बुलन्द बुलबुल
बासी मसलेदार फिल्मबाट दिक्दार दर्शकलाई बुलबुलले राहत दिनेछ । रैथाने स्वाद रुचाउनेले त छुटाउने कुरै भएन । यसले मौलिक दृश्य–भाषा निर्माणमा एउटा दरिलो इँटा थप्नेमा सन्देह छैन ।

प्राय: नेपाली फिल्म भाषाले मात्र नेपाली हुन्छन्, कथा, पात्र र प्रस्तुतिमा स्थानीयपन नै हुँदैन । कथ्य संरचनालाई उपेक्षा गरिन्छ भने बजारु सूत्र पछ्याइन्छ । तर कतिपय सिनेकर्मी यस्तो ‘भाइरस’ बाट मुक्त हुन खोज्छन्, सिर्जनशीलतामा विश्वास राख्छन् । यही सोच र साहसको परिणाम हो, बुलबुल । निर्देशक तथा लेखक हुन्, विनोद पौडेल ।
फिल्ममेकिङको औपचारिक अध्ययन गरेका पौडेलले कथित मूलधारका सिनेमामा नअटाउने पात्र र तिनका व्यथालाई बुलबुलको केन्द्रमा राखेका छन् । कथा पस्कने शैली पनि कलात्मक छ । यतिविघ्न आफ्नोपनको आभास गराउने फिल्म हामीकहाँ बिरलै बन्छन् ।
टेम्पो चालक रणकला (स्वस्तिमा खड्का)का पति विदेश गएको ६ वर्ष भइसक्यो, फर्कने अत्तोपत्तो छैन । छोरी र पक्षघात भएका वृद्ध ससुराको पालनपोषण गर्ने जिम्मेवारी उनकै काँधमा छ । टेम्पो चलाउने क्रममा भेट हुन्छ, चोपेन्द्र (मुकुन भुसाल)सँग । अर्घाखाँचीका चोपेन्द्र मायालु छन्, रणकलालाई खुब पछ्याउँछन् । सुरुमा हपारे पनि रणकला बिस्तारै चोपेन्द्रलाई मन पराउन थाल्छिन् । यही जोडीको व्यक्तिगत जीवन र सम्बन्धमा आउने उतारचढावमै केन्द्रित छ फिल्म । क्लाइमेक्समा समेत परम्परागत धङधङी छैन ।
सरसर्ती हेर्दा बुलबुलको कथा सामान्य लाग्छ, पात्र र तिनको पेरिफेरी पनि साँघुरो छ । चमकधमक केही छैन । तर पात्रको आन्तरिक र बाह्य बेचैनी जीवन्त ढंगले पोखिएकाले सामीप्य महसुस हुन्छ । रणकलाको कलिलै उमेरमा विवाह भयो, बच्चा भयो तर शरीरले पतिको साथ खोज्ने समयमाचाहिँ एक्लै । टेम्पो चलाउँदा परपुरुषको गिद्धेनजरबाट दिनदिनै प्रताडित हुनुपर्छ ।
सहर आएर चौकिदारी गर्ने चोपेन्द्र, रणकलाकी साथी भीमा (लक्ष्मी बर्देवा), आफू अनेक महिलालाई ताक्ने तर पत्नीको मोबाइलमा नीलो भिडियो देखेकै भरमा कुटपिट गर्नेहरु हाम्रै समाजका प्रतिनिधि हुन् । पात्रसँगै तिनका वरपरको परिवेशलेसमेत बुलबुललाई नेपाली माटोसँग जोडेको छ ।
रणकलाकी छोरी, पति, ससुरा, प्रेमी, साथी र मिस्त्रीसँगको सम्बन्धमा रुमल्लिँदा बुलबुलको गति धीमा भएको छ । लाग्छ, कथा भन्न निर्देशकलाई कुनै हतारै छैन । तर हरेक दृश्यमा पात्रको संवेदनालाई केन्द्रमा राखिएकाले झिजो लाग्दैन, ध्यानाकर्षणहुँदै जान्छ । फेरि यो रणकलाकै जीवनयात्रा त हो । त्यसमाथि चोपेन्द्रको चरित्रचित्रण बिल्कुलै ताजा छ । उनको व्यवहार, बोली र प्रेम अभिव्यक्त गर्ने तरिकाले ‘रिफ्रेस’ गराउँछ ।
चोपेन्द्र र रणकला यस्तो प्रेमजोडी हो, जसको पीडा र रोमान्समा दर्शकले कहीँ न कहीँ आफूलाई भेट्छन् । हाम्रो सामाजिक धरातलसँग अत्यन्तै नजिक छन् उनीहरु । मध्यान्तरपछि चाहिँ रणकलाको छटपटी झल्कने उस्तै आशयका दृश्य दोहोर्याइएका छन् ।
बुलबुलमा दर्शकलाई चक्मा दिने ‘ट्वीस्ट’ छैनन् । रसिलो बनाउने ध्याउन्नमा बिकाउ ‘कन्टेन्ट’ हालिएका छैनन् ।यी गुणभन्दा रङ र प्रकाशको उचित संयोजनबाट सिर्जिएका दृश्यले बुलबुलको वजन बढाएको छ । यस्तो एउटै दृश्य छैन, जसलाई खेलाँची गरेर खिचिएको होस् । यसका लागि सिनेमाटोग्राफर सुसन प्रजापति बधाइका पात्र हुन् । उनले कथाको लयअनुरुप क्यामेरा चलाएका छन् । ध्वनि सम्मिश्रण र पाश्र्व संगीतमा एकखालको क्रम भंगता छ । संवाद पनि पात्र र तिनले बाँचेको परिवेशअनुसारै छन् ।
मध्यान्तरपछि फिल्म थप गम्भीर हुँदैजान्छ । खासमा चोपेन्द्र को हुन् ? अनुत्तरित छ । कथा ठ्याक्कै यसरी सकियो भन्न सकिन्न, त्यसैले नेपाली फिल्मका नियमित दर्शक क्लाइेक्ससँग सन्तुष्ट नहुन सक्छन् । तर यत्ति हो, फिल्म सकिएपछि पनि मानसपटलबाट पात्र हराउँदैनन् ।
रणकलाको चरित्रमा ज्यादा केन्द्रित हुँदा भीमालाई बेवास्ता गरिएको छ । काव्यिक बनाउने ध्याउन्नमा अन्त्यतिरका कतिपय दृश्य तन्काइएको छ । रणकलाले देख्ने सपना ‘क्लिसे’ लाग्छ ।यस्ता कमजोरीबीच पनि मौलिक ‘क्राफ्ट’ले बुलबुललाई उपल्लो दर्जामा राखेको छ । यसमा भरमार नैतिक शिक्षा छैन, छ त केवल समाजको प्रतिविम्ब ।
प्राय: ‘ग्ल्यामरस’ भूमिकामा देखिँदै आएकी स्वस्तिमाले टेम्पो चालकको चुनौतीपूर्ण चरित्रलाई आफ्नो अभिनय क्षमता पस्कने अवसरका रुपमा बदलेकी छन् । भूमिका र अभिनयको कोणबाट बुलबुल उनको करिअरको उत्कृष्ट फिल्म हो । चोपेन्द्रको चरित्रमा नवअभिनेता मुकुन ‘पर्फेक्ट’ लाग्छन् । हुलिया, हाउभाउ, बोल्ने शैली र मनोविज्ञानबाट पात्रमा जीवन भरेका छन् । स्वस्तिमाजस्तै उनी पनि अवार्डका हकदार हुन् ।
रंगमञ्च पृष्ठभूमिकी लक्ष्मी बर्देवा र यसअघि साँघुरो निर्देशन गरेका जोयश पाण्डेको अभिनय उत्तिकै स्वाभाविक छ । मूलकथालाई चोटिलो बनाउन यी दुई पात्रको भूमिका उल्लेखनीय छ । अहिलेका तमाम निर्देशकझैँ बजार होइन, फिल्मको कलात्मक मान्यताप्रति उत्तरदायी भएर पौडेलले आफूलाई अलग र अब्बल सावित गरेका छन् । हाम्रै परिवेशको कथा भन्ने उनको प्रयास धेरैहदसम्म सार्थक छ । कलाकारको अभिनयदेखि प्राविधिक पक्षसम्म निर्देशकको लगाम साँच्चै लोभलाग्दो छ ।
बासी मसलेदार फिल्मबाट दिक्दार दर्शकलाई बुलबुलले राहत दिनेछ । रैथाने स्वाद रुचाउनेले त छुटाउने कुरै भएन । यसले मौलिक दृश्य–भाषा निर्माणमा एउटा दरिलो इँटा थप्नेमा सन्देह छैन ।