घटनाप्रधान लोकगीतमा विरहको लय
र, दैलेखकी एक किशोरीले पुष्कल शर्माले गाएको गीत आफ्नो मोबाइलमा रेकर्ड गरेर आत्महत्याको बाटो रोजिन् । ०७० सालको अन्त्यतिरको घटना हो यो । किशोरीका प्रेमी विदेशमा थिए तर प्रेमी नआउँदै परिवारले अर्कै केटासँग विवाह गर्न बाध्य बनाएपछि उनले स्वमृत्यु रोजिन् ।किशोरीले ‘डेथनोट’ बनाएको त्यो गीत यस्तो थियो :जिउँदो लासको मसानघाट पाइएनभो भो अब बैगुनी चाहिएन भो भनन निरमाया आउँछेउ, आउँदैनौँपक्कै मर्छु म, देख्न पाउँदैनौँ
र, दैलेखकी एक किशोरीले पुष्कल शर्माले गाएको गीत आफ्नो मोबाइलमा रेकर्ड गरेर आत्महत्याको बाटो रोजिन् । ०७० सालको अन्त्यतिरको घटना हो यो । किशोरीका प्रेमी विदेशमा थिए तर प्रेमी नआउँदै परिवारले अर्कै केटासँग विवाह गर्न बाध्य बनाएपछि उनले स्वमृत्यु रोजिन् ।
किशोरीले ‘डेथनोट’ बनाएको त्यो गीत यस्तो थियो :
जिउँदो लासको मसानघाट पाइएन
भो भो अब बैगुनी चाहिएन
भो भनन निरमाया आउँछेउ, आउँदैनौँ
पक्कै मर्छु म, देख्न पाउँदैनौँ
पुष्कलले यो गीत ०६४ तिर बुटवल हुँदै गाएका थिए । खासै चर्चा भने पाएको थिएन । तर ती किशोरीको आवाज बाहिरिए पछि गीत भाइरल बन्यो । त्यतिबेला दैलेख र त्यस वरपरका क्षेत्रका मानिसका हात हातमा यो गीत हुन्थ्यो र, मोबाइल बजाएर गुनगुनाइरहन्थे । आफ्नो गीत गाएर किशोरीले आत्महत्या गरेको खबर केही समय पछि पुष्कलको कानमा पर्यो । तर पत्याई हालेनन् । बरु, खास कुरा बुझ्न दैलेख नै पुगे । नभन्दै हो रहेछ !
“विदेश जाने धेरै साथीको प्रेम टुक्रेको देखेरै यो गीत रचेको थिएँ,” पुष्कलले दुखी हुँदै सुनाए, “तर यो हदसम्म कसैको मन छोला र वियोग निम्ताउला भन्ने चाहिँ कल्पनै गरेको थिइनँ ।”
यो घटनाले उनलाई थप संवेदनशिल बनायो । अनि, फेरि पनि उनले आफ्नो बह गीत मार्फत नै पोखे । तिनै किशोरीलाई समर्पण गर्दै अर्को गीत लेखे । गीतमा देवी घर्ती यसरी गुनगुनाइन् :
मेरो जीन्दगी पर्खाईमै गयो
आखिरीमा तिम्रो मेरो, ए सानु
भेट नहुने भयो
**
गत वर्ष १५ चैत्रमा सवारी दुर्घटनामा लोक तथा दोहोरी गायिका मञ्जु महतले ज्यान गुमाइन् । उनै पुष्कलले मञ्जुको निधनपछि कोरेका शब्द उत्तिकै मर्मस्पर्षी छन् :
तिमी गयौ, तिम्रो याद रह्यो नि
अब भेटै नहुने भयो नि
सम्झनामा आऊ है
ए साथी, तिम्रो लागि संसारै रोयो
तर तिमी नरोई–नरोई जाउ नै
मञ्जु यो संसारमा रहेको खबर पुष्कलले सुन्दा दिउँसोको तीन बज्दै थियो, उनका आँखा रसाए, आफूलाई थाम्नै सकेनन् । किनभने, मञ्जु सुमधुर स्वरकी धनी मात्र होइनन्, उनकी मिल्ने साथी पनि थिइन् । रात पर्यो तर निन्द्रा परेन । बिहान तीन बज्दा पनि उनका आँखाका ढकनी अझ जोडिएका थिएनन् । उघारिएकै थिए । त्यही घुर्मैलो बिहानमा टिल्पिलाएका आँखा पुछ्दै पुष्कलले एकै बसाईमा यो गीत रचे । उनले गीत रचनाको कारण यसरी खुलाए, “एउटा गायकले आफ्नो साथीप्रतिको प्रेम दर्शाउने माध्यम गीतबाहेक अर्को के हुनसक्थ्यो र ? मञ्जुको वियोगले यति पीडा दिएछ कि गीत लेख्दा आँसुले डायरी भिजेको थियो ।”
जम्मा १ मिनेट ३२ सेकेन्डको यो गीत जब रेकर्ड भएर बाहिर आयो, तब उनले जस्तै आँसु पुछ्ने धेरै भए । गीतले सबैलाई धुरुधुरु रुवायो । युट्युबमा दस लाख भ्युवर पुग्नै लागेबाट यस गीतको लोकप्रियता अनुमान गर्न सकिन्छ । मञ्जुलाई माया गर्ने दर्शक/स्रोताले गीतका शब्दमा आफ्नो पनि भावना मिसिएको अनुभत गरेकाले गीत हिट भएको पुष्कलको ठम्याई छ ।
पछिल्लो समय फास्टफुड शैलीका लोकगीतले बजार खाएको छ । लोकगीतका नाउँमा द्विअर्थी र भद्दा लाग्ने शब्द घुसाउने विकृति मौलाइरहेको छ । लोकगीतका अग्रज स्रष्टा यस्तो विकृति रोक्न अनुनय–विनय गरिरहेका छन् । तर, क्षणिक चर्चा कमाउन पल्किएका कतिपय कलाकार छाडा गीत गाउनै मस्त छन् । गाउँघरका जनजीवन प्रतिविम्बित गर्ने जीवन्त लोकगीतको खडेरी छ । जबकि, लोकगीतले गामवेशीका भाका र भावनालाई समेट्नु पर्छ भनिन्छ । यसरी लोकगीतकै अस्तित्व संकटमा परेका बेला पुष्कल मर्मस्पर्शी भाका गाएर लोकप्रिय हुँदै छन् ।
उनका हरेक गीतमा सामाजिक यथार्थ र ग्रामीण परिवेशको झल्को पाइन्छ । ‘मेरो आयु छोटो छ रे...’ ‘असल साथी...’ ‘नरोए आमा...’ यसका उदाहरण हुन् । उनी भन्छन्, “लोकगीत भनेकै लोकले मन पराउने र लोककै भावना समेटिएका सिर्जना हुन् तर हामीकहाँ लोकगीतलाई आइटम जस्तो बनाइँदै छ । क्षणिक चर्चा दिए पनि यस्ता गीतको आयू हुँदैन ।” गाउँमा हुर्किएको र लोकगीतको मर्म बुझेकाले भावुक शैलीका गायनमा तानिएको उनी बताउँछन् ।
पाल्पाको पोखराथोक–५, लुहुङमा २८ वर्ष अघि जन्मिएका हुन् पुष्कल । सानैबाट गाउँघरमा हुने लोकगीतका कार्यक्रममा नबिराई उपस्थित हुन्थे उनी । लोकगीत बज्यो भने रेडियो कानैमा जोड्थे । मौका पाउनासाथ गुनगुनाई हाल्थे पनि तर उनको सांगीतिक करिअर भने ०६२ सालमा बुटवलबाट सुरु भयो । १२ कक्षा पढ्दै गर्दा ‘निभ्यो ज्योती...’ गीत रेकर्ड गराए । १७ वर्ष पुग्दै गरेको किशोरले यस्तो सेन्टिमेन्टल गीत गाउँदा धेरै छक्क पर्थे । ठट्यौली शैलीका गीत गाएर छिटो हिट हुन सल्लाह दिने साथीको कमी थिएन तर त्यो बाटो आजसम्म रोजेका छैनन् ।
किनभने, लोकबहादुर क्षत्रीको ‘आमा रुदै गाउँबेसी मेलैमा...’ नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टिका...’ जस्ता कालजयी लोकगीत सुनेर हुर्किएका थिए पुष्कल । आफ्नो गायनमा यीनै गीतको दरिलो छाप परेको स्वीकार्छन् उनी । “मैले सुन्न थालेदेखी हजारौँ गीत आए, हिट पनि भए तर अहिले अत्तोपत्तो छैन, मान्छेले बिर्से,” सेन्टिमेन्टल लोक गीतमा तानिनुको कारण यस्तो रहेछ, “तर नारायण दाईहरूले गाएका गीत अहिले पनि उत्तिकै प्रिय छन्, भोलि पनि रहनेछन् । म यस्तै गीत रचनामा लालायित छु ।”
बुटवलबाटै पुष्कलले तीन एल्बम निकाले, तिनले धेरथोर चर्चा बटुले । त्यसक्षेत्रका सांगीतिक कार्यक्रममा उनको उपस्थिती बाक्लिन थाल्यो तर राष्ट्रिय पहिचान बनाउन सकिरहेका थिएनन् । मोफसल बसेर करिअर अगाडि बढ्नेमा शंका उब्जिएपछि ०६६ मा काठमाडौँ छिरे । बुटवलमा वातावरण मिलेको थिएन वा उनका गीत नै कमसल थिए, उनले अझसम्म भेउ पाउन सकेका छैनन् । तर सत्य कुरा के हो भने राजधानी आएपछि उनले गाएका प्राय: गीत हिट भए । यसरी उनलाई चिनाउने गीत बन्यो, ‘मुटु जलाई...’ । त्यसपछि उनका ‘कलाकार....’, ‘पत्रिकामा फोटो छापिएछ...’ ‘गाजले आँखा...’ जस्ता दर्जनौँ गीत लोकप्रिय भए ।
सरल भाषामा भन्दा राजधानी छिरेपछि उनले पछाडी फर्केर हेर्नु परेको छैन । यतिबेला उनको ‘सपनाको घर थियो...’ बोलको भूकम्प गीत चर्चामा छ । भिडियोमा दृष्टिविहीन बनेर उनी आफैँले पनि अभिनय गरेका छन् ।
पुष्कल प्राय : आफ्नो शब्द र संगीतमा मात्र गाउँछन् । त्यसैले उनका गीतका संख्या बल्ल सय नाघ्दै छन् । तर, अधिकांश गीत लोकप्रिय भएकाले पुष्कलको व्यस्तता बढ्दो छ । विरहका गीत गाएर स्टेज शोमा उनी जति व्यस्त हुने गायक सायदै अरू कोही होला । स्टेजमा म्युजिक भिडियो अनुसारकै अभिनय गर्ने भएकाले उनी आयोजक र दर्शकको रोजाईमा परेका हुन् । स्वदेशमा पशुपति शर्मा जत्तिकै माग भएका गायकमा पर्छन् उनी । ७० जिल्लामा आफ्नो सुमधुर स्वर घन्काइसकेका छन् तर विदेशमा जापान र कतार मात्र पुगेका छन् । गाउँमा घाँस काट्दा र गोठालो जाँदा सुन्ने गीत भएकाले विदेशमा अरू गायकजस्तो माग नभएको उनको भनाई छ । यद्यपि, विस्तारै बाहिरी मुलुकमा समेत उनको उपस्थिति बढ्दै छ । अमेरिका, हङकङ र कुवेतको कार्यक्रममा करिब तय भइसकेको जानकारी दिए ।
पुष्कललाई लाग्छ, चर्चा र लोकप्रियता फरक विषय हुन् । अहिलेका अधिकांश लोकगीतले चर्चा पाएका हुन्, लोकप्रियता कमाउन सकेका छैनन् । किनभने, न गीतका लयमा मौलिकता छ, न शब्दमा । गीतले क्षणिक रमाइलो त देला तर अपनत्व महसुस हुँदैन । मन छुँदैन । फेरि, मान्छेको जीवनमा सुखभन्दा दुख र पीडा धेरै हुन्छ । मन रोएका बेला रोमान्टिक गीत सुन्ने चाह कसलाई हुन्छ र ! आखिर हिरा काट्ने त हिराले नै हो । त्यसैले पुष्कल मानिसका दुख र वेदना भुलाउन पनि विरहका भाकाको आवश्यकता देख्छन् । सोही कारण लोकगीतको मर्म विपरीत सस्तो चर्चाका खातिर छाडा र भड्किलो गीत नगाउने प्रण गर्छन । भन्छन्, “मेरा लागि कति धेरै चर्चा पाइयो भन्दा कतिको मन छुने गीत गाइयो भन्ने कुराले धेरै अर्थ राख्छ । त्यसैले बजारुभन्दा जीवन्त शैलीका लोकगीत साधनामा तल्लीन छु ।”
तर यही रमाईलो कुरा, पुष्कलको गायन र हुलियाबीच भने आकाश पातालको फरक छ । विरहका भाका गाउने यी गायकले लामो कपाल पालेका छन्, कानमा मुन्द्रा झुण्ड्याएका छन् । त्यतिमात्र होइन्, हातको नङमा समेत औँठी लगाएका छन् । झट्ट हेर्दा रक–पप गायकजस्तो लाग्छ । गायकी र व्यक्तित्वबीच यति विघ्न अन्तर किन त ? उनले हाँस्दै भने, “एक त गायन अनुरूपकै हुलिया हुनुपर्छ भन्ने छैन । अर्कोतिर म गायक मात्र होइन्, मोडल पनि हुँ ।” हुन पनि उनी आफ्नो गीतमा आफैँ मोडलिङ गर्छन् । अब त निर्देशनतिर पनि लम्कदै छन् ।
23.12°C













