कीर्तिमानी तर गुमनाम
खेल जीवनका उपलब्धिको लेखाजोखा कसले राख्ने ?

जुन कुनै काममा को पहिलो भयो भन्ने रेकर्ड राख्ने संसारको रीतै हो । दोस्रो को भयो भन्नेमा न आम मानिसको रुचि हुन्छ, न त त्यसबारे सोधीखोजी । शीर्षतामा पनि अब्बल सावित हुनेहरूकै मात्र इतिहास लेखिन्छ । फुटबल पनि त्यसबाट अछुतो रहने कुरै भएन ।
सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबका सन्तोष साहुखलले १ सय गोल पूरा गरेपछि बल्ल इतिहास फर्किएर हेर्ने काम भएको छ । सन्तोषपछि सर्वाधिक गोल गर्ने खेलाडी को हुन् त ? धेरैलाई यसबारे जानकारी छैन । सन्तोष लिगमा १ सय गोल गर्ने पहिलो खेलाडी त हुन् तर उनी ५० गोल कटाउने पाँचौँ खेलाडी हुन् । लिगमा ५० गोल गर्ने पहिलो खेलाडी को हुन् त ? यसबारे धेरै बेखबरजस्तै छन् ।
सन्तोषले १ सय गोल पूरा गरेपछि नेपालको आधुनिक लिगमा ५० गोलको कोसेढुंगा बनाउने पहिलो खेलाडी वसन्त थापाको चर्चा सुरु भयो । सन्तोषपछि सर्वाधिक गोल गर्ने उनै भएको धेरैको लख थियो । हाल अमेरिकामा रहेका वसन्तलाई फेसबुक म्यासेन्जरमार्फत सम्पर्क गरियो र सोधियो, “तपाईंले लिगमा गरेको कुल गोल कति हो ?”
वसन्तको जवाफ थियो, “मलाई त आफूले गरेको गोल संख्याबारे यकिन जानकारी छैन । सायद पत्रकार दाइ विनोद पाण्डेसँग मेरो गोलको रेकर्ड हुन सक्छ ।”
त्यसको केही दिनपछि पाण्डेले पुराना डायरी पल्टाएर वसन्तको गोलको लेखाजोखा गरे र भने, “वसन्तले लिगमा ८१ गोल गरेका रहेछन् ।” ०५४ सालमा रानीपोखरी कर्नर टिम आरसीटीबाट ए डिभिजन लिगमा डेब्यु गर्दा वसन्तले ४ गोल गरेका थिए । उनले सर्वाधिक गोलचाहिँ ०५७ सालको लिगमा मनाङ मस्र्याङ्दीबाट गरे । त्यतिबेला उनी एक्लैले २२ गोल गरेका थिए । उनले फुटबल करिअरमा आरसीटी र मनाङबाहेक अन्यत्रबाट खेलेनन् ।
फुटबलमा यिनको करिअर लेफ्ट विङरका रूपमा भए पनि पछि स्ट्राइकर कहलिए । ०६२ सालको लिगको बीचमै अध्ययनका लागि जापान गएका वसन्त नेपाल आए पनि फुटबलमा फर्किएनन् । जापानबाट नेपाल आएको केही समयमै उनी अमेरिका हानिए । त्यसपछि फुटबल र उनको सम्बन्ध टुट्यो ।
वसन्तपछि सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन्, रमेश बुढाथोकी । नेपाल पुलिस क्लबलाई चाहिएका बेला गोल गर्ने गोल–मेसिनको उपनाम पनि यिनले पाएका थिए, साथीभाइबाट । ०६२ सालको लिगमा उत्कृष्ट खेलाडी घोषित रमेशले राष्ट्रिय टोलीमा नपरेपछि फुटबलबाट टाढा रहने निर्णय गरे । त्यसपछि उनी नेपाल पुलिसले खटाएको ड्युटीमा गए । तर ०६६ सालको लिगमा पहिलो चरणको राउन्ड रोबिन सकिँदा पुलिस ७ औँ स्थानमा पुग्यो । क्लबको खराब प्रदर्शनका कारण टिममा रमेशलाई पुन: बोलावट भयो । उनले टिमको कमानी मात्र सम्हालेनन्, पुलिस क्लबलाई लिग च्याम्पियनै बनाए ।
उनको त्यही आक्रामक स्वभावका कारण जर्मन प्रशिक्षक थोमस फ्लाथले राष्ट्रिय टोलीमा पनि पुनरागमन गराए । तर विराटकृष्ण श्रेष्ठले नेपाली टोली सम्हालेपछि रमेश पुन: टिममा अटाएनन् । त्यसपछि यिनको मन मरेर गयो, फुटबलप्रति । भन्छन्, “विदेशी कोच हुँदा सधैँ टिममा पर्ने तर नेपाली कोचले कहिल्यै टिममा नराख्ने भएपछि मनै मरेर आयो ।”
त्यसपछि यिनी पूर्णकालीन प्रहरी भएर ड्युटीमा खटिए । ४ वर्षअघि यिनले प्रहरी निरीक्षकबाट अवकाश पाइसकेका छन् । तर फुटबलसँगको यिनको नाता टुटेको छैन । विभिन्न कलेजमा यिनी फुटबल सिकाउँछन् । यिनकै नेतृत्वमा नैकापमा चन्द्रागिरि गोल्डकप पनि आयोजना हुँदै आएको छ । लिगमा कुल ६१ गोल गरेका रमेशले ०५९ सालबाट फुटबल सुरु गरेका हुन् । ५ वर्षको अन्तरालमै यिनले ५० गोलको कोसेढुंगा पार गरे ।
५० गोल गरेपछि रंगशालामै गरिएको सम्मान नै आफ्नो जीवनको खुसीको क्षण मान्छन्, यिनी । भन्छन्, “पत्रकार साथी र एन्फाका पदाधिकारीले रंगशालामै फूलमालासहित सम्मान गर्दा फुटबलमा ठूलै काम गरिएछजस्तो लागेको थियो । करिअर लम्ब्याउन सकेको भए १ सय गोल गर्ने धोको थियो । तर सबै धोको पूरा नहुने रहेछ ।”
सुरेन्द्र तामाङ पनि छोटो समयमै लिगमा ५० गोल गर्ने खेलाडी हुन् । ०५७ सालमा थ्रीस्टारबाट डेब्यु गरेका यिनले १० वर्ष ललितपुरे क्लबमै बिताए । त्यसबीचमै यिनले ५० गोल कटाए । लिगमा सुरेन्द्रको नाममा ५६ गोल छ । फुटबल खेल्न जाँदा माइक्रोबस दुर्घटनामा परेपछि यिनको खुट्टाको शल्यक्रिया गर्नुपर्यो । त्यसपछि यिनी पहिलेको फर्ममा आउन सकेनन् । दुर्घटनापछि फुटबलमा कमब्याक गर्दा फ्रेन्ड्स क्लब छिरेका सुरेन्द्रले कोटेश्वरको सरस्वती युथ क्लबबाट लिगको करिअर सकाए ।
दुर्घटनामा नपरेको भए र लिग बीचबीचमा स्थगित नभएको भए १ सय गोल कटाउने यिनको पनि सपना थियो । “दुर्घटनामा पर्नु नै मेरो दुर्भाग्य भयो । उच्च फर्ममा रहेका बेला नसोचेको घटना भयो । फेरि खुट्टाकै शल्यक्रिया गर्नुपर्यो । त्यसो नभएको भए सायद १ सय गोल गर्ने सौभाग्य मिल्थ्यो कि ?” उनको मनमा यस्ता तर्कना आइरहन्छन् ।
हुन पनि उनको गोल गर्ने शैली अचम्मलाग्दो थियो । पेनाल्टी क्षेत्रमा बल पाउँदा उनी गोल गर्नबाट कहिल्यै चुक्दैनथे । अचेल लिगमा कम गोल भएको देख्दा उनलाई उदेक लाग्छ । “खेलाडीको सुविधा बढेको छ तर अहिले खेलको स्तर खस्केको छ । किन यस्तो भइराखेको छ भनेर एन्फाले गम्भीर भएर सोच्ने बेला आइसकेको छ । स्ट्राइकर पनि जम्न सकिरहेका छैनन्,” इटहरीमा रहेका तामाङ भन्छन् ।
सशस्त्र प्रहरीका निरीक्षक जीवेश पाण्डेले पनि लिगमा ५० गोल कटाउने कीर्तिमान बनाएका छन् । संकटा क्लबबाट ०५९ सालमा सहिद स्मारक ए डिभिजन लिगमा डेब्यु गरेका जीवेशले त्यसै वर्ष १३ गोल गरे । त्यसपछि सशस्त्र प्रहरीको एपीएफ क्लब पुगेका जीवेशले ०६४ सालको लिगमा गोल संख्या ५१ पुर्याए ।
त्यतिबेला कुमार थापा र जीवेशको जोडीलाई सशस्त्रको खम्बा मानिन्थ्यो । मिडफिल्डबाट कुमारले निकालेको बलमा जीवेशले थुप्रै गोल गरेका छन् । ०६८ सालमा जीवेश सशस्त्र प्रहरीकै कमान्डो तालिममा गए । अर्को वर्ष सशस्त्रले जीवेशलाई फुटबल मैदानमा ओराल्यो तर यस पटक उनी स्ट्राइकरको भूमिकामा रहेनन् । मिडफिल्डमा खेल्नु परेपछि जीवेशको लिगमा गोल थप्ने योजना साकार हुन सकेन । पाँचौँ र छैटौँ राष्ट्रिय खेलकुद खेलेपछि जीवेशले फुटबलबाट आफूलाई टाढा राखे । तर, अचेल लिगमा गोल कम भएकोमा उनी चिन्तित छन् । भन्छन्, “दर्शकहरू रंगशाला गोल हेर्नका लागि जान्छन् । तर गोल नै कम हुँदा दर्शकको रुचि विस्तारै घट्न सक्छ । खेलाडी पनि राम्रा छन् तर खै किन हो त्यति गोल निस्किरहेको छैन ।”
फुटबलमा छुट्टै इतिहास बनाएका यी हिरोहरू अहिले गुमनामजस्तै छन् । फुटबलबाट भौतिक रूपमा टाढा भए पनि मन भने सधैँ यसमै अडिएको उनीहरू सुनाउँछन् । सबैको एक स्वर छ, “फुटबलले शरीरलाई मात्रै टाढा बनाएको हो । मन त कसै गरे पनि टाढिन सक्दैन ।”