१३ औँ साग : ५० स्वर्ण जित्ने लक्ष्य पूरा गर्ला नेपालले ?
२७ खेलमध्ये ५० मा पहिलो हुने नेपालको लक्ष्य
अंग्रेजीमा अंक १३ लाई त्यति शुभ मानिन्न । तर नेपालको हकमा यो अंक शुभ र फलदायी हुने छाँट देखिएको छ । कारण, आफ्नै भूमिमा नेपालले दुई दशकपछि दक्षिण एसियाली खेलकुद (साग) को १३ औँ संस्करण आयोजना गर्दै छ । यसलाई यादगार बनाउन अहिलेसम्मकै सर्वाधिक ५० स्वर्ण जित्ने लक्ष्य लिएको छ । हुन पनि नेपालले सागको एउटै संस्करणमा सबैभन्दा बढी पदक जितेको पनि घरेलु भूमिमै हो । सन् १९९९ को सेप्टेम्बर २५ देखि अक्टुबर ४ सम्म काठमाडौँमा भएको आठौँ साग गेम्समा नेपालले अहिलेसम्मकै सर्वाधिक ३२ स्वर्णसहित कुल ६६ पदक जितेको थियो । उक्त संस्करणमा तेक्वान्दो र कराँतेले डेब्यु गरेका थिए । मार्सल आर्ट्समा जितेको स्वर्णकै कारण नेपाल सो संस्करणको पदक तालिकामा दोस्रो भएको थियो । आठौँ सागमा जम्मा १२ खेलबाट ३२ स्वर्ण जितेको नेपालले यस पटक २७ खेलमा ५० स्वर्णको आश गर्नु नौलो नभएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालको तर्क छ ।
सागको इतिहासमा नेपालले अहिलेसम्म जम्मा ७९ स्वर्ण मात्रै जित्न सकेको छ । त्यसैले पनि ५० स्वर्ण आकाशको फल हुने हो कि भन्ने संशय छ । तर नेपालले पदकको आश गरेको कराँते र उसुमा भारतको सहभागिता नहुने भएकाले ५० स्वर्णको लक्ष्य कठिन नरहेको सिलवाल बताउँछन् । अन्तिम समय आएर भारतले तेक्वान्दोमा आफ्ना खेलाडी दर्ता गराएको छ । यस पटक तेक्वान्दोमा २९ स्वर्ण, उसुमा २२ र कराँतेमा १९ स्वर्णका लागि भिडन्त हुँदै छ ।
सागको पहिलो संस्करणमा ६२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदा नेपालले ४ स्वर्णसहित २४ पदक जितेको थियो । ४४ स्वर्ण जितेको भारत कुल ८८ पदकसहित पहिलो स्थान हासिल गर्दा नेपाल चौथो भएको थियो । श्रीलंकाले ७, पाकिस्तानले ५, बंगलादेशले २ स्वर्ण पदक जिते । नेपालका लागि बैकुण्ठ मानन्धरले एथलेटिक्सको म्याराथन दौड, दलबहादुर राना र पुष्करध्वज शाहीले बक्सिङबाट स्वर्ण दिलाए । अर्को स्वर्ण फुटबलबाट प्राप्त भएको थियो । रूपकराज शर्माको कप्तानीमा रहेको फुटबल टोलीले स्वर्ण जित्ने सौभाग्य पाएको थियो ।
सन् २०१६ मा भारतको गुवाहटी र सिलोङमा भएको १२ औँ संस्करणको सागको नतिजालाई आधार मान्ने हो भने ५० स्वर्ण निकै कठिन लक्ष्य हो । २३ खेलका २ सय २८ इभेन्ट्समा प्रतिस्पर्धा हुँदा नेपालले जम्मा ३ स्वर्ण जितेको थियो । कुल ६० पदक जितेको नेपाल तालिकाको छैटौँ स्थानमा रह्यो । एउटै पनि स्वर्ण नजित्ने भुटान र मालदिभ्स मात्रै नेपालभन्दा मुनि थिए, पदक तालिकामा । तर यस पटक अफगानिस्तानको सहभागिता नभएकाले त्यसको फाइदा नेपालले उठाउन सक्ने आकलन गरिएको छ । गएको संस्करणमा चौथो भएको अफगानिस्तानले ७ स्वर्णसहित ३५ पदक जितेको थियो ।
गत संस्करणमा नेपाली पुरुष फुटबल टोलीले २३ वर्षपछि सागमा स्वर्ण जितेको थियो । उसुमा निमा घर्ती मगर र जुडोमा फुपुल्हामु खत्रीले स्वर्ण दिलाए, नेपाललाई । पहिलो पटक तेक्वान्दो स्वर्णविहीन भएको थियो १२ औँ सागमा । कुनै समय स्वर्णको आश गरिएका एथलेटिक्स र भारोत्तोलनसहित मार्सल आर्ट्सका सबै खेलमा अहिले नेपालको प्रदर्शन खस्कँदो रहेकाले पनि ५० स्वर्णको लक्ष्य कठिन हुन्छ कि ?
उसु
सागमा उसुको सहभागिता श्रीलंकाको कोलम्बोमा सन् २००६ मा सम्पन्न दसौँ संस्करणबाट भएको हो । त्यसयता नेपालले उसुको सान्सौ र थाउलो दुवै विधामा सहभागिता जनाउँदै आएको छ । उसुबाट नेपालले १० औँमा २ स्वर्ण, ११ औँमा २ स्वर्ण र १२ औँमा १ स्वर्ण जितेको छ । यस पटक उसुमा २२ स्वर्णका लागि स्पर्धा हुँदा नेपालको तयारी सन्तोषजनक छैन । उसुका खेलाडीले साग सुरु हुनअघिसम्म पनि कराँतेको म्याटमा प्रशिक्षण गर्नु परेको छ । नेपाली खेलाडीको बलियो पक्ष मानिएको थाउलोको प्रशिक्षण कराँतेको पुरानो म्याटमा भइरहेको छ ।
तेक्वान्दो र बक्सिङका गियर र प्याड लगाएर खेलाडीहरू प्रशिक्षणरत छन् । थाउलोका प्रशिक्षक प्रकाश लामाका अनुसार ट्रेनिङ म्याट र गियरबारे राखेपलाई धेरै अघि सूची बुझाइएको थियो । तर सामान खरिद भएर आइनसकेको भन्दै राखेपले उसुको खेल सामग्री उपलब्ध गराउन सकेको छैन । उसु संघका उपाध्यक्ष रञ्जित महर्जन खेलाडीलाई खान र बस्नबाहेक अन्य केही सुविधा उपलब्ध नभएको गुनासो गर्छन् । उसुमा नेपालको मुख्य प्रतिस्पर्धी भारत र श्रीलंका हुन् । यस पटक भारतको सहभागिता नरहने भएकाले पनि नेपालले बढी पदकको आश गरेको छ । उसुमा कम्तीमा ८ स्वर्णको आश गरेको नेपालले थाउलोतर्फ ८ र सान्सौतर्फ १४ खेलाडी उतार्दै छ ।
तेक्वान्दो
स्वर्णको हिसाब गर्ने हो भने नेपाली खेलकुद इतिहासमै सर्वाधिक सफल तेक्वान्दो खेल हो । सन् १९९९ को आठौँ सागबाट प्रवेश पाएको तेक्वान्दोले हालसम्म २४ स्वर्ण, १४ रजत र ८ कास्य दिलाएको छ, नेपाललाई । तर गत संस्करणको सागमा ७ वटा फाइनल खेले पनि नेपालको खातामा तेक्वान्दोले स्वर्ण दिलाउन सकेन । तेक्वान्दो खेलाडी दीपक विष्टले सागमा लगातार ४ स्वर्ण जितेर कीर्तिमान बनाएका छन् । यिनै कीर्तिमानी खेलाडीको प्रशिक्षणमा रहेको तेक्वान्दो टोलीले २९ स्वर्णका लागि स्पर्धा गर्दै छ । यस पटक तेक्वान्दोकै पुम्से विधा थपिएको छ । ग्योरोगी (फाइट) र पुम्से (काता) मा यसअघिको भन्दा झन्डै दोब्बर संख्यामा पदक भएकाले पनि नेपालले आठौँको इतिहासलाई तोड्ने अपेक्षा गरिएको छ ।
मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ यस पटकको तयारी सन्तोषजनक रहेको बताउँछन् । भन्छन्, “ग्योरोगी टोलीले चीन र पुम्से टोलीले मलेसिया पुगेर प्रशिक्षण गरेकाले पनि पदकको आश गर्नु स्वाभाविक हो ।” यस पटकको अभ्यासले खेलाडीको मनोबल उच्च भएकाले पनि आधाभन्दा बढी स्वर्ण नेपालको पोल्टामा पर्ने अपेक्षा तेक्वान्दोको छ ।
त्यस पछाडिका कारण पनि छन् । अहिले तेक्वादो टोलीमध्येका ५ खेलाडीले ग्योरोगी र पुम्सेमा सागमा पदक जितिसकेका छन् । मनिता शाहीले सागमा १ स्वर्णसहित २ पदक जितिसकेकी छिन् । त्यस्तै, सागकी स्वर्ण पदक विजेता आयशा यस पटक पुम्सेमा प्रतिस्पर्धा गर्दै छिन् । मनिता र आयशा तिनै खेलाडी हुन्, जसले २००६ को दोहा एसियाडमा कास्य जितेका थिए ।
कराँते
सागमा नेपाललाई पदक दिलाउने खेलमध्येको एक हो, कराँते । अघिल्लो संस्करणमा समावेश नभएको कराँतेले आठौँयता २१ स्वर्ण दिलाइसकेको छ । आठौँमा १४ स्वर्ण, नवौँमा २, दसौँमा २ र एघारौँमा कराँतेबाट नेपालले ३ स्वर्ण प्राप्त गरेको थियो, सागमा । कराँतेको स्पर्धामा नेपालले ६ देखि ८ वटा स्वर्ण जित्ने लक्ष्य लिएको छ । १९ इभेन्ट्समा ३२ खेलाडी सहभागी हुने कराँतेमा आठौँ सागपछि ऐतिहासिक उपलब्धि हासिल गर्ने प्रमुख प्रशिक्षक मदन उप्रेती बताउँछन् । खेलाडीको तयारी, उनीहरूको मनोबल र पछिल्ला प्रतियोगितामा प्राप्त नतिजाका आधारमा आफूहरूले ६ देखि ८ स्वर्णको लक्ष्य राखेको उनले सुनाए । कराँतेमा महिलातर्फ श्रीलंका र बंगलादेश तथा पुरुषतर्फ पाकिस्तानलाई मुख्य प्रतिद्वन्द्वी मानिएको छ । भारतको सहभागिता कराँतेमा नहुने भएकाले पनि यस पटक नेपाल फाइदामा छ । काता स्पर्धा र महिला इभेन्ट्समा नेपालले बढी पदकको आश गरेको छ ।
नेपाली टोलीका प्रशिक्षक एवं सुपरीवेक्षक दीपक श्रेष्ठका अनुसार बंगलादेशमा हालै सम्पन्न पाँचौँ संस्करणको दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा ८ स्वर्ण, ४ रजत र ७ कास्य जितेको नेपाली टोलीले भारतीय खेलाडीलाई पराजित गरेकाले पनि मनोबल उच्च छ । उक्त प्रतियोगितामा पाकिस्तानले सहभागिता जनाएको थिएन । कराँतेमा भारतीय खेलाडी नेपालको तुलनामा निकै अब्बल मानिन्छन् ।
भारोत्तोलन
सागमा सबैभन्दा पुरानो खेल भारोत्तोलन पनि हो । पहिलो संस्करणबाटै समावेश भएको प्रतियोगितामा नेपालले छैटौँबाहेक अन्यमा सहभागिता जनाएको छ । तर नेपालले स्वर्ण जित्न भने दसौँ संस्करणसम्म कुर्नुपर्यो । सागमा भारोत्तोलनबाट नेपाललाई स्वर्ण दिलाउने एक मात्र खेलाडी कमलबहादुर अधिकारी हुन् । कमलबहादुरले सन् २००६ कोलम्बो सागमै भारोत्तोलनका लागि पहिलो स्वर्ण जितेका थिए । त्यसयता उनी लगातार खेलिरहेका छन् र यसपल्ट पनि प्रतिस्पर्धामा उत्रँदै छन् । सागका लागि भारोत्तोलनमा सर्वाधिक पदक जित्ने खेलाडी भने सुनीललाल जोशी हुन् । पहिलोदेखि सातौँसम्म उनले ५ रजत र ९ कास्य जितेका थिए ।
संख्याको हिसाबले भारोत्तोलन सागमा सबैभन्दा बढी पदक दिलाउने खेल हो । ४२ रजत र ६७ कास्य भारोत्तोलनबाट जितेको छ, नेपालले सागमा । २० खेलाडी उतार्न लागेको नेपालले ८ जनालाई दक्षिण कोरिया र १२ जनालाई उज्वेकिस्तानमा प्रशिक्षण दिलाएको थियो । अन्तर्राष्ट्रिय सहभागिता अत्यन्तै न्यून भएको खेलको रूपमा रहेको भारोत्तोलनले यस पटक स्वर्णको आश गरेको छैन । दक्षिण एसियाली देशका खेलाडी शारीरिक रूपमा नेपालभन्दा बलिया भएकाले पनि पदकको आश नगरिएको हो ।
एथ्लेटिक्स
नेपालले सागका सबै संस्करणमा सहभागिता जनाएको खेल हो, एथ्लेटिक्स । लामो दूरीको स्पर्धामा नेपालले राम्रो गरे पनि एथ्लेटिक्सको छोटो दूरीमा भने सधैँ असफल रहँदै आएको छ । त्यसैले यस पटक पनि नेपालले लामो दूरीबाटै स्वर्णको आश गरेको छ । नेपालका बैकुण्ठ मानन्धरले पहिलोदेखि तेस्रो सागसम्म म्याराथनमा लगातार स्वर्ण जिते । म्याराथनमा उनले बनाएको २ घन्टा १५ मिनेट ३ सेकेन्डको दक्षिण एसियाली कीर्तिमान कसैले भंग गर्न सकेको छैन । सातौँ संस्करणको सागमा गणेश राईले म्याराथनमा स्वर्ण जिते । ११ औँ सागमा राजेन्द्र भण्डारीले रोड रेसमा जितेको स्वर्ण नै एथ्लेटिक्सले प्राप्त गरेको पछिल्लो पदक हो । सातौँ सागमा खुर्सिद अहमद खानले ज्याबलिन थ्रोमा रजत र दसौँमा कान्छीमाया कोजुले १० हजार मिटर दौडमा जितेको रजत पदकलाई छाड्ने हो भने खेलकुदको राजा मानिने एथ्लेटिक्समा नेपालको प्रभाव नगन्य छ । कम वैदेशिक सहभागिता हुने एथ्लेटिक्समा आवश्यक मात्रामा प्रशिक्षण सामग्री उपलब्ध हुन नसक्दा पदक जित्ने सम्भावना पनि क्षीण हुँदै गएको छ ।
बक्सिङ
सागको सबै संस्करणमा सहभागी भए पनि बक्सिङबाट नेपालले हालसम्म ६ वटा मात्र स्वर्ण जितेको छ । सन् १९८४ को पहिलो सागमा २ स्वर्णसहित कुल ९ पदक जितेको बक्सिङले कोलकातामा भएको तेस्रो र पाकिस्तानमा सम्पन्न चौथो सागमा १–१ स्वर्ण दिलाएको थियो । त्यसपछि एकैचोटि आठौँमा २ स्वर्ण जितेको बक्सिङले त्यसयता स्वर्ण पदकको मुख देखेको छैन । पहिलो सागमा दलबहादुर राना मगर र पुष्करध्वज शाहीले स्वर्ण दिलाएको बक्सिङबाट पछिल्लो पटक प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जिते । विदेशी प्रशिक्षक उज्वेकिस्तानका अलिशेर रहीमुभ र वैदेशिक प्रशिक्षणमा अनुभव हासिल गरेको नेपाली टोलीबाट यस पटक पुरुषतर्फ २ र महिलातर्फ १ स्वर्ण जित्ने आशा गरिएको छ । बक्सिङमा नेपालले ६ महिला र १० पुरुष खेलाडी उतार्दै छ ।
फुटबल
सागको टिम गेममा नेपाललाई सर्वाधिक स्वर्ण दिलाउने खेल हो, फुटबल । पुरुष फुटबलमा सागको सबै संस्करणमा सहभागिता जनाएको नेपालले सन् १९८४, १९९३ र २०१६ मा स्वर्ण जितेको छ । सन् १९८७ र १९९९ मा दोस्रो भएको नेपालले सन् १९८५ र २००७ मा कास्यमा चित्त बुझायो ।
सागमा सन् २०१० बाट महिला फुटबल समावेश गरिएको हो । सहभागिताको दुवै संस्करणमा उपविजेता बनेको नेपाली महिला टोलीको तगारो नै भारतीय टिम हो । फुटबलमा २३ वर्षमुनिका टोलीले सहभागिता जनाउने भए पनि नेपालको टिममा अधिकांश राष्ट्रिय टोलीका खेलाडी छन् । विश्वकप फुटबल २०२२ को छनोट एएफसी एसियन कप २०२३ को छनोटमा व्यस्त पुरुष फुटबल टोलीको मनोबल उच्च छ । त्यसैले स्वर्णको आश गरिएको छ । यस्तोमा पुरुष फुटबलतर्फ भारतको सहभागिता नहुँदा त्यसको प्रत्यक्ष फाइदा नेपाललाई हुन्छ । महिलातर्फ भारतको तगारो पन्छाउन सके नेपालले पहिलो पटक स्वर्ण जित्नेमा कुनै द्विविधा छैन ।
जुडो
पाँचाँै सागदेखि निरन्तर सहभागी हुँदै आएको खेल हो, जुडो । सातौँ संस्करणको सागमा जितेको ३ स्वर्ण नै जुडोले नेपाललाई दिलाएको अहिलेसम्मकै धेरै पदक हो । त्यतिबेला वीरबहादुर थापा मगर, रमेश बस्नेत र जीतबहादुर चौधरीले जुडोबाट नेपाललाई स्वर्ण दिलाए । त्यसपछि भने पदकको खडेरी लाग्यो । अघिल्लो संस्करणमा फुपुल्हामु खत्रीले नेपाललाई जुडोबाट स्वर्ण दिलाएकी थिइन् । उनी अहिले राष्ट्रिय टोलीमा छैनन् । तर यस पटक मनिता श्रेष्ठ र सोनिया भट्टबाट राम्रो प्रदर्शनको आश गरेको छ, नेपालले । २० मध्ये १४ खेलाडीलाई मंगोलिया र ४ लाई जापानमा प्रशिक्षणका लागि पठाएकाले ४ स्वर्णको अपेक्षा गरिएको जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य बताउँछन् । मार्सल आर्ट्सका खेलाडी धेरैजसो विभागीय टोलीमा आबद्ध भएकाले पनि उनीहरू नियमित प्रशिक्षणमा रहने गरेका छन् । त्यसैको फाइदा उठाउने योजना रहेको संघ अध्यक्ष वज्राचार्यले सुनाए । तर अन्तर्राष्ट्रिय एक्सपोजरको कमी र प्राविधिक स्रोत–साधन अभावले नेपालको लक्ष्यमा धक्का पुर्याउन सक्छ ।
आर्चरी
श्रीलंकाको कोलम्बोमा भएको दसौँ सागबाट सहभागिता जनाएको आर्चरीले त्यसपछिका २ संस्करणमा १–१ कास्य दिलाएको छ । बंगलादेशमा सम्पन्न इन्डिभिज्युअल रिकर्भ इभेन्ट्समा कास्य र भारतमा भएको १२ औँ सागमा टिम इभेन्ट्समा आर्चरीबाट नेपालले कास्य जितेको छ । यस पटक आर्चरीमा भारत सहभागी नहुने भएकाले पनि नेपालको स्वर्णको आश थप बलियो भएको छ । भारतको आर्चरी संघ निलम्बनमा परेकाले उसको सहभागिता नरहने भएको हो । रिकर्भ, कम्पाउन्डमा गरी ८ महिला र ८ पुरुष खेलाडीले यस पटक सहभागिता जनाउँदै छन् । पोखरामा बन्द प्रशिक्षणमा रहेका खेलाडीले अन्तर्राष्ट्रिय प्रशिक्षण नपाए पनि उत्कृष्ट प्रदर्शन गर्ने आर्चरी संघका अध्यक्ष दीपक गुरुङ बताउँछन् । टिम इभेन्ट्समा ४ राष्ट्रको मात्रै सहभागिता हुने भएकाले पनि नेपाल फाइदामा छ । कम्तीमा २ स्वर्ण जित्ने लक्ष्य संघको छ, १३ औँ सागमा ।
टेबलटेनिस
तेस्रो संस्करणको सागबाट प्रवेश पाएको टेबलटेनिसले नेपाललाई पाँचाँै संस्करणमा स्वर्ण दिलाएको थियो । सन् १९९१ मा श्रीलंकाको कोलम्बोमा भएको स्पर्धा यस कारण पनि ऐतिहासिक थियो कि त्यतिबेला स्वर्ण जित्दा नेपालले भारतलाई हराएको थियो । तर त्यसपछि भने टेबलटेनिसमा नेपालले कुनै पदक जित्न सकेको छैन । दक्षिण एसियाली राष्ट्रमध्ये नेपाली खेलाडीको खेल्ने शैली फरक छ । अन्य देशका खेलाडीले र्याली फर्मुलामा खेल्छन् भने नेपाली खेलाडीको सबल पक्ष ३ बल एट्याक हो । अन्तर्राष्ट्रिय अनुभवको कमी भएकाले पनि धेरै पदकको आश गर्नु अस्वाभाविक छ । थाइल्यान्डको बैंककमा प्रशिक्षणमा रहेका १० खेलाडीबाट १ स्वर्ण र टिम तथा मिक्स्ड डबलमा २ स्वर्णको अपेक्षा गरिएको छ ।
त्यसबाहेक नेपालले पदकको आश गरेको खेल ट्रायथलन हो । अघिल्लो संस्करणबाट सुरु भएको यो स्पर्धामा नेपालले टिम रिलेतर्फ रजत र महिलातर्फको व्यक्तिगत स्पर्धामा कास्य जितेको थियो । दक्षिण एसियाली राष्ट्रमध्ये ट्रायथलनका नेपाली प्रशिक्षक अब्बल मानिन्छन् । तर खेलप्रतिको घट्दो आकर्षण, खेल सामग्री र उपकरण महँगो पर्ने हुँदा प्रशिक्षणमा उत्पन्न हुने बाधा पदक प्राप्तिका तगारा हुन् । ५ मध्ये २ स्वर्ण जित्ने लक्ष्य ट्रायथलनको छ । त्यसबाहेक बास्केटबल, क्रिकेट र महिला भलिबलबाट नेपालले पदकको आश गरेको छ । पछिल्लो समय महिला भलिबले हासिल गरेको सफलताका कारण पनि नेपालले सो स्पर्धामा स्वर्णको अपेक्षा गरेको हो । नेपालले लक्ष्य बनाएको ५० स्वर्णमा टिम गेममा कप र व्यक्तिगत स्पर्धामा बढी पदक जित्ने योजना छ ।
भारतले नखेलेको फुटबल
दक्षिण एसियाको फुटबल पावर हाउस मानिएको भारतको १३ औँ सागमा सहभागिता नहुने भएको छ । महिला र पुरुष दुवैमा सहभागिता जनाउने निश्चित भए पनि अन्तिम समय आएर भारतले पुरुष फुटबलबाट हात झिकेको हो ।
प्रतियोगिताको ड्र सार्वजनिक भइसकेपछि भारतले पुरुष फुटबलको टिम नपठाउने निर्णय गरेको थियो । अघिल्लो संस्करणमा भारतलाई हराउँदै नेपालले फुटबलमा स्वर्ण जितेको थियो ।
भारतीय फुटबल संघले घरेलु फुटबलको व्यस्त तालिकालाई ध्यानमा राखेर साग नखेल्ने निर्णय गरेको जनाएको छ । फुटबलको सर्वोच्च निकाय फिफाको क्यालेन्डरमा साग नपरेकाले सहभागिता नजनाउने निर्णयमा पुगिएको भन्ने भारतीय तर्कमा कुनै दम छैन । राष्ट्रिय टोलीका खेलाडी विभिन्न क्लबमा आबद्ध भएका र उनीहरूले फिफाको क्यालेन्डरमा समावेश प्रतियोगिताका लागि मात्रै खेलाडी रिलिज गर्ने भएकाले पनि भारतलाई बलियो टिम निर्माणमा समस्या परेको थियो । अघिल्लो संस्करणमा पराजित भारत कमजोर टोलीसहित नेपाल आउने पक्षमा थिएन । त्यसैले पनि उसले अन्तिम समय नाम फिर्ता लिएको हो ।
दुइटा शीर्ष डिभिजनको लिग खेल्ने भारतीय क्लबले सिजनभरका लागि खेलाडीलाई मोटो रकम खर्चिएर अनुबन्ध गरेका छन् । भारतमा अहिले फुटबलको लिग चलिरहेको छ । वर्षभरि व्यस्त तालिकामा रहने भारतीय फुटबल क्लबले सागका लागि खेलाडी छाड्न नमानेपछि भारतले फुटबलमा सहभागिता नजनाउने भएको हो । पुरुष फुटबलमा अब राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुनेछ ।
सम्बन्धित
कोभिड १९ पछि नेपाली खेलकुदलाई पुरानै लयमा फर्काउने चुनौती ...
खेलकुदमा वर्ष ०७६ लाई फर्केर हेर्दा
१ सय २४ वर्षभन्दा लामो इतिहास बोकेको आधुनिक ओलम्पिकमा प्रतियोगिता स्थगित भएको यो दोस्रो घट...
कोरोना संक्रमणको असरले खेल गतिविधिमा कस्तो असर ?
दुई महान् पिताका पुत्रहरू पनि फुटबलप्रति उति नै रुचि राख्ने भएका छन् । रोनाल्डोका छोरा क्र...
रोनाल्डोका छोराका आदर्श मेसी, मेसीका छोरा रोनाल्डोका प्रशंसक
नेपालको थाइल्यान्ड यात्रा नमीठो सम्झना...
एसिया कप खेल्ने सपनामा यसरी लाग्यो तगारो
एक महिना महत्त्वपूर्ण प्रतियोगिता खेल्न नसक्ने स्थितिमा नेपाल ...
महिला भलिबलका तीन हस्ती नै चोटग्रस्त
आर्मीको खेल साँच्चै नै उम्दा थियो, यो सिजनको लिगमा । डिफेन्स र गोलरक्षणमा निकै बलियो । आर्...