नेपाली फिल्मको फराकिलो मैदान!
नेपालकै मौलिक कथा, पात्र र लोकेसनमा नेपालीले नै बनाएको कालो पोथीको यति लोभलाग्दो सफलताले नेपाली फिल्मको बजार कति फराकिलो हुँदै गएको छ भन्ने सन्देश दिएको छ भने नयाँ फिल्मकर्मीलाई उत्साह र अभिप्रेरणा ।
भूकम्पपछि विस्तारै जुर्मुराउँदै गरेको नेपाली फिल्मवृत्तमा एउटा तरंग पैदा भयो २७ भदौमा । फिल्मकर्मीदेखि फिल्मका सामान्य शुभचिन्तकसम्म प्रफुल्लित र उत्साही देखिए । आखिर ५० वर्षे इतिहासमा पहिलो पटक कुनै नेपाली सिनेमाले संसारै प्रतिष्ठित फिल्म फेस्टिभलमा अवार्ड चुमेको दिन थियो त्यो । यसरी अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान स्थापित गर्ने फिल्म हो, कालो पोथी । मीन भाम निर्देशित यस फिल्मले इटालीको भेनिस फिल्म महोत्सवमा इन्टरनेसनल क्रिटिक्स विक अन्तर्गत उत्कृष्ट फिल्मको अवार्ड चुम्यो । विभिन्न मुलुकका नौ फिल्मलाई पछि पार्दै कालो पोथीले इतिहास रचेको हो ।
माओवादी विद्रोहको पृष्ठभूमिमा कथित तल्लो र उपल्लो जातिका दुई बच्चाको मित्रताको कारुणिक कथा हो कालो पोथी । मीनले मुगु पुगेर तीन करोड रुपियाँको लगानीमा फिल्म तयार पारेका थिए । छिरिङ रितार शेर्पा कार्यकारी निर्माता रहेको फिल्ममा जर्मनी, फ्रान्स र स्वीट्जरल्याण्डका निर्माताको पनि लगानी छ । अब बुसान फेस्टिभलसँगै २१ वटा फेस्टिभलमा कालो पोथी देखाइनेछ । त्यसपछि, युरोप, जापान, कोरिया, उत्तर अमेरिका र दुबईमा सार्वजनिक प्रदर्शन हुने पक्कापक्की हुनेछ । बाँकी फेस्टिभलमा अवार्ड जित्यो भने रिलिज हुने मुलुकको संख्या अझ बढ्दै जानेछ ।
नेपालकै मौलिक कथा, पात्र र लोकेसनमा नेपालीले नै बनाएको कालो पोथीको यति लोभलाग्दो सफलताले नेपाली फिल्मको बजार कति फराकिलो हुँदै गएको छ भन्ने सन्देश दिएको छ भने नयाँ फिल्मकर्मीलाई उत्साह र अभिप्रेरणा । मौलिक फिल्म बनाउन कहलिएका निर्देशक मनोज पण्डित कालो पोथीपछि नेपाली फिल्मको नयाँ अध्याय सुरु भएको दाबी गर्छन् । “कालो पोथीले भंयकर ठूलो उपलब्धी पायो भनेर देवत्वकरण गर्न आवश्यक छैन किनभने यसले मुख्य सेक्सनको अवार्ड जितेको होइन,” मनोज भन्छन्, “तर यसले विश्व फिल्म मञ्चमा नेपाली फिल्मलाई चिनाउनुका साथै हामीले आफ्नो कथा शक्तिशाली ढंगले भन्न सक्ने तहमा पुगेको संकेत गरेको छ ।” लुटले आन्तरिक बजारलाई बढावा दिएजस्तै कालो पोथीले विदेशी बजारको ढोका भने पक्कै खोलेको छ ।
तर कालो पोथीका एक निर्माता तथा निर्देशक छिरिङ रितार यस्तै मौलिक र गुणस्तरिय सिनेमा निर्माणले तीव्रता पाएन र विदेशी बजार, फेस्टिभल र अवार्डमा दरिलो उपस्थिती जनाएनन् भने भेनिसमा पाएको उपलब्धी भोलिका दिनमा फिक्का हुने चिन्ता व्यक्त गर्छन् । छिरिङ यस्तो चिन्ता किन पनि व्यक्त गरिरहेका छन् भने विदेशी मञ्चमा उपस्थिती जनाएको १५ वर्षपछि मात्र कुनै नेपाली फिक्सन फिल्मले गर्व गर्नलायक सफलता पाएको छ ।
०००
फिल्म निर्माणको ३५ वर्षसम्म नेपाली फिल्म स्वदेशी बजारमा मात्र सिमित रह्यो । २०५९ मा छिरिङकै निर्देशनमा बनेको मुकुण्डो पहिलो पटक मुलधारका फेस्टिभलमा प्रदर्शनका लागि छानिएको थियो । त्यसभन्दा अगाडि नविन सुब्बाको छोटो फिल्म खांग्री इटाली, अमेरिका, पोल्याण्डका माउन्टेन फिल्म फेस्टिभलमा छानिए पनि मुलधारका फेस्टिभलमा प्रदर्शनको मौका पाएन । उसो त २०५८ मै उल्पलो हिमाली क्षेत्रका बासिन्दाको जीवनशैली र संस्कृति देखाइएको फ्रान्सेली निर्देशक एरिक भ्यालीको क्याराभान ओस्कार अवार्डको उत्कृष्ट विदेशी भाषा फिल्म विधामा मनोनयन परेको थियो तर यसको कथा र लोकसेन मात्र नेपालको हो । मनोजको भनाइमा मेकरदेखि कथा भन्ने शैलीसम्म फ्रान्सेली नै थिए, त्यसैले यसलाई नेपाली फिल्म मानिदैन । भलै क्याराभानले नेपालमा कथाको कमी नभएको प्रमाणित गर्यो ।
सनफ्रान्सिस्को, फ्रिवर्ग, फुकुओका र गोटेवर्गजस्ता दोस्रो तहका आधा दर्जन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा मुकुण्डो प्रदर्शन भयो । ओस्कार अवार्डको ७३ औँ संस्करणमा उत्कृष्ट विदेशी भाषी फिल्मका लागि नेपालबाट छानिए पनि अन्तिम पाँचमा परेन । यद्यपि, विदेशी मञ्चमा नेपाली फिल्मले उपस्थिति पाउनुको श्रेय मुकुण्डोलाई जान्छ । आधुनिक फिल्म निर्माणमा मुकुण्डोले बम्बैया शैली र संरचनाभन्दा फरक ढंगबाट बनाउन सकिन्छ भन्ने प्रमाणित गर्यो ।
त्यसको तीन वर्षपछि नविनको नुमाफुङलाई मौलिकता र विदेशी मञ्चमा उपस्थितिका हिसाबले माइलस्टोन मानिन्छ । लिम्बू समूदायको सुनौली–रूपौली प्रथामाथि बनाइएको यस फिल्म फिनिस आदिवासी फिल्म महोसत्वको १३ औँ संस्करणका साथै फुकुओका, गोटेवर्ग, सनफ्रान्सिस्कोजस्ता अन्तर्राष्ट्रिय फेस्टिभलमा छानिएको थियो । बंगलादेश इन्टरनेशनल फिल्म फेस्टिभलमा बेस्ट रनरअप र फ्रान्सको भिजुअल फिल्म फेस्टिभलमा पब्लिक चोइस अवार्ड चुम्यो । यसरी विभिन्न फेस्टिभलमा सेलेक्सन र अवार्ड जितेपछि यस फिल्मलाई स्वीट्जरल्याण्डको ट्रिगन फिल्मले वितरण गरेको थियो । नविन भन्छन्, “विदेशी कम्पनीले वितरण गरेको पहिलो अवसर सम्भवत: यही हुनुपर्छ ।”
छिरिङ र नविनले मौलिक पात्र, कथादेखि लोकेसनसम्मको खोजी यात्रा सुरुवात गरे, विदेशी महोत्सवमा नेपाली फिल्म उपस्थित गराए र धेरथोर सफलता पनि कमाए । तर, त्यसपछिको करिब एक दशक अन्तर्राष्ट्रिय मञ्चमा नेपाली फिल्मको उपस्थिति करिब शून्य रह्यो । यो मौनता तोड्यो, दीपक रौनियारको हाइवेले । २०७० सालमा बनेको यस फिल्म विश्वको प्रतिष्ठित पाँच फेस्टिभलमा गनिने बर्लिन फिल्म फेस्टिभलमा प्रिमियर भयो । त्यसअगाडि, नेपालीले नै बनाएको फिल्मले त्यति ठूलो फेस्टिभलमा प्रदर्शनको मौका पाएको पाएको थिएन । बीबीसीले लेख्यो पनि, ‘संसारको कुनै प्रमुख फेस्टिभलमा प्रदर्शन हुन नेपाली फिल्मलाई झण्डै ५० वर्ष लाग्यो, जुन उद्योगमा वर्षेनी ८० भन्दा बढी फिल्म उत्पादन हुन्छ ।’
पहिलो पटक हाइवेले हलिउड सिनेमा निर्माण कम्पनी लुभर्चर फिल्म कम्पनीसँग सहकार्य गर्यो भने पोष्ट प्रोडक्सनका लागि क्राउड फन्डिङमाध्यमको प्रयोग गर्यो । जुन फिल्म निर्माणमै विदेशी लगानी भित्र्याउन सकिन्छ भन्ने उदाहरण बन्यो । यही फिल्मको सफलतापछि दीपकले फन्डिङमार्फत नै ह्वाईट सन बनाउँदै छन् । त्यसो त हाइवे अगाडि दीपककै छोटो फिल्म थ्रेसहोल्डले अहमदावाद फिल्म फेस्टिभलमा स्पेशल जुरी प्राइज जितेको थियो भने कान्स फिल्म फेस्टिभलको छोटा फिल्म कर्नरमा छानिएको थियो ।
हाइवेपछि भने नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने क्रम बढेको देखिन्छ । नेपाली मेकरले फेस्टिभल लक्षित फिल्म बनाउने र त्यहाँसम्म पुग्ने बाटो पहिल्याउन थाले । जस्तो, सुनगाभा । निर्देशक सुवर्ण थापाले पहिलो पटक यही फिल्ममार्फत नेपाली समाजको लेस्बियनको कथा खोतले । जुन फिल्म हम्वर्ग, प्लाप स्प्रिङ, मुम्बई, चेन्नाई, बैंग्लोरजस्ता अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छानियो । त्यस्तै, फ्रान्सको योङ डाइरेक्टर फिल्म फेस्टिभल र सेटर साउथ एसियन फेस्टिभलमा चर्चा बटुलेर नेपाली फिल्मलाई चिनाउन भूमिका खेल्यो । फ्रान्सका विभिन्न सहरमा सार्वजनिक प्रदर्शन भयो । सुवर्णले नै यसअघि ०६४ सालमा फ्रान्स सरकारको पूर्ण लगानीमा मलामी नामक लघु फिल्म बनाएका थिए । पोखरामा खिचिएको यो फिल्म एफथ्रिन राष्ट्रिय टेलिभिजन च्यानलबाट प्रसारण भयो ।
मीन भामकै छोटो फिल्म बाँसुल्लीले पनि भेनिसमा होराइजन सर्ट फिल्म सेक्सन र बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भएर चर्चा बटुलेको थियो । कालो पोथी निर्माणमा तीन करोड रुपियाँ बराबरको फन्डिङ हात पार्ने तारतम्यता बाँसुल्लीले नै दिलाएको हो ।
बुसानमा छानिने अर्को फिल्म हो, सुन्तली । कोरियामा सम्पन्न बुसानको १९ औँ संस्करणको अप्रतिस्पर्धी विधा ‘अ विन्डो अन एसिएन सिनेमा’ शिर्षकमा सुन्तली देखाइएको थियो । बुसानको २० औँ संस्करण आगामी असोज १४ देखि २३ सम्म कोरियामा हुँदैछ । यसपटक कालो पोथीसहित सुसन प्रजापतिको द सेम यो महोत्सवमा छानिएका छन् । महोत्सवको सुन्तली छानिएकै विधामा कालो पोथी छनोट भएको हो । मुक्त कमैयाको कथा भन्ने द सेम महोत्सवको एसियन सर्ट फिल्म प्रतियोगितामा छनोट भएको हो ।
अघिल्लो वर्ष झोला र साँघुरोले पाएको सफलता त्यतिकै उल्लेखनीय छ । जेठ ०७१ मा आयोजित सार्क संस्कृति केन्द्रद्वारा श्रीलंकाको कोलम्बोमा आयोजित सार्क फिल्म फेस्टिवलमा यी दुई फिल्मले अवार्ड हात पारे । फेस्टिभलमा चुनिएका फिल्ममध्ये साँघुरोले सिल्भर अवार्ड पाउनुका साथै निर्देशक जोयस पाण्डेले जुरीको तर्फबाट उत्कृष्ट ‘न्यू ट्यालेन्ट सटिफिर्केट अफ रेकग्निसन’ हात पारे । त्यस्तै, झोलाबाट अभिनेत्री गरिमा पन्तले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । झोला इतिहासको दस्तावेज हो भने साँघुरो समकालीन यथार्थ हो ।
विश्वमा वर्षेनी झण्डै ५ हजार फिल्म फेस्टिभल हुन्छन् । त्यसमध्ये कान्स, बर्लिन, भेनिस, टोरन्टो र सनडान्स मुख्य मानिन्छन् । कालो पोथीले भेनिसको साइड इभेन्टमा अवार्ड जितेको हो, मुख्य विधामा होइन । बाँकी चार फेस्टिभलमा त नेपाली फिल्मले प्रवेशसमेत पाएका छैनन् । भलै साना फेस्टिभल, ठूला फेस्टिभल र बजारका लागि पुल बन्न सक्छन् । तर, अब प्रतिष्ठित फेस्टिभलमा हस्तक्षेप गर्नु मुख्य चुनौती मान्छन् छिरिङ रितार ।
त्यसका लागि एक–दुई निर्देशकले चाहेर मात्र हुँदैन, मौलिक फिल्म निर्माण ट्रेन्डकै रूपमा अगाडि आउनुपर्छ । छिरिङ भन्छन्, “नुमाफुङपछिको जस्तै सुस्तता छायो भने हामी अर्को दुई दशक पछाडि धकेलिने छौँ । किनभने, विश्व फिल्म मैदानमा प्रतिस्पर्धा बढ्दै जानेछ । त्यसैले, कलात्मक र मौलिक फिल्म बनाउन सरकारले फन्डिङ गर्नुपर्छ ।” सरकारकै प्रोत्साहनपछि नै कोरियन, चाइनिज र हङकङका फिल्मले अन्तर्राष्ट्रिय मञ्चमा प्रभाव जमाएका थिए ।
अमेरिकाको युनिभर्सिटी अफ साउथर्न क्लालिफोर्नियाबाट फिल्म स्टडिज्मा स्नातकोत्तर गरेका नरेशकुमार केसी छिरिङको भनाईसँग सहमत छन् । उनी मौलिक फिल्म निर्माणदेखि प्रदर्शन र अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन सरकारले सक्रिय भूमिका खेल्नु पर्ने आवश्यकता औल्याउँछन् । यद्यपि, फिल्म व्यापार भएकाले निजी लगानीकर्ता नै अग्रसर हुनुको विकल्प छैन, सरकारले सहजीकरण गर्ने न हो । “नेपालमा फेस्टिभलका लागि फिल्म बनाउने भन्नासाथ लगानीकर्ता तर्सन्छन् किनभने फेस्टिभलमा सो गर्दाको फाइदा निर्मातालाई थाहै छैन र फेस्टिभलमा नेपाली फिल्मले उल्लेखनीय प्रगती नगरेकाले उनीहरू सुरक्षित महसुस गर्दैनन्,” नरेश भन्छन्, “लगानीकर्ता यो परम्परागत मानसिकताबाट माथि उठ्नु ढिला भइसकेको छ । तर, कालो पोथीको सफलताबाट निर्माताले पाठ सिकेको आश गर्न सकिन्छ ।” आखिरमा भाषा र संस्कृति फिल्म बजारको बाधक बन्दैन । चुनौती त, मौलिक दृष्यभाषामा हाम्रै समाजको यथार्थ चित्रण गर्नु मात्र हो ।
***
कालो पोथी, (सन् २०१५)
भेनिस महोत्सवमा इन्टरनेसनल क्रिटिक्स विकअन्तर्गत उत्कृष्ट फिल्मको अवार्ड ।
अब बुसानसहित २१ महोत्सवमा देखाइने ।
**
द सेम, (सन् २०१५)
बुसान फेस्टिभलमा छनोट ।
***
सुन्तली, (सन् २०१४)
बुसान फेस्टिभलमा छनोट ।
***
बाँसुल्ली, (सन् २०१३)
भेनिसमा होराइजन सर्ट फिल्म सेक्सनमा छनोट ।
***
हाइवे, (सन् २०१३)
बर्लिन फेस्टिभलमा प्रिमियर । हलिउड निर्माण कम्पनी लुभर्चरसँग सहकार्य । पोष्ट प्रोडक्सनमा क्राउड फन्डिङ ।
***
सुनगाभा, (सन् २०१३)
हम्वर्ग, प्लाप स्प्रिङ, मुम्बई, चेन्नाई, बैंग्लोरजस्ता फेस्टिभलमा छनोट ।
***
साँघुरो, (सन् २०१३)
सार्क फेस्टिभलमा सिल्भर अवार्ड र निर्देशक जोयस पाण्डेले जुरीकोतर्फबाट उत्कृष्ट ‘न्यू ट्यालेन्ट सटिफिर्केट अफ रेकग्निसन’ जित्न सफल ।
***
झोला, (सन् २०१३)
सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल ।
***
नुमाफुङ, (सन् २००४)
फुकुओका, गोटेवर्ग, सनफ्रान्सिस्कोजस्ता अन्तर्राष्ट्रिय फेस्टिभलमा छनोट । बंगलादेश इन्टरनेशनल फिल्म फेस्टिभलमा बेस्ट रनरअप र फ्रान्सको भिजुअल फिल्म फेस्टिभलमा पब्लिक चोइस अवार्ड जित्न सफल ।
***
मुकुण्डो, (सन् २०००)
सनफ्रान्सिस्को, फ्रिवर्ग, फुकुओका र गोटेवर्गजस्ता अन्र्तराष्ट्रिय फेस्टिभलमा छनोट ।
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...