भीसी विजेताका फुटबलर छोरा
वाइवी (यमबहादुर) घलेका नाममा अहिले पनि एसियाडमा गोल गर्ने एक मात्र नेपालीको इतिहास कायमै छ ।
र
भिक्टोरिया क्रस (भीसी) विजेता पिता गजे घले र आफूबीच फुटबललाई लिएर चलेको जुहारी घरीघरी सम्झन्छन्, पूर्वअन्तर्राष्ट्रिय खेलाडी वाइवी (यमबहादुर) घले, ६२ । वाइवी फुटबल खेलाडी नबनी नछाड्ने । गजे घले पल्टने नबनाई नछाड्ने ।
प्रसंग ४३ वर्षअघिको हो । दोस्रो विश्वयुद्धमा बर्मामा युद्ध लडेबापत बेलायती महारानीको हातबाट भीसी प्राप्त गरेपछि गजे घलेको नाम भारतमा मात्र होइन, विश्वभरि फैलिएको थियो । सानै उमेरमा जागिरको खोजीमा गोरखा बारपाकबाट हिँड्दै भारतको देहरादुनस्थित गोरखा रेजिमेन्टमा भर्ना भएका गजे भीसी प्राप्त गरे पनि पढ्न नपाएकामा थकथक मान्थे । उनको इच्छा थियो, छोराहरू बेलायती सेनाको लप्टन वा डाक्टर नभए पनि इन्जिनियरचाहिँ बनून् ।
वाइवी आठ सन्तानमध्ये पाँचौँ थिए । उनको जन्म देहरादुनमै भयो । गजे ठूलो पदमा थिएनन् । तर, विश्वव्यापी ख्यातिका कारण उनलाई अर्दलीसहित बस्ने सुविधायुक्त घर भारत सरकारले उपलब्ध गराएको थियो । त्यसैले स्वाभाविक रूपमा वाइवीको प्रारम्भिक शिक्षा सुरु भयो, भारतको अल्मोडाबाट । सैनिक पृष्ठभूमि भएका कारण उनले स्कुलमा सबैखाले खेल अनिवार्य खेल्नु पथ्र्यो ।
जति उमेर छिप्पिँदै गयो, वाइवीको झुकाव खेलतर्फ बढ्न थाल्यो । सन् १९७६ तिर उनी अध्ययनकै क्रममा अल्मोडाबाट लखनउ हुँदै बनारसको स्पोर्ट्स होस्टेलमा भर्ना भइसकेका थिए । १४ वर्षको उमेरमै उनी उत्तर प्रदेशको विद्यालयस्तरको फुटबल टोलीमा छनोट भए ।
गजेले केही दिनमै यो कुरा थाहा पाएछन् । उनले मज्जाले हपारेछन् छोरोलाई । रोचक कुरा, गजे घले र श्याम थापा (भारतीय फुटबलका पूर्वस्टार खेलाडी) पल्टने थिए । श्याम थापाले सानैमा फुटबलमा तहल्का पिटिसकेका थिए । त्यसैले गजेले झपार्दै छोरालाई भनेछन्, ‘श्यामे जस्तो खेलाडी बन्न सक्छस् ?’
छुट्टीका बेला वाइवी नेपाल आऊजाऊ गर्थे । त्यतिबेला नवलपरासीमा बस्ने जेठा दाजुु डम्बर वाइवीलाई उकास्दा रहेछन्, ‘अरूको ठाउँमा किन बस्छस् ? आफ्नै देशमा बस्नुपर्छ ।’ फेरि डम्बरलाई थाहा थियो, साहिँलो भाइ राम्रो फुटबल खेल्छ भनेर । त्यसैले नेपालमा राम्रो फुटबल प्रतियोगिताको आयोजना भयो कि खबर गरिहाल्थे ।
सन् १९८१ मा स्नातकको परीक्षा दिएर खाली बसेका वाइवीलाई दाइले खबर पठाएछन्, ‘काठमाडौँमा पहिलो राष्ट्रिय प्रतियोगिता हुँदैछ । तुरुन्त आउनू । साथमा दुई गढवाली खेलाडीलाई पनि बोकेर ।’ नभन्दै वाइवी नेपाल आए, पहिलो राष्ट्रिय प्रतियोगितामा लुम्बिनीबाट भाग लिन । टोली सेमिफाइनलसम्म पुग्यो । त्यतिबेला चर्चामा रहेको जनकपुर चुरोट कारखानालाई हराएपछि वाइवीको खेलको यति धेरै तारिफ भएछ, उनी राष्ट्रिय टोलीको बन्द सत्रका लागि छनोट भए ।
खेल सकिनेबित्तिकै वाइवी बनारस फर्किए । दाइले अर्को खबर पठाए, ‘तँलाई राष्ट्रिय टोलीमा छनोट गरिएको छ । तुरुन्त आइज ।’ यतिबेला भने उनलाई निर्णय गर्न निकै गाह्रो पर्यो, फुटबल खेल्ने कि अध्ययनलाई अगाडि बढाउने ! तर, दाइको चर्को दबाबपछि ३१ जनवरी १९८२ मा राष्ट्रिय टोलीमा समावेश हुन नेपाल फर्किए । त्यसपछि भारत गएनन् । बाबुको सपना त्यहीँ चकनाचुर भयो ।
त्यही वर्ष भारतको नयाँ दिल्लीमा एसियन गेम्सको तयारीका लागि राष्ट्रिय टोलीको छनोट काठमाडौँमा भयो । नेपाल यही प्रतियोगितामार्फत पहिलोपल्ट आधिकारिक रूपले अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेक्दै थियो । वाइवी राष्ट्रिय टोलीमा समावेश हुनुअघि नेपाली फुटबलको प्रशिक्षकमा भारतका केएम राजेन्द्र र चीनका सुई थिए । तर, एसियाडको तयारीका लागि जर्मनीको प्रख्यात क्लब ह्याम्बर्गका व्यावसायिक प्रशिक्षक रुडी गुटेनडर्फलाई नेपाल झिकाइयो ।
रुडीले नेपाली फुटबलको परम्परागत खेल शैलीलाई पूरै परिवर्तन गराए । उनी आउनुअघि नेपाल ५–४–१ को परम्परागत शैलीमा फुटबल खेल्थ्यो । उनले त्यो शैलीलाई परिवर्तन गर्दै ४–४–२ मा लग्दै मिडफिल्डको भूमिकालाई सशक्त पारे । डिफेन्सलाई ओभरल्यापमा जान प्रेरित गरे । यसका लागि उनी युवा र जोसिला खेलाडी टोलीमा हुन् भन्ने चाहन्थे । यसैका कारण वाइवीको स्थान रोजियो, स्ट्राइकरबाट मिडफिल्डमा ।
एसियाडमा सहभागी हुनु नौ महिनाभित्र वाइवीले तयारीका लागि मात्र पाँचवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने मौका पाइसकेका थिए, त्यो पनि देश–विदेश घुमेर ।
२० तारिखमा नेपालको पहिलो खेल थियो, कुवेतसँग । कुवेतीहरू चार महिनाअघि मात्र स्पेनबाट विश्वकप फुटबल खेलेर फर्किएका थिए । अग्ला र गठिला । कुवेती टोलीको रवाफै बेग्लै । उनीहरू खेल–भिलेजमा नबसेर पाँच तारे होटलमा बस्थे ।
रेफ्रीले सिट्ठी फुक्दासम्म पनि नेपाली टोली त्रस्त थियो, कुवेतीहरूको हाउभाउ हेरेर । त्यतिबेला फरवार्डमा गणेश थापा र डम्बरसिंह गुरुङ थिए । मिडफिल्डमा वाइवी (राइट हाफ), नरेन्द्रमान सिंह (लेफ्ट हाफ), मानबहादुर मल्ल र भक्तराज कर्णिकार (बीच) थिए । डिफेन्समा कप्तान रूपकराज शर्मा (लेफ्टबाट), धीरेन्द्र प्रधान (राइटबाट), सुरेश पन्थी (आक्रामक) र श्रीराम रञ्जितकार (स्विपर) थिए । रञ्जन विष्ट गोलरक्षक । ७४ मिनेटसम्म खेल गोलरहित बराबरीमै थियो । तर, त्यसको १० मिनेटभित्र कुवेतले ड्याम–ड्याम तीन गोल हान्यो ।
खेल सकिन अझ पाँच मिनेट बाँकी थियो । मिडफिल्डमा वाइवीले राम्रो अवसर पाए । उनले दुई कुवेतीलाई कटाएर मानबहादुरलाई बल फ्याँकेका के थिए, उनले वान टचमै वाइवीलाई पुन: बल फर्काए । उनी त्यतिबेला डिफेन्सलाई काटेर पहिलो बार च्याप्दै कुवेती डी–बक्सभित्र छिरिसकेका थिए । दोस्रो बारमा उभिएका गणेश थापा र रूपक शर्मा कराए, ‘बल यता फ्याँक ।’
यतिबेला वाइवी पुन: तनावमा देखिए, बल दोस्रो बारमा उभिएका थापा र शर्मालाई दिउँ कि, आफैँ हानौँ ? वाइवीले बललाई आफ्नो नियन्त्रणमा राख्दै यसो पहिलो बारतर्फ हेरे र बल छिर्ने ठाउँ देखिहाले । पल्टने संस्कारमा हुर्किएका वाइवीलाई अब के चाहियो ? पिता गजे घलेले बर्माको युद्धमा विरोधीहरूमाथि गोली पड्काएझैँ पहिलो बार च्यापेर ड्याम्म बल हाने । बल सीधै कुवेती गोलपोस्टभित्र ।
यसपछि के चाहियो ? वाइवी रातारात स्टार बने । खेल सकेर फर्किने क्रममा उनीसँग हात मिलाउनेको भीड थियो, लकर रुममा । तत्कालीन एन्फा अध्यक्ष कमल थापाले उनलाई भनेछन्, ‘यो त केही होइन । एकपल्ट नेपाल मात्र फर्क ।’ नभन्दै, काठमाडौँ फर्किंदा वाइवीलाई नचिन्ने कोही थिएन । त्यतिबेला नेपालमा अशोक केसी, लोकबहादुर शाही, गणेश थापाहरू निकै चर्चित थिए । तर, त्यो एउटा गोलले वाइवी झन् चर्चित भए ।
छोराको त्यो खेल पल्टनमा बसेर गजे घलेले पनि हेरेका रहेछन् । उनी आफ्नो छोराको सफलता देखेर यति भावुक बनेछन्, १५ वर्ष अगाडि निधन नहुँदासम्म उनी आफ्नो छोराले राष्ट्रका लागि फुटबल खेलेकामा गर्व गर्थे । ३३ वर्षअगाडिको त्यो घटनालाई सम्झँदा अहिले पनि रोमाञ्चित हुन्छन्, वाइवी ।
सात वर्षअघि पक्षघात भयो उनलाई । ललितपुरको नक्खुस्थित आदिनाथ मार्गमा रहेको आफ्नो घर वरिपरि दैनिक बिहान र बेलुका आधा–आधा घन्टा टहलिने वाइवीको शरीरको त्यही भागमा पक्षघात भएको थियो, जुन खुट्टाले कुवेतविरुद्ध कीर्तिमानी गोल गरे । उनका नाममा अहिले पनि एसियाडमा गोल गर्ने एक मात्र नेपालीको इतिहास कायमै छ ।
सम्बन्धित
कोभिड १९ पछि नेपाली खेलकुदलाई पुरानै लयमा फर्काउने चुनौती ...
खेलकुदमा वर्ष ०७६ लाई फर्केर हेर्दा
१ सय २४ वर्षभन्दा लामो इतिहास बोकेको आधुनिक ओलम्पिकमा प्रतियोगिता स्थगित भएको यो दोस्रो घट...
कोरोना संक्रमणको असरले खेल गतिविधिमा कस्तो असर ?
दुई महान् पिताका पुत्रहरू पनि फुटबलप्रति उति नै रुचि राख्ने भएका छन् । रोनाल्डोका छोरा क्र...
रोनाल्डोका छोराका आदर्श मेसी, मेसीका छोरा रोनाल्डोका प्रशंसक
नेपालको थाइल्यान्ड यात्रा नमीठो सम्झना...
एसिया कप खेल्ने सपनामा यसरी लाग्यो तगारो
एक महिना महत्त्वपूर्ण प्रतियोगिता खेल्न नसक्ने स्थितिमा नेपाल ...
महिला भलिबलका तीन हस्ती नै चोटग्रस्त
आर्मीको खेल साँच्चै नै उम्दा थियो, यो सिजनको लिगमा । डिफेन्स र गोलरक्षणमा निकै बलियो । आर्...