औसत माथिको लभ स्टोरी [फिल्म समीक्षा : रोमियो एन्ड मुना]
मनोरञ्जनसँगै जीवन बुझाइका सवालमा केही आत्मबोध गराउने भएकाले रोमियो एन्ड मुना हेर्न लायक छ । सृष्टिका फ्यानलाई अझ प्रिय लाग्छ । तर, कोरा मसलेदार फिल्मका पारखीलाई रिझाउन सक्दैन ।
रोमियो एन्ड जुलियट पश्चिमा समाजको अमर प्रेमकथा । मुनामदन हाम्रो आदर्श प्रेमजोडी । निर्देशक नरेशकुमार केसीले रोमियो एन्ड जुलियटबाट रोमियो अनि मुनामदनबाट मुना लिएर रोमियो एन्ड मुना बनाएका छन् । अर्थात्, फरक परिवेशका दुई महान प्रेमी–प्रेमिकालाई एउटै मालामा उनिएको छ । हामीकहाँ पर्दामा देखाइने प्रेम दर्शकसम्म प्रवाह गर्ने फिल्मको खडेरी छ । रोमियो एन्ड मुनाले त्यसको क्रमभंग गर्छ त ? सवाल स्वाभाविक थियो । फिल्म हेरेपछि लाग्छ, पूर्ण सन्तुष्ट नबनाए पनि यसले प्यासचाहिँ मेटाउँछ । कथा भन्ने शैली रोचक छ । नेपाली फिल्ममा सम्भवत: पहिलो पटक कम्प्युटर जेनेरेटेड इम्याजिनरी (सीजीआई) देख्न पाइन्छ । सृष्टि श्रेष्ठ उत्तिकै बुलन्द लाग्छिन् । परम्परागत सूत्रलाई हुबहु शिरोधार्य गरिएको छैन । यति हुँदाहुँदै पनि रोमियो एन्ड मुना दीर्घकालसम्म सम्झिने प्रेमकथा होइन । पटकथा चुस्त छैन । मुनाझैँ अन्य पात्र बलिया छैनन् ।
अमेरिकामा बस्ने वेद (विनय श्रेष्ठ) नेपाल आउनुको एउटै कारण हो, धरान पुगेर आमाले विवाहका लागि भनेको केटीसँग भेट्नु । तर, संयोगले उसको भेट हुन्छ, फाइन आर्टस् पढ्न गाउँबाट धरान आएकी मुना (सृष्टि) सँग । वेदलाई धनी हुनुको खुब घमन्ड छ । मुना स्वाभिमानी र जिद्दी छिन् । यी दुईको पहिलो भेट नै नमीठो हुन्छ । झगडा परिरहन्छ । तनाव बढ्दै जाँदा उनीहरूबीच अनौठो तर प्रतिशोधपूर्ण बाजी पर्छ । त्यसपछि उनीहरूको सम्बन्धमा आउने उतारचढावमा केन्द्रित छ फिल्म ।
प्रेमलाई कसैको जीवनमा परिवर्तन ल्याउने गतिलो हतियार मानिन्छ । प्राय: प्रेमले सत्मार्गमा डोर्याउँछ । आफूलाई भित्रैबाट चिन्न मद्दत गर्छ । प्रेमको यही आधारभूत मान्यतालाई आत्मसात् गरिएको छ, रोमियो एन्ड मुनामा । त्यसका लागि पटकथाकारसमेत रहेका निर्देशक केसीले विपरीत स्वभावका पात्रको सहारा लिएका छन् । वेद, जसले केटीलाई यौनको नजरले मात्र हेर्छ । पैसाले सबथोक किन्न सकिन्छ भन्ने घमण्ड छ । मुना, जो ‘इगो’ र रिसकी भकारी हुन् । तर, प्रेम हुन थालेपछि सबथोक बदलिन्छ– सोचाइ, बुझाइ र व्यवहार । यसलाई फिल्मको सशक्त पाटो मान्नुपर्छ । तर, बाजी विश्वसनीय नहुनु विडम्बना हो । दुई पात्रबीच चरम तनाव र सोही अनुरूपको परिस्थितिजन्य माहोल बनाउन नसक्नुको परिणाम हो यो ।
निर्देशक केसीको पहिलो फिल्म डाइङ क्यान्डलभन्दा रोमियो एन्ड मुना बिल्कुलै भिन्न छ । दिदी–भाइको कथा कहने डाइङ क्यान्डल पूर्ण कलात्मक थियो । रोमियो एन्ड मुनाचाहिँ एक हिसाबले ‘पपकर्न’ मार्काको फिल्म हो । यद्यपि, यसमा कलालाई पनि उत्तिकै महत्त्व दिइएको छ । जस्तो, मुनाको आन्तरिक द्वन्द्वलाई पस्कन ग्राफिक्सबाट बनाइएको राक्षसको सुन्दर प्रयोग गरिएको छ । यो नेपाली फिल्मका नियमित दर्शकका लागि सरप्राइज हो नै, सँगै यसलाई गहकिलो विम्बका रूपमा प्रयोग गर्नु सुखद पक्ष हो । यसको भीएफएस ‘पर्फेक्ट’ नभए पनि प्रयास सराहनीय मान्न सकिन्छ । झुसिलकीराबाट पुतली बन्ने, खुट्टा र जुत्तावाला संवाद, मुनाको बाबुसँगको सम्बन्ध प्रिय लाग्छ । तर, सोही अनुपातमा वेदको चरित्र बलियो छैन । मुख्य कुरा त, उनी बाजीका लागि धरानमै अल्झिएको पत्याउन मुस्किल पर्छ । जीवनमा खास उद्देश्य पनि छैन । आमाबाबुको प्रयोग क्लिसे लाग्छ ।
मध्यान्तरसम्म फिल्मले एक खालको गति पक्डेको छ । कथा र घटनाक्रम विकास भइरहन्छन् । केही हास्य दृश्य र संवाद पनि छन् । तर, मध्यान्तरपछि ‘स्लो’ छ । पात्रलाई स्थापित गर्ने चक्करमा निर्देशकले उही प्रकृतिका दृश्य समेटेका छन् । सम्पादनमा १५ मिनेटजति छोट्याएको भए थप चुस्त हुन्थ्यो । क्याफेभित्रको वातावरण, त्यहाँ काम गर्ने दिदी र वेदको सम्बन्ध, बहिनीप्रति मुनाको जिम्मेवारी, धरानको जीवनशैली, सुष्मा कार्कीको प्रवृत्ति, उनको प्रेमीको एकोहोरो माया, धनको पछाडि लाग्दा सन्तानसँग गुमेको आत्मीयताजस्ता पक्षले खास ट्वीस्ट र सस्पेन्स नहुँदा पनि फिल्मले ‘होल्ड’ गर्छ । तर, मुना गाउँ फर्केको, वेदले पिटाइ खाएको, वेद र आमाको सम्पर्क टुट्नु खट्कने पक्ष हुन् । सुष्माको चरित्रको ‘सेफ ल्यान्डिङ’ गरिएको छैन ।
गीतलाई कथावाचनको माध्यम होइन, फिल्मको प्रमोसनको अस्त्र मान्ने विद्यमान प्रवृत्तिबाट माथि उठ्ने प्रयास गरिएको छ । फिल्मका हरेक गीत कर्णप्रिय छन् । अनि, ‘सिचुएसन’ अनुसार प्रयोग गरिएकाले ‘स्यान्डवीच मि...’, ‘भेडेटार...’ र ‘साँझ पर्यो...’ ले कथा र पात्रलाई बलियो बनाएका छन् । सुक्मित गुरुङको ‘पलपल...’ गीत महान् चित्रकार भ्यानगगप्रतिको ‘ट्रिब्युट’ हो । फिल्मको केन्द्रमा मुना अर्थात् सृष्टि छिन् । पहिलो फिल्म गाजलुको तुलनामा यसपटक सृष्टिमा प्रचुर परिपक्वता आभास हुन्छ । ‘ग्ल्यामर’ करिब शून्य भएको भूमिकालाई हुलिया, हाउभाउ, संवादशैली र मनोविज्ञानबाट जीवन्त बनाएकी छन् । मध्यान्तरपछि विनयमा निखार देखिँदै जान्छ । सुष्मा कार्की चरित्रको मागभन्दा अलि बढी नै ‘लाउड’ लाग्छिन् । पाश्र्वध्वनि, कलरिङजस्ता प्राविधिक पक्षमा पनि फिल्मले साख बचाएको छ । हामीकहाँ बन्ने प्राय: लभस्टोरी फिल्मभन्दा रोमियो एन्ड मुना माथि छ । केसीले दोस्रै फिल्ममा फरक जनरा र शैलीको फिल्म निर्देशन गर्नु आफैँमा तारिफयोग्य हो । तर, युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया र न्युयोर्क फिल्म एकाडेमीमा पढेर स्वदेश फर्किएका केसीप्रतिको अपेक्षा यही स्तरको फिल्मले मात्र पूरा गर्दैन । लाग्छ, उनले लेखनभन्दा निर्देशनमै जोड गरेको वेस ।
मनोरञ्जनसँगै जीवन बुझाइका सवालमा केही आत्मबोध गराउने भएकाले रोमियो एन्ड मुना हेर्न लायक छ । सृष्टिका फ्यानलाई अझ प्रिय लाग्छ । तर, कोरा मसलेदार फिल्मका पारखीलाई रिझाउन सक्दैन ।
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...