सदस्यसचिव गायब
नेपाल भ्रमण वर्ष–२०२० सचिवालय एक महिनादेखि फुर्सदमा
एक महिनादेखि नेपाल भ्रमण वर्ष–२०२० सचिवालय गएकी छैनन्, सदस्यसचिव नन्दिनी थापा । १६ साउनदेखि सदस्यसचिव नै गायब हुनुले भ्रमण वर्ष सचिवालय कतिसम्म फुर्सदिलो छ भन्ने देखाउँछ ।
नेपालको ५ साउनको अंकमा भ्रमण वर्षले अपेक्षित गति लिन नसकेको समाचार प्रकाशित गरेपछि पर्यटन मन्त्रालयले सचिवालयलाई गति दिन दबाब बढाएको थियो । तर मन्त्रालयले चासो बढाएसँगै सदस्यसचिव थापा नै बिदामा बसिन् । सदस्यसचिवको अभावमा अन्तर्राष्ट्रिय बजारमा तीव्र गतिमा प्रवर्द्धन गर्न सचिवालयले बजेटअनुसार कार्यक्रम तय गर्न सकेको छैन ।
थापाले सचिवालय नआउनुमा स्वास्थ्यको कारण बताउने गरेकी छन् । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक रोहिणी खनाल सचिवालयमा सदस्यसचिवको काम पनि संयोजक वैद्यबाटै भइरहेको बताउँछन् । भन्छन्, “सदस्यसचिव लामो बिदामा हुनुहुन्छ । काममा कहिले फर्कने भन्ने कुनै जानकारी छैन ।”
पर्यटन बोर्डको वजार प्रर्वद्धन महाशाखाको समेत नेतृत्व गरिरहेकी थापा एक महिनादेखि सचिवालय नआउनुमा बोर्डका सीईओ दीपकराज जोशीले १५ साउन ०७६ मा दोहोरो जिम्मेवारीबाट मुक्त गर्ने पत्र कारक थियो ।
भ्रमण वर्ष–२०२० सञ्चालन कार्यविधिमा बोर्डको निर्देशकलाई सचिवालयको सदस्यसचिव नियुक्त गर्न सकिने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार बोर्डका सीईओ जोशीले बजार प्रवर्द्धन महाशाखाकी प्रमुख तथा निर्देशक थापालाई सदस्यसचिवमा पठाएका थिए । बोर्डमा थापा धेरै विदेश घुम्नेको सूचीमा परे पनि विदेशमा नेपालको पर्यटनमा गतिलो प्रवर्द्धन हुन नसकेको आरोप लाग्दै आएको छ । नेपालमा समाचार प्रकाशित भएपछि तत्कालीन पर्यटन सचिव मोहनकृष्ण सापकोटाको सक्रियतामा साउन दोस्रो साता भ्रमण वर्ष सचिवालय संयोजक सुरज वैद्य, पर्यटन बोर्डका सीईओ जोशीसहितको बैठक बसेको थियो । सदस्यसचिव थापालाई दोहोरो जिम्मेवारीबाट मुक्त गराउने सचिव सापकोटाको प्रस्तावमा मन्त्रालयबाट भ्रमण वर्ष हेर्ने सहसचिव घनश्याम उपाध्यायले पनि साथ दिए ।
सचिवको अनपेक्षित प्रस्ताव सुनेपछि वैद्यले अपेक्षित गतिमै काम गरिरहेको दाबी गरे । बरु पर्यटनमन्त्रीको अभावमा भ्रमण वर्षले गति नलिएको तर्क गरे । वैद्यको जवाफ सुनेर आक्रोशित सापकोटाले सीईओ जोशीलाई निर्देशन दिए, थापालाई दोहोरो जिम्मेवारीबाट मुक्त गर्नू । र, मन्त्रालयलाई जानकारी गराउनू ।
सीईओ जोशीले सचिवको त्यही निर्देशनअनुसार १५ साउन ०७६ मा थापालाई बोर्डको निर्देशक पदबाट उन्मुक्ति दिई भ्रमण वर्ष सचिवालयको सदस्यसचिवका रूपमा मात्रै काम गर्नू भनेर पत्र दिए । जोशीले थापालाई पत्र दिने र पर्यटनमन्त्रीमा योगेश भट्टराई आउने संयोग भने एकै समय पर्यो ।
२ भदौ ०७६ मा मन्त्रिपरिषद्ले सचिव सापकोटालाई ६ महिनामै सरुवा गरिदियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारी पर्यटनसचिव भए । अधिकारीको आगमन मन्त्री भट्टराईभन्दा पनि प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालको रोजाइ थियो ।
संयोजक वैद्यको सहयोगका लागि नेपाल पर्यटन वर्ष–२०११ का संयोजक योगेन्द्र शाक्यलाई ल्याउने मन्त्री भट्टराईको प्रयास पनि सफल भएको छैन । १० भदौमा भ्रमण वर्ष कार्यक्रम कार्यान्वयन सचिवालयको बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्साल र कर्णाली प्रदेशका पर्यटनमन्त्री नन्दसिंह बुढाले वैद्य सम्पर्कमा नआएरै भ्रमण वर्षको प्रवर्द्धनमा लागेको भन्दै व्यंग्य गरेका थिए ।
यो पनि पढ्नुहोस : आवरण« भद्रगोल भ्रमण वर्ष
सम्बन्धित
नेपाल–चीनको संयुक्त प्रयासमा सर्वोच्च चुलीको नयाँ उचाइ घोषणा हुँदै...
सगरमाथाको उचाइ कति ? पहिलोपल्ट नाप्दैछ नेपालले
अनलाइन बुकिङले पर्यटन क्षेत्रमा अनेक समस्या थपेको छ । ...
अनलाइन बुकिङले पर्यटन क्षेत्रको आम्दानी कसरी घटाउँदै छ ?
इन्द्रेश्वर महादेव मन्दिर परिसरमा चलिरहेको प्रदर्शनीमा पनौतीको जीवनशैली, सांस्कृतिक, धार्म...
मनोरम पनौती
गायक लक्ष्मण चापागाईंले यसै साता नयाँ गीत ‘मायालु रापाकोटको’ भिडियो सार्वजनिक गरे । पर्यटन...
लोकदोहरीमा पर्यटन प्रवर्द्धन
नेपाल भ्रमण वर्ष–२०२० को सुरुआतसागै मौलिकता झल्काउने अभियान बढेका छन् । सुरुआतकै दिन विभिन...
नेपालीपनको खोजी
नेपाली हवाई क्षेत्रले ईयूको कालोसूचीमा निरन्तरता पाउनु चुनौतीको संकेत...