इतिहास रच्ने अवसर
सन्तुलित टिम र घरेलु मैदानका कारण नेपाल आशावादी
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान नेपाली टोलीलाई फाप्छ । त्यही मैदानमा एक दशकअघि विश्व क्रिकेट लिग डिभिजन ५ को फाइनलमा अमेरिकालाई पराजित गरेर पहिलोपल्ट आईसीसीको प्रतियोगिता जितेको नेपाली टोली अहिले घरेलु मैदानमा पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय खेल खेल्दै छ । अमेरिकासँगको फाइनल यात्राका लागि भएको लिग चरणको खेलमा नेपाली दर्शकले मैदानमा ढुंगा प्रहार नगरेको भए र खेल अवरुद्ध नभएको भए सायद नेपालको फाइनल यात्रामा धक्का लाग्ने थियो । अवरुद्ध भएको खेलको ओभर घटाउँदा हारका बाबजुद नेपालले अमेरिकासँग फाइनल खेल्ने तय भएको थियो ।
यस पटक २२ माघमा ओमानविरुद्ध विश्वकप क्रिकेट लिग २ को पहिलो खेलमा उत्रिँदा नेपाली टोली र नेपाल क्रिकेट संघ क्यानले १० वर्षअघिको घटनाबाट निकै पाठ सिकिसकेका छन् । त्यतिबेलाको ढुंगाकाण्डपछि कीर्तिपुरमा तारजाली लगाउने काम भयो । मैदानमा केही भौतिक पूर्वाधार पनि थपिए । तर थपिएका पूर्वाधार पनि नेपालले पाएको एक दिवसीय मान्यताअनुसारका छैनन् । त्यसैले पनि कीर्तिपुर मैदानले नेपालको पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्दा अर्को कीर्तिमान बन्ने पक्का भएको छ ।
विश्वकप छनोट यात्रा मानिएको लिग २ मा नेपालले पहिलो खेल खेल्दै छ । ८ मध्ये ६ वटामा खेलमा जित निकालेको अमेरिका १२ अंकमा तालिकाको शीर्ष स्थानमा छ । ४ खेलमा जित निकालेको ओमान चौथो स्थानमा छ । ओमानले २ वटा खेल खेल्न पाएन । स्कटल्यान्ड ९ अंकमा दोस्रो र नामिबिया ८ अंकमा तालिकाको तेस्रो स्थानमा छ । घरेलु मैदानमा हुने खेलमा जित हात पार्न सके नेपालको विश्वकप खेल्ने सपनाले बिस्तारै मूर्त रूप लिने आधार तय हुनेछ ।
नेपाली टोलीका प्रशिक्षक जगत टमाटा लिग २ महत्त्वपूर्ण हुँदा सोहीअनुसार प्रशिक्षण र खेलाडीको मनोबल रहेको बताउँछन् । “घरेलु मैदानमा हुने खेलमा नतिजा आफ्नो पक्षमा पार्न सकिए विश्वकपको ढोका उघार्न मद्दत गर्छ । यो कुरा खेलाडीलाई पनि राम्ररी थाहा छ । त्यसैले सबैले आफूले सक्नेभन्दा बढी नतिजा दिन्छन् भन्ने मलाई लाग्छ,” टमाटा नतिजा राम्रो हुनेमा ढुक्क छन् ।
तर अवस्था ठ्याक्कै टमाटाले भनेजस्तो छैन । कुनै समय थियो, जतिबेला नेपाल र अमेरिकाको क्रिकेट विपरीत अवस्थामा थिए । नेपाल डिभिजन ५ हुँदै माथि उक्लियो भने अमेरिका तलतिर झर्न थाल्यो । केही वर्षयता अमेरिकाले क्रिकेटमा छलाङ मारेको छ । त्यसको परिणाम भनेकै वान डे मान्यता पाएर नेपालसँगै सिरिज खेल्न आउनु हो ।
४ महिनायता नेपाली टोलीको कप्तानी सम्हालिरहेका ज्ञानेन्द्र मल्ल अमेरिका र ओमान दुवै बलियो टोली भएकाले प्रतिस्पर्धा रोचक हुने ठान्छन् । लिग २ विश्वकप छनोटको पनि यात्रा भएकाले बलिया टोलीलाई हराएरै अघि बढ्नुपर्ने उनको धारणा छ । “पोखरामा मलेसियासँग खेलिएको ३ वटा म्याचमा राम्रै अनुभव भएको छ । तर पोखरा र कीर्तिपुरको पिच फरक छ । अहिले कीर्तिपुरमा अभ्यास गर्दै छौँ । घरेलु मैदानमा पहिलो वान डे सिरिज खेल्न पाउँदा त्यसलाई अविस्मरणीय बनाउने प्रयत्न गर्छौं,” उनको योजना छ ।
पूर्वकप्तान पारस कीर्तिपुरको मैदानमा क्रिकेट खेल्न पाउने क्षणको कल्पनाले पनि आनन्द मिल्ने बताउँछन् । भन्छन्, “सपना साकार भएजस्तो लागेको छ । कीर्तिपुर मैदानमा खेल्नुको अर्कै फिलिङ्स हुन्छ । २ वर्षपछि राष्ट्रिय जर्सी लगाएर खेल्न लागेको छु । त्यसैले सिरिजलाई यादगार बनाउने प्रयत्न हुन्छ ।”
नेपालले अहिलेसम्म खेलेका ६ वटा वान डे अन्तर्राष्ट्रिय म्याचमा मिश्रित नतिजा निकालेको छ । संयुक्त अरब इमिरेट्ससँग खेलेको ४ वटा खेलमा २ मा जित हात पारेको नेपालले बाँकी २ खेल विपक्षीलाई सुम्पिएको छ । त्यस्तै, नेदरल्यान्ड्ससँग खेलेको २ खेलमा १ मा जित र अर्कोमा हारको सामनागरेको छ । त्यसैले बलिया अमेरिका र ओमानसँगको म्याच चुनौतीपूर्ण नै हुने एक दिवसीय क्रिकेटमा शतक प्रहार गर्ने नेपालका एक्ला ब्याट्सम्यान पारस खड्का बताउँछन् ।
हालै घोषित नेपाली टोलीमा स्पिनर वसन्त रेग्मी र अलराउन्डर सोमपाल कामी अटाएका छैनन् । वसन्त पारिवारिक र सोमपाल स्वास्थ्यका कारण पनि टिममा परेनन् । तर यी दुवै टिमलाई आवश्यक पर्दा जस्तोसुकै भूमिका निर्वाह गर्ने भरपर्दा खेलाडी हुन् । टिममा युवा खेलाडी कमलसिंह ऐरी, अभिनाश बोहरा र कुशल मल्लले स्थान बनाएका छन् । अभिनाश र कुशलले ट्वान्टी ट्वान्टी म्याच खेले पनि नेपालबाट ५० ओभरको खेल खेलेका छैनन् । फास्ट बलर कमलले त यही लिगमार्फत नेपाली टोलीमा डेब्यु गर्दै छन् ।
प्रशिक्षक टमाटा अनुभवी खेलाडीलाई मिस गरिए पनि नयाँबाट आश गरिएको बताउँछन् । नयाँका लागि अझ उत्कृष्ट प्रदर्शन गर्ने मौका छ । भन्छन्, “केही गरेर देखाउनुपर्छ भन्ने सोच भएका खेलाडीका लागि नयाँ हुनु अवसर पनि हो । यही अवसरलाई छोप्छन् भन्ने आशा गरेका छौँ ।”
कप्तान ज्ञानेन्द्र बेन्च स्ट्रेन्थका लागि पनि नयाँ अनुहार टोलीमा हुन जरुरी रहेको तर्क गर्छन् । “पुरानाको अनुभवले टिमलाई बलियो बनाउन सहयोग गर्छ । तर नयाँ खेलाडीको जोसले टिममा नयाँ ऊर्जा सञ्चार गर्छ । नयाँ खेलाडीले यो सिरिजबाट आफूलाई प्रमाणित गर्नेमा उनी पनि आशावादी छन् ।
टिममा नयाँ अनुहारसँगै नेपालको ओपनिङ ब्याटिङ गर्ने जोडी को हुन्छ भनेर कुतूहल थपिएको छ । पछिल्लो समय नेपाली टिमको ओपनिङ लाइनअप सम्हाल्दै आएका कप्तान ज्ञानेन्द्र मल्ल ओपनरका निर्विवाद छनोट हुन् । उनलाई कसले साथ दिने भन्ने प्रश्नमा टमाटा भन्छन्, “हामीसँग अहिले ८ नम्बरसम्मै ब्याटिङ गर्ने खेलाडी छन् । ओपनिङ कसले गर्ने भन्ने खासै समस्या छैन । पारस, शरद भेषवाकर, विनोद भण्डारीहरू पनि तल्लो क्रमबाट ब्याटिङ गर्दै माथिल्लो क्रममा आएका हुन् । टिम मिटिङपछि मात्रै ज्ञानेन्द्रको जोडीको नाम आउला ।”
कसले ओपनिङ गर्नेभन्दा पनि टिमको जित महत्त्वपूर्ण हुने बताउँछन्, कप्तान ज्ञानेन्द्र । भन्छन्, “कसले ओपनिङ गर्छ वा को–को जोडी जम्छ भन्दा पनि नेपालले जित्छ कि जित्दैन भन्ने महत्त्वपूर्ण हो । टोलीलाई आवश्यक पर्दा म आफैँ पनि तल्लो क्रममा जानुपर्छ । अहिले नै यो–योले, यसरी–यसरी खेल्छन् भन्नु सान्दर्भिक हुँदैन ।” उनको कूटनीतिक जवाफ छ, “जो–जोले, जहाँ–जहाँबाट वा जुन क्रममा खेले पनि नेपालको जितका लागि खेल्छन् ।” तर अनुभवका आधारमा र टिम संरचना हेर्दा ज्ञानेन्द्र र पारसको जोडीले ओपनिङ गर्ने सम्भावना बढी छ ।
ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिजका लागि कीर्तिपुर मैदानको मुहार फेर्ने काम पनि भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले एक दिवसीय म्याच गर्न केही सर्त र पूर्वाधार निर्माणमा जोड दिएको थियो । सोहीअनुसार तारजालीले बारबेर, बाउन्ड्री निर्माण, प्लेयर्स बक्सको संरचनागत सुधार आदि काम भइसकेको छ । भीआईपी प्यारापिट र पिच मर्मत पनि अन्तिम चरणमा पुगेको छ । क्युटेर मधु तामाङका अनुसार पिच खनेर नयाँ बनाउने काम भइरहेको छ । सोही कामको रेखदेख गर्न आईसीसीले श्रीलंकाली बन्दुला वार्नापुरालाई खटाएको छ । उनकै निर्देशनमा पिचको काम भइरहेको तामाङ सुनाउँछन् ।
सम्बन्धित
कोभिड १९ पछि नेपाली खेलकुदलाई पुरानै लयमा फर्काउने चुनौती ...
खेलकुदमा वर्ष ०७६ लाई फर्केर हेर्दा
१ सय २४ वर्षभन्दा लामो इतिहास बोकेको आधुनिक ओलम्पिकमा प्रतियोगिता स्थगित भएको यो दोस्रो घट...
कोरोना संक्रमणको असरले खेल गतिविधिमा कस्तो असर ?
दुई महान् पिताका पुत्रहरू पनि फुटबलप्रति उति नै रुचि राख्ने भएका छन् । रोनाल्डोका छोरा क्र...
रोनाल्डोका छोराका आदर्श मेसी, मेसीका छोरा रोनाल्डोका प्रशंसक
नेपालको थाइल्यान्ड यात्रा नमीठो सम्झना...
एसिया कप खेल्ने सपनामा यसरी लाग्यो तगारो
एक महिना महत्त्वपूर्ण प्रतियोगिता खेल्न नसक्ने स्थितिमा नेपाल ...
महिला भलिबलका तीन हस्ती नै चोटग्रस्त
आर्मीको खेल साँच्चै नै उम्दा थियो, यो सिजनको लिगमा । डिफेन्स र गोलरक्षणमा निकै बलियो । आर्...