म्यान्चेस्टर सिटीलाई च्याम्पियन्स लिगमा प्रतिबन्ध किन ?
म्यान्चेस्टर सिटीलाई आगामी दुई सिजन च्याम्पियन्स लिग खेल्न प्रतिबन्ध

इङ्लिस प्रिमियरसिपको डिफेन्डिङ च्याम्पियन तथा विश्वकै सबैभन्दा धनी फुटबल क्लब मध्येको एक म्यान्चेस्टर सिटीलाई युरोपेली फुटबल महासंघ (युफा) ले आगामी दुई सिजन च्याम्पियन्स लिग खेल्नबाट प्रतिबन्ध लगाएको छ । युफाको आरोप छ- सिटीले युरोपेली फुटबलको आर्थिक नियमावलीको गम्भीर उल्लंघन गरेको छ । साथै उसले क्लबलाई तीन करोड पाउन्ड जरिवाना पनि तिर्न भनेको छ ।
लाइसेन्सिङ प्रक्रिया र आर्थिक सुशासनका पक्षमा क्लबले ध्यान पुर्याउन नसकेको उसको ठहर छ । युफाले आर्थिक नियमावली बनाएपछि कुनै क्लबमाथि गरेको यो नै एक दशकयताकै सबैभन्दा ठूलो कारबाही हो । सिटीले एक सिजन च्याम्पियन्स लिग नखेल्दा १० करोड डलरभन्दा बढी घाटा हुन्छ । यसबाट क्लबले अनुबन्ध गर्ने खेलाडी र प्रशिक्षक पेप ग्वार्डिओलाकै करिअरमा पनि धक्का पर्नसक्छ ।
तर, सिटीले यस वर्षको च्याम्पियन्स लिग खेल्न पाउनेछ । अझैसम्म च्याम्पियन्स लिगको टाइटल उचाल्न नसकेको सिटीले फागुन १४ मा रियाल मड्रिडसँग घरेलु मैदान इत्तेहाद स्टेडियममा राउन्ड अफ १६ को पहिलो लिग खेल्दैछ ।
संयुक्त अरब इमिरेट्सका शासकका भाइ शेख मन्सुर बिन जायद अल नाहएनको आर्थिक सहयोगपछि क्लब संसारकै सबैभन्दा धनी क्लबमा दर्ज भएको थियो । शेख मन्सुरले दुई दशकमा मात्रै अर्बौ डलर क्लबको खेलाडी, प्रशिक्षक, क्लबको भौतिक पूर्वाधारमा खर्च गरिसकेका छन् ।
सन् २००२ मा इङलिस फुटबलको दोस्रो वरियताको लिग खेल्ने क्लबलाई उनैले यो अवस्थासम्म ल्याइ पुर्याएका हुन् । उनको संलग्नतापछि क्लबमा युएईको राज्यनियन्त्रित लगानी भित्रिएको छ जसमा युएईको राष्ट्रिय ध्वजाबाहक विमान इत्तेहाद संलग्न रहेको छ । युफाको आर्थिक नियमावलीले क्लब सञ्चालकका अन्य कम्पनीबाट लगानीको बाटो नछेके पनि त्यसमा मात्रात्मक भिन्नता बढी पाइएको समाचारहरूमा उल्लेख छ ।
सिटीले सन् २०१२ देखि २०१६ को बीचमा क्लबलाई आएको प्रायोजन र लेखा परीक्षणबारे अनुसन्धान गर्न खोज्दा समन्वय नगरेको आरोप लागेको थियो । त्यसबेला सिटीले प्रायोजन गरेभन्दा बढी रकम लेखा परीक्षणमा राखेको आरोप छ । सिटीले प्रायोजन बापतको झुटो रकम देखाएको युफाले जनाएको छ । 'प्रायोजन बापतको रकम खातामा गलत देखाएर सन् २०१२ देखि २०१६ सम्म युईएफएमा बुझाएको देखिएको छ,' युफोको विज्ञप्तिमा उल्लेख छ ।
सिटीले गत सिजनमात्र च्याम्पियन्स लिगबाट ८ करोड ६० लाख पाउन्ड आम्दानी गरेको थियो । दुई वर्ष च्याम्पियन्स लिगमा सहभागी हुन नपाउने भएपछि सिटीले कम्तिमा १७ करोड पाउन्ड रकम गुमाउनेछ ।
युफाको कारबाहीमा परेको सिटी प्रिमियर लिगमा पनि कारबाहीमा पर्ने सम्भावना छ । प्रिमियर लिगमा भने अंक घटाएर कुनै टोलीलाई कारवाही गर्ने प्राबधान छ । यसबारे प्रिमियर लिगले पनि छिट्टै आफ्नो निर्णय सुनाउने छ । योसँगै क्लबमाथि धेरै प्रश्न उठेका छन । यस्तैमा उसले सन् २०१४ मा जितेको प्रिमियर लिगको उपाधि पनि गुमाउनुपर्ने भएको छ ।
युफाको प्रतिबन्धपछि सिटीले आफ्नो आर्थिक व्यवस्थापन पूर्ण रुपमा गर्नुपर्ने भएको छ । यदि उसले अपिल गरेको कोर्ट अफ आर्बिटेसनले पनि उसको प्रतिबन्धलाई कायम राखेमा झन् समस्या हुने भएको छ ।