प्रधान शत्रु– सरिता गिरि ?
सरिताका सबै तर्कमा म सहमत नहुँला, तर भिडियो क्लिप सट्टा बिस्तृत अन्तर्वार्ता हेरिएको भए आजको अवस्था आउने थिएन ।
नेपालको विस्मृतिमा धकेलिएको लिम्पियाधुराको चुच्चो अहिले चर्चाको विषय बनेको छ । यो लेख लेख्दै गर्दा चुच्चो निशानाछापमा समेत समावेश हुने गरी संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । अब कोरोना व्यवस्थापनको प्रश्न सोध्दा त्यही चुच्चो देखाइने लगभग पक्का छ ।
सांसद सरिता गिरिले ऋषि धमलाको १ घन्टा ११ मिनेट र १७ सेकेन्ड लामो अन्तर्वार्तामा बोलेको २७ सेकेन्डको टुक्रा सामाजिक सञ्जालमा व्यापक बनाएर एक खाले माहोल सिर्जित छ । उनी अहिलेलाई नेपालको सार्वजनिक शत्रु नम्बर १ का रुपमा चित्रित छिन् ।
उनको अन्तर्वार्ता अंश विवादित भएपछि मैले त्यसलाई पूरै हेर्न पुगें ।
सरिता गिरिलाई मैले खासै गम्भीर रूपमा कहिल्यै लिइनँ । गिरि भारतीय चेली हुनुले नै उनीप्रतिको एक खाले पूर्वाग्रह तयार भएको थियो । ‘म नेपालको बुहारी पनि हो, त्यो किन बोल्नुहुन्न ?’ भन्ने उनको बारम्बारको आग्रह सुनेपछि चाहिँ उनका तर्कहरू सुन्न थालेँ ।
गिरिले त्यसअघि ३८ मिनेटसम्म आफ्ना आधारहरू पेस गरेकी थिइन् । र, त्यसैको निष्कर्षमा उनले भनेकी थिइन्, ‘लिम्पियाधुरा नेपालको हो भन्ने त म पनि मान्दिनँ ।’
सन् १८१६ को सुगौली सन्धि र त्यसपछि १८६० मा जंगबहादुरले मच्चाएको लखनउ लुटको बदलामा बक्सिसका रूपमा मिलेको कैलाली, कञ्चनपुर, बाँके र बर्दिया नेपालमा थपिएपछि हालको नेपालको चुच्चे नक्सा कायम भएको हो । चुच्चोको हकमा अंग्रेजहरूकै पछिल्ला नक्सामा त्यसलाई बुच्याउने प्रयास नभएको होइन । तर नेपालको समेत हस्ताक्षर भएको बुच्चे नक्सा हालसम्म सार्वजनिक भएको छैन ।
उनले सन् १९२७ मा चन्द्रशमशेरले बनाउन लगाएको नक्साको समेत कुरा झिकेकी थिइन् । त्यस्तै, राजा महेन्द्रको पालामा हर्क गुरुङले बनाएको नक्साको समेत कुरा झिकेकी थिइन् । राजा महेन्द्रले ५ अक्टोबर १९६१ मा चीनसँग गरेको सन्धि सम्झौतामा शून्य बिन्दु लिम्पियाधुरा किन राखिएन भनेरसमेत प्रश्न गरेकी थिइन् । त्यसपछि अर्का राजा वीरेन्द्रको पालामा विसं ०५४ मा योगी नरहरिनाथले सुगौली सन्धिपूर्वको सिमाना कायम गर्न माग गर्दै दर्ता गरेको मुद्दाका बेलाका प्रसंग पनि झिकेकी थिइन् ।
राजाको राष्ट्रप्रेमको बखान गरेर नथाक्ने कमल थापा विदेशमन्त्री भएका बेलामा र अर्का पञ्च सूर्यबहादुर थापा प्रधानमन्त्री भएको समयसमेत यो मुद्दाको सुनुवाइ नहुनुमा उनले प्रश्न उठाएकी थिइन् । पछि त्यो मुद्दालाई अर्का देशभक्तिका गीत लेखेर नथाक्ने राजा ज्ञानेन्द्रको पालामा अर्थात् विसं ०६० मा खिलराज रेग्मी, हरिप्रसाद शर्मा र दिलीप पौडेलको इजलासले खारेज गरेको छ । एक किसिमले १९५० पछि कायम रहेको भूभागमै चित्त बुझाउने त्यो सर्वोच्चको निर्णयमा उनले प्रश्न गरेकी थिइन् । तिनै व्यक्ति पछि प्रधानन्यायाधीश पनि भएका छन् । खिलराज रेग्मी त प्रधानमन्त्रीसम्म पनि भए । कसरी भए, त्यो भनिरहनु परेन ।
हरेक राष्ट्रले संयुक्त राष्ट्रसंघमा दर्ता हुँदा आफ्नो देशको नक्सा पनि बुझाउँछ । त्यो बुझाइएको नक्सा पनि चुच्चो थियो भन्नेमा उनले शंका गरेकी छिन् । हालका प्रधानमन्त्रीले नै पनि ‘लिम्पियाधुरा नेपालको नक्सामा कहिल्यै पनि देखेको छैन’ भन्ने उक्ति पनि उनले सम्झाएकी थिइन् । चीनतर्फको हुम्ला, रसुवा, सिन्धुपाल्चोक र संखुवासभा (उनले रुकुम, हुम्ला, गोरखा र सिन्धुपाल्चोक भनेकी थिइन्) गरेर चार जिल्लाको ३६ हेक्टर चीनले अतिक्रमण गर्दा पनि केही नबोलेकामा सरकार कुन स्वार्थले भारतविरोधी राष्ट्रवादको भावना बढाउनमा लागेको छ भनेर प्रश्न गरेकी थिइन् ।
नेपालमा मातृकाप्रसाद कोइरालाको पालामा भारतीय सेना आएको कुरामा अब मतभिन्नता छैन । कारणका रूपमा त्यतिबेला विद्रोह गरिरहेका भीमदत्त पन्त, जसको टाउको काटेर बाँसको टुप्पामा झुन्ड्याइएको थियो र केआई सिंह पनि थिए । त्यस्तै, चीनले तिब्बत हडपिरहेको थियो भने भारतलाई आफ्नो सुरक्षाको चिन्ता थियो । नेपाली सेनाको अवस्था त्यति राम्रो थिएन । त्यसैले नेपाली सेनाको पुनर्संरचनालगायतका उद्देश्यले चीनतर्फको नाकामा भारतीय पोस्ट खडा गरिएका थिए ।
नेपालमा हस्तक्षेपकै लागि मात्र भारतीय सेना आएको थियो भने त चिनियाँ सिमानामा खटिनु जरुरी थिएन । तर हामीले यो कोणबाट कहिल्यै हेरेनौँ । सिक्किम लिन सक्ने भारतले नेपाल पनि लिन सक्छ भन्ने डर त पाल्यौँ तर तिब्बत लिन सक्ने चीनले नेपाल किन छाड्थ्यो भन्ने प्रश्न सोधेनौँ । पछि कीर्तिनीधि विष्टका पालामा भारतीय सेना फिर्ता पठाइँदासम्म नेपाल र चीनको सीमा सम्झौता भइसकेको थियो । नेपाल संयुक्त राष्ट्रसंघको सदस्य पनि भइसकेको थियो । त्यसले एक अनुकूल समय पनि दिएको हुनुपर्छ । तर त्यो बेला पनि कालापानीबाट भारतीय सेना हटाइएन । हो, यसमा गिरिले प्रश्न सोधेकी थिइन् ।
जुन सडकका कारण अहिले हामीलाई नक्साको चुच्चोको याद आयो, सो सडक बनाउने निर्णय सन् २००३ मा ज्ञानेन्द्रकै पालामा भएको थियो । सन् २००५ मा राजतन्त्र छँदै निर्माण सुरु पनि भइसकेको थियो । बजारको हल्लामा गणतन्त्र आएपछि भारतले सडक बनायो भनेर राजतन्त्रका पक्षमा वकालत गर्नेको पनि कमी छैन । तर तिनले के भुल्छन् भने, यो सडक निर्माणको निर्णय र निर्माण थालनीकै बीचमा योगी नरहरिनाथको विशाल नेपाल कायम गरिपाऊँ भन्ने मुद्दा खारेज भएको छ । यी सबै राजतन्त्र छँदै भएका छन् । हो, यी प्रश्नहरू उनले उठाएकी छिन् ।
यी सीमाबाहेक पनि उनले सेना संसद्को अधीनमा हुनुपर्ने र सीमामा खट्नुपर्ने कुराहरू राखेकी छिन् । कुल बजेटको २३ प्रतिशत पुँजीगत खर्च र त्यसको तीन गुणा बढी ६६ प्रतिशत चालू खर्च भएकोप्रति पनि उनले आपत्ति जनाएकी छिन् । राम्रो बजेटको विशेषता भनेकै राजस्वभन्दा कम चालू खर्च हुनुपर्ने भए पनि हालको बजेटमा ८ खर्ब राजस्व उठ्दा ९ खर्ब चालू खर्च भएकामा आपत्ति जनाएकी छिन् । व्यवस्थापनका लागि राजस्व खर्चने र विकासका लागि जनताको टाउकामा ऋणको भारी बोकाउने प्रवृत्तिप्रति विरोध जनाएकी छिन् ।
त्यति सबै भनिरहँदा अन्तर्वार्ताकार सोध्छन्, ‘तपाईं नेपालीको मुटुमा प्रहार गर्ने ?’
प्रतिवादमा गिरि भन्छिन्, ‘म पनि नेपाली हो । म आफ्नो मुटुमाथि प्रहार गर्छु ?’
नेपालमा १ सय २३ भाषामध्ये १९ औँ स्थानमा हिन्दी भाषा छ । त्यो नेपाल सरकारले लिएको तथ्यांक हो । त्यसैले तराईको सम्पर्क भाषामा बोल्नुलाई आपत्तिजनक रूपमा हेर्न नहुने भन्छिन् । उनी भारतको चेली भएको कुरामै रोकिएर नेपालको बुहारी पनि भएको कुरा नभनिनुमा राजनीतिक स्वार्थ भएको जिकिर दोहोर्याउँछिन् ।
कार्यक्रममा यी र यस्ता थुप्रै क्षण आउँछन्, जहाँ तपाईं एकछिन घोत्लिन बाध्य हुनुहुन्छ । आफूले राष्ट्रभक्त भनेर इतिहासमा पढेका पात्रहरूको राष्ट्रभक्तिमा तपाईं प्रश्न गर्न बाध्य हुनुहुन्छ । दक्षिणको छिमेकी मात्रै होइन, उत्तरको छिमेकीको मौनतामा पनि प्रश्न गर्न बाध्य हुनुहुन्छ । आखिर नेपालको सिमाना लिम्पियाधुरासम्म हो भन्ने कुरामा चीनले पनि त सहमत हुनु छ । उससँगको हाम्रो सिमानाको शून्य बिन्दु पनि त टिंकर खोला नभई लिम्पियाधुरा कायम गर्नुपर्नेछ । अनि किन मौन छ, चीन ? किन चीनसँग संवादको पहल गरेको छैन वर्तमान सरकारले ? कि सत्ताको मोल महेन्द्रले सगरमाथाको आधा भाग र कालापानीको रूपमा चुकाएजस्तै गरी यो सरकारले पनि उत्तरको ३६ हेक्टर जमिन र लिम्पियाधुरासम्मको उत्तरी सिमानामा आँखा चिम्लन खोजेको हो ? यी र यस्ता तमाम प्रश्न कार्यक्रम हेर्दै गर्दा उठ्छन् ।
तर किन हो, धेरैलाई त्यहाँसम्म पुग्नै दिइँदैन । २७ सेकेन्डको भिडियोमै रोकिन्छ । त्यसपछि तथानाम सुरु हुन्छ । सन्दर्भ सोधिइँदैन । प्रसंग बुझ्ने प्रयास हुँदैन । हुन्छ त केवल एकतर्फ प्रहार । के हाम्रो संवादको संस्कार यस्तै रहने हो ? के हामीले हाम्रो असहमति राख्ने तरिकालाई संस्कृति बनाउन सक्दैनौँ ?
हो, सरिता गिरिका तर्कहरू सबै सही छैनन् । उनका विचारहरूमा पनि शतप्रतिशत सहमत हुने ठाउँ छैनन् । तर असहमति दर्ता गर्ने पनि त पद्धति हुन्छ । शिष्टाचारका सीमा ननाघेरै पनि त कुरा राख्न सकिन्छ । त्यसतर्फ हाम्रो ध्यान कहिले जाने ?
हिमानी शाह र पारिजातलाई नेपाली देख्ने आँखाले सरिता गिरिलाई अपनाउन कहिलेसम्म हिच्किचाउने ? आखिर राजतन्त्र रहिरहेको हुँदो हो त भारतकी चेली कुनै दिन हाम्री महारानी हुने थिइन् । गोपाल योञ्जन र रञ्जित गजमेरलाई नेपाली देख्नेहरूलाई राजेन्द्र महतो र महन्थ ठाकुरहरू किन विदेशी लाग्छन् ? हाम्रो अपनत्वको आधार के हो ? हाम्रो राष्ट्रियताको आधार के हो ? यो मानसिकताको अन्त्य कहिले हुने हो ?
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...