई र तीन वर्षमा गर्ने भनेका वाचा पूरा नहुने भएपछि लकडाउन लम्बाउने र कोरोना भाइरसको कारण आफ्नो नारा ‘समृद्ध नेपाल, सुखी नेपाली’ पूरा गर्न नसकेको भनेर लाज ढाक्ने अवसरको रूपमा लिँदै छ ।
पाँचौँ– सबैभन्दा महत्त्वपूर्णचाहिँ नेकपाभित्रको सत्ता संघर्ष व्यवस्थापनार्थ ओली लकडाउनको उपयोग गर्दै छन् । यसै मेसोमा उनले संकटकै बीच दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेका छन् । यसअगाडि स्वतन्त्रता र जीवन एक छान्नु पर्ने भनेको लकडाउनलाई पार्टीभित्रको सत्ता संघर्षमा रणनीतिक प्रयोग गर्नको लागि हो ।
यस विषयमा विपक्षी दल पनि चुकेको छ । यत्रो लामो समयसम्म कोरानाबारे सरकारसँग संसद्मा छलफल गर्न माग गरेन । लकडाउन घोषणाको वैज्ञानिक आधारमाथि प्रश्न उठाएन । स्वास्थ्यमन्त्री भइसकेका एक नेताको प्रारम्भका प्रत्येक कदम सरकारको यो हठात र अमानवीय कदम चाल्न प्रोत्साहित मात्र गरिरहेको थियो ।
यसमा सरकार र प्रतिपक्ष मात्र प्रश्नको घेरामा छैन । सामान्य र अस्पतालमा अभ्यासरत चिकित्सक समुदाय, नेपाल मेडिकल काउन्सिल, सरकारलाई परामर्श दिने इपिडियोमोलोजिस्ट, कोरानाविज्ञका रूपमा सञ्चारमाध्यममा छाएकाहरू र प्रबुद्ध वर्गले यो अमानवीय लकडाउन गर्न सामाजिक दबाब बनाउनेलाई पनि प्रश्नको कठघरामा उभ्याउनुपर्छ ।
हामीले बुझ्नुपर्नेचाहिँ मानिसको जीवन आधुनिक औषध विज्ञानको अभ्यास, अध्ययन/अध्यापनभन्दा अगाडि पनि थियो । त्यस बेला पनि मान्छे बाँचेका थिए । त्यसैले नै उनीहरूको सन्ततिको रूपमा हामी छौँ । अहिले केही हजारले घाँटीमा स्टस्थोस्कोप बेरेर सेतो कोट पहिरिए भन्दैमा त्यसैलाई मात्रै वैज्ञानिक आधार मानेर अगाडि बढ्ने चेष्टा गरियो । त्यही विज्ञानलाई पनि सदुपयोग गरिएन । यसैले गर्दा राज्य, सरकार र समाजले नै विवेक र संवेदनशीलता गुमायो ।
आर्थिक विकास स्तर जे सुकै भए पनि जुनसुकै समाजमा वाद शास्त्र, तर्क, विज्ञान र ज्ञानभन्दा मान्छे जहिल्यै पनि उच्च छ किनभने यो सबैको सिर्जना मानिसले गरेको हो । यो सबैको प्रयोग मानिसको जीवनरक्षा, सुख र खुसीका लागि हो । यदि यो सबै मानिसकै जीवनमा कष्ट, दु:ख, पीडाको कारण बन्छ भने त्यो ज्ञान परित्यज्य छ ।
लकडाउनले सिर्जित गरिबहरूको अवस्थाले नेपाली समाजको आधार र जग हल्लाइदिएको छ । नेपाली समाजले मानवीयता र मानवीय संवेदना बिर्सदै गएको रहेछ । विवेक र ज्ञान नभए पनि मान्छेको रूपमा अस्तित्व रहला तर संवेदना वा सहानुभूति (एम्प्याथी) गुमायो भने मान्छे रहँदैन । तर, लकडाउनको समयमा दैनिक ज्यालादारी गर्नेसँग बचत हुँदैन भन्ने ख्यालै नगरी मान्छेको मुखै छैन र खानै पर्दैन भनेजस्तो ज्ञानको विमर्श हाबी भयो । संसारमा विद्यमान वाद, शास्त्रको उद्देश्य मानव कल्याण हो । ‘एम्प्याथी’ लाई मस्तिष्कमा स्थायीवास गराउने हो । यसैले मानिस सामाजिक र विवेकशील ठहरिएको हो । विज्ञानले प्रगति गरेको चन्द्रमामा रकेट पठाएर वा एटम बम बनाएको सूचक होइन । ती त ज्ञान–विज्ञानको सहउत्पादन मात्र हुन् ।
हरेक समाजमा संवेदना र सहानुभूतिलाई उत्तिकै महत्त्व दिइन्छ । वेद, पुराण, हिन्दु धर्मशास्त्र विभिन्न देवदेवीको वर्णन छ । आस्तिकको लागि देवीदेवता पूजा ईश्वर भक्तिको प्रतीक हुन् । तर, ती नास्तिकको लागि पनि नैतिक आचारको संकेत हुन् । जस्तै: हिन्दु धर्मको तीन सुनौला नियम छन् । पहिलो– ‘अष्टादश पुराणेषु, व्यासस्य वचनद्वयं, परोपकार: पुण्याय, पापाय परपीडनं ।’ दोस्रो– ‘अहिंसा मरमोधर्म ।’ तेस्रो– ‘धर्म इभ हतो हन्ति, धर्म रंक्षन्ति रक्षित: ।’ यी सबैको सार निसहायप्रति ‘एम्प्याथी’ देखाउनु भन्ने हो । त्यो हाम्रो समाजको आधार हो । त्यस्तै ‘वल्ड टेस्टामेन्ट’, ‘न्यु टेस्टामेन्ट’, कुरान र त्रिपिटकले पनि ‘एम्प्याथी’ लाई जोड दिएको पाइन्छ ।
नास्तिक, द्वन्द्वात्मक भौतिकवादी र चिकित्साशास्त्री, भौतिकवादीले धर्मको नाम नलिकनै पनि ‘एम्प्याथी’ देखाउन सक्छन् । आदम स्मिथले उनको ‘थ्योरी अफ मोरल सेन्टिमेन्ट’ मा शास्त्रीय पुँजीवाद ‘एम्प्याथी’ यसरी निर्दिष्ट गर्छन्, ‘मान्छेलाई जतिसुकै स्वार्थी ठाने पनि ऊबारे आत्मसिद्ध केही सिद्धान्त छन्, सोझै बदलामा केही नपाए पनि अरुको विषयमा संवेदनशीलता राख्छ र अरुको खुसीमा आनन्द महसुस गर्छ ।’
संवेदनहीन लकडाउनले दैनिक ज्यालादारी मजदुर, सडकपेटीका साना व्यापारी, साना चिया/खाजा पसल चलाउने, निर्माण मजदुर, साना रेष्टुरेन्ट मजदुर, घरेलु/पसलका कामदार, ट्रकका खलासी, कुल्ली, ट्याक्सी चालक, दरवान लकडाउनमा हिँडेरै थातथलोतर्फ लागे । सोलुबाट कैलाली हिँडेर गएको र हातमा ५ महिनाको बच्ची च्यापेर ७ महिनाको गर्भिणी महिला ६ सय किलोमिटरको पैदल यात्रा गरेको समाचार पढ्नु पर्यो । तर, प्रधानमन्त्रीले यसलाई पनि सरकारविरुद्ध षड्यन्त्र देखे ।
त्यो पैदल यात्रा रहर होइन, बाध्यता हो । प्रधानमन्त्रीले जतिसुकै दाबी गरे पनि उनको दाबीलाई नागरिकले पत्याएनन् । त्यो बाध्यता भनेको नागरिकलाई सरकारप्रति विश्वास छैन । सरकारले आफ्नो लागि केही गर्छ भन्ने नागरिकलाई लाग्दैन । त्यो विगतमा पनि थिएन र अहिले पनि छैन । यही दिशा र दशा कायम रहे भविष्यमा पनि सरकारले केही गर्छ भनेर विश्वास गर्ने छैनन् । सरकारप्रतिको नागरिकको यो अविश्वास लोकतन्त्रका लागि पनि खतरा हो ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...