आत्मरतिको रोग
फिल्म नचलेको झोक समीक्षकमाथि पोख्ने कलाकर्मीको प्रवृत्ति
वर्ष ०७५ मा ९६ फिल्म प्रदर्शन भए । छक्का–पञ्जा ३ सुपरहिट भयो । ए मेरो हजुर ३ ले घरेलु बजारबाटै नाफा कमायो । तर दुवैले सकारात्मक प्रतिक्रिया पाएनन्, खासगरी समीक्षकबाट । छक्का–पञ्जा ३ मा बिनाअर्थ र प्रसंगका कमेडीलाई प्रश्रय दिइएको छ । लाग्छ, हसाउनुबाहेक अर्को उद्देश्य छैन । ए मेरो हजुर ३ को चाहिँ कथा मात्र होइन, प्रस्तुत शैली पनि भरमार बासी छ, त्यो पनि बलिउडबाट पूरापूर प्रभावित । जबर्जस्ती घुसाइएका द्विअर्थी संवादले फिल्ममेकरको नियत प्रस्ट पार्छ ।
फिल्म मनोरन्जनको सस्तो साधन मात्र होइन । यसको विशिष्टता व्यापारले मात्र निर्धारण गर्दैन । सिर्जनशीलता, सौन्दर्य र शिल्पले खास अर्थ राख्छ । सोही कारण यी फिल्मले मिडियाबाट प्रशंसा पाएनन् । फ्लप फिल्मका निर्माता/निर्देशक त आलोचनालाई पचाउन सक्दैनन् भने छक्का–पञ्जा ३ र ए मेरो हजुर ३ त हिट फिल्म भइहाले ।
छक्का–पञ्जा ३ का निर्माता/अभिनेता दीपकराज गिरी आफूले भनेअनुकूल समीक्षा आएन भनेर बरोबर आक्रोशित भइरहन्छन् । उनको आशय हुन्छ, मेरा फिल्मले पैसा कमाउँछन्, त्यसैले सबैले नतमस्तक भएर स्वीकारी दिनुपर्छ । अवगुण औँल्याउनुपर्दैन । उनी भन्ने गर्छन्, ‘भारतमा कमेडी फिल्मले राम्रो रेटिङ पाउँछन् तर नेपालमा सौतेनी व्यवहार गरिन्छ ।’
यति मात्र होइन, उनले आफ्ना फिल्मलाई मुन्ना भाइ एमएबीबीएससँग दाँजे । भारतको चिकित्सा शिक्षामाथि तीखो व्यंग्य गरिएको यस फिल्ममा हँसाउने लहडमा पात्र र कथाको भाव तोडमोड गरिएको छैन । हेरिरहँदा आनन्दित भइन्छ, हेरिसकेपछि मनमा सवाल खडा हुन्छन् । अर्थात्, प्रभावकारी मनोरन्जन । त्यसैले यसले पैसा कमायो, प्रशंसा पनि । तर गिरी आफैँले यस फिल्मसँग छक्का–पञ्जा दाँज्नु कत्तिको शोभनीय होला ? प्रशंसा र सम्मान सर्जक आफैँले आर्जन गर्ने कि हारगुहार गरेर माग्ने ?
गिरीसँगै अधिकांश नेपाली फिल्मकर्मीले भुलेको तथ्यचाहिँ, भारतमै रोहित शेट्टीका एक्सन कमेडी फिल्मले बक्सअफिसमा धूम मच्चाउँछन् । टोटल धमाल मार्काका कमेडी फिल्मले पनि पैसा छाप्छन् । तर रोहित शेट्टीहरू कहिल्यै समीक्षा राम्रो आएन भनेर तीतो पोख्दैनन् । चेन्नाई एक्सप्रेस शाहरुखको सबैभन्दा कमाउने फिल्म भए पनि यसलाई गन्यमान्य समीक्षकले समयको बर्बादी भनेर लेखे । तर न शाहरुखले रोइलो मच्चाए, न त रोहितले । आफ्नो फिल्मको दायरा बुझेपछि यस्तै हुन्छ सायद ।
हलिउडमा पनि माइकल बेका फिल्महरूले बक्सअफिसमा कमाल गर्छन् तर समीक्षकबाट खास तारिफ पाउँदैनन् । कमाइमा रेकर्ड राखेका कतिपय फिल्मको अवार्डमा शून्य उपस्थिति हुन्छ । कतिचाहिँ बक्सअफिसमा निम्छरो सावित भएका फिल्मले प्रतिष्ठित अवार्डमा वाहवाही पाउँछन् । जस्तो, यही वर्ष ओस्कार अवार्डमा रोमा दस विधामा मनोनयनमा पर्यो । सीएनएनका अनुसार यसको आधिकारिक कमाइ शून्य छ । ओस्कारमा उत्कृष्ट फिल्मको अवार्ड चुमेको द हर्ट लकर पनि बक्सअफिसमा असफल भएको थियो । यसको मतलब हो, व्यापार सिनेमाको उत्कृष्टताको मानक होइन । कला पहिलो सर्त हो । बिक्ने सबै वस्तु विशेष हुँदैनन् ।
फिल्म परोपकार होइन, आफ्नो रोजाइअनुसार गरिने सिर्जन–कर्म हो । यसमा आफ्नै स्वार्थ हुन्छन्, सन्तुष्टि पाउने, नाम र पैसा कमाउने आदि–इत्यादि । तर हाम्रा अधिकांश फिल्ममेकर सिनेमा बनाएर ठूलै उपकार गरिदिएझैँ ठान्छन् । ए मेरो हजुर ३ की निर्देशक झरना थापाकै कुरा गरौँ । हलमा दर्शकको भीड थियो, त्यही बेला समीक्षकबाट चर्को आलोचना खेप्नुपर्यो । रिसले चूर झरनाले एक युट्युब च्यानलसँगको अन्तर्वार्तामा लगातार १५ मिनेट समीक्षकलाई गाली गरिन् । उनको भनाइ छ, ‘मैले फिल्म बनाउन छाडेँ भने प्राविधिक र कलाकारले काम पाउँदैनन् । दर्शकले के हेर्छन् ? पत्रकारले कसरी जागिर खान्छन् ?’
भलै त्यसको केही दिनपछि उनका फिल्मका प्राविधिकले पारिश्रमिक नपाएको समाचार छापियो । त्यति मात्र होइन, आफ्नै फिल्मका कारण तिलिचो र गोक्योमा पर्यटक बढेको दाबी छ, झरनाको ।
युवास्टार प्रदीप खड्का अभिनीत लभ स्टेसन टर्किस फिल्म सेबिम्ली तेल्केली र हर से असक्तनको हुबहु कपी रहेछ । मौलिकताको बहस भइरहेका बेला चोरिएका फिल्मलाई निरुत्साहित गर्नु समीक्षकको दायित्व हो । संसारका हरेक कुनामा बन्ने फिल्ममा इन्टरनेटका माध्यम पहुँच हुने यो जमानामा चोर्नु त दर्शकमाथिको अपमान हो ।
वास्तविकता बाहिर आइसक्दासमेत लभ स्टेसनका निर्देशक उज्ज्वल घिमिरे र अभिनेता प्रदीपले गल्ती स्वीकारेनन् । घिमिरेले त एक अनलाइनमा प्रकाशित ‘चोर्नु जायज हो’ भन्ने आशयको लेख आफ्नो फेसबुकमार्फत डलर तिरेरै प्रचार गरिरहे । प्रदीपको तर्क त अझ लाजमर्दो छ । ‘समीक्षा भनेको चलचित्र चलेको एक साताको बिहीबार अन्तिम सोपछि गर्ने हो,’ उनले क्यामेरा अगाडि उभिएर भनेछन्, ‘ हलमा दर्शक कति आए, दर्शकले के भने ? फिल्ममेकरसँग सल्लाह गरेर समीक्षा गर्नुपर्छ ।’
प्रदीप पढेलेखेका अभिनेतामै गनिन्छन्, नयाँ पुस्तामा एक खालको लोकप्रियता पनि छ । तर उनको सिनेमा र समीक्षाप्रतिको यो चेतले के प्रतिविम्बित गर्छ ? ठग्स अफ हिन्दोस्तान फ्लप भयो, नकारात्मक प्रतिक्रिया पायो । तर आमिर खानले समीक्षकलाई पाठ पढाएनन् । बरु गल्ती भएको स्वीकार्दै क्षमायाचना गरे । जिरोबाट दर्शक निराश भएपछि शाहरुख खानले पटकथा चयनमा चुकिरहेको स्वीकारे । तर हामीकहाँ कि दर्शकले बुझेनन् भनिन्छ कि समीक्षकले खोइरो खने भनेर कुण्ठा पोखिन्छ ।
दालभात तरकारीको चौतर्फी आलोचना भएपछि निर्माता/कलाकार किरण केसीले आफूहरूलाई ‘दुव्यर्वहार’गरेको दुखेसो (आक्रोश ?) पोखे । उनको आशय थियो, चार दशकदेखि कलाकारिता गरिरहेको टिमले फिल्म बनाएकाले धन्य भएर हेरिदिनुपर्यो । फिल्म बनाएर चार सयलाई रोजगारी दिएको फुइँ हाँके । जबकि यस फिल्म छक्का–पञ्जा सिरिजबाट बनेको कमेडी फिल्मको बजारको ब्याज खाने नियतले बनाइएको बेतुक र अतिरञ्जित हास्यभण्डारझैँ मात्र हो । तर यो वास्तविकता मनन हुन्न, बरु महान फिल्म बनाएको भ्रममा मस्त हुन्छन् ।
प्रायः नेपाली फिल्ममेकर रिलिजको मुखमा भन्ने गर्छन्, ‘मेरो फिल्मको समीक्षा दर्शकले गर्ने हो, समीक्षकले होइन । मैले दर्शकका लागि फिल्म बनाएको हो, समीक्षकलाई होइन ।’ एकातिर सर्जक समीक्षाप्रति यति तर्कनुले उसको सोचाइ स्तर झल्कन्छ । अर्कोतिर हरेक दर्शक आफैँमा समीक्षक र हरेक समीक्षक आफैँमा दर्शक हुने तथ्यबाटै बेखबर छन् फिल्मकर्मी । कतिचाहिँ दर्शक भड्कने भन्दै रिलिज भएको दिन समीक्षा नगर्न हारगुहार गर्छन् ।
सार्वजनिक मञ्चमा गइसकेको सिर्जनामाथि आउने तीखा/मीठा सबै प्रतिक्रिया ग्रहण गर्नु विवेकशील सर्जकको धर्म हो । समीक्षा बहस हो । बहसले नै सिर्जनालाई आयु दिन्छ । त्यसैले समीक्षा हुँदा फिल्ममेकर तीन बित्ता उफ्रने कि त्यसलाई आत्मसात गर्ने ? समीक्षा वा सिनेमामाथि लेखिने हरेक कन्टेन्टले दर्शकको सिनेमा साक्षरता वृद्धिमा भूमिका खेल्छ । फिल्मप्रति उत्सुकता पैदा गर्छ । यसो हुनु फिल्म हेर्ने दर्शक निर्माण हुनु हो, न कि भड्काउनु । समीक्षक पाठकप्रति उत्तरदायी हुन्छ, न कि फिल्ममेकरप्रति ।
भुल्न नहुने अर्को तथ्य, दर्शकको रोजाइको स्वादअनुरूप फिल्म बनेको छ भने नकारात्मक समीक्षाले पनि व्यापारमा खास फरक पर्दैन । फ्यानले हेर्छन् नै । शत्रुगतेको सुरुआतबाटै चर्को आलोचना भयो, तर १२ करोडमाथिको व्यापार गर्यो । नाईं नभन्नु ल सिरिज, छक्का–पञ्जा सिरिज, ड्रिम्स उदाहरण टन्नै छन् । हरि, सेतो सूर्य, बुलबुल, तान्द्रोजस्ता फिल्मले तारिफअनुसार व्यापार गरेनन् । पैसा नकमाउँदैमा सिनेमा निर्बल हुने होइन । हरेक उत्कृष्ट कला बिक्छ भन्ने छैन । अनि हिट फिल्मको आलोचना गर्नुहुन्न, जस्तो छ, त्यस्तै मन पराउनुपर्छ भन्नु र अहिले दुई तिहाइको सरकार छ, त्यसैले जस्तो निर्णय गर्छ, शिरोधार गर्नुपर्छ भन्नु एउटै हो ।
सुन्दा तीतो लाग्न सक्छ । तर सत्य हो, कला, सौन्दर्य, सामाजिक चेत, शिल्प र बजारको वस्तुगत विश्लेषण गर्दा नेपाली सिनेमा अझै कुवामा छ । योभन्दा दुर्भाग्यचाहिँ महासागरमा छु भन्ने फिल्मकर्मीको भ्रम । जबसम्म यो निमिट्यान्न हुन्न, नेपाली सिनेमाले खास महासागरमा डुबुल्की मार्ने छैन ।
आत्मरतिले प्रगतिलाई छेक्छ ।
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...