एक्सन स्टारको आध्यात्मिक यात्रा
आजकल निखिल जहाँ पुग्छन्, त्यहाँ फिल्म होइन, जीवन र जगत्को कुरा हुन्छ ।
अभिनेता निखिल उप्रेती जनकपुर पुग्दा मान्छेको भीड लाग्यो । यसअघि पनि उनी त्यहाँ पुगेका थिए । तर ३ असारको यो भीड खास थियो किनकि उनी सुटिङ वा सिनेमाको कामले नभई समबोधी प्रवचकका रुपमा ओर्लिंदै थिए । त्यहाँ उनले करिब चार सय श्रोतामाझ जीवन र ज्ञानसम्बन्धी दुई घन्टा प्रवचन दिए । प्रश्नोत्तर गरे । निखिल भन्छन्, “सुरुमा कोही–कोही मलाई हिरो भनेर हेर्न आए होलान् तर जब मेरा कुरा सुन्दै गए, म हिरो हो भन्ने नै बिर्सिए ।”
आजकल निखिल जहाँ पुग्छन्, त्यहाँ फिल्म होइन, जीवन र जगत्को कुरा हुन्छ । हेटौँडाको मानव सेवा आश्रम र झम्सिखेलस्थित कविर आश्रममा समेत निखिलले प्रवचन दिइसकेका छन् । शाकाहारी संघ र नवजीवन परोपकारले आयोजना गर्ने कार्यक्रममा रोजै पुग्छन् । “अचेल हिरो होइन, प्रवचक र वक्ताका रुपमा निमन्त्रणा आउन थालेको छ,” शान्त स्वरमा निखिलले भने, “मलाई ज्ञान के हो थाहा छैन तर अज्ञानता बुझेको छु । त्यही अज्ञानताबारे बताउँछु । बाँकी त सबै ज्ञान भइहाल्यो ।” उनी खासगरी नयाँ पुस्तासँग भलाकुसारी गर्न रुचाउँछन् ।
सात तलाबाट हाम्फालेर निखिलको फिल्मी करिअर सुरु भयो । कुनै समय थियो, दैनिक तीन ‘सिफ्ट’ मा सुटिङ गर्थे । तैपनि अफर आएजति फिल्म खेल्न भ्याउँदैनथे । यही कारण निर्माता/निर्देशक बिच्किन्थे । राजेश हमालपछि नेपाली फिल्म उद्योगका सबैभन्दा अग्ला स्टार सम्भवतः उनै हुन् । दुई सय फिल्म खेले । सिने–एक्सनलाई नयाँ उचाइमा पुर्याए । हाम्रो सन्दर्भमा उनी स्टन्टको त ‘बादशाह’ नै हुन् । फिल्म निर्माण र निर्देशन पनि गरे । स्टारडमको भरपुर स्वाद चाखिसकेका निखिल यतिबेलाचाहिँ आध्यात्मिक यात्रामा लीन छन् । समानान्तर ज्ञान फैलाउन आफैँले ‘समबोधी’ सुरु गरे । यसको मुख्य वक्ता निखिल नै हुन् । देशका विभिन्न कुना र नेपाली डायस्पोरामा समबोधीबारे जानकारी गराउन गृहकार्य गर्दै छन् ।
बाहिरबाट हेर्दा लाग्छ, निखिल आध्यात्मिक मार्गमा भर्खरै अग्रसर हुँदै छन् तर होइन । बाल्यकालबाटै उनले स्वयंबधोध सुरु गरिसकेका थिए । सुटिङमा भ्याई नभ्याई नहुने समयमा रातविरात मन्दिर धाउँथे, गुरुहरुसँग शिक्षा लिन्थे । जीवन र जगतसम्बन्धी सात सय किताब त्यही बेला पढेको दाबी गर्छन् । ओशोका हरेक प्रवचन र पुस्तकका सार कन्ठस्थ छ उनलाई । तर हिरोका रुपमा हिट भइरहँदा कहिल्यै यी कुरा बाहिर ल्याएनन् । फिल्म त उनका लागि कर्म मात्र थियो, चैनका लागि त अध्यात्ममा लीन हुन्थे ।
त्यसो त, कतिले निखिलको यो गुणको चाल पाइसकेका थिए । त्यसैले फिल्मवृत्तमा उनको ‘निकनेम’ थियो, स्वामी । तर यस्ता विशेषण उनी रुचाउँदैनन् । भन्छन्, “स्वामी, ज्ञानी, विवेकी केही होइन । म त सिर्फ आफ्नो अनुभव बाँड्न खोजिरहेको छु ।”
बच्चैदेखि एक्लै रमाउँथे, भीडभाडबाट पर भाग्थे । जति पस्कियो, त्यति नै खाने । थप्ने बानी थिएन । घरमा सबैले भैँसींको दूध खान्थे तर गाईलाई माता भनेर पुज्थे । निखिललाई पनि पुज्न लगाइयो तर मानेनन् । त्यतिबेलै भनेका थिए रे, ‘दूध भैँसीको खाएपछि मेरा लागि त माता भैँसीं हो, गाई होइन ।’ मनमा यस्ता अनेक सवाल उठ्थे, अरुसँग सोधेर होइन, आफैँभित्र खोज्ने प्रयास गर्थे । निखिल भन्छन्, “अहिले पनि मलाई लाग्छ, हामी अरुका बारेमा बुझ्न खोज्छौँ, पढ्छौँ तर आफूलाई चिन्ने प्रयास गर्दैनौँ । आफूलाई नचिनी अरुलाई चिनेको के सार ?” खासमा समबोधीमार्फत उनले युवाहरुलाई बाँड्ने ज्ञान पनि यही हो, आफैँभित्र खोज ।
अहिलेको शिक्षा प्रणालीको आंशिक खिलाफमा छन् निखिल । उनकै शब्दमा, यो शिक्षा कमाइ खाने भाँडो मात्र हो । ज्ञान होइन । वास्तविक ज्ञान हुन्थ्यो भने चिकित्सा पढिरहेको विद्यार्थी किन ‘डिप्रेसन’ मा जान्छ ? “यो पढाइले दाम दिन्छ, नाम दिन्छ तर चैन दिँदैन । चैनबिनाको जीवन नीरस हुन्छ,” आफ्नो औपचारिक अध्ययनबारे बताउन नचाहने निखिल भन्छन्, “तर यही कोर्सको पढाइलाई मात्र सर्वोपरि मान्नु हुन्न । संसारमा बुझ्नुपर्ने कुरा अरु धेरै छन् ।” उनले आफ्नो समबोधी अभियानमा एमबीबीएस, इन्जिनियरिङ र सूचना–प्रविधिका विद्यार्थीहरु सामेल रहेको जानकारी दिए ।
अधिकांश कलाकारहरु सेवा वा अनेक बहानामा समाजमा पुग्छन् । भित्री स्वार्थ पूरा गर्छन् । अध्यात्म र ज्ञानको नाममा निखिलको नियत पनि त्यस्तै त होइन ? शंका स्वाभाविक छ । उनले सेकेन्डभरमै जवाफ फर्काए, “हुँदै होइन । मलाई एउटाको सम्पत्ति अर्कोलाई दिएर दानी बन्नु पनि छैन । त्यसमाथि समबोधीमा म जे गर्छु, त्यो सबै निःशुल्क हो ।” अनि, फिल्म नि ? कलाकारिताबाट टाढा जाने योजना रहेनछ । आफ्ना फिल्मले सुखद व्यापार नगरेपछि केही समय ‘ब्रेक’ लिएको उनको भनाइ छ । अब छिट्टै आयो भैरव निर्देशन गर्दै छन् । अभिनय र लेखन पनि उनकै । भन्छन्, “फिल्म मेरो कर्म हो । कर्म नगरी म बस्न सक्दिनँ ।”
निखिलले एउटा घटना सुनाए ।
उनी जन्मिएपछि घरमा एक जोगी आएर भनेछन्, ‘जोगी पैदा हुवा ।’ यसो भन्नासाथ निखिलका बाबुले जोगीलाई लखेटेछन् ।
के त्यो जोगीको बोली मिल्ला त ?
यसको जवाफ निखिलसँगै छैन सायद ।
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...