कोरोनापछि एसियाली अग्रता
भूमण्डलीकरणको फेरोमा गुजुल्टिएको विश्व अर्थराजनीति समयान्तरले अब युरोप/अमेरिकाबाट एसियामा ‘सिफ्ट’ हुँदै छ, जसलाई चीनले अग्रता दिने सम्भावनाहरू देखिन थालेका छन्
चीनको बुहानबाट गत डिसेम्बर अन्तिममा देखिएको कोरोना भाइरस (कोभिड –१९) ले विश्वव्यापी महाव्याधिको रूप लिएको छ । यतिबेला सिंगो मानव जाति भयानक पीडा, बेचैन र त्रासमा बाँचेको छ । कोभिड– १९ कै कारण २२ वैशाखसम्म विश्वभर करिब २ लाख ४८ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् भने ३५ लाखभन्दा बढी संक्रमित छन् ।
चीनबाट फैलिएको महाविपत्तिले दक्षिण कोरिया, इरान, मध्य युरोपका विकसित राष्ट्रहरू हुँदै अमेरिकालगायत अन्ट्राटिकाबाहेक सबै महादेशमा हाहाकार मच्चिएको छ । कोभिड–१९ बाट पुँजीवादी महाशक्तिदेखि समाजवादका हिमायतीहरू कोही पनि अछुतो रहेनन् । आज सर्वत्र लकडाउनका कारण आधा विश्व कोठाभित्र थुनिन बाध्य छ । ज्ञान र विज्ञानका क्षेत्रमा भएका अभूतपूर्व चमत्कारहरू एक सानो जीवाणुसामु फिक्का बन्दै छन् ।
व्यक्ति, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय समुदाय मात्रै होइन, विश्वका सबै सञ्चार माध्यमहरू कोरोनामय बनेका छन् । यसका कारण विश्व अर्थव्यवस्थामा ठूलो परिवर्तन आउने निश्चित छ । इतिहासमा यस्ताखाले महाविपत्ति भने नआएका होइनन् । ब्युबोनिक प्लेग, एसिएन फ्लु, एचआईभी/एड्स, सार्स, मर्स, स्वाइन फ्लु, इबोलाजस्ता महामारीका कारण करोडौँ मानिसले ज्यान गुमाए । मानव जातिले ती रोगलाई जितेरै यहाँसम्म आइपुगेको हो । केही क्षतिको पीडाबोध गराउँदै मनुष्यलाई सबक सिकाएर कोभिड–१९ परास्त हुने निश्चित छ । तर यसले आज वैश्विक साम्राज्य तीव्र वेगमा हाँकिरहेको छ ।
कोभिड–१९ विषाणुले नेपालमा दोस्रो चरणमा प्रवेश गरिसकेको छ । हाम्रोमा चिनियाँ मोडलको लकडाउन प्रयोगमा छ । संक्रमितहरू अत्यन्त कम संख्यामा छन् । जनजीवन त्रसित भए पनि मृत्युमाथि विजय प्राप्त गरिरहेका छन् । पछिल्लो तथ्यांकअनुसार नेपालमा हालसम्म ७५ जना कोरोना संक्रमित पुगेका छन्, जसमध्ये १६ जना सफल उपचारपछि घर फर्किसके ।
वातावरणविज्ञहरू भन्छन्– प्रकृतिको चरम दोहन र पर्यावरण विनासका कारण यस्ताखाले महामारीहरू बेलाबेला आइरहन्छन् । प्राकृतिक वासस्थानको विनास र व्यापार नै विषाणु फैलिने मुख्य कारण हुन् ।
डब्लुएचओका अनुसार ६० प्रतिशत रोग पशुपन्छीबाट फैलिन्छ । जस्तै, इबोला, डेंगु, बर्ड फ्लु, सार्स आदि । कोरोना निमोनियाजस्तो देखिने श्वासप्रश्वाससम्बन्धी रोग हो । यो भाइरल भएकाले आजका मितिसम्म यसको खोप बनिसकेको छैन । पशुपन्छीमा निहित ब्याक्टेरिया, भाइरस, प्यारासाइटबाट मानिसमा सर्ने यो जुनोटिक रोग हो । त्यसकारण प्रकृतिमाथिको दोहन गरिँदा कोरोनाले मानव जातिलाई दण्ड दिइरहेको छ ।
विशाल औद्योगिक कलकारखानाहरूको विकासले तिनबाट उत्सर्जित विशालु ग्यासकै कारण पर्यावरण दूषित बन्छ र यसको असर ओजोन तहमा समेत पर्छ । यसैको परिणाम यी विनासकारी महाविपत्तिहरू प्रकट भइरहन्छन् ।
कोरोना प्रभाव जनस्वास्थ्यमा मात्र सीमित नरही आर्थिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा झन् गहिरो रूपमा देखा परेको छ
चार महिनामा विश्व परिस्थितिमा ठूलो फेरबदल आएको छ । कोरोना प्रभाव जनस्वास्थ्यमा मात्र सीमित नरही आर्थिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा झन् गहिरो रूपमा देखा परेको छ ।
अर्थविद्हरूका अनुसार विश्वका बलिया अर्थतन्त्रमा १९३० र २००८ पछिकै महामन्दी ल्याउने पक्का छ । हिजो ज्ञान–विज्ञानको मलिलो भूमि युरोप, अमेरिका मानिन्थे । अर्थतन्त्र, शिक्षा र विकासका हिसाबले निकै अगाडि गनिन्थे । तर अब त्यो गणना एसियातिर सर्ने देखिन्छ । गत ३१ डिसेम्बरमा १ करोड २० लाख जनसंख्याको बुहानमा यो ब्याक्टेरिया देखिएसँगै चीनले सम्पूर्ण उपायसहित संक्रमण रोक्न र रोग पत्ता लगाउन तल्लीन हुँदा अमेरिकी, युरोपेलीहरू उसको पीडामा मजाक उडाउनमै व्यस्त देखिन्थे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त यो नयाँ महामारीलाई ‘चाइनिज भाइरस’ नामकरण गर्दै चीनलाई होच्याए ।
रोगलाई राष्ट्रियतासित जोड्न मिल्दैन । उतिबेला इबोला २०१४/२०१६ लाई अफ्रिकी रोग भनियो । यसले चिनियाँ, अफ्रिकी, युरोपेली वा अमेरिकी शरीर केही भन्दैन ।
तर दु:खसाथ भन्नैपर्छ, ज्ञान–विज्ञान र प्रविधि क्षेत्रमा उच्च स्तरको विकास हुँदा पनि मानव जाति किन मानवतालाई नै बिर्संदै छ ? चीनले कोरोना संक्रमण रोक्न जनतालाई सचेत र जागरुक बनायो । अमेरिकाले लापर्वाही नगरेको भए यति भयानक तरिकाले त्यहाँ संक्रमण फैलिने थिएन ।
विश्वकै उत्कृष्ट स्वास्थ्य प्रणाली मानिएको इटालीको विकसित र समृद्ध क्षेत्र लोन्बार्दी असह्य पीडा र सन्त्रासमा बाँचेको छ । इटालीमा पहिलो संक्रमण भेटिँदा युरोपेली युनियनकै केही देशहरूले सीमा बन्द गरी अति आवश्यक स्वास्थ्य सामग्री निर्यात रोकेको घटनाले इयुभित्रकै मानवता धर्मराएको स्पष्ट देखिन्छ ।
चीन, दक्षिण कोरिया, सिंगापुरजस्ता एसियाली देशहरू विषाणुको संक्रमण नियन्त्रण गर्न सफल सावित हुँदै छन् । यही बाटो नेपालले पछ्याइरहेको छ । संक्रमण रोक्न र सम्भावितहरूको खोजीमा सरकार सम्बद्ध पक्षहरू, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि अहोरात्र खटिरहेका छन । देश ४१ दिनदेखि बन्दाबन्दी छ । संक्रमितलाई क्वारेन्टाइनमा राखिएको छ भने सम्भावित व्यक्तिहरूको खोजीलाई तीव्र पारिएको छ ।
कतिपयले रोग प्रतिरोधात्मक क्षमता बढाउन नेपालको घरेलु पद्धतिअनुसारका अदुवा, लसुन, बोझो, बेसार, ज्वानो, तेजपत्ता, जीरा, मेथी, मरिचलगायत प्रयोग गरेर इम्युनिटी पावर बढाउन सहयोग पुर्याउन सक्ने दाबी गरेका छन् । दक्षिण एसियामा यो विधि परापूर्वकालदेखि चल्दै आएको पनि छ । सहजै पहुँचमा हुने भएकाले विपद् घडीमा यस्ता आयुर्वेदिक औषधीहरू बढी प्रयोगमा रहन्छन् ।
कोभिड– १९ बाट चीन विस्तारै तंग्रिन थाले पनि यसको प्रकोप विश्वव्यापी रूपमा बढ्दो छ । कोरोनापछिको वैश्विक व्यवस्थाको केन्द्र फेरिने अड्कल हुन थालिसकेको छ ।
पुनर्जागरण कालपछि युरोपेली देशहरू बेलायत, इटाली, जर्मन, स्पेन, फ्रान्सलगायत शक्तिकेन्द्र मात्रै होइन, साम्राज्यको रूपमा उदाए । तिनले संसारभरि उपनिवेश बनाएर प्राकृतिक स्रोत–साधनको दोहन गरे । शक्ति अहंकारकै कारण मानव जातिले पहिलो र दोस्रो विश्वयुद्ध सामना गर्नुपर्यो । नाफाका लागि अन्धो बनेर मानव जातिलाई नै संकटमा पार्ने पुँजीवादी खेमाको नायक अमेरिका यिनै युद्धबाट उदाएको थियो । शीतयुद्ध १९९१ पछि समाजवादी खेमाको नेतृत्वकर्ता सोभियत संघ विघटन भयो ।
यो घटनाले दुई ध्रुवमा विभाजित विश्व (युएसए र युएसएसआर) एकध्रुवीय रूपमा अमेरिकाको एकाधिकार बन्यो । भूमण्डलीकरणको फेरोमा गुजुल्टिएको विश्व अर्थराजनीति समयान्तरले अब युरोप/अमेरिकाबाट एसियामा ‘सिफ्ट’ हुँदै छ । चीनले त्यसलाई अग्रता दिने सम्भावनाहरू देखिन थालेका छन् ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...