'संरक्षण'मा संवेदनशील विषय, निम्छरो प्रस्तुति
मूल कथा संवेदनशील भए पनि कथा भन्ने शैली कलात्मक हुन नसक्दा संरक्षणले निराश बनाउँछ ।

फिल्म संवादले सुन्दर हुन्छ क दृश्यले ? शङ्कै छैन, दृश्यले । फिल्म भनेकै दृश्य–भाषा हो । कथ्य संरचनाको मूल आधार दृश्य नै हुनुपर्छ । विडम्वना † हाम्रो फिल्ममा दृश्यलाई हेला गरी संवादलाई काखी च्यापिन्छ । परिणामत: फिल्म होइन, सडक वा रेडियो नाटकजस्तो भइदिन्छ । पूर्णेन्दु झा निर्देशित संरक्षणलाई यही कोटीमा राख्न सकिन्छ । दृश्यमाथि संवाद हाबी हुँदा फिल्म अनावश्यक ‘लाउड’ भइदिएको छ । जबकि, मधेसको मुद्दा उठाइएकाले संरक्षणलाई महत्वका साथ हेरिएका थियो ।
समाजमा राजनीतिको चर्को दबदबा भए पनि सिनेमामा राजनीतिक विषय उठाउने हिम्मत (जोखिम ?) एकाध निर्देशकले मात्र गर्छन् । पहिलो फिल्ममै पूर्णेन्दुले त्यो आँट गरे । तर, सोही अनुरुपको निर्देशकीय क्षमता देखाउन सकेनन् । पटकथामा उनले रमेशरञ्जनको साथ पाएका छन् ।
उदीयमान मधेसी नेता त्रिपाठीजीको हत्यारा पत्ता नलागेपछि वीरगन्जको शान्तिसुरक्षा खल्बलिन्छ । अनि काठमाडौँबाट खटिन्छन्, एसपी ओम खरेल (निखिल उप्रेती) । इमानदार र निर्भीक एसपीको प्रवेशसँगै घुस्याहा डीएसपी रामदेव थारु (सौगात मल्ल), नेताहरू देवु शाह (रमेशरञ्जन) र कोइराला (रमेश बुढाथोकी)को नीद हराम हुन्छ । थारुलाई जसरी पनि पैसा कमाउनु छ भने विपरीत धुव्रमा रहेका देवु र कोइरालालाई पैसासँगै सत्ता हत्याउनु छ । त्यसको लागि जातीय र क्षेत्रीय मुद्दालाई गलत ढंगले उठाउने उनीहरूको आदत बनिसकेको छ । यस्तो अपराधको चंगुलमा फसेका खरेलले के गर्लान् ? भ्रष्ट नेता र प्रहरी अधिकृतको भन्डाफोर होला ? फिल्म यिनै प्रश्नहरूको वरपर घुमेको छ ।
हरेक पात्रले मधेसको नाम बारम्बार जपे पनि संरक्षण वीरगन्जमा सीमित छ । मधेसका अरु
सहरसँग कथाको ‘कनेक्सन’ छैन । वीरगन्जलाई भ्रष्ट राजनीति र तस्करको उर्वरभूमिको रुपमा चित्रित गरिएको छ । यहाँका न नेता सफा छन्, न प्रहरी र प्रेस नै । अनि, जनताचाहिँ नेताले जता भन्यो, त्यतै लाग्छन् । तर यी हर्कत पर्दामा देखाइँदैन,र् पात्रले संवादबाट मात्र प्रस्टाउने प्रयास गर्छन् । प्रतीकात्मक र गहिरो भाव बोकेका दृश्यको खडेरी छ सुरुआतबाट । मधेसको समस्या बुझे पनि त्यसलाई दृश्यमा बदल्ने कौशल अभाव निर्देशक र पटकथाकार दुवैमा देखिँदैन ।
पात्रहरूको विस्कुन र कमजोर चारित्रीकरणले थप गञ्जागोल बनाएको छ । सुरुआती १५ मिनेटदेखि नै कथा र पात्रमाथिे पकड गुमाएका छन् निर्देशकले । पात्र बोलिरहन्छन् तर, भनाइ र गराइको भेउ पाउन्न । त्रिपाठीजीको चरित्र स्थापित नगर्दै हत्या गरिन्छ । जबकि, त्यसपछिको पूरा फिल्म अपराधी खोज्न र उम्कनतिर केन्द्रित हुन्छ । यसरी आधार विषय नै फिक्का हुँदा स्वभाविक रुपमा वितृष्णा जाग्छ । कोइरालालाई भयंकर नेताका रुपमा प्रस्तुत गरिन्छ । तर, आफ्नो भरौटेको अगाडि फँुई लाउनुबाहेक उनका अन्य राजनीतिक ‘नेक्सस’ देखिँदैन । देवु शाहले रक्सी पिउने र उत्तजेक भाषण मात्र दिन्छन् । उनको चरित्रको धरातल कमजोर छ । डीएसपी थारुचाहिँ जता गुलियो उतै भुलियो भनेझैं । उनले राजधानीमा सत्तासीन कुनै नेताको ठूलै आर्शिवाद पाएजस्तो देखाइन्छ ।
पक्का पनि मधेस आक्रामक छ । पहाडलाई आफ्नो विरुद्धमा देख्छ तर यो यथार्थलाई जातीय र क्षेत्रीयताको रंग दिएर अधिकांश मधेसी नेता अतिरञ्जित गर्छन् । सोही कारण मधेसका वास्तविक पीडितले कहिल्यै न्याय पाएका छैनन् । पूर्णेन्दुले पस्कन खोजेको यही तीतो वास्तविकता हो । तर, फितलो प्रस्तुति कारण प्रभावहीन भएको छ । लम्बेतान र विनाप्रसंगका भाषण र खरेलको गोदामभित्र फाइटको तुक छैन । अशिष्मा नकर्मी र सौगातको प्रेमको प्रसंग र गीतले कथाको बहाव अझ विथोलेको छ । खासमा महिला पात्रबाहेक सबै ‘लाउड’ छन् ।
मधेसको सामाजिक बनोट अनुसारका फरक पात्र प्रतिनिधित्व गराउनु सकारात्मक छ । मधेसभित्रकै अन्तरविरोधलाई निर्देशकले दुई मधेसी नेता र थारु प्रहरी अधिकृतमार्फत छर्लंग पार्ने प्रयास गरेका छन् । हत्या गरिएका नेता त्रिपाठीकी पत्नीको मनोभावलाई मर्मस्पर्शी शैलीमा देखाइएको छ । होली गीत र त्यसपछिको एक्सनको कोरियोग्राफी तुलनात्मक रुपमा अब्बल छन् । सौगात र प्रमोदको हिलोको फाइट निकै मिहिनेत गरेर खिचिएको छ । क्लाइमेक्सले मधेसमा मौलाइरहेको वंश परम्पराको झल्को दिन्छ । यो ‘एन्टी पहाडे’ फिल्म होइन । निर्माण पक्षले लगानीमा कन्जुस्याई गरेको देखिँदैन पनि ।
सौगातको चरित्र ज्यादै चर्को लाग्छ । त्यसैले उनीसँग दर्शक झ्याम्मिदैनन् । यही प्रवृत्तिको चरित्रमा उनलाई यसअगाडि पनि हेरिसकिएको छ । बरु रमेशरञ्जन केही स्वभाविक लाग्छन्, खासगरी भाषण गर्दा । रमेश बुढाथोकीको बोल्ने शैलीदेखि हाउभाउसम्म बनावटी लाग्छ । प्रमोदलाई हुलिया र ‘टोन’ले साथ दिएको छ । मलिना र अशिष्माको न भूमिका प्रभावकारी छ, न अभिनय जीवन्त ।
मूल कथा संवेदनशील भए पनि कथा भन्ने शैली कलात्मक हुन नसक्दा संरक्षणले निराश बनाउँछ । सिनेमाको औपचारिक अध्ययन गरेका अनि मधेसको जनजीवन भोगेकाले पनि पूर्णेन्दुसँग यही स्तरको फिल्मको अपेक्षा थिएन ।