ट्वीटर ट्रेन्डिङको लहर
कुनै विषय, सन्दर्भ वा तस्बिरलाई ट्वीटरमा भाइरल बनाउने नेपाली प्रयोगकर्ताको नयाँ प्रवृत्ति
कात्तिक तेस्रो साता बिक्रीका लागि तरकारी बोकेकी गोरखाकी कुसुम श्रेष्ठ माइक्रोब्लगिङ साइट ट्वीटरमा भाइरल भइन् । हेर्दाहेर्दै उनका बारे तरकारीवाली ह्यासट्यागमा १८ हजारभन्दा बढीले ट्वीट गर्दा उनी ट्रेन्डिङमै परेकी थिइन् । खासमा झन्डै दुई साताअघि पाकिस्तानमा चायवालाको चर्चा हुँदा त्यसैको सिको गर्दै नेपालमा तरकारीवाली खोजिएको थियो । त्यसको केहीअघि चाहिँ मेक्सिकोमा स्थानीय भाषामा ‘ ब्युटिफुल पुलिस अफिसर’ भनेर ट्रेन्डिङ भएको थियो, जो पछि जागिर नै छाडेर मोडलिङ जगत्मा प्रवेश गरिन् ।
यस्तो प्रकृतिको ट्रेन्डिङ लहडकै भरमा भइदिन्छ । सोसल मिडिया विश्लेषक भूपेन्द्र खनाल भन्छन्, “अहिले सामान्य मानिसलाई उचालेरै ट्रेन्डिङ गराउने लहर विश्वभर नै चलेको छ, जसलाई रमाइलोकै रूपमा सबैतिर सिको गर्न खोजिन्छ, तरकारीवालीलाई पनि त्यस्तै संयोग जुरेको हो ।”
सहरमा अब कुनै विषय वा प्रसंग चर्चामा छ कि छैन भन्ने जान्न अब एकपटक ट्वीटरमै जाँचे पनि पुग्छ । चाहे डा गोविन्द केसी अनशनमा बसून् वा सुजाता कोइरालाले आफ्नो उपचारका लागि सरकारबाट आर्थिक सहयोग लिऊन्, त्यसको तर्कवितर्कको गर्भ ट्वीटर नै भएजस्तो लाग्छ ।
तरकारीवालीको चर्चा वा भारतीय राष्ट्रपतिको नेपाल भ्रमणलाई लम्पसरवादको संज्ञा दिइएका सन्दर्भ त छुट्ने कुरै भएन । एएफसी सोलिडारिटी कपको ट्रफी उचाल्दा होस् वा कुलमान घिसिङले काठमाडौँलाई लोडसेडिङमुक्त पार्छु भन्दा ट्वीटर उर्लिएकै हुन्छ ।
भलै तीमध्ये सबै विश्वव्यापी ट्रेन्डिङ नहुन पनि सक्छन् । तर, ट्वीटरले जियो लोकेसनसम्बन्धी आफूमा ल्याएको परिवर्तनले स्थानीय प्रयोगकर्तालाई भने निकै हौस्याएको छ । टेलर्ड ट्रेन्ड भनिने यो सुविधा अनुसार आफूले ट्वीटर चलाइरहेको स्थानबाट भइरहेका ट्वीटहरू त्यहाँ देखिने ट्रेन्डिङका लागि पहिलो प्राथमिकतामा पर्छन् । फलो गरिएका व्यक्तिहरूले गरिरहेका ट्वीटसँग पनि आफूले देखिने ट्रेन्डको सम्बन्ध हुन्छ ।
अझ ह्यासट्यागबिनै पनि थुप्रैले कुनै विषयमा ट्वीट गरिरहेका छन् भने पनि त्यसमा प्रयोग भएको साझा शब्द ट्रेन्डिङ भइदिन्छ । ट्वीटर ट्रेन्ड, रियल टाइम (भइरहेकै समय)मा मात्र हुने हुँदा त्यो तत्कालका घटनामाथि बढी सम्बन्धित छ, जुन केही मिनेटदेखि केही घन्टासम्मै पनि ट्रेन्डिङ हुन्छन् ।
नेपाली ट्वीटर जगत्ले थुप्रै अवस्थामा अन्तर्राष्ट्रिय जगत्मा नै बहसको वातावरण बनाएको थियो । भारतीय नाकाबन्दीको समयमा ‘इन्डिया ब्लकेड्स नेपाल’ ह्यासट्याग जब चर्चित भयो, नेपालप्रति सद्भाव राख्ने थुप्रै विदेशीले पनि आफ्नो मत राखे, जसले नाकाबन्दीविरुद्धको विचार निर्माणमा योगदान पुर्यायो । यो ह्यासट्याग विश्वव्यापी ट्रेन्डमा समेत परेको थियो । रोचक त के भने यस ह्यासट्यागमा नेपाली मात्र नभएर अन्य दक्षिण एसियाली देशका नागरिक पनि थिए । पाकिस्तान र बंगलादेशमा समेत नेपालको नाकाबन्दी ट्रेन्डिङ भएको थियो । त्यस्तै विश्वव्यापी ट्रेन्डिङ भएको ‘बुद्ध वाज बर्न इन नेपाल’ पहिले बेलायतमा ट्रेन्डिङ भएको थियो, जसलाई त्यहाँस्थित नेपाली डायस्पोराले चर्चित बनाएका थिए । नेपालमा भूकम्प वा सगरमाथामा हिमपहिरो जाँदा ती विश्वभर ट्ेरन्डिङ भएका थिए । विश्वभर चल्तीका शैलीहरू बिस्तारै नेपालबाट पनि झुल्किएका छन् । जस्तो : कुनै बेला दक्षिण कोरियाको गङनम स्टाइल, भारतको कोलाबरी डी जसरी नेपालको सन्डे मर्निङ लभ यू सोसल मिडियाकै भरमा चर्चित भएका हुन् ।
नेपालमा ट्वीटर धेरैजसो राजनीतिक र सामाजिक विषयवरिपरि घुमिरहेको हुन्छ । अमेरिका वा भारतमै पनि आमनिर्वाचनताका वा अनेकन् राजनीतिक घटनाहरूका उठानदेखि अन्त्यसम्म ट्वीटर प्रयोग भइरहेको हुन्छ । तर, ट्वीटरको महत्त्वपूर्ण पक्ष राजनीति भए तापनि अन्य पक्षसमेत थुप्रै छन्, जसले यसको माहोललाई जीवन्त बनाइरहेको हुन्छ । मनोरञ्जन र खेलकुदका पक्षलाई नेपाली ट्वीटर जगत्ले अझै समाउन सकिरहेको छैन । “नेपालमा सुरुआती समयका ट्वीटर प्रयोगकर्ता राजनीतिक नेता र पत्रकारहरू भए, जसको इम्प्रेसन ट्वीटर गम्भीर बहसका लागि मात्र हो भन्ने भइदियो,” काठमाडौँस्थित सोसल मिडिया मार्केटिङ कम्पनी सोसल एभ्सका प्रमुख कार्यकारी रवि सिंघल भन्छन् ।
हामीकहाँ रमाइलोका लागि गरिने ट्वीटलाई कम महत्त्व दिने गरिन्छ, जसले गर्दा मनोरञ्जन जगत्ले ट्वीटरमा छिर्न खासै रुचि देखाएन । हुन पनि सेलिब्रिटीहरू कम हुनेबित्तिकै ट्वीटको प्रभाव जति व्यापक हुनसक्थ्यो, त्यति हुन सकेन । सिंघलका भनाइमा मनोरञ्जन नहुनेबित्तिकै ट्वीटरले गर्ने व्यापारको सम्भावना कम हुन्छ । नेपालमा रमाइला अभियान र ट्रोलिङ (कुनै विषयमा जबर्जस्ती पिछा गर्नु)का अर्थ नकारात्मक भइदिएका छन् । भन्छन्, “हाम्रो ट्वीटर रुखो भइदियो ।”
ट्वीटर बहस कि त कुनै घटनाबाट स्वाभाविक रूपमा जन्मिन्छ कि त कसैले रणनीतिक रूपमा सिर्जना गरेको हुन्छ । जस्तो : कुनै ब्रान्डका नयाँ उत्पादन सार्वजनिक हुँदा तिनका फिचरहरूमाथि टेकेर ट्रेन्डिङ गराउन सकिन्छ वा कुनै राजनीतिक दलले आफ्नो नीति सार्वजनिक गर्दा, उच्च स्तरमा अन्तर्राष्ट्रिय भ्रमणहरू हुँदा आदि । कुनै नयाँ फिल्म रिलिज हुँदा वा कुनै खेलअघि आफ्ना पक्षधरलाई उकास्ने खालका घटनाहरूमा ट्वीटरमा उपस्थितिको संस्कार अझै मौलाएको छैन । युरोपेली क्लबका फुटबल म्याच हुने दिन सबेरैदेखि त्यहाँ आफ्ना पक्षधरबीच युद्धजस्तै ट्रोलिङ सुरु हुन्छ । मानिसहरू ट्वीटरमा लेख्नुअघि धेरै सोच्दैनन् पनि । त्यहाँ अक्रोशदेखि ठट्यौलीसम्म हुन्छ ।
रणनीतिक रूपमा ट्रेन्डिङ गराउनका लागि भने धेरैलाई तान्ने कुनै रमाइलो शैली अपनाउनेदेखि चर्चित व्यक्तिहरूलाई ट्वीट गर्न आग्रह गर्ने वा केही आफ्नै सर्कलका व्यक्तिहरू जुटेर आफू अनुकूलको माहोल खडा गर्ने गरिन्छ । “रणनीतिक शैलीबारे भने नेपाली ट्वीटर सर्कल अझै शिशु अवस्थामा नै छ,” भारतको बैङ् लोरस्थित सोसल मिडिया एनलिटिक्स कम्पनी सिम्प्लिफाई ३६० का सोसल मिडिया विश्लेषक दीप शेरचन भन्छन्, “भारत र अमेरिकामा पछि स्वाभाविक बनेका थुप्रै विषय ट्वीटरबाट रणनीतिक रूपमा सुरुआत गरिएका थिए ।”
नेपालमा भने अझै निर्धक्क लेख्न सकिने आत्मबल ट्वीटर प्रयोगकर्तामा पूर्णरूपमा मौलाएको छैन । विश्लेषकहरूका भनाइमा आमप्रयोगकर्ताहरूले ‘पोलिटिकल्ली करेक्ट’ हुँदै लेख्दासम्म ट्वीटर संस्कार व्यापक हुन सक्दैन । सबैभन्दा छिटो सूचना र विचार प्रदान गर्न सकिने भएकाले नै यसलाई सोसल मिडियाभन्दा पनि माइक्रोब्लगिङ साइट भन्ने गरिएको हो । ट्वीटर च्याटहरू यसका लागि एउटा बलियो माध्यम हुन्, जसले नेपालमा अझै गति लिन सकेको छैन । विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्रप्रमुख, सामाजिक अभियन्ता, कूटनीतिज्ञ एवं पत्रकारहरूमाझ पछिल्लो समय ट्वीटर च्याट अन्तक्र्रियाको गतिलो माध्यम बनेको छ ।
यात्राको उत्कृष्ट गन्तव्य सूचीमा नेपाल पर्दा त्यसलाई अझ व्याख्या गर्ने खालका सूचना र श्रव्यदृश्यसहित ट्रेन्डिङको अवसर हुन्थ्यो, जसमा नेपालीहरू चुकिरहेका छन् । “हाम्रो ट्वीटर राजनीतिक विषयमा मात्र ज्यादा सक्रिय हुँदा जीआईएफ, अडियो, भिडियो र तस्बिरहरूको प्रयोग कम भएका हुन्,” सोसल एभ्सका सिंघलको भनाइ छ ।
नेपालमा राजनीतिक विषय उठान गरिएका विषय बढीभन्दा बढी ट्रेन्डिङ हुनुलाई राजनीतिक चेतनाको स्तर बढेको भन्नचाहिँ नमिल्ले शेरचन बताउँछन् । “नेटिजन्सहरूको प्रकृति आमसरोकारका मुद्दामा धेरै विभाजित नहुने हुन्छ तर हाम्रोमा स्पष्ट विभाजन देखिन्छ,” उनको भनाइ छ, “जसले गर्दा ट्वीट हेरेकै भरमा धारणा बनाउन मुस्किल हुन्छ ।”
ट्रेन्डिङका नियम
चल्तीका ट्रेन्डमा सरोकार नभएका अन्य ह्यासट्याग वा लिंकहरू राखिएमा त्यसले एकाउन्ट निलम्बनसमेत गर्न सक्छ । ट्वीटमा विषयवस्तुबिनै धेरैपटक ह्यासट्याग मात्र राखेर ट्वीट गर्नु वा ट्रेन्डिङ भइरहेका सबैजसो विषयमा छिर्ने प्रयास गरियो भने पनि ट्वीटरले भेटिहाल्छ । ट्रेन्डिङ हुनु एउटा स्वचालित प्रक्रिया हो । चालू समयमा भइरहेका ट्रेन्डमध्येबाट धेरै ट्वीट भइरहेका वा द्रूत गतिमा अन्तक्र्रिया भइरहेका विषय ट्रेन्डिङ हुन्छन् । धेरै ट्वीट गर्दैमा त्यो ट्रेन्डिङ नै हुन्छ भन्ने हुँदैन । तुलनात्मक रूपमा कहिले थोरै ट्वीटले पनि ट्रेन्ड खडा गर्न सक्छ त कहिलेकाहीँ धेरैले पनि सक्दैन । “तर, विषयको शक्ति र शैलीले ट्रेन्डिङ टपिक बनाउने लहर विकास गर्नेतर्फ हामी लाग्न सक्यौँ भने हामी ट्वीटर संस्कारको बलियो अंग भयौँ भन्ने सूचक हो,” सिम्प्लिफाई ३६० का दीप शेरचनको भनाइ छ, “जसका लागि सबै क्षेत्रका प्रभावशाली व्यक्ति ट्वीटरमा आउनुपर्छ र आउने वातावरण बनाउनुपर्छ ।”
ट्वीटरको कमाइ १० लाख
ट्वीटर सेटिङमा अझै नेपालको कन्ट्री सेटिङ भने समावेश छैन । सोसल मिडिया विश्लेषकहरूका अनुसार त्यसको पछाडि नेपाल अझै व्यावसायिक दृष्टिबाट ट्वीटरको बजार नगनिनु नै हो । नेपालबाट फेसबुकले जति आम्दानी गर्छ, त्यसको तुलनामा ट्वीटरको हिस्सा एक चौथाइ पनि नरहेको सोसल मिडिया मार्केटिङ कम्पनीहरू बताउँछन् । अहिले नेपाली ट्वीटर प्रयोगकर्ता झन्डै १७ लाख छन् जबकि फेसबुकमा ७३ लाख । फेसबुकले मासिक झन्डै एक करोड रुपियाँ नेपालबाट कमाउँछ भने ट्वीटरको आम्दानी १० लाख रुपियाँ आसपासमा मात्र छ । ट्वीटरले फलोअर्स बढाउन सघाउने, रि–ट्वीट बढाउन सघाउने र रिप्लाई बढाउने खालका प्रमोसनल गतिविधिमार्फत व्यवसाय गरिरहेको हुन्छ । व्यवसाय उच्च रहेका देशमा निश्चित सहरहरूमै पनि के ट्रेन्डिङ भइरहेका छन् भन्नेसमेत सेटिङ गर्न मिल्ने व्यवस्था गरिएको हुन्छ ।
सम्बन्धित
जब हामी मस्तिष्कभन्दा धेरै कृत्रिम बौद्धिकतामा भर पर्न थाल्छौं, मान्छेमा निर्णय गर्ने अधि...
डाभोसमा हरारी : प्रविधिको विकासले समाप्त हुनसक्छ मानव जाति
काठमाडौँ विश्वविद्यालय र आबारीको संयुक्त प्रयासमा नेपाली मौलिकता झल्काउने बाँसबाट निर्मित ...
बाँसको कार्गो बाइक
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पारित गरेको विधेयकका दफामा यस्ता कैयौँ व्यवस्था छ...
नियन्त्रित गणतन्त्र - ५ : सूचना प्रविधि विधेयकसँग झस्किनुपर्ने ८ कारण
फेसबुक पेज र ग्रुपमार्फत तन्नेरीहरु सकारात्मक अभियानमा ...
फेसबुक पेज र ग्रुपमा तन्नेरीहरुकाे सुकर्म
असीम पाण्डे नेतृत्वको सात युवाको समूहले यात्री नामक विद्युतीय मोटरसाइकल बनाएको हो । उक्त म...
यस्तो छ नेपालमै बनेको यात्री मोटरसाइकल
ट्रोलले तपाईँ हामीलाई क्षणिक मनोरञ्जन पक्कै दिन्छन् । तर ट्रोलले बनाउने सामाजिक मनोविज्ञान...