घुमन्ते युवराज
रंगमञ्च नेपाली भाषामा मात्रै सीमित भयो, मातृभाषामा पनि हुनुपर्छ भन्ने मेरो मान्यता हो ।
गाेठाले नाटक घर शिल्पीको जग मात्रै हाल्न भ्याएका थिए, रंगकर्मी घिमिरे युवराज, ४०, ले ०६४ ताका । मधेस आन्दोलन उत्कर्षमा थियो । त्यही बेला जोखिम मोलेरै देशव्यापी सद्भाव नाट्य यात्रामा निस्किए । त्यसयता निरन्तर नाट्य यात्रामा दौडिरहेका छन् ।
पछिल्लो पटक महिना दिन लामो नाट्य यात्रा गरे । कल्पना र उर्मिला दु:खमा छन् सडक नाटकमार्फत देशका ग्रामीण महिलाको कहर कहँदै हिँडे । घुम्न असाध्यै मन पर्छ, यिनलाई । तर फगत फकिर होइन । नाटक पनि साथै बोकेर लग्छन् ।
०६९ मा नाटक घर बन्दै थियो । रकम अभाव भयो । त्यही मेसोमा पुन: नाट्य दौडाहामा निस्किए, नारी नाटकमार्फत ग्रामीण महिलाका कथा भन्दै । यात्रापछि नाटक घर निर्माणमा सहयोग जुट्यो । त्यसपछि बिल्टु बिरामी छ लिएर संघीयताको वकालत गर्दै दौडिए ।
लगत्तै सुदूरपश्चिमका जिल्ला लक्षित के लग्यो हल्काले नाटकमार्फत चेतना प्रवाह गरे । समूहसँग धेरै पटक नाट्य यात्रा गरिसके । कोही बेला युवराज एक्लै पनि हिँड्छन् । नयाँ जिल्ला पुग्छन् । र, नाट्य समूहलाई प्रशिक्षण मात्रै दिँदैनन्, नाटक निर्देशन पनि गर्न भ्याउँछन् । कहिले पश्चिम बर्दिया पुग्छन् त कहिले हिमाली जिल्ला सोलु । कहिले सुदूरपूर्वको झापा त कहिले परदेश । सोलुमा स्थानीय सगरमाथा नाट्य समूहका कलाकार जुटाएर कार्यशाला चलाएका थिए, गत वर्ष । अनि नाटक तयार पारे, आरन ।
यस पटक सुदूरपूर्वको सीमान्त सहर काँकडभिट्टामा व्यस्त छन् । स्थानीय नाट्य समूह परिवर्तन थिएटरका रंगकर्मीसँग काम गरिरहेका छन् । १५ दिने कार्यशालासँगै नाटक निर्देशनमा जुटेका छन् ।
०७२ को भूकम्पपछि पत्नी लुना भट्टराईको जागिरका सिलसिलामा विदेश (म्यानमार) सम्म पुगेर नाटक सिकाए । म्यानमारका नेपालीभाषी र रैथाने बर्मेलीबीचको सम्बन्धलाई कथामा बुनेर नाटक तयार पारे, ऐरावती यांगुनसम्म बग्छ ।
करिब १३ महिना लामो बसाइमा समय काट्ने सकसका बीच आइडिया फुर्याए, म्यानमारका नेपालीभाषीसँग नाटकमा काम गर्ने ।
करिब १५ जना नेपालीभाषी युवालाई महिना दिन लामो कार्यशालामा राखे । उनीहरुका कथा सुने र नाटक जन्माए । “ऐरावती किनारमा बस्नेहरुको सपना राजधानी यांगुनसम्म कसरी आइपुग्छ ? नाटकको मूल विषय थियो,” उनले सुनाए ।
घुम्ती नाटक गर्दागर्दै गाउँमा रंगमञ्च हुनुपर्छ भन्ने लाग्न थाल्यो, युवराजलाई । एक दशकयता देशका तीन फरक ठाउँमा नाटक घर खडा गरे । बर्दियामा थारु नाटक घर छ । मोरङमा झोरहाट र सिन्धुपाल्चोकमा सेलो थिएटर । “रंगमञ्च नेपाली भाषामा मात्रै सीमित भयो, मातृभाषामा पनि हुनुपर्छ भन्ने मेरो मान्यता हो,” घिमिरे भन्छन्, “त्यही कारण गाउँमा रंगमञ्चको योजना बनेको हो ।”
स्थानीय भाषा मिसाएर कथा बुन्दा र निर्देशन गर्दा धेरै आनन्द हुने बताउँछन्, युवराज । उनको नाट्य विशेषता नै स्थानीय भाषालाई नाटकको माध्यमबाट प्रस्तुत गर्नु हो । “कम्तीमा थिएटरमा सबै भाषाको उपस्थिति देखियोस् भन्ने लाग्छ,” घिमिरे भन्छन् ।
मोरङ, विराटचोकका घिमिरे काठमाडौँ उक्लिनुअघि ‘गँवार’ थिए । नाटकतिर नगएका भए उनी कि शिक्षक हुने थिए कि किसान । तर सानैदेखि पढ्ने, लेख्ने अनि नाटकप्रतिको रुचिले काठमाडौँसम्म डोहोर्यायो । बुबा शंकरप्रसाद वेदप्रकाश शर्मा मार्काका जासुसी उपन्यासका अम्मली हुँदा त्यसको फाइदा युवराजलाई पनि भयो । घरमा स्कुलबाहेकका अरु किताब पढ्ने वातावरण पाए ।
एक पटक ध्रुव सापकोटाको फोहोरको खाल्डो कथा पढेछन् । मन परेछ । त्यसलाई तोडमोड गरेर नयाँ कथा लेखेछन्, गाईलाई खोले । कविता, मुक्तक पनि लेख्थे । ९ कक्षा पढ्दा स्कुलमा आदिकवि भानुभक्तको जीवनीमा आधारित नाटकमा घाँसीको भूमिका वहन गरे । “खासमा मलाई त्यही समयदेखि नाटकप्रति आकर्षण बढेको हो,” भन्छन्, “पहिलो नाटक पनि त्यही थियो ।”
गाउँबाट पारि बिहार धेरै टाढा थिएन । हिन्दी फिल्मको प्रभावले हुनुपर्छ, हिरो बन्ने भूत सवार भयो, घिमिरेमा । एसएलसीपछि उच्च शिक्षाका लागि काठमाडौँ उक्लिए । साहित्य पढ्ने रुचि थियो । पढ्नुपर्यो कमर्स ।
०५५ ताका आईकम सकेकै बेला थाहा पाए, नाचघरले एक वर्षे नाटक कोर्ष सञ्चालन गर्न लागेको । हतार–हतार ५ रुपैयाँको टिकट टाँसेर फारम बुझाए । अन्तर्वार्तामा ९० जना छानिए । कोर्षका लागि १५ जना मात्रै छान्नुपर्ने रहेछ । अन्तर्वार्ता लिनेमा सुनील पोखरेल, अशेष मल्ल, भुवन चन्द थिए । उनलाई सुनिलले सोधेछन्, ‘अशेष मल्ललाई चिन्छौ ?’ अलिअलि नाम सुनेका भरमा उनले चिन्छु भनेछन् । तर उनले अशेष मल्ल पनि अन्तर्वार्ता लिनेमध्येका हुन् भन्ने पत्तै पाएनछन् ।
अन्तर्वार्ता सकिएको एक सातापछि नाचघरको सूचना पाटीमा युवराजको नाम पनि टाँसिएको थियो । करिब एक वर्ष यिनले दु:खका साथ नाटक सिके । बिहान नाटक, दिउँसो कलेज दैनिकी बन्यो । प्रशिक्षणपछि अन्धो युग नाटकमा अभिनयको मौका पाए ।
वर्ष दिने कोर्ष सकियो । फेरि बेरोजगार । मनोकामना र अन्डरलाइन नामक दुई अखबारमा लेख्न थाले । मुनालगायत बालपत्रिकामा पनि कथा, कविता लेख्थे । एक पटक मुनामा ‘लिँडे बाघ’ शीर्षकको कथा छापिएछ । ५ सय ५० रुपैयाँ पारिश्रमिक पाउँदा त दंग परेछन् ।
मुनामा कथा छापिएपछि यिनलाई आफू ‘खतरा’ लेखक लाग्न थालेछ । कान्तिपुर, हिमालय टाइम्स, जनसत्ताजस्ता धेरै अखबारमा रचना दिन बाँकी राखेका थिएनन् । कतै नछापिए पनि लेख्न भने छाडेनन् ।
युवराज जीवनमा कहिल्यै निरास भएनन् । १७ फागुन ०५६ को नेपाल समाचारपत्रमा व्यंग्योक्ति छापिएछ । त्यसपछि त मक्ख । अन्डर लाइन, नयाँ सडक आदिमा काम गरे, केही समय ।
०५९ मा आरोहण गुरुकुल स्थापना भयो । पत्रकारिता छाडेर आफ्नो रुचिको विधातिर फड्को मार्ने सुर कसे । सुनील पोखरेलले सुरेश चन्द, भोला सापकोटा र कमलमणि नेपालसँगै युवराजलाई पनि नाटकमा प्रवेश गराए । नाटकसँगै नेपथ्य त्रैमासिक पत्रिका सम्पादन पनि गर्थे । गुरुकुल पसेपछि नाटकसम्बन्धी किताब र हिन्दी साहित्यमा रुचि जाग्यो । गिरिश कर्णाद, विजय तेन्दुलकर, मोहन राकेश आदिका नाटक पढे ।
तीन वर्षे गुरुकुल बसाइमा आरुको फूलका सपना, कुमारी, जात सोध्नु जोगीको, मायादेवीको सपना, अग्निको कथालगायत नाटकमा अभिनय गर्न भ्याए । ती नाटकले ठूलो एक्स्पोजर दिएको ठान्छन्, युवराज । नाटक प्रदर्शनकै क्रममा भारत, पाकिस्तान, नर्वे आदि मुलुक पुग्ने मौका पाए । “गुरुकुल गएपछि ठूलो एक्स्पोजर पाएँ,” युवराज भन्छन्, “नाटकको मेरो आधारभूमि गुरुकुल नै हो ।”
खासमा यिनलाई आफैँ नाटक लेख्ने र निर्देशन गर्ने हुटहुटी थियो । गुरुकुलमा बसेर सम्भव नहुने ठाने । बाहिरिए । “पर्सनल एक्सरसाइजका लागि पनि मैले गुरुकुल छाड्नुको विकल्प थिएन,” युवराज भन्छन् । उनीसँगै बाहिरिएका राजन खतिवडासित मिलेर करिब २ वर्ष सँगै काम गरे । तर बीचैमा राजनले उनको साथ छाडेर मण्डला नाटक घर सुरु गरे ।
दिल्लीको नेसनल स्कुल अफ ड्रामा पढेर फर्किएका सुनील पोखरेल, अनुप बरालबाहेक अरु पढैया रंगकर्मी ज्यादै कम थिए । यिनलाई लाग्यो, ‘नपढी अब नाटक गर्न गाह्रो हुन्छ ।’ ०६६ मा डेनमार्कको कोपनहेगनस्थित कमेडिया डोलार्ते कलेजमा अप्लाइ गरे । शतप्रतिशत छात्रवृत्ति पाएर अढाई वर्ष डेनमार्कमै बसे । उता बस्दा केही नयाँ काम गर्ने हुटहुटीको सपनाले नेपाल फर्कायो । आँधीको मनोरम नृत्य नाट्य कृतिका लेखक भन्छन्, ‘म युरोपमै हराउन पनि सक्थेँ होला तर आत्माले मानेन । नेपालमै केही गर्नुपर्छ भन्ने लागिरह्यो ।”
डेनमार्क गएपछि गोठाले नाटक घर अलपत्र थियो । फर्किएलगत्तै यसको व्यवस्थापनमा जुटे । लेखक कुमार नगरकोटीले भनेछन्, ‘गाउँ–गाउँ पुग्नु हुन्छ, हाम्रा लागि पनि नाटक गर्नुस् न ।’ नाटकघर बनेपछिको पहिलो नाटक थियो । निर्देशन गरे, कोमा : अ पोलिटिकल सेक्स । त्यसयता युवराजले शिल्पी थिएटमा निरन्तर नयाँ र भिन्न स्वादका नाटक पस्किरहेकै छन् ।
सम्बन्धित
भृकुटी राई र इतिशा गिरीले नारीवादी कोणबाट चलाइरहेको पोडकास्ट बोजुबजै हाम्रोमा चल्ने एकतर्फ...
बोजुबजै, वर्ष ४
ईशान केही समयदेखि डुंगालाई क्यानभासमा उतारिरहेका छन् भने सविता काइँयोलाई ।...
कलाको डुंगामा सवार जोडी
बुबाआमाको नाममा चिठी लेखेर झोलामा राख्दाराख्दै लेखक बनिसकिछन्, दुर्गा । ...
नयाँ जमानाको कथा खजाना
मदनकृष्ण श्रेष्ठ, बुबाको नाम नै काफी थियो उनलाई । तर उनले यो सजिलो बाटो रोजिनन् । ...
बुबाको प्रेरणाले अघि बढेको सरानाको संगीत यात्रा
नरेन्द्र श्रेष्ठ २४ वर्षदेखि क्यामेराको बाटो हिँडिरहेका छन् । स्वयम्भूको सिरिजदेखि भूकम्पम...
क्यामेराको बाटो
प्रचण्ड, बाबुराम भट्टराईजस्ता नेताहरू कर्नाली दख्खिन बग्दो छ नाटक हेर्दा रोएको देखेका थिए,...