एकोहोरो हँसाउने धङधङी [फिल्म समीक्षा : जय भोले]
अर्थहीन र बेप्रसंगका कमेडीमा रमाउनेलाई जय भोले
कमेडी आफैँमा फिल्मको सशक्त विधा हो । हसाउँदा–हसाउँदै बुलन्द कथा पस्कँदा फिल्मको वजन ह्वात्तै बढ्छ । तर, हामीकहाँ कमेडी फिल्मप्रतिको आधारभूत सोचाइमै समस्या छ । फिल्मकर्मी जसरी हुन्छ, हँसाउने चक्करमा लाग्छन् । कथामा कमेडी हुन्न, कमेडी गर्ने बहानामा कथालाई गिजोलिन्छ । ‘जोक्स–भण्डार’ मार्काका फिल्मको बोलवाला छ । जय भोले ज्वलन्त उदाहरण हो यसको । कथाभन्दा कमेडीलाई प्राथमिकता दिँदा फिल्मको आत्मा मृततुल्य भएको छ । त्यसैले निर्देशक अशोक शर्माको ‘कमब्याक’ फितलो भएको छ । जय भोलेका लेखक खगेन्द्र लामिछाने हुन्, जसले पशुपतिप्रसादमा मौलिक कथा र पात्र सिर्जेर वाहवाही बटुलेका थिए । तर, यसपटक पूरापूर बजारु लेखकका रुपमा पेस भएका छन् । एकोहोरो हँसाउने लहड नै जय भोलेको पराजयको कारण बनेको छ । यो फिल्म खगेन्द्रकै नाटक दाँतको डोबसँग नजिक छ ।
इँटाभट्टाका मालिक जय गुरागाईं (खगेन्द्र लामिछाने) लाई धनको खुब घमन्ड छ । ऊ कसैलाई टेर्दैन । जयलाई जसरी हुन्छ, निशा (स्वस्तिमा खड्का) लाई विवाह गर्नुछ । तर, निशा उनलाई ‘दाजु’ भनिदिन्छिन् । कारण, निशाका दाजु भोले (सौगात मल्ल) जयका बालसखा हुन् । जय र भोले जति मिल्छन्, त्योभन्दा ज्यादा झगडा गर्छन् । जयको रवाफले निशाको प्रेम जित्न सफल होला ? यसबाहेक भोलेसँगको सम्बन्धको उतारचढावमा केन्द्रित छ फिल्म । ट्वीस्ट नभएको होइन तर रोचक लाग्दैन ।
जय भोलेको केन्द्रमा खगेन्द्र छन् । एकातिर उनको प्रेम छ, अर्कातिर मित्रता । सरसर्ती हेर्दा लाग्छ, लेखकका रुपमा खगेन्द्रले प्रेम र मित्रताकै कथा भन्न खोजेका हुन् । तर, यसको प्रस्तुति यति बासी र बिकाउ छ, मुख्य कथा नै अलमलको सिकार भएको छ । हँसाउने चक्करमा हुलिएका पात्र र घटनाक्रमले मूल विषयलाई ओझेल पारेको छ । मितेरी साइनो, लोप हुँदै गएको लोकसंस्कृति, वर्ग र जाति विभेद, गाउँमा विद्यमान रीतिथितिलाई समेट्न खोजिएको छ, जसले फिल्मप्रति अपनत्वबोध गराउँछ । तर, समस्या उही छ– यी महफ्वपूर्ण पक्षको उठान नै देखावटी छ । प्रभावकारी बैठानबिनै लेखक र निर्देशक हँसाउनतिर लागिहाल्छन् । जयका बाबु बनेका राजाराम पौड्याल, ब्रुस्ली (बुद्धि तामाङ) र उनको बाबुको भूमिकामा रहेका जयनन्द लामाको चरित्र त्यति प्रभावकारी छैन । जयकै सन्काहा हर्कतसमेत विश्वसनीय लाग्दैन ।
फिल्मको सुरुआततिरै जय र भोले अनि त्यसलगत्तै जयको ग्याङ र शमशेर (सलोन बस्नेत) परिवारको द्वन्द्वको दृश्यलाई जबर्जस्ती तन्काइएकाले झिँझोलाग्दो छ । तर, त्यत्रो बबन्डर गर्ने शमशेर एकाएक कथाबाट हराउँछन् । सौगातको चरित्रको हविगत उस्तै छ । यस्तै, कमसल चरित्रमा रमाएरै हो, सौगातको साख दिनप्रतिदिन गिर्दो छ । लेखक खगेन्द्रले आफ्नो चरित्रलाई ‘हिरोइज्म’ दिलाउँदा सौगात र सलोनको चरित्रमाथि अन्याय भएको छ । अझ अन्तिमतिर फिल्ममा अशोक शर्मा झुल्किन्छन् । लाग्छ, ‘हिरो’ हुने लोभले खगेन्द्रसँगै निर्देशकलाई पनि गाँजेको छ । रंगमञ्च र रेडियो नाटकको पृष्ठभूमिका कारण हुनुपर्छ, संवादलाई सबथोक मान्ने खगेन्द्रको शैलीले जय भोलेमा पनि निरन्तरता पाएको छ । पात्रहरु बोलेको बोल्यै गर्छन्, दृश्यमा कलात्मकता ह्रास छ । जबकि, फिल्म दृश्यभाषा हो । तर, द्विअर्थी संवाद र मुख बंग्याएर हँसाउन खोज्ने रवैयालाई भने निषेध गरिएको छ । जयको लवजले झापा र इलामको स्थानीयताको आभास गराउँछ । वैदेशिक रोजगारीको लहरले लोकसंस्कृतिमा पारेको असर, गाउँमा तन्नेरीबीच एकता नहुँदा आइपर्ने उल्झन, दलितमाथि उपल्लो जातिको हेपाहा प्रवृत्ति र नयाँ पुस्ताका दलितमा बढेको चेतनास्तरजस्ता पक्षलाई लेखकले यथार्थपरक ढंगबाटै उधिन्ने प्रयास गरेका छन् । दृश्यविधानलाई मनमोहक ढंगबाट देखाउन पुरुषोत्तम प्रधानको खिचाइ सफल छ । पशुपतिप्रसादबाट धनपति, डमरुको डन्डीबियो हुँदै जय भोलेसम्म आइपुग्दा खगेन्द्रको सिर्जनात्मक लेखनमा खिया लाग्दै गएको प्रतीत हुन्छ । आत्मरति र अति आत्मविश्वास हरेक सर्जकलाई प्रत्युत्पादक हुन्छ । खगेन्द्रको हकमा त्यस्तै भएको त होइन ? उनको अभिनय पनि सतही लाग्छ । सौगात, स्वस्तिमा, बुद्धि, सलोनको अभिनयले जेतनेत साख जोगिएको छ ।
१२ वर्षपछि अशोक शर्मा फर्किंदा रोचक कथा भन्लान् भन्ने अपेक्षा थियो । तर, जय भोले हेरेपछि कमेडी फिल्मको बजारको ब्याज खाने लालसा मात्र त होइन भन्ने प्रश्न उब्जिन्छ ।
अर्थहीन र बेप्रसंगका कमेडीमा रमाउनेलाई जय भोलेले निराश पार्दैन । नवीन कथा र कलात्मक प्रस्तुति खोज्नेको चाहिँ कन्पारो तात्छ । खगेन्द्र, सौगात र अशोक शर्मा सम्झेर जो फिल्म हेर्न जान्छन्, मन खल्लो बनाएर फर्किन्छन् ।
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...