कोरोना संकटबाट सिकौँ, नत्र अझै दु:ख पाउने छौँ
कोभिड– १९ महाव्याधि : २१ औँ शताब्दीमा मानिसको जीवन पद्धति जाँच्ने साधन
र
‘पृथ्वी रक्ष्यति रक्ष्यत:’ – ऋग्वेद
कोरोना भाइरस महाव्याधिको आँधीहुरीले विश्वमा सर्वत्र मार परेका बेला हामी चाहन्छौँ, तपाईंसँग केही आशावादी कुरा गर्न सकौँ । जस्तो, कुनै चमत्कार हुनेछ, भोलि नै एउटा नयाँ भ्याक्सिन आउनेछ र हाम्रा चिन्ताहरू दूर गर्नेछ । कोभिड– १९ शीघ्र इतिहास बन्नेछ । मानव इतिहासमा यो एउटा बुँदका रूपमा मात्र रहनेछ । तर हाम्रो अनुसन्धानले अर्कै इंगित गर्छ र तीन अलगअलग क्षेत्रहरूमा गम्भीर विमर्शको आवश्यकता औँल्याउँछ ।
हाम्रो पहिलो सिफारिस के छ भने कोभिड–१९ महाव्याधिलाई २१ औँ शताब्दीमा मानिसको जीवन पद्धति जाँच्ने साधनका रूपमा लिनुपर्छ । वैज्ञानिकहरूले पूर्वानुमान गरेजस्तै वन फँडानीले गरेको प्रकृतिको विनास, वन्यजन्तुहरूको वासस्थानमा भएका मानव अतिक्रमण र जलवायु परिवर्तनका संयुक्त प्रभावका कारण यस्ता घटनाहरू अझै बारम्बार र विषाक्त भइरहनेछन् । कोभिड– १९ एउटा खतराको घन्टीका रूपमा आएको छ । यसले माग गरेका परिवर्तनलाई हामी कसरी सामना गर्छौं भन्ने कुराले धेरै फरक पार्नेछ ।
कोभिड– १९ महाव्याधि अवश्यम्भावी थियो भन्नेमा हामी विश्वस्त छौँ । पुँजी नि:सृत मानवीय युगमा पुँजीवाद हावी भएसँगै मानव र प्रकृतिको सम्बन्धमा आएको विघटन, गिरावट र ह्रासका कारण यस्ता महाव्याधिहरू अझ निरन्तर भइरहनेछन् । यदि भाइरस मूल कारण हुन्थ्यो भने वर्तमान स्वास्थ्य संकट तथा अन्य सामाजिक, आर्थिक तथा राजनीतिक समस्याको समाधान सहज हुन्थ्यो । तर समस्याको जरो प्रकृतिको उपयोग र दुरुपयोग जारी राख्ने हाम्रो तरिकामा छ । प्राकृतिक व्यवस्था, यसको जटिल पारिस्थितिक प्रणाली र प्राकृतिक वासस्थानसँगको हाम्रो सम्बन्ध विनासक, हस्तक्षेपकारी र अवरोधक बनेको छ । वैज्ञानिकहरूले भनेझैँ यस्तो सम्बन्धले भाइरसहरूलाई उनीहरूको प्राकृतिक ‘होस्ट’ बाट प्रसार भएर जुनसुकै भूगोलमा रहेको मानव जनसंख्यामा फैलिन सघाउँछ ।
अहिले हामीले अत्यधिक उत्पादन र खपतले साँघुर्याएको विश्व समुदायमा कसरी यस्तो महाव्याधि फैलिँदो रहेछ भन्ने देख्यौँ । यात्रा र आवागमनको जटिल सञ्जालले कोरोना भाइरसलाई तत्काल विश्वव्यापी घटना बनाइदियो । कोभिड– १९ न हचुवा घटना हो, न त आश्चर्यजनक नै । यस्तो महाव्याधि विस्फोट हुन्छ वा हुँदैन भन्ने शंका होइन, बरु कहिले र कसरी आउँछ भन्ने हो । ५० लाखभन्दा बढी मानिसलाई संक्रमित तथा तीन लाखभन्दा बढीलाई मृत्युको मुखमा पुर्याउँदै यो भाइरस मानव बसोबास रहेका विश्वका सबै भूभागमा फैलिएको छ ।
हामी किन अनभिज्ञ थियौँ र तयारी किन यति खराब थियो ? वैज्ञानिकहरूलाई यो कुरा थाहा थियो र तिनले यस्तो हुन सक्ने चेतावनी दिइसकेका थिए । तर तथ्यलाई स्वीकार्ने र हाम्रो जीवनशैलीलाई आधारभूत रूपमा सुधार्ने राजनीतिक तथा संस्थागत हिचकिचाहटले आजको नतिजा निम्त्यायो । हामी कुनै पनि व्यवधान र असुविधा स्वीकार गर्न तयार थिएनौँ । तर भाइरस भने पूरै तयारीमा थियो । ऊ विकसित भइरहेको थियो र उपयुक्त समय, स्थान र ‘होस्ट’ खोजिरहेको थियो । हालसम्म प्राप्त प्रमाणहरूले के देखाउँछन् भने के गर्न सक्छु भनेर भाइरसलाई ठ्याक्कै थाहा थियो । अलमलमा त मानिसहरू परे । तिनले के गर्ने, कसो गर्ने भनेर पूर्वतयारी आकलन गर्नै सकेनन् ।
यो मानिसले गरेको कर्मकै परिणति थियो । सकभर हामीले आफूलाई ठीकठाक देखाउने नाटक गरिरह्यौँ । तर हाम्रो मखुन्डो उत्रियो । त्यसपछि हामीले यो भारी अरू कसैको काँधमा राख्ने कोसिस गर्छौं । यतिबेला भाइरसलाई दोष लगाइरहेका छौँ जबकि यो हाम्रो वरपरै थियो । जब यो पूर्ण रूपमा विस्फोट भयो, तब प्रकृति र अन्य जीवहरूप्रतिको चासो र दृष्टिकोणलाई मतलव नगर्ने मानव चेतनाको संकीर्णतालाई यसले उदांगो पार्यो ।
आफ्नो सुविधाको उत्कट लालसाले हामीलाई अरूको दु:ख/ कष्ट नदेख्ने बनाएको थियो । न अरू मानिसहरू, न अन्य जीवहरू, न त उपभोगका लागि पालिएका जीवजन्तुप्रति नै हामी संवेदनशील भयौँ । औद्योगिक खेती प्रणालीले जनावरलाई यातना दिनुलाई वैध ठहर्यायो । त्यस्ता बजार, जहाँ वध गर्नुअघि घरपालुवा तथा जंगली जनावरलाई फोहोरी खोरहरूमा कोचेर राखिन्छ, त्यहाँ भाइरस उत्पादन हुन सक्छ र त्यहीँबाट मानिसमा फैलन सक्छ । आखिरमा त्यस्तै भयो ।
त्यसैगरी धनी तथा शक्तिशालीहरूलाई फाइदा तथा सुविधा दिलाउने वस्तुहरू उत्पादन गर्ने उद्योगका लागि गरिने जथाभावी वनजंगल फँडानीले एकातिर वन्यजन्तुको वासस्थानमा हस्तक्षेप गरेको छ भने अर्कोतिर जलवायु परिवर्तनमा घिउ थपेको छ । यी दुई पनि यस्ता रोगका प्रकोप निम्त्याउने कारक हुन् । यस्ता काम गरिबलाई सहयोग गर्ने नाममा हुन्छन् तर पहिल्यैदेखि धनी व्यक्तिहरू र कर्पोरेसनहरूलाई अझ बढी अनुचित लाभ दिलाउनका लागि गरिन्छन् । त्यसैले मानव तथा गैरमानव समुदायमा यस्ता गतिविधिले पार्ने असरबारे सबैलाई जानकारी रहे पनि यी निरन्तर भइरहन्छन् ।
भाइरसलाई के गर्न सक्छु भनेर ठ्याक्कै थाहा थियो । अलमलमा त मानिसहरू परे । तिनले के गर्ने, कसो गर्ने, पूर्वतयारी आकलन गर्नै सकेनन्
हाम्रो दोस्रो सिफारिस छ, कोभिड– १९ लाई संकटहरूको गुणकका रूपमा हेरौँ । कस्तो देखिन्छ भने एउटा समस्याले चारैतिर तरंगहरू ल्याएको छ र स्वास्थ्य जोखिमसहित अरू धेरै संकट निम्त्याएको छ । अहिलेको अवस्थामा महाव्याधि अन्य सात वटा संकटसँग खप्टिएको छ । ती हुन् : जलवायु परिवर्तनले निम्त्याएको कहर; जैविक विधिधताको व्यापक विनास तथा अन्य जीवहरूको वासस्थानमा भएको हस्तक्षेप; छिन्नभिन्न पारिस्थितिक प्रणाली, वन फँडानी, जल अभाव तथा स्वस्थ खाद्यान्नको उत्पादन एवं उपभोगमा आएको अवरोध; आत्मनिर्भरतालाई क्षति पुर्याउने गरी भइरहेको अत्यधिक वैश्विक व्यापार, सामानरूको आदानप्रदान तथा यात्रा; वस्तुहरूको व्यापक उपभोग तथा फ्याँक्ने कार्य; बढ्दो आर्थिक विभाजनसहितको चरम आर्थिक असमानता, बढ्दो घरेलु हिंसा तथा ज्येष्ठ नागरिकहरूको हीतविपरीत हुने गरी नीतिहरूमा आएको परिवर्तन; रंगभेद र जातीय भेदभाव तथा छुवाछूतसहित बिग्रँदो सामाजिक सद्भाव ।
यी संकटहरू मानव र प्रकृतिबीचको समस्याग्रस्त सम्बन्धका कारण उत्पन्न हुन्छन्, खासगरी सबैजसो तत्त्वहरू जलवायुमा परेको असरसँग सम्बन्धित छन् । वास्तवमा जलवायुमा देखिएको असर र कोभिड– १९ एउटै सिक्काका दुई पाटो हुन् । त्यसैले दुवैलाई सम्बोधन गर्न सोही किसिमको रणनीति विकास गर्नुपर्छ । यदि त्यसो गर्न हामी असफल भयौँ भने मानवता र पृथ्वी दुवै एउटा गहिरो र अपरिवर्तनीय संकटमा फस्नेछन् । तातिरहेको पृथ्वी जलवायु परिवर्तनका घटनाका कारण छटपटिएका बेला कोभिड– १९ ले मानव फोक्सोमा आक्रमण गर्नु संयोग मात्र होइन । पृथ्वीको फोक्सो र हाम्रो आफ्नै फोक्सो पनि उही खालको लक्षणले ग्रसित छ ।
कोभिड– १९ सँग यतिसम्म गहिरो संकट उत्पन्न गर्ने शक्ति छ कि यदि हामीले हाम्रा दर्शन र जीवनशैली फेरेनौँ भने आम विनास सामना गर्नुपर्ने हुन सक्छ, हामी नामेट हुन सक्छौँ । यदि यो महाव्याधिमा कुनै चाँदीको घेरा छ भने त्यो यसले विश्व जनसंख्याको माथिल्लो एक प्रतिशतमा रहेको मुनाफाको चरम केन्द्रीकरणलाई बदल्छ कि भन्ने आशा हो । अथवा, यसले हामीलाई आत्मनिर्भर, अझ बढी स्थानीय र जैविक अर्थव्यवस्थाका पक्षमा काम गर्न प्रेरित गर्छ कि भन्ने हो । अथवा, अन्य जीवहरूको हित, वासस्थान तथा स्वास्थ्यको आवश्यकतालाई पूरा गर्न यसले कसरी हाम्रो चेतना विस्तार गर्छ भन्ने हो । अथवा, अरुन्धती रोयले भनेझैँ अन्तिममा पुँजीवादको ‘प्रलयकारी यन्त्र’ त्याग गर्न सहयोग गर्छ कि भन्ने हो । के यसले पर्यावरणीय दिगोपना, समानता र समावेशी मानवीय मूल्यलाई प्राथमिकता दिने वैकल्पिक विश्व व्यवस्थामा प्रवेश गर्ने मार्ग खोज्न हामीलाई सहयोग गर्ला ?
कोभिड– १९ ले हाम्रो समाज, अर्थतन्त्र, शासन सत्तामा परेको चिरा प्रस्ट देखायो । र, मान्छेहरूलाई प्रकृतिसँगको सम्बन्धबारे पुनर्विचार गर्न बाध्य पार्यो
माथि चर्चा गरिएको तीतो वास्तविकताविपरीत हाम्रो तेस्रो सिफारिस के छ भने कोभिड– १९ लाई अवसरहरूको गुणकका रूपमा हेरौँ । पर्माकल्चर अभ्यासकर्ताका रूपमा हाम्रो विश्वास के भने हरेक संकटले नयाँ अवसरका बिउ पनि लिएर आएका हुन्छन् । कोरोनाले हामीलाई हामी हिँडेको बाटो, मानव स्वास्थ्य, मानव सभ्यता र पृथ्वीबारे पुनर्मूल्याकंन गर्ने अवसर प्रदान गरेको छ ।
हामीले वर्तमान युगमा पृथ्वीमा जीवनका सञ्जालहरूलाई के भइरहेको छ, लेखाजोखा गर्नु छ । माटो–कार्बन–पानीको सञ्जालको अवस्था के छ ? माटो–खाद्यान्न–स्वास्थ्यको सञ्जालको अवस्था के छ ? हाम्रा जंगल र रुखहरूको सञ्जालको अवस्था के छ ? अहिलेसम्म हामीलाई के थाहा छ भने महाव्याधिबाट पार पाउने रहस्य यी सञ्जालहरूको उपयुक्त स्वचालनमा निहित छ । अधिकांश नयाँ रोगका संक्रामक विषाणु जनावरहरूबाट आउने भए पनि विश्व स्वास्थ्य संगठनले भनेको छ– त्यसपछि आउने महामारी मानव निर्मित जटिल पूर्वाधारको सञ्जाल, वन विनास र विश्वभर फैलिएको यातायात सञ्जालको परिणाम हो । यिनीहरू मिलेर नै अन्य जीवको वासस्थान नष्ट गरेका छन् ।
यस कार्यमा विभिन्न सडक आयोजनाहरू तथा एसियाली विकास बैंक र विश्व बैंकजस्ता दाताहरूले सुरु गरेका अन्य ठूला परियोजनाको प्रभाव अनुमान गरौँ । वन तथा अन्य भूभागमा प्रयोग भएका सिमेन्ट, स्टिल र फलामहह हेरौँ । पूर्वाधारका नाममा पृथ्वीको सतहमा पारिएका जति पनि प्वालहरू हेरौँ, पूर्वाधारका निर्माणहरू हेरौँ । हामीले कस्तो खालको संसार निर्माण गरेका छौँ र कस्तो भविष्यतर्फ उन्मुख छौँ भन्ने झलक प्राप्त गर्न पाठकलाई सम्सारा र बाराका चलचित्र हेर्न अनुरोध गर्दछौँ ।
प्रकृतिमाथि मानवीय उपद्रवका कारण भाइरस जंगल, खेत तथा पारिस्थितिक प्रणालीभन्दा पर जनावरबाट मानिससम्म पुग्न सक्छ भन्ने कोभिड– १९ ले हामीलाई स्मरण गराएको छ । इबोला, सार्स, मेर्सका बेला पनि यही नै भएको थियो । जुन गतिमा कोभिड– १९ संक्रमण फैलियो, कतै भाइरसहरू पनि चलाख हुँदै मानवको पारिस्थितिक प्रणाली र वासस्थानलाई दुरुपयोग गर्ने भयानक तरिका पाइरहेका त होइनन् भनेर हामीले सोच्नैपर्ने भएको छ ।
यो सन्दर्भलाई अगाडि राखेर हामीले केही प्रश्नहरूमा गम्भीरतापूर्वक चिन्तन गर्नुपर्ने भएको छ । हामीले प्रत्येक हेक्टरमा रोगहरू र बिमारी सिर्जना गरिरहेका छौँ कि स्वास्थ्य र सन्तुष्टि ? जंगलहरू, खेतहरू, तालतलैयाहरू, समुद्र तटीय क्षेत्रका प्रत्येक हेक्टरमा यो लागू हुन्छ । अन्य सबै जीवजन्तुको जीवनको मूल्य चुकाएर किन मानवीय सन्तुष्टिलाई स्थापित गरियो ? र, हामी कसरी यो मानिरहन सक्छौँ कि उपभोगको रेखामा मानिस सधैँ निरन्तर माथि बढिरहन सक्नुपर्छ ? मानव इतिहासमा यो एउटा महत्त्वपूर्ण क्षण हो किनभने हाम्रा कर्मको परिणाम आफ्नै आँखै अगाडि प्रस्ट छ । हामीलाई मन परोस् या नपरोस्, अब हामी रोकिनुपर्छ । तर के हामीले पुनर्विचार गरेका छौँ ? पुनर्मूल्यांकन गरेका छौँ ?
कोभिड– १९ एक विनम्र तर डरलाग्दो सूचक हो, जसले कुनै पनि काम गर्ने नियमित तरिका अब व्यावहारिक, सम्भव वा वाञ्छनीय छैन भनेर हामीलाई सूचित गरेको छ । पृथ्वीले हाम्रो उपद्रव सहिरहेको छ तर कहिलेसम्म ? जब हामीले सीमा नाघ्छौँ, त्यसलाई सम्बोधन गर्ने प्राकृतिक प्रणालीहरूको आफ्नै तरिका हुन्छ । यतिबेला पृथ्वीले त्यही गरेको छ, जो उसले श्वास फेर्न, शान्त हुन र अगाडिको सम्भाव्य मार्ग निर्माण गर्न गर्नैपर्थ्यो । यसले आफूलाई सुधार्ने र पुनर्जीवन गर्ने बाटो लिएको छ । यस काममा प्रकृतिले न हाम्रो अनुमति माग्छ, न त आदेश नै मान्छ ।
समयले हाम्रो वर्तमान जीवन पद्धतिबारे गम्भीरतापूर्वक चिन्तनको माग गरेको छ । नयाँ भ्याक्सिनबारे मात्र होइन, नयाँ जीवनपद्धतिबारे समेत कल्पना गर्नुपर्ने आवश्यकता औँल्याएको छ । आम बुझाइ के छ भने दादुरा र बिफर संक्रमणका बेलाजस्तो अहिले पनि नयाँ भ्याक्सिनले हाम्रो चिन्ता दूर गर्नेछ । तर प्रमाणहरूले यस्तो आशा अर्थहीन छ भन्ने देखाउँछ । हामीसँग नयाँ भ्याक्सिन भए पनि भाइरस विकसित भइरहनेछ र मानवलाई जिल्ल पारिरहनेछ किनभने यसखाले महाव्याधिहरू फेरि पनि बारम्बार आइरहनेछन् ।
हाम्रो जिउने शैली परिवर्तन गर्नु एवं परिवर्तित जीवन पद्धति सँगसँगै पृथ्वीलाई पनि श्वास फेर्न दिनु नै यस्तो महाव्याधिको आवृत्ति र गम्भीरता न्यून गर्ने सबभन्दा राम्रो तरिका हो । नयाँ जीवन पद्धतिको जोड मानव जातिको भूमिकालाई अन्य जीवहरूभन्दा माथि रहने गरी महत्त्व दिनु हुने छैन । बरु आफ्नो अस्तित्व रक्षाभन्दा पर सोच्ने पृथ्वी समुदायको अन्तर्निर्भर सदस्यहरूमध्येको एक जिम्मेवार रूपमा उसले आफ्नो भूमिका निर्वाह गर्नेछ ।
बन्दाबन्दीको परिणाम हेर्नुस्, गएको डेढ महिना नेपालसहित विश्वमा घटेका मानिसहरूको आवतजावत हेर्नुस् । यसले के देखाउँछ भने कति चाँडो पृथ्वीले पुनर्जीवन प्राप्त गर्न सक्छ । आकाश सफा र प्रस्ट देखिएको छ, ध्वनि र वायु प्रदूषण घटेको छ, कार्बन उत्सर्जन उल्लेख्य रूपमा घटेको छ, नदी र सिमसारको पारिस्थितिक प्रणालीमा कायकल्प भएको छ । अहिलेको सबभन्दा ठूलो मुद्दा सम्पूर्ण मानिसलाई भाइरसबाट जोगाउनु र तिनको जीविका रक्षा गर्नु हो । र, बन्दाबन्दीले पनि के देखायो भने हामीले जीवन जिउने वैकल्पिक तरिका खोज्नुपर्छ ताकि पृथ्वीलाई दुरुपयोग नगरीकन मानिसको जीवन र जीविकाको रक्षा गर्न सकियोस् ।
के यो महाव्याधिले हामीलाई दिगो तवरले जीविकोपार्जन सिर्जना गर्ने तरिकाहरू खोज्न प्रेरित गरेको छ ? असमानताको वक्ररेखालाई पनि कोभिड– १९ संक्रमणको वक्ररेखाजस्तै सीधा बनाउनुपर्ने हुन्छ । अस्वस्थ पारिस्थितिक प्रणालीहरू गरिबहरूका लागि कोभिड– १९ बराबर नै हुन् किनभने तिनलाई आवश्यक चिकित्सकीय सेवामा पनि पहुँच हुँदैन । यो विश्वव्यापी प्रवृत्ति नै हो । भलै, देशहरूबीच त्यस्तो पहुँचको आँकडा थोरै तलमाथि होला ।
कोभिड– १९ ले हाम्रो समाज, अर्थतन्त्र, शासन सत्तामा परेको चिरा प्रष्ट देखायो । र, हामीलाई प्रकृतिसँगको सम्बन्धबारे पुनर्विचार गर्न बाध्य पार्यो । यदि यो चिरालाई ठीक ढंगले बुझ्ने र सम्बोधन गर्ने हो भने यो दु:खद घटनाले पनि मानिसलाई सिक्नका लागि अवसरको नयाँ ढोका खोल्न सक्छ । तर हेर्न बाँकी छ, मानव जातिले यसबाट कसरी सिक्छ ।
के हामीले पृथ्वीमा मानव सभ्यता कसरी बचाउने भनेर सिक्नेछौँ ? हामीलाई थाहा छ, मानव जाति यहाँ नभएको भए पनि पृथ्वीले पुनर्जीवन प्राप्त गथ्र्यो । मानव जातिको हितका लागि अनिवार्य के छ भने हामी पूरा पृथ्वीको प्रणाली र यसका उपप्रणालीलाई पुनर्जीवन प्रदान गरौँ ।
रेकर्ड नेपालमा अंग्रेजीमा प्रकाशित यो लेखको नेपाली अनुवाद रविराज बरालले गरेका हुन् ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...