आन्तरिक मूल्यांकनका जटिलताहरू
वार्षिक परीक्षामा प्राप्तांक जोडिँदैन भनेर यसलाई हल्का रूपमा लिने अनि विद्यार्थीको मस्तिष्कमा पनि त्यही कुरा स्थापित गरिदिने शिक्षकहरू नै हुन् । अब यो प्रवृत्ति हटाउनैपर्छ
नेपाल सरकारले ०७६ मा लिइने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुने अघिल्लो दिन ५ चैतमा कोरोना भाइरस महाव्याधिका कारण स्थगित गरेको थियो । ११ चैतबाट सरकारले लकडाउन घोषणा गरेपछि यो परीक्षा अनिश्चित बनेको थियो ।
लकडाउन घोषणाको अढाई महिनासम्म परीक्षा सञ्चालनका विषयमा विभिन्न बहस भए । त्यसमा पनि राष्ट्रिय परीक्षा बोर्ड परीक्षा गराई छाड्ने अडानमा थियो । सोही कारण ४ लाख ८२ हजार परीक्षार्थी र तिनका अभिभावक परीक्षा रोकिएको तनावमा थिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको प्रस्ताव पारित गर्दै सरकारले परीक्षा स्थगित गरेको ८४ औँ दिनमा आन्तरिक मूल्यांकनलाई आधार मानी कक्षा चढाउने निर्णय गरेको छ ।
अब यो मूल्यांकनलाई विश्वसनीय बनाउने चुनौती विद्यालयलाई छ । कक्षा १० का लागि विद्यालयमा लिखित परीक्षाबाट गरिने मूल्यांकन प्रथम त्रैमासिक, दोस्रो त्रैमासिक, तेस्रो त्रैमासिक र अर्धवार्षिक र सेन्ड अप (पूर्व ल्याकत) गरी ३ वा ४ पटक लिने गरिएको छ । अहिलेको सन्दर्भमा मूल्यांकनको मुख्य आधार सेन्ड अप (पूर्व ल्याकत) परीक्षा हो ।
उक्त परीक्षा सञ्चालन, कपी परीक्षण र रिजल्टको अभिलेख सुरक्षित राखेका विद्यालयले त्यसैलाई आधार बनाएर विद्यार्थीको विषयगत प्राप्तांक वा ग्रेड सम्बन्धित निकायमा पठाउँछन् । त्यसकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको ग्रेडसिट कायम गर्छ । राष्ट्रिय परीक्षा बोर्डले निकालेको नतिजामा विद्यार्थीले चित्त नबुझाए त्यसको प्रमुख जिम्मेवार सम्बन्धित विद्यालय नै हुन्छ । त्यतिबेला विद्यालयका आन्तरिक मूल्यांकन सञ्चालन प्रणाली र अभिलेख सन्देहमा पर्छन् ।
सरकारले आन्तरिक मूल्यांकनका आधारमा कक्षा चढाउने भनेर गरेको निर्णय सैद्धन्तिक हो । यसको व्यावहारिक वा कार्यान्वयनको पाटो जटिल हुने देखिन्छ । कक्षा १० को आन्तरिक मूल्यांकनलाई आधार बनाउने सन्दर्भमा देखिने समस्याहरू निम्न हुनेछन् :
क)पूर्व ल्याकत परीक्षा सञ्चालन नगरेका विद्यालयले के गर्ने ?
ख)पूर्व ल्याकत परीक्षा सञ्चालन गरेका तर कपी परीक्षण नगरी एकमुस्ट माध्यमिक शिक्षा परीक्षामा सहभागी हुन योग्य भनी घोषणा गर्ने विद्यालयले के गर्ने ?
ग)पूर्व ल्याकत परीक्षामा सहभागी नभएका तर अर्धवार्षिक र दोस्रो त्रैमासिक एवं प्रथम त्रैमासिक परीक्षामा सहभागी भई परीक्षा आवेदन फारम भरेका विद्यार्थीलाई ती कुनै परीक्षामा प्राप्त गरेको उपलब्धिलाई आधार बनाउने हो भने ती परीक्षा पाठ्यक्रमले तोकेको पूर्णांकमा लिइएको हुँदैन । त्यस्तो बेला के गर्ने ?
घ)विगतमा विद्यार्थीले लिखित परीक्षामा प्राप्त गरेको प्राप्तांक र प्रयोगात्मकमा प्राप्त गरेको प्राप्तांकमा तालमेल नै नहुँदा विद्यालयले प्रयोगात्मकमा दिएको अंक सन्देहमा परेको छ । यसपालि त ग्रेड नै कायम गर्न विद्यालयलाई दिँदा त्यसलाई विश्वसनीय कसरी बनाउने ?
ङ)यो निर्णयले एक्जाम्टेड र ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थीहरूबारे केही बोलेको छैन । त्यसैले तिनको नतिजा कसरी, के आधारमा निकाल्ने हो ?
च)नतिजामा शिक्षकको व्यक्तिगत प्रभाव पर्न नदिन के गर्ने ?
कोरोना महाव्याधिका कारण माध्यमिक शिक्षा परीक्षाको सन्दर्भमा हामी यो विशेष व्यवस्था कार्यान्वयन गर्दै छौँ । मूल्यांकनको आधार जेलाई बनाइँदै छ, त्यहाँ पहिल्यै धेरै कमी–कमजोरी भइसकेका छन्
कक्षा १० को आन्तरिक मूल्यांकन निर्माणात्मक मूल्यांकनको रूपमा मात्र प्रयोग हुन्छ । यसले कक्षा चढाउने निर्णय नगर्ने हुँदा विद्यार्थीले यसलाई खासै महत्त्व नदिने प्रवृत्ति छ । त्यसैले आन्तरिक परीक्षामा विद्यार्थी अनुपस्थित हुने गर्छन्, जुन कुरा आन्तरिक परीक्षा सञ्चालन अविधमा भएको विद्यार्थीको हाजिरीले पनि स्पष्ट पार्छ । विभिन्न कारणले अनुपस्थित हुँदा विद्यालयहरूले पुन: परीक्षा नलिने पनि गरेको पाइन्छ । यी सबैका कारण भनेको माध्यमिक शिक्षा परीक्षामा विद्यालयले लिने आन्तरिक परीक्षाले निर्णयात्मक मूल्यांकनमा स्थान नपाउनु हो ।
कोरोना महाव्याधिका कारण माध्यमिक शिक्षा परीक्षाको सन्दर्भमा हामी यो विशेष व्यवस्था कार्यान्वयन गर्दै छौँ । मूल्यांकनको आधार जेलाई बनाइँदै छ, त्यहाँ पहिल्यै धेरै कमी–कमजोरी भइसकेका छन् । अब परीक्षा बोर्डले नतिजाका लागि विभिन्न सूचकहरू बनाई कार्यान्वयन गर्नुपर्छ ।
विद्यालय शिक्षाको मूल्यांकन प्रणालीमा रहेको केन्द्रीकृत मानसिकताका कारण हाम्रा आन्तरिक मूल्यांकनहरू औपचारिकता मात्रै बनेका छन् । यो महाव्याधिले सिर्जना गरेको संकटले हामीलाई सोच्न बाध्य बनाएको छ । कक्षा ९ सम्मका सबै परीक्षाको जिम्मा स्वयं कक्षा शिक्षण गर्ने शिक्षकलाई दिने तर कक्षा १० को परीक्षाचाहिँ केन्द्रले नै लिने प्रवृत्ति खासमा शिक्षकहरूप्रति गरिएको अविश्वास हो । यो प्रवृत्ति अन्त्य हुनैपर्छ । विषय शिक्षकले नै आफ्नो विषयमा विद्यार्थीको ग्रेड कायम गर्ने नीतिगत निर्णय गरिनुपर्छ । त्यसैलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गर्नुपर्छ । शिक्षकले दिएको ग्रेडमा विद्यार्थीले चित्त नबुझाए छानबिन गर्ने संयन्त्र विकास गर्नुपर्छ ।
आन्तरिक परीक्षाहरूमा एकरूपता कायम गर्न स्थानीय तहभित्र शिक्षा शाखाले परीक्षा समिति निर्माण गरी परीक्षा सञ्चालन गराउनुपर्छ । परीक्षा सञ्चालनको अनुगमन स्थानीय तहका शिक्षा अधिकारीले गर्नुपर्छ । प्रत्येक परीक्षाको परिणाम विद्यालयहरूले शिक्षा अधिकारीबाट प्रमाणीकरण गराई त्यसको अभिलेख राख्नुपर्छ । विद्यालयहरूले उत्तरपुस्तिका ६ महिनासम्म सुरक्षित राख्ने प्रबन्ध मिलाउनुपर्छ । अनुगमनमा आएका व्यक्तिले हेर्न चाहेको खण्डमा त्यसको व्यवस्था मिलाउनुपर्छ ।
आन्तरिक परीक्षा पनि विश्वसनीय र व्यवस्थित हुनुपर्छ । यसमा दुईमत छैन । तर वार्षिक परीक्षामा प्राप्तांक जोडिँदैन भनेर यसलाई हल्का रूपमा लिने अनि विद्यार्थीको मस्तिष्कमा पनि त्यही कुरा स्थापित गरिदिने शिक्षकहरू नै हुन् । अब यो प्रवृत्ति हटाउनैपर्छ । यसका लागि शिक्षक र प्रधानाध्यापकको महत्त्वपूर्ण भूमिका हुन्छ भने स्थानीय शिक्षा अधिकारी, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख, प्रदेश र केन्द्रका शिक्षाका निकायहरूले निरन्तर अनुगमन एवं सुपरिवेक्षण गर्नुपर्छ ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...