गिरफ्तार र्यापर भिटेनका १० रोचक तथ्य
र्याप गीतको मर्म र विशेषता नबुझी भिटेन पक्राउ गरिएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।
र्यापर भिटेनको पछिल्लो हिट गीत हो, ‘हामी यस्तै त हो नि ब्रो...।’ स्वच्छन्द शैलीको यही गीतले उनलाई प्रहरी हिरासतमा पुर्याएको छ । बिहीबार जाउलाखेलबाट पक्राउ गरेपछि महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले भने, ‘गीतका शब्द र फेसबुकमा राखिएको तस्बिरका कारण भिटेनलाई पक्राउ गरियो । अब अभद्र व्यवहारको मुद्दा चलाइन्छ ।’
र्याप गीतको मर्म र विशेषता नबुझी भिटेन पक्राउ गरिएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भयो । प्रहरीले स्रोत, साधन र शक्तिको दुरुपयोग गरेको आरोप लाग्यो । केही दिनअघि ‘तिहार...’ शीर्षकको गीतकै कारण गायक दुर्गेश थापा यस्तै नियतिको सिकार हुनुपरेको थियो । युट्युबबाट गीत हटाएपछि मात्र दुर्गेश हिरासतमुक्त भए ।
दुई गायकको पक्राउ अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार कति अनुदार हुँदैछ भन्ने प्रमाण हो । प्रहरीचाहिँ गायक समातेर ठूलै उपलब्धि हासिल गरेझैँ गर्दैछ । यसो हुनु भनेको सरकारप्रतिको वितृष्णा अझ उकासिनु हो तर सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रहरीको यस्ता हर्कतको बचाउ गरेका छन् । बिहीबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा बाँस्कोटाले भने, ‘परिवारसँग बसेर उनी (भिटेन) ले गाएको गीत सुन्नुस् । कतिको समर्थन राख्नुहुन्छ ? कि, अनुहार लाजले रातोपिरो हुन्छ ?’
मन्त्रीको यो अभिव्यक्तिले र्याप गीतको आधारभूत मान्यताको समेत जानकार नभएको त स्पष्ट भएको छ, सँगै भिटेनप्रति थप कडा हुन प्रहरीलाई बल पुगेको छ । तर लाखौँ फलोअर्स भएका भिटेन को हुन् ? उनी कसरी युवापुस्ताको ढुकढुकी बने ?
मूलधारका मिडियाबाट प्राय: टाढा रहने भिटेनबारे १० रोचक तथ्य :
१) भिटेन अर्थात् समीर घिसिङ
भिटेनको खास नाम हो, समीर घिसिङ । गृहजिल्ला रौतहटमै छँदा उनको एउटा खलासी साथी थियो । ती टुहुरो साथीलाई खान–लाउनै धौधौ हुन्थ्यो । तर समीरसँग आत्मीय सम्बन्ध गाँसियो । उनैले समीरलाई ‘भिटेन’ भनेर बोलाउँथे । अलिपछि त्यो साथी हराए, कहिल्यै पुन: सम्पर्क भएन । त्यसैले त्यही साथीको सम्झनामा आफ्नो ‘स्टेज नेम’ नै भिटेन राखे । उसकै यादमा ‘खलासी...’ शीर्षकको गीत पनि गाएका छन् ।
२) पहिलो गीत ‘गरिब...’
भिटेन गरिब परिवारमा हुर्किए, किशोरवयबाटै खानकै लागि संघर्ष गर्नुपर्यो । उच्च शिक्षा पढ्न पाएनन् । आर्थिक विपन्नताको आफ्नो भोगाइ पोखेर ‘गरिब...’ गीत गाए । यही उनको पहिलो रेकर्डेड गीत हो, जसका शब्द र गायकीले उनलाई र्यापका पारखीमाझ चिनायो ।
३) थाङ्कादेखि र्यापसम्म
१६ वर्षकै उमेरमा घर छोडेर भिटेन एक्लै काठमाडौँ आए । बाँच्नकै लागि थाङ्का पेन्टिङ गर्न थाले । त्यतिबेला अन्डरग्राउन्ड र्याप पनि गर्थे तर बाहिर आउन सकिरहेका थिएनन् । भूकम्पपछि उनले थाङ्काको काम पाउन छोडे । “कोठाभाडा तिर्न सकिनँ, बिहान खाए, बेलुका के खाउँ हुन्थ्यो । कैयौँ दिन साथीहरूसँग शरण लिएँ,” गत वर्ष नेपालसँग उनले भनेको थिए, “त्यसपछि जे पर्ला–पर्ला भनेर र्यापमै लागेँ । कम्तीमा पेट नभरिए पनि मन त भरिन्थ्यो ।” यो निर्णय नै उनको जीवनको टर्निङ पोइन्ट बनिदियो । त्यसपछि उनका गीत भटाभट हिट हुन थाल्यो ।
४) गिरिशको 'ग्रुम'
भिटेनलाई ‘ग्रुम’ गरेका हुन्, गिरीश खतिवडाले । युट्युबमा गीत हेरेपछि नेपाली र्यापका प्रणेता मानिने गिरीश आफैँले भिटेनलाई सम्पर्क गरेका थिए । त्यतिबेलै गिरीशले दाबी गरेका थिए, ‘नेपाली र्यापको अबको तारा भिटेन नै हुन् ।’ गीतमार्फत भिटेनले यसलाई पुष्टि गर्दै लगे ।
५) ‘डि–१२’ ट्याटु
खासमा गिरीश खतिवडा र एड्रेका गीतले नै हो, भिटेनलाई र्यापमा आकर्षित गरेको । अलिपछि इमिनेमका गीत सुन्न थाले । इमिनेमबाट यति प्रभावित भएका कि हातमा ‘डि–१२’ ट्याटु खोपाएका छन् । त्यो इमिनेमको क्रिउको नाम हो । इमिनेमकै एल्बम ब्याड मिट्स इभिलकोसमेत ट्याटु बनाएका छन् ।
६) ‘हेटर्स’ पनि
भिटेनको फ्यान मात्र होइन, ‘हेटर्स’ पनि छन् । स्याडी पोपट र डिजे सेभेनले भिटेनविरुद्ध ‘डिस सङ’ नै गाएका छन् । र्यापरको उल्लीबिल्ली गर्दै गाइएको गीतलाई ‘डिस सङ’ भन्ने गरिन्छ । यही गीतले नै युट्युबमा १८ लाख भ्युज पाएको छ ।
७) स्टेजमै ढुंगा
भिटेन र विवाद पर्यायजस्तै हुन् । गत वर्ष पुसमा पोखरामा कन्सर्ट गर्दा–गर्दै उनीमाथि ढुंगा प्रहार भयो । उनलाई जोगाउनै हम्मेहम्मे पर्यो । केही समयपछि उनले ‘हेटर्स’ प्रति आक्रोशित हुँदै ‘साइफर...’ गाए । यो गीत युट्युबमा हेर्नेको संख्या ८० लाख नाघेको छ । त्यस्तै, उनको ‘सिमसिमे पानीमा...’ बोलको गीत युट्युबमा अपलोड भएको २४ घन्टा नबित्दै ट्रेन्डिङमा आयो तर रेखा शाहले कपीराइट दाबी गरेपछि युट्युबबाट हटाउनु पर्यो ।
८) ‘नयाँ यमबुद्ध’
यमबुद्धको देहान्त हुनु र भिटेन चम्कनु करिब–करिब एकै समयमा भयो । यमबुद्धका गीतझैँ भिटेनका गीतहरू पनि गहन हुन्छन् । त्यसैले कतिपयले भिटेनलाई ‘नयाँ यमबुद्ध’ भन्ने गर्छन् । भलै उनी आफू कुनै कोणबाट यमबुद्धसँग तुलना गर्न लायक नभएको तर आफूले यमबुद्धको शोकलाई शक्तिमा बदल्न खोजेको बताउँछन् । उनको आगमनपछि लाउरेजस्ता चर्चित र्यापर पनि ओझेलमा परेको विश्लेषण गरिन्छ ।
९) शब्दको एक्स्प्रेसन
भिटेन आफूले गाउने गीत आफैँ लेख्छन्, त्यो पनि निश्चित थिममा । र्याप हान्दा शब्दको भावअनुसार‘एक्स्प्रेसन’ दिन्छन् । रिस पोख्दा ठूलो आवाज निकाल्छन्, पीडा पोख्दा मधुर स्वर । यसले गीतलाई जीवन्तता दिने र सुन्नेले शब्द–शब्दलाई अनुभूत गर्ने बुझाइ छ, उनको ।
१०) सन्देशमूलक संगीत
प्रहरीले उनका गीतका शब्द अभद्र भएको आरोपमा मुद्दा चलाउँदै छ तर उनले युवामा सकारात्मक ऊर्जा प्रवाह गर्ने कयौँ सन्देशमूलक गीत गाएका छन् । नपत्याए, ‘बैनी...’, ‘लफंगा...’, ‘चुरोट...’, ‘हालखबर...’, ‘कथा...’ ‘मान्छे खत्तम...’ सुन्दा हुन्छ ।
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...