युरोपेली छायामा कोपा अमेरिका
अन्तर्राष्ट्रिय फुटबलमा युरोपको बढ्दो दबदबा

विश्वको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता हो, कोपा अमेरिका । १ सय ३ वर्षअघि अर्थात् सन् १९१६ बाट सुरु भएको प्रतियोगिताले १२ औँ संस्करण पूरा गरेपछि मात्रै फुटबलको महाकुम्भ विश्वकप सुरु भएको थियो । सन् १९७५ अघि दक्षिण अमेरिकी फुटबल च्याम्पियनसिपको नाममा आयोजना भएको प्रतियोगितामा १९९० पछि मात्रै उत्तर अमेरिका र एसियाबाट टिमहरूलाई आमन्त्रण गर्न थालिएको हो । सन् १९९३ पछि १० दक्षिण अमेरिकी टिम र दुई आमन्त्रित गरी १२ टोलीका सहभागिता हुन थाल्यो कोपा अमेरिकामा । आमन्त्रितको रूपमा सर्वाधिक कोपा अमेरिका खेल्ने टोली मेक्सिको हो । उसले १० संस्करणमा सहभागिता जनाइसकेको छ । संयुक्त राज्य अमेरिकाले ४ पटक, कोस्टारिकाले ५ पटक, जमैकाले २ पटक, जापान, हाइटी, पानामाले एक–एक पटक प्रतियोगितामा आमन्त्रित टोलीको रूपमा सहभागिता जनाइसकेका छन् ।
नेपालमा भने कोपाको लोकप्रियता दक्षिण अमेरिकी टोलीले लामो समय विश्व फुटबलमा देखाएको दबदबाको कारण हो । फुटबल हेर्ने प्रशंसकलाई कुन टोलीको खेल मनपर्छ भनेर सोध्यो भने ब्राजिल र अर्जेन्टिनाको नाम आइहाल्छ । तर, उत्कृष्ट फुटबल कहाँ खेलिन्छ भनेर सोधियो भने युरोपको नाम आउनेमा कुनै द्विविधा छैन । युरोपको व्यावसायिक फुटबलको विस्तार नेपालसम्म भइसकेको छ ।
हुन पनि पछिल्लो समय युरोपेली टोलीले विश्व फुटबलमा गरेको उम्दा प्रदर्शन प्रशंसायोग्य छ । युरोपेली टोलीले पछिल्ला ४ वटा विश्वकपको उपाधि उचालिसकेको छ । सन् २००२ अघि दक्षिण अमेरिकी टोलीले लगातार दुईपटक विश्वकप उचाल्न मात्रै सकेका थिएनन् तर बढी जित्नेमा उनीहरू नै थिए । तर, यसपटकको रुस विश्वकपमा त स्थिति कस्तोसम्म भयो भने सेमिफाइनल पुग्नै सबै चार टोली युरोपका थिए । क्वार्टरफाइनलमा स्थान बनाएका ८ मध्ये ६ टोली युरोपका थिए । अन्तर्राष्ट्रिय फुटबलमा युरोपको बढ्दो प्रभाव यसले पनि देखाउँछ ।
सन् २०१० अघिसम्म युरोपबाहिर आयोजना भएको विश्वकप उचाल्ने युरोपेली टोली नै थिएनन् । पछि सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजना भएको विश्वकप फुटबलको उपाधि स्पेनले र सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप जर्मनीले जित्यो ।
समय सधैँ यस्तो थिएन । क्लब फुटबलमा युरोपको दबदबा रहे पनि अन्तर्राष्ट्रिय फुटबलमा दक्षिण अमेरिकी टोलीको एकछत्र राज हुने गर्थ्यो । त्यसको एउटै उदाहरण ब्राजिल हो । सन् १९५८ देखि ७० सम्म आयोजना भएका ४ वटा विश्वकपमध्ये उसले ३ वटा आफ्नो पोल्टामा पार्यो । त्यस्तै सन् १९९४ देखि २००२ मा भएका ३ मध्ये विश्व फुटबलको २ वटा महाकुम्भको उपाधि ब्राजिलले जित्यो । त्यसबीचमा अर्को दक्षिण अमेरिकी टोली अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप उचाल्यो ।
तर, अहिले समय बदलिएको छ । फुटबल खेल्ने तौरतरिका पनि बदलियो । त्यसको प्रभाव दक्षिण अमेरिकी टोलीको नतिजामा देखिन थालेको छ । सन् २०१४ को फाइनल अर्जेन्टिनाले खेले पनि पछिल्ला ४ संस्करणको विश्वकप फाइनलमध्ये ३ वटा युरोपेली डर्बी बन्न पुग्यो । हरेक चार वर्षमा ब्राजिली र अर्जेन्टिनी फुटबलको व्यापक चर्चा हुने गर्छ । यसपटक उनीहरूले केही जादु गर्लान् कि भन्ने आश पनि हुन्छ । तर, मैदानमा त्यस्तो केही हुँदैन । किन त ? दक्षिण अमेरिकी फुटबललाई के भयो ?
यसको अर्थ के होइन भने दक्षिण अमेरिकी फुटबल तहसनहस भइसक्यो । ब्राजिलले विश्वस्तरीय खेलाडी उत्पादन गर्न नसकेको पनि होइन । अर्जेन्टिनामा पनि युवा खेलाडीको उत्पादन भइरहेकै छ । तर, मुख्य कारक हो– भूमण्डलीकरण । फुटबल अहिले विश्वमै चर्चाको शिखरमा छ । यही चर्चाले व्यावसायिकतालाई जग हालेको छ र यहाँ पैसाको खोलो बग्न थालेको छ । त्यसको मुहान युरोप र युरोपेली क्लब हाँक्ने धनाढ्यहरू हुन् ।
त्यसो त स्वयं दक्षिण अमेरिकीहरू पनि सानै उमेरका फुटबल खेलाडीको युरोपेली क्लबप्रतिको मोहका कारण राष्ट्रिय टोलीको प्रदर्शन खस्केको विश्वास गर्छन् । राष्ट्रिय टोली र लिगमा उत्कृष्ट प्रदर्शन गर्नेहरू पनि लामो समय त्यहीँ टिकिरहन सक्दैनन् । फलतः विभिन्न संरचनाका फुटबल खेलेर हुर्किएकाहरूबीच तालमेल मिलाउन कठिन हुन्छ किनकि युरोपेली र दक्षिण अमेरिकी फुटबल शैलीमा आकाश–जमिनको अन्तर छ ।
राष्ट्रिय टोलीमा अटाउने खेलाडीले एकै खाले लिग खेल्दाको परिणाम बुझ्न धेरै टाढा जानु पर्दैन । सन् २०१४ मा जर्मनीले विश्वकप उचाल्दा टोलीका अधिकांश सदस्य बुन्डेस लिगाका थिए । स्पेनले २०१० मा विश्वकप जित्दा टोलीमा अटाएका खेलाडी ला लिगा खेल्ने अधिक थिए । इटालीले २००६ मा विश्वकप जित्दा सिरी आ का खेलाडीको भर पर्नु परेको थियो । यो मामिलामा फ्रान्स अपवाद बन्यो ।
राष्ट्रिय टोलीका सदस्यको खेल्ने शैलीको एकरूपताले पार्ने प्रभाव दक्षिण अमेरिकी टोलीमा मात्रै सीमित छैन, नेदरल्यान्ड्सको टोली आयाक्स डच फुटबलमा उत्कृष्ट खेलाडी जन्माउने पावरहाउसको रूपमा पनि परिचित थियो । अहिले १९ वर्षमुनिका खेलाडीहरूले चाँडै क्लब परित्याग गर्न थालेका छन् । परिणाम नेदरल्यान्ड्स फुटबलका २ महत्त्वपूर्ण प्रतियोगितामा छनोट हुनै सकेन । खेलाडीले सानै उमेरमा राष्ट्रिय क्लब छाड्नु ठूलै समस्या हो । तर, त्यसको एउटै कारण हो– पैसा । फुटबलमा पैसा छ युरोपमा । त्यसैले दक्षिण अमेरिकी भूमिमा उत्पादन हुने उम्दा खेलाडीहरू आफ्नै माटोमा लामो समय टिक्दैनन् किनकि त्यहाँ पैसा छैन । र, फिफामा आबद्ध महादेशमध्ये दक्षिण अमेरिकी महादेश भ्रष्टाचारमा लिप्त छ । त्यसैले युवामा उसले लगानी बढाउन सकेको छैन ।
पछिल्लो विश्वकपमा ब्राजिल, उरुग्वे र अर्जेन्टिनाले मैदान उतारेका खेलाडीको उमेर अन्य टोलीभन्दा धेरै बढी थियो । दक्षिण अमेरिकी युवा टोलीले ठूला प्रतियोगिता नजितेको धेरै भइसक्यो । अर्जेन्टिनाले ११ वर्ष र २० वर्षमुनिको विश्वकप जितेको थियो । त्यतिबेला टोलीमा सर्गियो एग्युरो र एन्जेल डी मारिया सदस्य थिए । भन्नुको तात्पर्य– पछिल्लो पटक युवा विश्वकप जित्ने दक्षिण अमेरिकी टोलीका सदस्यहरू आफैँ सिनियर टोलीका लागि बूढा र थकित भइसकेका छन् ।
अर्कोतर्फ युरोपेली टोलीहरू युवालाई प्रोत्साहित गर्दै छन् । जर्मनीको युवा टोलीले पछिल्लो समय कन्फेडेरेसन कप जित्यो, युवा टोलीमा विश्वास गरेको इंग्ल्यान्ड पछिल्लो विश्वकपको सेमिफाइनलसम्म पुग्यो, बेल्जियमको टोलीमा पनि युवाको बाहुल्य छ भने विश्वकप विजेता फ्रान्सको टोलीका सदस्यहरू आफ्नो उत्कृष्ट समयमा पुग्न अझै बाँकी छ । कुनै समय थियो, जतिबेला विश्व फुटबललाई दक्षिण अमेरिकी र युरोपेलीबीचको घोडादौडको रूपमा परिभाषित गरिन्थ्यो । तर, अहिले यो दौडबाट एउटा घोडा गायब भए बराबर छ ।
खेल दक्षिण अमेरिकामा नजर युरोपमा
कोपा अमेरिका लियोनेल मेसी, हामेस रोड्रिग्वेज, एलेक्सिस सान्चेज, फिलिप काउटिन्होजस्ता खेलाडीको प्रदर्शनमा मस्त रहने मात्र होइन, केही नयाँ खेलाडीको उदयको पनि प्रतीक्षामा छ । त्यो भनेको उनीहरूलाई क्लबमा भित्र्याउन अब युरोपेली स्काउटहरू गर्ने तँछाडमछाड नै हो । क्वार्टर फाइनलसम्मका प्रदर्शनबाट नयाँ सिजन युरोप जान सक्ने पाँच खेलाडीमा छन्–
१ एभर्टन
(ग्रेमियो, ब्राजिल)
२३ सदस्यीय ब्राजिली टोलीमा युरोपेली फुटबल नखेल्ने ३ मध्येका एक खेलाडी हुन्, एभर्टन । विश्वकपमा राम्रो प्रदर्शन गर्न नसके पनि २९ वर्षीय विंगरले ग्रेमियोबाट १२ खेलमा ६ गोल गरिसकेका छन् । त्यसैको आधारमा उनी कोपाका लागि राष्ट्रिय टोलीमा छनोट भए ।
२ जोसेफ मार्टिनेज
(एट्लान्टा युनाइटेड, भेनेजुएला)
फुटबल प्रशंसकबीच २६ वर्षीय मार्टिनेज पेनाल्टी प्रहार गर्ने अद्भुत कलाका कारण परिचित छन् । सन् २०१८ मा एट्लान्टालाई अमेरिकाको मेजर लिग सकरको विजेता बनाएका यिनले ३९ खेलमा ३५ गोल गरेका थिए । उनले गोल्डन बुट मात्र होइन, मोस्ट भ्यालुएवल प्लेयरको अवार्ड पनि जिते ।
३ एक्सिक्वेल पालासियो
(रिभर प्लेट, अर्जेन्टिना )
सन् २०१८ मै स्पेनी क्लब रियाल मड्रिडको नजरमा परेका पालासियो आर्सनल जाने हल्ला पनि चलेको थियो । जारी प्रतियोगितामा अर्जेन्टिनाबाट राम्रो प्रदर्शन गरे उनी लामो समय
गृहमैदानको लिगमा रहने छैनन् ।
४ नाहितान नान्डेज
(बोका जुनियर्स, उरुग्वे)
अर्जेन्टिनाको बोका जुनियर्सबाट खेल्ने उरुग्वेका मिडफिल्डर नान्डेजले सन् २०१५ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेयता २२ क्याप जितिसकेका छन् । बोका जुनियर्सलाई सन् २०१७/०१८ मा टाइटल जिताएका यिनले सन् २०१८ को विश्वकपमा उरुग्वेबाट सबै खेलमा सहभागिता जनाएका थिए ।
५ सेन्टियागो अर्जामेन्डिया
(सेरो पोर्तेनो, पाराग्वे)
२१ वर्षीय फूलप्याक अर्जामेन्डिया ओभरल्यापमा गएर खेल्न पनि माहिर छन् । सेट पिस गर्ने अद्वितीय कलाका कारण सेरो पोर्तेनोका भरपर्दा खेलाडीका रूपमा उनको दर्ज हुन्छ । गत मार्चमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका यिनी यसै सिजन युरोपको ढोका उघार्ने प्रयासमा छन् ।
नेपाली दर्शकले हेर्न पाएनन् कोपा अमेरिका
कोपाको ज्वरोले यसपटक नेपाली दर्शकलाई छोएन । नेपाली केबल टिभीले प्रसारण गर्न नसक्दा यसपालि कोपा अमेरिका फुटबलका नेपाली प्रशंसकले सहजै प्रतियोगिता हेर्न पाएनन् । विश्वकप र च्याम्पियन्स लिगपछि नेपालमा सर्वाधिक रुचाइने खेल कोपा अमेरिका हो ।
गत मे ३० देखि आगामी जुलाइ १४ सम्मको किक्रेट प्रतियोगिता आईसीसी विश्वकपको मारमा पर्यो, कोपा अमेरिका फुटबल । कुनै पनि भारतीय टिभी च्यानलले कोपा अमेरिका प्रसारण गरेनन् । विगतका संस्करणमा नेपाली दर्शकले भारतीय च्यानलबाट यो प्रतियोगिता हेर्थे । सहज र कम खर्चमा भारतीय मिडियाबाट प्रसारण अधिकार ल्याउँदै आएका नेपाली केबल टिभीले सीधै ल्याउन ठूलो लगानी गर्नुपर्ने भएपछि कोपा अमेरिका प्रसारण गरेनन् । जुन १४ बाट सुरु भएको विश्वकै पुरानो कोपा अमेरिका फुटबलमा यसपटक दुई एसियाली मुलुक सहभागी छन्, जापान र कतार ।
जापानले दोस्रोपटक प्रतियोगितामा सहभागिता जनाएको हो भने कतार पहिलोपटक सहभागी हुँदै छ । नेपाली फुटबलप्रेमी इन्टरनेटको माध्यमबाट कोपा अमेरिका फुटबल हेर्न बाध्य छन् । आगामी वर्ष अर्जेन्टिना र कोलम्बियामा संयुक्त रूपमा हुने कोपा अमेरिकाको ४७ औँ संस्करणलाई नेपाली केबल टिभीले सीधै नेपाली च्यानलबाट प्रसारणको प्रयास गर्ने बताएका छन् । तर लगानी र पहुँचका हिसाबले नेपाली केवलबाट सीधै प्रसारण गर्न त्यति सहज भने छैन ।