महामारीमा मौलाएको नश्लवाद
अमेरिका र भारतमा जुन रूपमा शासन सत्तामा रहेकाहरूले विभेदलाई प्रोत्साहन दिने अभिव्यक्ति दिए, कामकारबाही गरे, त्यही किसिमको हुन सक्छ, राज्यको शून्य उपस्थिति ।
संक्रमणले कुनै जात वा धर्म हेर्दैन, न धर्म वा जात आफैँले विभेदका निम्ति अवसरको पर्खाइ गरिरहेको हुन्छ । जब धर्म, रंग, जात, वा राष्ट्रियतामाथि राजनीतिको गाढा कालो रंग पोतिन्छ, तब यही आधार लिएर हिंसाको सिर्जना हुन्छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५ अप्रिलमा सम्पूर्ण देशबासीलाई अरू बत्ती बन्द गरेर ९ मिनेटका लागि ममबत्ती वा दियो बाल्न सन्देश प्रवाह गरे । प्रधानमन्त्रीको सन्देशलाई मान्दै देशभर दिया जले । तर गुरुग्रामस्थित न्यु कोलोनी क्षेत्रमा एक मुस्लिम परिवारमाथि हमला भयो ।
भारतीय सञ्चार माध्यम इन्डिया टुडेका अनुसार जमाती मुस्लिममा कोरोना फैलाएको आरोप लगाउँदै दियो बाल्न घरको बरन्डामा निस्किएका बेला सडकबाट सुरुआतमा गाली र त्यसपछि कुटपिट भएको थियो । त्यस्तै, उत्तर प्रदेशको मेरठस्थित एक क्यान्सर अस्पतालले त झन् स्थानीय अखबारमै विज्ञापन छाप्यो ।
द वायरका अनुसार स्थानीय दैनिक जागरण पत्रिकामा ५० शैया रहेको उक्त अस्पतालमा भर्ती हुन चाहने नयाँ बिरामी र उनलाई हेरचाह गर्न बस्ने व्यक्ति मुस्लिम भए कोभिड– १९ को संक्रमण नभएको प्रमाण पेस गर्नुपर्ने सार्वजनिक सूचना निकाल्यो । मुस्लिमलाई मात्रै लिएर अस्पतालले यो सूचना निकालेको थियो ।
भारतमा देखिएका यस्ता घटनाहरू थुप्रै छन् । भारतबाहेकका युरोपेली तथा अमेरिकीसँगै अन्य देशहरूमा पनि कोभिड– १९ को महामारीबीच धर्म, जात, रंग, सम्प्रदायलगायत आधारमा विभेद भएका छन् ।
एसियाली अस्ट्रेलियन गठबन्धनले गरेको अध्ययनअनुसार १७ अप्रिलसम्म अस्ट्रेलियामा १ सय ७८ वटा यस्ता घटना घटे, जसमा अभिव्यक्तिदेखि हातपात र हिंसासम्म भएका छन् ।
अमेरिकाको सिकागो, डेट्रोइटलगायत सहरमा कोरोना संक्रमितमध्ये मृत्यु हुनेमा काला जातिका मानिस ६७ प्रतिशत रहेको भेटिएको छ । जबकि त्यहाँको जनसंख्यामा काला जातिका मानिस २७ प्रतिशत मात्रै छन् । काला जातिको मृत्यु ज्यादै हुनुमा उनीहरूमा रोगप्रतिरोधात्मक क्षमता कम भएको भन्दै फैलाइएको अफवाह मात्रै भएको यो सामग्री छाप्ने मदरजोन्सले तथ्य निकालेको छ ।
तथ्यांकअनुसार काला जातिमा संक्रमण धेरै देखिनु पछाडिको कारण अमेरिकी वा त्यहाँ बसोबास गर्ने नागरिकमध्ये गोराबाहेकका अन्य मानिस प्राय: उबर (ट्याक्सी) चलाउने, डिपार्टमेन्ट स्टोरमा काम गर्नेलगायत पेसामा आबद्ध भएका देखिन्छन् । यस्तो पेसा धेरैभन्दा धेरै मनिससँग सम्पर्कमा आउनुपर्ने हुन्छ ।
पेसाका कारणले जोखिममा भएको एउटा पाटो छ । तर जोखिम उच्च भएकाहरूमा संक्रमण देखिएपछि अस्पताल लैजाँदा गोरालाई भन्दा निकै निम्न स्तरीय व्यवहार गरेको तथ्यसहित मदरजोन्सले सामग्री प्रकाशित गरेको छ । यसो हुनु भनेको कुनै मानिसलाई उसको नश्ल वा रंगको आधारमा बाँच्न पाउने नैसर्गिक अधिकारबाट विमुख गराउनु हो ।
महामारीमा नश्लीय व्यवहार
पंक्तिकारले माथि उल्लेख गरेका उदाहरण वैश्विक महामारीको समय देखिएका विभेदमध्येका केही हुन् । चीनको वुहानमा कोभिड–१९ को संक्रमण देखिएपछि चिनियाँ अनुहार वा तिनीहरूसँग मिल्ने नश्ल भएका अमेरिकी नागरिकमाथि नै विभिन्न रूपमा सामूहिक वा असामूहिक प्रहार भएका छन् ।
नागरिक स्तरमा भएका प्रहार जटिल हुन् । यी प्रहारभन्दा महत्त्वपूर्ण हो– राज्यले प्रसारण गर्ने भाष्य । तर अमेरिकामा सयौँको संख्यामा संक्रमण भइसक्दा, दसौँ हजारको संख्यामा मानिसको मृत्यु भइसक्दा पनि त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पले पटक–पटक आफ्नो अभिव्यक्तिमा कोरोनालाई ‘चाइना भाइरस’ को नाम दिँदै अमेरिका लड्न तयार रहेको भन्दै देशलाई सम्बोधन गरे ।
अमेरिकामा भएको घटना प्रतिनिधि उदाहरण मात्र हो । राज्य स्तरबाट भएको अभिव्यक्तिका कारण विभिन्न ठाउँमा चिनियाँ नश्लका देखिनेमाथि हमला भएका घटनाहरू घटे । यसमा राज्यले बोलेको कुराले निकै भूमिका खेल्ने प्रमाणित गर्छ ।
यसैगरी दिल्लीको नमाजुद्दीन सभाबाट कोभिड– १९ फैलिएको भन्ने आरोप सरकारी स्तर र केही सरकार निकट सञ्चार माध्यमले लगाइरहेका छन् । यस्तो अवस्थामा भारतमा भएका मुस्लिम, त्यसमा पनि बढी जमातीमाथि हमलाहरू भएका छन् ।
राज्यले महामारीको समयमा देश र जनतालाई सम्बोधन गर्ने हो । कुनै नश्ल वा धर्म विशेष भएर सम्बोधन गर्दा जटिलता उत्पन्न हुन्छन् । यस्ता जटिलताले वर्तमानमा मात्रै नभएर दीर्घकालसम्म पनि असर गरिरहेका हुन्छन् । भारत वा अमेरिकाकै सन्दर्भमा हेर्दा जात, धर्म, रंग, नश्ल वा सम्प्रदायका मानिसलाई सम्मान र समान व्यवहार गर्ने/हुनुपर्ने संवैधानिक व्यवस्था छन् । तर अन्य समय पनि नजानिँदो किसिममा विभेदका बाछिटाहरू यी क्षेत्रमा फैलिएका थिए ।
वर्तमान समयमा महामारीका बाबजुद विभेदले जुन रूपमा बाछिटाबाट बाढीको रूप लिइरहेको छ, यसले दीर्घकालमा अर्को द्वन्द्वको सिर्जना गर्छ ।
भारतमा अहिले भइरहेका घटनाहरूमा इतिहासले केही मात्रामा असर गरिरहेको छ । भारतमा महामारी फैलिनुमा मुस्लिमलाई जुन रूपमा कारक मानिएको छ, यसले नयाँ विभेदकारी भाष्यको निर्माण गरिदिन्छ । हिन्दु–मुस्लिमबीचमा शताब्दी अगाडिदेखि चलिआएको विभेदमा अहिले नयाँ कारण थपिदिन्छ । राज्यले निर्माण गरिरहेको भाष्यले त्यसलाई थप प्रोत्साहन दिन्छ । उत्तर प्रदेशका मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीले नै अहमदावाद सिभिक हस्पिटलमा मुस्लिम र हिन्दुका निम्ति फरक–फरक वार्ड बनाउन लगाएको तथ्य इन्डियन एक्सप्रेसले सार्वजनिक गरेको थियो ।
दुई धर्मका मानिसका बीचमा विभेद नहोस् भन्ने अभिप्रायले यो व्यवस्था गरिएको भए प्रश्न उठ्ने थिएन । तर धर्मअनुसार छुट्याइएका वार्डहरूमा बिरामीलाई गरिने व्यवहार पनि फरक हुनुले विभेदको नयाँ भाष्य निर्माण गरेको छ । हिन्दुले मुस्लिममाथि गर्दै आएको विभेदका कारण आम नागरिकले सोच्ने चेतनामा सरकारी स्तरका मानिसले चालेको यो कदमले अर्को असर पुर्याएको छ । दीर्घकालमा यस असरको परिणाम धार्मिक द्वन्द्व हुन जान्छ ।
भारतमा मुस्लिम र अमेरिकामा गोराबाहेकका मानिसप्रति रहेको विभेदले महामारीको समय पनि स्थान पाउनु आफैँमा जोखिम हो । तर कुनै मानिस आफ्नो धर्मकै कारण वा अनुहारको रंग एवं नश्लकै कारण देशको नागरिक हुँदाहुँदै पनि विभेदको चपेटामा परेर स्वास्थ्य सेवाबाट वञ्चित हुनु र बाँच्न पाउने नैसर्गिक अधिकारबाटै विमुख हुनुपर्ने स्थिति आउनु असंवैधानिक मात्रै नभएर अमानवीय पनि हो ।
सञ्चारको विभेदकारी भाषा
संक्रमण कुनै जात वा धर्म हेरेर फैलिँदैन । वा न कुनै रंग, नश्ल, सम्प्रदाय हेरेर फैलिन्छ । तर अहिले विश्वमा फैलिएको महामारीलाई सञ्चार माध्यमहरूले प्रसारण गर्ने होडबाजीमा नयाँ किसिमको भाष्य सिर्जना गरिरहेका छन् ।
केही दिनअघि नेपालको जनकपुर क्षेत्रमा दुई महिलाले नोट फ्याँकेको भन्ने कुरा चर्चामा आयो । साथै, ‘उदयपुरमा भेटिएका संक्रमित मुस्लिम’ भएको कुराले निकै चर्चा पायो । समाचार प्रसारण हुनु र नागरिकलाई सचेत गराउनु सञ्चार माध्यमको पहिलो धर्म र कर्तव्य हो । तर जनकपुर र उदयपुरको घटनालाई सञ्चार माध्यमले जुन रूपमा प्रस्तुत गरे, त्यसले नागरिकको चेतनामा ‘मुस्लिमले भाइरस फैलाउने’ भन्ने भाष्य निर्माण गरिदियो । सञ्चार माध्यमले प्रसारण गर्ने समाचारको हेडलाइनमा ‘मुस्लिम’ शब्दलाई अति महत्त्व दिँदै प्रसारण गरिए । र, जनकपुरको घटनामा झन् दुई महिलाको धर्म मुस्लिम भएकै कारण ‘नोटमा थुक लगाउँदै फालेको’, ‘कोरोना संक्रमण फैलाउन पैसा फालेको’ भन्ने किसिममा सञ्चार माध्यमले विशेष महत्त्वका साथ प्रसारण गरे । यसले क्षणिक समयका निम्ति सञ्चारका पाठकको संख्यामा वृद्धि गराए पनि समाजमा दीर्घकालीन असर परिसकेको थियो ।
अहिले सामाजिक सञ्जालमा ‘मुस्लिमले भाइरस फैलाउने’ देखि ‘मुस्लिम कोरोना भाइरस नेपालमा ल्याएर आउने एजेन्ट हुन्’, ‘भाइरस फैलाउने मुस्लिमलाई गोली हान्नुपर्छ’ भन्नेसम्मका टिप्पणीहरू प्रसारण भइरहेका छन् । यसले समाजमा भोलिको दिनमा द्वन्द्व निम्त्याउँछ ।
महामारीको समय गलत सूचना मात्रै हानिकारक हुने नभएर त्यसलाई हेर्ने दृष्टिकोण र प्रसारण गर्ने माध्यमका पाठक कति छन् भन्ने कुराले प्रभाव पारिरहेको हुन्छ । सञ्चारमा छापिने सामग्रीलाई जुन रूपको दृष्टिकोण दिएर प्रसारण गरिन्छ, त्यसले यो समय झन् धेरै महत्त्व राख्छ ।
नेपालमा हेर्दा अहिले सञ्चार माध्यमले भेटिएका ३१ मध्ये १५ जना मुस्लिम भएको कुरालाई जुन रूपमा बढावा दिएर प्रसारण गरिरहेका छन्, त्यसले समाजमा विखण्डन ल्याउने देखिन्छ ।
भारतीय पत्रिका द हिन्दुमा केही दिनअघि छापिएको कार्टुनमा कोरोना भाइरसलाई पात्रको रूपमा र पृथ्वीलाई बन्दीको रूपमा देखाइएको थियो । कोरोना भाइरसको रूपमा देखाइएको पात्रले लगाएको कपडा मुस्लिम समुदायका पुरुषको थियो । द हिन्दुजस्तो निरपेक्ष पत्रिकाले पनि अबुझपूर्ण ढंगले आतंककारीको पर्याय मुस्लिम हुन् र कोरोना फैलाउनेहरू आतंककारी हुन् भन्ने किसिमको सन्देश फैलाउन मद्दत गर्यो । द हिन्दुले पछि माफी मागे पनि उक्त कार्टुन कतिले हेरे, कार्टुन स्पष्ट नहुँदा त्यसलाई कुन रूपमा बुझे र पछि हिन्दुले मागेको माफीलाई कतिले ध्यान दिए भन्ने कुरा मुख्य हो ।
यस्ता अबुझपूर्ण रूपमा प्रवाह गरिएका सन्देशहरू विभेदकारी हुन सक्छन् भन्ने दृष्टिगत नगरीकन सञ्चार गरिएका सामग्रीले थप धार्मिक द्वन्द्व नित्याउन सक्ने स्पष्ट देखिन्छ ।
हिन्दुको सन्दर्भजस्तै नेपाली सञ्चारलाई हेर्दा उही किसिमको अवस्था सिर्जना नहोला भन्न सकिँदैन । नेपाली सञ्चार माध्यम, त्यसमा पनि अनलाइन, इन्टरनेटका माध्यममा अहिले नेपालमा भेटिने संक्रमितलाई भन्दा ज्यादा महत्त्व उनीहरूको धर्मलाई दिइएको छ ।
संक्रमित भेटिँदा उसको धर्म मुस्लिम भए, त्यसलाई हेडलाइनमा राख्दै पाठक तान्न तल्लीन रहेका सञ्चार माध्यमले यसले समाजमा के–कस्तो असर पारिरहेको छ भन्ने बुझ्नुपर्छ । मिडिया साक्षरता त्यसै पनि कम भएको नेपालजस्तो देशमा हेडलाइनको भरमा दृष्टिकोण बनाउने पाठक हुँदा यस्ता कार्यले समाजलाई विखण्डन गरिरहेका हुन्छन् ।
राज्यको मौनता भयावह
कोभिड– १९ जस्तो वैश्विक महामारीको सन्दर्भमा राज्यको उपस्थिति ज्यादै महत्त्वपूर्ण हुन्छ । भारतको छिमेकी भएका कारण नेपालमा त्यहाँ भएका घटनाहरूको असर प्रत्यक्ष परिरहेको हुन्छ । जुन रूपमा भारतमा राज्य स्तरबाटै कोभिड– १९ को महामारीमा पनि मुस्लिम र हिन्दुबीचमा द्वन्द्वलाई प्रोत्साहित गरिरहेको छ, त्यसले नेपालमा पनि प्रत्यक्ष असर गर्छ ।
जनकपुरमा दुई महिलाको सन्दर्भमा सञ्चारमा छाएका कुरालाई लिएर प्रदेश २ का मुख्यमन्त्रीले सामाजिक तथा धार्मिक सहिष्णुतालाई खलल पुर्याउने किसिमले समाचार प्रसारण नगर्न अनुरोध गरेका थिए । प्रदेश स्तरबाट भएको यो अनुरोध निकै महत्त्वपूर्ण छ । राज्यको सम्बन्धित व्यक्तिले यस्तो विषयमा बोल्दा त्यसले आम नागरिकसम्म प्रत्यक्ष असर पारिरहेको हुन्छ ।
संघीयताको अभ्यासमा रहेको नेपालमा संघीयजस्तै केन्द्रबाट पनि यस्ता विषयमा सम्बोधन हुन आवश्यक छ । शून्यप्राय: उपस्थिति मात्रै देखाए यस्ता सम्बन्धमा राज्यको सहमति छ भन्ने सन्देश आम नागरिकमा प्रवाह हुन सक्छ । अमेरिका र भारतमा जुन रूपमा शासन सत्तामा रहेकाहरूले विभेदलाई प्रोत्साहन दिने अभिव्यक्ति दिए, कामकारबाही गरे, त्यही किसिमको हुन सक्छ, राज्यको शून्य उपस्थिति । सञ्चार माध्यमदेखि आम जनमानसमा यस्ता कुराले पार्ने असरले अर्को भयावह स्थिति सिर्जना गर्न सक्छ ।
राज्यले महामारीको समय अन्य विषय सँगसँगै हुन सक्ने सम्भावित द्वन्द्वलाई पनि सम्बोधन गर्न आवश्यक छ । जनमानिसदेखि सन्देश प्रवाह गरिरहेका सञ्चार माध्यमलाई यस किसिमका विषयमा संयमित र संवेदनशील भएर अगाडि बढ्न राज्यले अनुरोध गर्न सक्छ । अहिले नेपालमा सामाजिक सञ्जाललगायतमा मुस्लिम धर्म मान्नेहरूमा देखिएको संक्रमणलाई लिएर गरिएका विश्लेषण सुनामी अगाडि उठ्ने ज्वारभाटासरह हुन् । भारतमा जस्तै यी कुराले भोलि हिंसाको रूप लिन सक्छन् । त्यसैले पनि, राज्यले यो विषयमा संवेदनशील भएर सम्बोधन गर्न आवश्यक छ ।
राज्यले संवेदनशील भएर यस्ता विषयमा सन्देश दिन नसके नागरिक अफवाहको सिकार भई कलोकल्पित तथ्यलाई आधारमा मानेर विभिन्न हिंसाको सुरुआत हुन सक्छ । अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइलाई आधार मानेर, अफवाहको पछि लागेर अहिले त्यहाँका विभिन्न राज्यमा लकडाउन हटाउनुपर्छ, खुल्ला रूपमा हिँड्न पाउने जनताको अधिकार हो भन्ने किसिमका अनुपयुक्त नारा लगाई प्रदर्शन भइरहेका छन् । नेपालमा पनि विभेदको पूर्वसन्ध्यामा देखिने यस्ता लक्षण देखिएको समय राज्य मौन भएर बसे भोलि यसले ठूलो आगलागीको रूप लिन सक्ने जोखिम देखिन्छ ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...