गायकबाट नायक तर चलेनन्
स्थापित गायकको असफल फिल्मी यात्रा
नेपालमै बनेको पहिलो नेपाली फिल्म हो, आमा (विसं ०२२) । माइतीघर (विसं ०२३)चाहिँ निजी लगानीमा बनेको पहिलो फिल्म । आमाको मुख्य अभिनेता थिए, शिवशंकर मानन्धर । माइतीघरको सीपी लोहनी । यी अभिनेतामा एउटा समानता छ, दुवै नायक बन्नुअघि गायक थिए । स्थापनाको सुरुआतबाटै रेडियो नेपालमा जागिर खाएका शिवशंकर गीत मात्र गाउँदैनथे, कम्पोज पनि गर्थे । उनले १ हजार २ सयभन्दा बढी गीतमा संगीत दिएका छन् । सीपीका ‘कर्नालीले बगाई लग्यो...’, ‘हे सुन आज...’ जस्ता दर्जनौँ गीत लोकप्रिय छन् । माइतीघरको चर्चित गीत ‘काला कुर्तैले...’ उनैले गाएका हुन् ।
र, शिवशंकर र सीपीमा अर्को समानता पनि छ, उनीहरू अभिनयमा सफल भएनन् । आमापछि न शिवशंकरलाई अर्को फिल्ममा देख्न पाइयो, न माइतीघरपछि सीपीलाई । शिवशंकर कम्पोजमै व्यस्त भए भने सीपीले माइतीघरकै हिरोइन माला सिन्हासँग घरजम गरे । र, फिल्मबाट टाढा भए । यसरी नेपाली फिल्म निर्माणको शैशवकालबाटै गायक हिरो हुन सक्छ भन्ने नजिर बस्यो साथै सफल गायक नायक हुँदा सफल हुँदैनन् भन्ने छनक मिल्यो, ‘ बिहानीले दिनको संकेत गर्छ’ भनेझैँ । गहिरिएर नियाल्दा, नेपाली फिल्मले आधा शताब्दी पार गरिसक्दासमेत त्यही विडम्बनाले निरन्तरता पाएको देखिन्छ । मतलब, बेलामौकामा चलेका गायक फिल्ममा मुख्य भूमिकामा देखा पर्छन् तर स्थापित हुन सकेका छैनन् ।
उदितनारायण झादेखि रामकृष्ण ढकाल, यम बराल, धीरज राई, यश कुमार हुँदै बाबु बोगटी र कोसिस क्षत्रीसम्म यही नियतिको सिकार भए । अपवाद त भुवन केसी मात्र हुन् । बाटोमुनिको फूलबाट फिल्ममा फड्को मारेका यश कुमार भन्छन्, “क्षमता र चाहना छ भने गायकले फिल्म खेल्नु नराम्रो होइन । सफलता/असफलता त दर्शकले कसरी लिन्छन् भन्नेमा निर्भर गर्छ ।” यश कुमारकै भनाइलाई सापटी लिँदा हाम्रा अधिकांश गायकलाई नायकका रूपमा दर्शकले स्वीकार गरेनन् ।
उदितनारायण सप्तरीबाट काठमाडौँ आउनुको एउटै उद्देश्य थियो, गायक बन्नु । फाट्टफुट्ट गीत गाउने अवसर पाए, धेरथोर चर्चा कमाए पनि । त्यही बेला कुसुमे रुमालमा अभिनय गर्ने संयोग जुर्यो । डेब्यु फिल्म नै ‘ब्लकबस्टर’ भयो । यस हिसाबले उनको अभिनययात्राले शिखर चुम्नुपर्ने थियो । तर, त्यस्तो भएन । कुसुमे रुमालको लोकप्रियताबाट हौसिएका उदितले आफ्नै दोहोरो भूमिका रहेको पिरतीमा लगानी पनि गरे । उनी त्यही समयमा हिन्दी पाश्र्व गायनमा संघर्ष गर्दै थिए, मुम्बई पुगेर । उन्नीस–बीस, बडे दिलवालालगायतका केही फिल्ममा गाउने मौका पाए पनि ‘मार्क’ भएका थिएनन् । तर, आमिर खान अभिनीत कयामत से कयामत तकको ‘पापा कहेते हैं..’ गीतले उनलाई रातारात स्टार बनायो । तर, त्यसको केही समयअगाडि नेपालमा प्रदर्शित पिरती फ्लप भयो । अनि, यहीँ रोकियो, उनको अभिनय करिअर । त्यसयता उनले ३३ भाषाका २५ सयभन्दा बढी गीत गाए तापनि एउटै फिल्ममा अभिनय गरेनन् ।
बरू कुसुमे रुमालमा अभिनय गरेका अर्का गायक भुवन केसीचाहिँ नेपाली फिल्मवृत्तमा सदाबहार नायकका रूपमा स्थापित भए । त्यसअघि भुवन जुनीमा हिरो बनिसकेका थिए । तर, खेल्नुअगाडि नै ‘जागे जागे सारा रात...’, ‘मायालु तिमी...’जस्ता गीत गाएर उनले लोकप्रियता हासिल गरिसकेका थिए । रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका भुवनको सपना गायकै बन्ने थियो । तर, जुनीले उनको जीवनको लय परिवर्तन गरिदियो । भुवन अभिनीत सपना, करोडपति, सम्झना, लाहुरे, दक्षिणाजस्ता दर्जनौँ फिल्म बक्स अफिसमा अब्बल साबित भए । यतिबेला फिल्म निर्माण र निर्देशनमा सक्रिय छन् उनी । अर्को रोचक कुरा, हिरोका रूपमा हिट भएपछि उनको गायन ओरालो लाग्यो ।
सम्झनामा भुवनसँगै काम गरेका मुरलीधर पनि गायक नै हुन् । उनको ‘उडायो सपना सबै हुरीले...’ गीत आज पनि उत्तिकै लोकप्रिय छ । भुवनपछि अभिनयमा सफलता हासिल गर्ने गायक हुन्, मुरलीधर । साइनो, पृथ्वी, कन्यादानलगायतका फिल्मबाट खलनायकको छवि बन्यो उनको । पछिल्लोपटक भैरवमा देखिएका उनले केही हिन्दी फिल्ममा पनि अभिनय गरेका छन् । अझ भोजपुरी र मैथिली फिल्ममा त उनको योगदान उच्च मानिन्छ । तैपनि, मूलधारका हिन्दी फिल्ममा छाउने उनको प्रयासचाहिँ असफल भयो । फिल्ममा लागेपछि गीतबाट व्यापक ख्याति कमाउन पनि सकेनन् । गायनबाट शिखर चुमिरहेका बेला हिरो बनेका थिए, रामकृष्ण ढकाल, आशीर्वादबाट । उनकै जीवनकथामा आधारित यस फिल्मको व्यापार सन्तोषजनक थियो । तर, उनको अभिनय यात्रा भने त्यहीँ पूर्णविराम लाग्यो ।
त्यो बेला रामकृष्ण र यम बरालबीच व्यक्तिगत रूपमै टक्कर थियो । यम पनि के कम ! आफू पनि हिरो भए, मालतीबाट । विडम्बना † गायनमा जस्तै अभिनयमा पनि रामकृष्णलाई उछिन्न सकेनन् । त्यसयता यमको गायनकलाले समेत रफ्तार लिन सकेको छैन । ‘नेपाली माइकल ज्याक्सन’का रूपमा चिनिने पपस्टार धीरज राईले लक्ष्यमार्फत फिल्ममा ‘ इन्ट्री’ मारे । जति बेला उनका ‘तिम्रा नयन...’, ‘ तिमी रुँदा...’जस्ता गीतले धमाका मच्चाइरहेको थियो । फिल्ममा चम्कने धीरजको लक्ष्य पूरा भएन । उनको हिरोगिरी त्यही फिल्ममा सीमित भयो । खास गरी कलाकारले आफ्नो क्षमता र लोकप्रियताको दायरा ख्याल नगर्दाको परिणाम हो यो । “गायकका रूपमा कमाएको ‘फ्यान फलोइङ’ले फिल्मको व्यापारमा फाइदा पुग्छ भन्ने लोभ हुन्छ– निर्माता/निर्देशकमा । जबकि, प्रिय गायकको फिल्मप्रति दर्शकको अपेक्षा दोब्बर हुन्छ,” निर्देशक तथा पटकथाकार कुमार भट्टराई भन्छन्, “तर, फिल्म त्यही स्तरको बन्दैन । दर्शक निराश हुन्छन्, नायक बनेको गायकचाहिँ फ्लप ।”
कतिसम्म भने निमा रुम्बाले जीवन्त अभिनयमार्फत सबैको मन जिते पनि फिल्मलाई निरन्तरता दिन सकेनन् । पपगीतमार्फत युवा पिँढीको ढुकढुकी बनेका निमा नेपालको पहिलो डिजिटल फिल्म कागबेनीको प्रमुख चरित्रका रूपमा देखिएका थिए । रंगमञ्चमा खारिएका सौगात मल्ल र दिया मास्के हुँदा पनि निमा छायाँमा परेनन् । तर, एक दशक बित्नै लाग्यो, उनको अर्को फिल्म प्रदर्शन भएको छैन । यसबीचमा भिसा गर्लमा ‘केमियो रोल’मा देखा परेका थिए । भलै, अहिलेकै लागि निमाका फ्यानलाई खुसीको खबर छ, उनी फिल्ममा ‘कमब्याक’ गर्दैछन् । उनलाई फेरि फिल्म खेलाउने अरू कोही नभएर उनीजस्तै गायकबाट नायक बनेका यश कुमार हुन् । यश कुमारले नै निर्देशन र निर्माण गर्ने छिरिङको शीर्ष भूमिकामा देखिन लागेका हुन्, निमा । मुहूर्त भइसकेको यही फिल्मका लागि निमा असोज पहिलो साता अमेरिकाबाट नेपाल आउँदैछन् । स्वयं यश कुमार पनि छिरिङको महत्त्वपूर्ण पात्रमध्ये एक हुन् । भलै उनको अभिनय करिअर पनि सुखद हुन सकेको छैन ।
‘मैले छोएको पानी चल्दैन...’, ‘म आफ्नै आँगनमा...’ जस्ता छुवाछूतविरुद्धका गीतबाट चर्चा बटुलेपछि यश कुमारले जातीय छुवाछूतविरोधी फिल्म लेखे । नाम राखियो, बाटोमुनिको फूल । मुख्य चरित्र गायकको थियो । यश कुमार आफैँ पनि दलित समुदायका हुन् । निर्देशक सुरज सुब्बाले उक्त चरित्रका लागि यश कुमारलाई नै प्रस्ताव राखे । सुरुमा उनी अकमक्किए, पछि राजी भए । गीतभन्दा अभिनयसँगको नाता पुरानो थियो । यश कुमार भन्छन्, “गायकका रूपमा चाहिँ एक्कासि चिनिए पनि गीत गाउनुभन्दा पहिल्यै म नाटक खेल्थँे । त्यसैले फिल्ममा अभिनय गर्न अप्ठ्यारो लागेन ।” चलेको गायकले फिल्म खेल्दा सबैको ध्यान तानिनु स्वाभाविक भइहाल्यो । त्यसपछि वीर खेले । फिल्म आए/गएको पत्तै भएन । आफ्नै लगानीमा बाटोमुनिको फूल २ बनाए, खेले पनि । यो फिल्म बक्स अफिसमा पूरापूर चिप्लियो । तैपनि, फिल्मी चस्काले छोडेको छैन ।
यश कुमारसँगै फिल्ममा पाइला राखेका अर्का गायक बाबु बोगटीको हालत पनि त्यस्तै छ ।
‘सान्नानी...’, ‘तुलसी आँगनमा रोपौँला...’ जस्ता हिट गीतका यी गायक स्टारर आई एम इन लभ, न बिर्सें तिमीलाई न पाए तिमीलाई र बाटोमुनिको फूल २ ले न पैसा कमाए, न प्रशंसा । पछिल्लो चलचित्र देश खोज्दै जाँदाले सकारात्मक समीक्षात्मक प्रतिक्रिया बटुले पनि निर्मातालाई खुसी बनाउन सकेन । हिट फिल्म मात्र होइन, हिट गीत पनि दिन नसकेको अवस्था छ । यतिबेला उनी अमेरिकामा छन् ।
इन्डियन आइडलको तेस्रो संस्करण विजेता प्रशान्त तामाङले गोर्खा पल्टनबाट फिल्ममा डेब्यु गरे, ०६७ मा । तर, संगीतमा जस्तै फिल्ममा पनि प्रगति देखिन्न । परदेशीले पैसा कमाए पनि निशानी, अँगालो यो मायाको, किन मायामाजस्ता फिल्म सुपरफ्लप भए । हास्य शैलीका गीत गाउने प्रकाश ओझाले त्रास र दाइको ससुरालीमा अभिनय गरे । दुवै फिल्म असफल मात्र भएनन्, यतिबेला बलात्कार काण्डमा जेल सजाय भोगिरहेका छन् । रकस्टार रविन तामाङ मुखौटा, छड्के, वान वे र जय पर्शुराममा खलनायकका रूपमा देखा परे । फरक हुलिया र लोभलाग्दो क्रेजका कारण रविन फिल्ममा जम्ने विश्वास गरिएको थियो । तर, उनको उपस्थिति ‘सो–अप’मै अल्झियो । अर्का प्रसिद्ध गायक राजेशपायल राईको सिमलापछि अर्को फिल्म रिलिज भएन । राई इज किङ र दर्शन नमस्ते फिल्म खेल्ने भनिएको थियो । तर, हल्लामै सीमित भयो ।
‘र्याप सेन्सेसन’ मानिएका आशिष राना उर्फ लाउरेलाई ताण्डवमा मुख्य भूमिकामा अभिनय गराउनुका पछाडि निर्माता मोहन डोटेलको एउटै उद्देश्य थियो, उनका फ्यानलाई हलसम्म तान्ने । तर, नम्रता श्रेष्ठ अपोजिटमा हँुदा पनि ताण्डवले सुरुआती दिनबाटै दर्शक बटुल्न सकेन । संगीतकार/गायक चेतन सापकोटा किसान र भाग सानी भागमा नकारात्मक भूमिकामा देखिए । त्यसपछि अरू फिल्ममा अभिनय गर्ने मौका मिलेन । संगीतबाट समेत ओझेल परिसकेको अवस्था छ । आधुनिक गायनमा नाम कमाएका सत्यराज आचार्य बुबा भक्तराज आचार्यको बायोपिक आचार्यबाट फिल्मी दुनियाँमा पदार्पण गरे । कर्कश उनको दोस्रो फिल्म थियो । तेस्रो फिल्मका रूपमा साढे सातमा उनलाई देख्न सकिनेछ । मोक्षमा स्पाइनल कर्ड इन्जुरीबाट पीडित गायकको भूमिकाबाट कोसिस क्षत्रीले चौतर्फी स्याबासी कमाए । चलचित्र समीक्षक समाजले उत्कृष्ट अभिनेताको अवार्ड पनि दियो । तर, तीन वर्ष लाग्यो– उनको दोस्रो फिल्म पर्व रिलिज हुन । यो फिल्मको व्यापार नाजुक रह्यो । तैपनि, उनी फिल्मबाट गुमनाम नहुने बताउँछन् । ‘दैव...’, ‘ किन माया यो..’ जस्ता श्रुतिमधुर गीतका सर्जक कोसिस भन्छन्, “अहिले पनि पहिलो प्राथमिकता संगीत नै हो तर फरक कथा र शैलीका फिल्म खेल्ने मेरो प्रयास जारी छ ।”
गायकबाट नायक हुने भीडमा नरेन लिम्बू पनि थपिएका छन्, लाउरेबाट । सृष्टि श्रेष्ठसँग रोमान्स गरेको यो फिल्म सुटिङ सुरु हुनुअगावै प्रतीक्षित बनेको थियो/छ । पप गायनमा ख्याति कमाएका नरेनले अभिनय गरेको फिल्म जो पर्यो । खासमा निर्माता र निर्देशकको मनोविज्ञान पनि यही हो, ‘ ब्रान्ड’ बनिसकेको गायकलाई फिल्म खेलाउँदा प्रचार–प्रसारमा सघाउ पुग्छ । अनि, उनीहरूका फ्यान सिनेमा घरमा ओइरिन्छन् पनि । तर, फ्यानले गीत, फिल्म, गायन वा अभिनयको भेद छुट्याउन नसक्ने कुरै भएन । त्यसो नहुँदो हो त, रविन र लाउरे अभिनीत फिल्म उनीहरूका गीत रुचाउने ‘हार्डकोर फ्यान’ले मात्र हेरिदिएको भए पनि निर्माताको गोजी भरिन्थ्यो । गायनको ख्यातिबाट लोभिएर फिल्म खेल्ने र फिल्ममेकरले खेलाउने प्रवृत्ति नै प्रत्युत्पादक भइरहेको निर्देशक/पटकथाकार भट्टराईको बुझाइ छ । भन्छन्, “प्रचार–प्रसारको अस्त्र र दर्शक तान्ने मसलाका रूपमा फिल्म खेलाइन्जेल गायकबाट नायक बन्नेहरू उँभो लाग्दैनन् । बरू, उनीहरूको गायिकी छविसमेत धुमिलिने भय हुन्छ ।”
विडम्बना ! यस्तै भइरहेको छ ।
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...