मसलामुक्त [फिल्म समीक्षा : सुई धागा]
सुई धागा कथित बजारु मसलाबाट मुक्त छ । तर, जोकोहीको मन जित्छ ।
बलिउडमा कथा र चरित्रलाई महत्त्व दिइएका फिल्म प्राय: बेवास्ता गरिन्छ । गीत, कमेडी, रोनाधोना, एक्सन, रोमान्सको सूत्रबाट प्रताडित फिल्मकै बोलवाला हुन्छ । तर, बलिउडको मूलधारमै कहिलेकाहीँ यस्ता फिल्म निर्माण हुन्छन्, जसमा मनोरञ्जन त हुन्छ नै, सन्देश र प्रेरणा पनि ‘ बोनस’ पाइन्छ । ‘इन्फोटेन्मेन्ट’ भनिने यही कोटिको फिल्मको नयाँ नमुना हो, सुई धागा । चकलेटी हिरो वरुण धवन र ग्ल्यामरस हिरोइन अनुष्का शर्माको मुख्य भूमिका रहेको फिल्मको गुणात्मक पक्ष उच्च छ । सुन्दर पक्ष नै वरुण–अनुष्काको अभिनय र रसायन हो । पहिलो श्रेय जान्छ, लेखक/निर्देशक शरत कटरियालाई । उद्यमशीलतालाई केन्द्रमा राखेर भारतको निम्नमध्यम वर्गको यावत् नियतिलाई छर्लंग पारेका छन्, कटरियाले । आफ्नो क्षमता पहिचान गर्न र त्यसलाई सफलतामा बदल्न गर्नुपर्ने संघर्षको द्योतक हो, यो फिल्म ।
सिलाइ मेसिन बेच्ने पसलमा काम गर्छन्, मौजी (वरुण धवन) । मालिकले असाध्यै हेप्छन् । घरमा बुबाले गाली मात्र गर्छन् । पत्नी ममता (अनुष्का) लाई छुने मौका पनि मिल्दैन । घर खर्च चलाउनै धौधौ छ । दु:खैदु:ख छ तैपनि खुसी छन् । कपडा सिलाइमा दक्ष भए पनि आयस्रोतमा बदल्न सकेका हुन्नन् । मालिकको रुखो व्यवहारले सीमा नाघेपछि जागिर छाड्छन् । अनि, ममताको साथ र सहयोगमा कपडा बुन्ने आफ्नै व्यापार सुरु गर्छन् । जबकि, उनीसँग आफ्नै सिलाइ मेसिनसमेत हुन्न । चुनौतीका अनेक पहाड छिचोल्दै आफ्नो व्यापार स्थापित गर्न मौजी–ममता सफल होलान् त ? क्लाइमेक्स मायालु छु ।
सुई धागाको प्रधान विशेषता नै हलबाहिर निस्किसक्दा पनि दर्शकको मानसपटलमा फिल्म नसकिनु हो । चरित्र र घटना दिमागमा खेलिरहेका हुन्छन् । सिर्जनशील तर आफूले स्पष्ट बाटो पक्ड्न नसकेकालाई त यस फिल्मले आत्मविश्वास प्रवाह गर्छ । कपडा बुन्ने, आफ्नै उद्यम गर्ने, बाबुको टोकेसो सहनुपर्ने विषय आफैँमा निरस लाग्छन् । तर, कटरियाले हरेक दृश्यलाई रसिलो र कसिलो बनाएका छन् । मौजी–ममताको सम्बन्ध, बुबाको मनोविज्ञान, पानीप्रति आमाको आशक्ति, मालिकको व्यवहार समाजबाट हुबहु टिपिएका हुन् । भारतमा विद्यमान वर्गीय विभेद, गरिबमाथिको सरकारी उदासीनता र सार्वजनिक यातायातको गन्जागोलमाथि कटाक्ष गरिएको छ । पैसाको रवाफमा कथित सम्पन्न वर्गले निमुखाको आत्मस्वाभिमानमा चोट पुर्याउने प्रवृत्तिलाई उदांगो पारिएको छ । मालिकको आडमा आफूजस्तै तल्लो वर्गबाट फाइदा लुट्ने गुड्डुजस्ता चरित्र हाम्रै समाजका प्रतिनिधि हुन् ।
मौजीको स्वभावले हाँसो पैदा गर्छ, सँगै संवेदना पनि जगाउँछ । ममताप्रतिको अव्यक्त प्रेम उत्तिकै रोचक छ । फिल्मको मेरुदण्डचाहिँ ममताको चरित्र हो । आत्मनिर्भरताको बाटोतिर उनले नै प्रेरित गर्छिन् । तर, दार्शनिक ढंगले होइन, असाध्यै व्यावहारिक शैलीमा । भनुँ न, वास्तविक जीवनमा पनि अनुसरण गर्न मिल्ने । यद्यपि, यो जोडीले ‘फेसन फन्ड’ नामक प्रतियोगिताका लागि एकसाथ अनेकौँ डिजाइन वेयर बनाएको त्यति विश्वसनीय लाग्दैन । किनभने, उनीहरुलाई त्यसअगाडि घरेलु कपडा बनाउन सीमित राखिएको हुन्छ । त्यस्तै, भाइ र बुहारीसँग मौजीको सम्बन्ध बिग्रन्छ । पछि एकसाथ देखाइन्छ । तर, कसरी मिले ? त्यसको जवाफ पाइन्न । जबकि, पारिवारिक कथामा यस्ता पक्षले ठूलो अर्थ राख्छन् ।
‘सुई धागा...’, ‘खटर पटर...’, ‘तु हि आम...’ जस्ता गीतले कथावाचनलाई थप बलियो बनाएका छन् । फिल्ममा प्रशस्त कमेडी छ । तर, तिनले कथाको बहाव बिथोलेका छैनन् । त्यसैले स्वाभाविक लाग्छ । वरुणले करिब एक दर्जन फिल्म खेले, सबै हिट । अर्थात्, उनको करिअर शिखरमा छ । तैपनि, उनले यस्तो चुनौतीपूर्ण विषय र फिटिक्कै ‘हिरोइज्म’ नभएको भूमिका रोजे । र, चरित्रलाई जीवन्तता दिए । यसले अभिनेताको रुपमा उनको आयु लम्बाएको छ । ग्ल्यामरको क्लेससम्म नभएको भूमिकामा अनुष्काले जादू देखाएकी छन् । उनले बोल्नै पर्दैन, अनुहारको भावबाटै उनीभित्रको पीडा दर्शकले महसुस गर्न सक्छन् । रिसाहा बाबु बनेका रघुवीर यादवले उस्तै सम्झनालायक काम गरेका छन् । यसअघि दम लगाके हैसाबाट वाहवाही बटुलेका कटरियाले यस फिल्मबाट आफ्नो साख अझ बढाएका छन् । विषय र बजेटभन्दा कथा भन्ने शैली महत्त्वपूर्ण हुन्छ भन्ने प्रमाणित गरेका छन् ।
सुई धागा कथित बजारु मसलाबाट मुक्त छ । तर, जोकोहीको मन जित्छ । कारण, हरेक पात्र र घटनालाई आत्मसात गर्न सकिन्छ । र, फिल्म हेरेपछि बेग्लै स्फुर्ती आउँछ ।
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...