सुगम यात्रा
हरेक उमेर समूहले रुचाउने गायक असाध्यै कम हुन्छन् । तीमध्येमा पर्छन् सुगम । हरेक शैलीका गीतलाई उत्तिकै न्याय गरेर गाउन सक्ने ल्याकत सितिमिति कोहीसँग हुँदैन । सुगमसँग छ । राम्रो गायक गीत लेखन र कम्पोजमा पनि उत्तिकै पोख्त हुन्छ भन्ने हुँदैन ।
ठ्याक्कै पाँच वर्षपहिले । एउटा मन पोल्ने खबर डढेलोझैँ फैलियो, ‘गायक सुगम पोखरेल प्रतिबन्धित लागूपदार्थ प्रयोग गर्दागर्दै समातिए ।’ तिनताका सुगम सांगीतिक करिअरको शिखरमा थिए । त्यसैले अनेक अड्कलबाजी र ठोकुवा सुरु भयो, ‘सुगम अब सकिए’, ‘उनको ठाँउमा फलानो गायक आउँछ’, ‘पुन:स्थापना केन्द्रमै बित्ने भयो सुगमको जिन्दगी’ आदि–इत्यादि । त्यो बेलाको माहोल नै अप्रिय थियो, सुगमका खाँटी शुभेच्छुकले समेत ‘त्यस्तो हुन्न’ भन्न सकेनन् । तीन महिनादेखि कुलतमा थिए उनी । ‘ड्रग्स’ कै कारण गायन मात्र होइन, जीवन नै ध्वस्त भएका गायक कत्ति छन् कत्ति ! कतै सुगम पनि...अब अहिलेको कुरा गरौँ ।
अमेरिकामा १७ र अस्ट्रेलियामा ७ सो गरेर फर्किएको दुई महिना बित्न पाएको छैन, सुगमले नेपालको डडेल्धुरादेखि रामेछापसम्म २५ कन्सर्ट भ्याइसके । यही अवधिमा आधा दर्जन पाश्र्वगीत रेकर्डिङ गरे । एल्बमको काम सकाउने चटारो छ । सबैको अनुमान (सायद कतिपयको चाहना पनि) बमोजिम सुगम सकिएनन्, बरु रफ्तार अझ बढ्यो । रक्सी नछोएकै ६ महिना भयो । चुरोट घटाउँदै छन् । उनकै शब्दमा, मन शान्ति र सन्तुष्टिले भरिएको छ । जीवनमा यतिविघ्न सुखानुभूति कहिल्यै भएको थिएन । “ड्रग्सले मलाई चरम आनन्द दिएको थियो तर त्यो क्षणिक र भ्रम थियो,” सुगमले ती पल सम्झिए, “जब यो यथार्थबोध भयो, सबथोक बदलियो । नशालाई चटक्कै त्यागेँ ।”
समातिनु पहिल्यै उनलाई अनुभूत हुन थालिसकेको थियो, यसरी जीवन चल्दैन, म गाउन नसक्ने भइसकेको छु । तर कसरी कहाँबाट उम्कने मेलोमेसो मिलेको थिएन । थप्छन्, “कर्मप्रति इमानदार हुने र कसैको कुभलो नचिताउने हो भने जस्तै भड्खालोबाट पनि बाहिर निस्कन सकिँदो रहेछ । यसमा आत्मशक्तिको पनि भूमिका हुँदो रहेछ ।” यही कारण हुनुपर्छ, त्यो लत र संगतप्रति कुनै पछुतो छैन । जे भयो, हुनु नै थियो र राम्रै भयो ।
डेढ दशकअघि दरबारमार्गमा कन्सर्ट गर्दै
हरेक उमेर समूहले रुचाउने गायक असाध्यै कम हुन्छन् । तीमध्येमा पर्छन् सुगम । हरेक शैलीका गीतलाई उत्तिकै न्याय गरेर गाउन सक्ने ल्याकत सितिमिति कोहीसँग हुँदैन । सुगमसँग छ । राम्रो गायक गीत लेखन र कम्पोजमा पनि उत्तिकै पोख्त हुन्छ भन्ने हुँदैन । सुगमले तीनै विधामा अब्बलता देखाइसकेका छन् । स्टेजमा उक्लेपछि प्राय: गायकले गाउने गीत एउटै–एउटै हुन्छ । सुगमको ‘ब्लकबस्टर’ गीत दुई दर्जनभन्दा धेरै छन् । त्यसैले दर्शकको मागअनुसार स्टेजमै गीतको निक्र्योल गर्छन् । जबकि, उनका रेकर्डेड गीतको संख्या २ सय पनि पुग्दैन ।
‘ओरिजिनल साउन्ड ट्रयाक’ (ओएसटी) राख्ने पहिलो नेपाली फिल्म हो, लक्ष्य । गायकचाहिँ सुगम । मेरो एउटा साथी छ... पछि उनले नेपाली फिल्मी संगीत युवापुस्तामाझ पुर्याए, आधुनिक र पप मिश्रण गरेर । अहिले यही शैली ‘मूलधार’ बनेको छ । सुगमले गाएकै गीत फिल्म प्रमोसनको पहिलो अस्त्र हुन्छ । उनको पाश्र्वगायनले शतप्रतिशत हिटको रेकर्ड बनाएका छन् । भन्छन्, “गीत छनोट नै मेरो सफलताको सूत्रधार हो । धेरै होइन, गुणस्तरीय गीत गाउन चाहन्छु ।” सुगम नेपाली संगीतमा लामो रेसको घोडा साबित भइसकेका छन् । तर गीत गाउन थाल्दा सोचेकै थिएनन्, यात्रा लामो होला ।
गायकका रुपमा सुगमको जन्म भएको थियो, ०५३ को सुरुआतमा । गीत रेकर्ड गरे तर चलेन । केही समयपछि सुदिन पोखरेलसँग मिलेर दुई गीत रेकर्ड गरे, फेरि पनि सुपर फ्लप । हरेश खाइसकेका थिए । विराटनगरबाट काठमाडौँ बसाइँ सारेका सुगमलाई तिनताका यहाँ बस्नै धौ–धौ थियो । रेकर्ड गर्ने पैसा कहाँबाट ल्याउने ? संगीतप्रेम यति घनघोर थियो कि सारा कष्ट झेल्न तयार भए । त्यसैले केही समय ‘अन्डरग्राउन्ड’ भए । त्यसकै प्रतिफल थियो, ‘मेरो संसार तिमी नै हौ...’ । उनको चाह यत्ति थियो, गीत हल्काफुल्का चलोस्, सुन्नेले मन पराऊन् । तर रातारात हिट भयो । अहिलेको भाषामा भन्दा ‘भाइरल’ । उनी भन्छन्, “यो गीत चल्यो, दुई–तीन वर्ष गीत गाएर अमेरिका जाने योजना थियो । त्यो बेलाको माहोल त्यस्तै थियो ।” तर यति लोकप्रिय र व्यस्त हुन थालेँ कि विदेश जानेबारे सोच्ने समय नै मिलेन ।
सुगमको आगमन हुँदा निमा रुम्बा, नवीन के भट्टराई, धीरज राईहरुले पपगीत गाएरै नाम कमाइसकेका थिए । तर दुई–चार वर्षभन्दा बढी हिट भइन्न, गाएर मात्र जीवन चल्दैन, विदेशतिर लाग्नुपर्छ भन्ने सोच हाबी थियो । कम्तीमा सुगमलाई यस्तै लाग्थ्यो । भन्छन्, “तर ती सबै मान्यता समयक्रमसँगै भत्कँदै गए । नाम मात्र होइन, दामका हिसाबले पनि गायक हुनुमा गर्व र सन्तुष्टि छ, मलाई ।” ‘मेरो संसारपछि...’ सुगमका हिट गीतका लस्कर लागे, ‘फेरि त्यो दिन...’, ‘मायाको बाटो...’, ‘कति दिन बिते...’, ‘तिमी मभन्दा कोसौँ टाढा...’ आदि–इत्यादि । सुगम आम गायकभन्दा विशिष्ट दर्जामा किन पनि दरिन्छन् भने दुई दशकअगाडि आएका यी गीत आज पनि उत्तिकै प्रिय छन्, दर्शक/श्रोतामाझ । स्टेजमा नगाई धरै पाउँदैनन् ।
सुगम पोखरेल | तस्बिरहरु : भास्वर ओझा
सुगमलाई हिट हुने हतारो छैन अब । ‘मेरो जीवन यस्तो होस्’, उनको पछिल्लो एल्बम हो । व्यावसायिक आँखाबाट हेर्दा यसका गीत खासै चलेनन् । “यस्तो हुन्छ भन्ने मलाई पहिल्यै थाहा थियो । तर संगीतप्रतिको दायित्व निर्वाह गर्न र आत्मसन्तुष्टिका लागि त्यो एल्बम निकालेँ,” सुगम भन्छन्, “जतिले सुनेका छन्, मन परेको प्रतिक्रिया दिए । यसमै खुसी छु ।” एल्बम बेचेर रोयल्टी आउने समय हरायो । कमाइका अरु भरपर्दा स्रोत छैनन्, सिवाय स्टेज कार्यक्रम । त्यसैले डान्सिङ बिटका गीत गाउनुपर्ने लहर (बाध्यता ?) छ । बजार निर्देशित गीतको बाहुल्य छ । सुगम सकेसम्म यसबाट उम्कने प्रयास गर्छन् । पहिलेझैँ सबै गाउनुपर्छ, भ्याउनुपर्छ भन्ने लालसा छैन । “म अब पैसाका लागि मात्र गाउँदिनँ । त्यो तह पार गरिसकेँ,” सुगम भन्छन्, “गीत राम्रो छ भने सित्तैमा गाइदिन्छु । मन परेन भने जति पैसा दिए पनि गाउँदिनँ ।”
सुगमको आम छवि बनेको छ, गायकका रुपमा । तर उनी सुरुमा आफूलाई कम्पोजर मान्छन्, त्यसपछि गीतकार अनि मात्र गायक । उनको कम्पोजमा शिव परियारले गाएको ‘संगी...’ कालजयी मानिन्छ । धेरैले उनलाई यो गीत आफैँले गाउन सुझाएका थिए तर गाएनन् । कारण यस्तो रहेछ, “सबै प्रकारका गीतलाई गायकको रुपमा न्याय नगर्न सक्छु । यो सीमितता मैले बुझ्नुपर्छ ।” यही कारण हुनुपर्छ, गाउँदाभन्दा कम्पोज गर्दा ज्यादा आनन्द आउँछ उनलाई । यतिबेला नयाँ एल्बम ‘श्वेत हँसिनी’ को तयारीमा छन् । गीत लेख्छन्, कम्पोज गर्छन्, घरमा छोरी र पत्नीलाई सुनाउँछन् । उनीहरुले ‘ग्रिन सिग्नल’ दिएपछि मात्र रेकर्डिङमा लाग्छन् । सुगमका गीतका सबैभन्दा आलोचक छोरी र पत्नी हुन् ।
पाश्र्वगायनमा सुगमको माग उच्च छ । प्रतिगीत ५० हजार रुपैयाँ पारिश्रमिक लिन्छन् । फिल्म र एल्बममा गाउँदा खासै अन्तर गर्दैनन् । यत्ति हो, एरेन्ज उनले भनेजस्तो हुनुपर्छ, स्वतन्त्र भएर गाउन पाउनुपर्छ । गीतको प्रकारअनुसार स्वर परिवर्तन गर्छन् । फिल्ममा कुन हिरोले ‘लिप्सिङ’ गर्छन्, चासो हुन्न । नेपालभित्र प्रतिसो ८० हजार र विदेशमा प्रतिसो ३ लाख रुपैयाँसम्म लिन्छन् । रेकर्डिङ होस् वा स्टेज सो, भ्याइनभ्याई छ सुगमलाई । भन्छन्, “कुन स्थानमा छु भन्दा पनि कति स्तरीय काम गर्न सकेको छु भन्नेतिर ध्यान दिन्छु ।”
संगीतपारखीमाझ सुगम, ललितपुरमा
सुगमले संगीतबाट जति चाहेका थिए, त्योभन्दा धेरै पाए । काठमाडौँमा आफ्नै घर बनाउने सपना थियो, त्यो छिट्टै पूरा हुँदैछ । आफ्नै रेकर्डिङ स्टुडियो खोल्दै छन् । ‘म्युजिक प्रोड्युसर’ बनेर नयाँ प्रतिभासँग सहकार्य गर्दैछन् । दुई दशकको अन्तरालमा कति कलाकार ‘हटकेक’ भए, कतिका गीत ‘भाइरल’ भए । निरन्तरता दिनेको संख्या भने नगन्य छ । निमा रुम्बा, नवीन के भट्टराई, दीपक वज्राचार्यको समेत सफलताको ग्राफ तल–माथि भइरहेको अवस्था छ । कति त पलायन नै भए । सुमगचाहिँ अविराम–अविराम । भन्छन्, “भर्याङबाट माथि उक्लेपछि तल झर्नैपर्छ । यो प्राकृतिक नियमलाई मैले मनन गरिसकेको छु ।” तर उही, सुगम तल झर्नुपरेको छैन, अहिलेसम्म ।
रेकर्डिङ स्टुडियोमा सुगम
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...