खेलभित्र झेल
राखेपको नेतृत्वमा हुँदा ओलम्पिकलाई गाली गर्ने र त्यहाँ पुगेपछि राखेपलाई सत्तोसराप गर्ने नेपाली खेलकुदको रोग नै हो ।

मतदाता संख्या २७ । १९ पदमा २६ जनाको उम्मेदवारी । नेपाल ओलम्पिक कमिटी (एनओसी) को २० भदौमा हुने निर्वाचनको राप र ताप बुझ्न यिनै आँकडा पर्याप्त छ । दुई कार्यकाल अध्यक्ष भइसकेका ध्रुवबहादुर प्रधान विधानतः कुनै पनि पदमा उठ्न नपाउने भएकाले मात्रै निर्वाचनको रिङबाहिर पुगेका हुन् । नत्र कमिटीमा २७ मा २७ नै उम्मेदवार हुने स्थिति बन्न सक्थ्यो ।
एनओसीमा आबद्ध २७ राष्ट्रिय खेल संघका एक–एक प्रतिनिधिसँग मताधिकार रहन्छ । अध्यक्षसँगै ५ उपाध्यक्ष, महासचिव, सह–महासचिव, ३ सचिव, कोषाध्यक्ष र ७ सदस्य गरी एनओसीमा १९ सदस्यीय कार्यसमिति रहन्छ । २० साउनको विशेष साधारणसभाले उपाध्यक्ष र सचिव पद मात्र थपेन, मानार्थ अध्यक्ष र उपाध्यक्षको परिकल्पना पनि गरेको छ ।
दुई कार्यकाल महासचिव रहेका जीवनराम श्रेष्ठ ४ वर्षअघि एनओसीको अध्यक्ष चुनिए । अध्यक्ष भएलगत्तै उनले स्की संघ गठन गरेर आफैँ अध्यक्ष बने । एनओसी अध्यक्षका रुपमा हुने वैदेशिक भ्रमण, त्यस दौरान पाइने आतिथ्य र अन्तर्राष्ट्रिय सम्बन्धमा पुग्ने मलजलको स्वाद चाखिसकेका काठमाडौँ–८ का नेकपाका सांसद जीवनराम अध्यक्षको एक कार्यकाल थप्ने मुडमा छन् ।
अध्यक्षका अर्का प्रत्यासी उमेशलाल श्रेष्ठ पनि व्यावसायिक हिसाबले हेभिवेट हुन् । ४ वर्षअघि जीवनरामसँग अध्यक्षमा पराजित उनी त्यसको बदला लिने सुरमा छन् ।
क्वेस्ट फर्मास्युटिकल्स संस्थापकमध्येका एक उनी उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हुन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र सहाना प्रधानका छोरा उमेशलाल यसअघि एनओसीमा दुई कार्यकाल उपाध्यक्ष रहिसकेका छन् । नेकपाको संस्थापन निकट उनी भन्छन्, “यस पटक तयारी राम्रै गरेर आएको छु ।”
राखेपको नेतृत्वमा हुँदा ओलम्पिकलाई गाली गर्ने र त्यहाँ पुगेपछि राखेपलाई सत्तोसराप गर्ने नेपाली खेलकुदको रोग नै हो । तर अचम्मलाग्दो तथ्य, तिनै व्यक्ति जस्केलाबाट भए पनि ओलम्पिक कमिटी छिर्ने छिर्के दाउ खोजिरहेका हुन्छन् ।
यस पटक राखेप उपाध्यक्ष पीताम्बर तिम्सिना एनओसीको उपमहासचिवमा निर्विरोध भए । एथ्लेटिक्स संघबाट प्रतिनिधि बनेका तिम्सिनालाई चुनौती दिने कोही निस्केनन् । वर्तमान कोषाध्यक्ष रतन टण्डन पनि सोही पदमा निर्विरोध भए । एनओसीको विधानअनुसार पहिलो पटक साधारणसभामा भाग लिनेले सदस्य, उप–महासचिव र सचिवमा मात्रै उम्मेदवारी दिन पाउँछन् । एथ्लेटिक्स संघका अध्यक्ष राजीव शाहले आफ्नो नाम फिर्ता लिएर अन्तिम समय तिम्सिनाको नाम प्रतिनिधिका रुपमा पठाएका हुन् । संघको साधारणसभा गर्न र चितवनमा भएको सीमित जिल्ला प्रतिनिधि सहभागी साधारणसभालाई वैधानिकता दिन तिम्सिनाले खेलेको भूमिकाको बदलामा शाहले उनलाई ओलम्पिक कमिटीमा एथ्लेटिक्स संघको प्रतिनिधिको गुन लगाएका हुन् ।
राखेप सदस्यसचिवको कार्यकाल ९ असारमा मात्रै सकाएका केशवकुमार विष्ट पनि सचिवका उम्मेदवार छन् । विष्ट तिनै व्यक्ति हुन्, जसले उसु संघमा हस्तक्षेप गरी नेपाल उसु फेडेरेसन स्थापना गरे । तर सचिवमा उम्मेदवार बन्न उनले उसु संघकै सहारा लिएका छन् ।
सदस्यसचिव रहँदा खेल संघलाई नियन्त्रणमा राख्न सफल हुनेहरुलाई ओलम्पिक यात्रा सहज हुन्छ । खेल संघहरु राखेपमा दर्ता हुनुपर्छ । कार्यक्रम सञ्चालनमा पनि सरकारी अनुदान, सहयोग चाहिन्छ । यसैको फाइदा उठाउँछन्, त्यहाँका नेतृत्वले । कमिटी छिर्न खेल अधिकारीहरु लालायित रहेको अर्को उदाहरण बक्सिङ संघका पूर्वअध्यक्ष राजीव श्रेष्ठ हुन् ।
एनओसीका उप–महासचिव श्रेष्ठले यस पटक र्याफ्टिङ तथा क्यानोइङ संघमार्फत ओलम्पिकको प्रतिनिधित्व हात पारे । बक्सिङ संघबाट अध्यक्ष राम अवाले नै प्रतिनिधि भएपछि उपाध्यक्षको उम्मेदवार बन्न उनले जस्केलो प्रयोग गरे । मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारी पनि उपाध्यक्षको उम्मेदवार बनेका छन् । संवैधानिक आयोगका अध्यक्षजस्तो व्यक्तिलाई ओलम्पिक–मोह किन भयो ? बुझिनसक्नु छ ।