पढ्नुहोस्, ‘हाउसफुल ४’ को समीक्षा
न्धाधुन, बरेलीकी बर्फीजस्ता शानदार कमेडी फिल्म पनि नबनेका होइनन् तर अधिकांश फिल्म स्टारडम, पन्चलाइन र द्विअर्थी संवादकै भरमा चलाउन खोजिन्छ । हाउसफुल ४ यसभन्दा अलग छैन ।
फ्रेन्चाइज फिल्मको उद्देश्य एउटै हुन्छ, जसरी हुन्छ पैसा कमाउने । फिल्मको आधारभूत मर्म र मान्यतालाई आत्मसात् नगरी बजारले जे खोजेको छ, त्यही पस्कने ध्याउन्न हुन्छ फिल्मकर्मीमा । हाउसफुल ४ पछिल्लो उदाहरण हो ।
बेअर्थी कमेडीकै कारण हाउसफुल नामधारी तीन फिल्मले मनग्ये दाम कमाए । निर्माता साजिद नाडियाडवालाले हाउसफुल ४ बनाएर यही व्यावसायिक सफलतालाई निरन्तरता दिन खोजेका छन् । यसका लागि अघिल्ला फिल्मको धेरथोर साख पनि समाप्त पारिएको छ । जबर्जस्ती हसाउनुबाहेक निर्देशकद्वय साजिद–फर्हादको अर्को नियत देखिन्न । प्याडम्यान, ट्वाइलेट, गोल्ड, मिसन मंगलजस्ता फिल्मबाट अक्षयकुमारले कमाएको ख्यातिमाथि यस फिल्मले कठोर सवाल खडा गरेको छ ।
हेयर ड्रेसर ह्यारी (अक्षयकुमार) को भुल्ने बानी छ । बिर्सने बानीले गर्दा उनले खुंखार डन माइकल (मनोज पाहवा) को ५० लाख डलर नष्ट गरिदिन्छन् । माइकलले पैसा फिर्ता नदिए मार्ने धम्की दिएपछि ह्यारीसँगै साथीहरु म्याक्स (बबी देवल) र रोय (रितेश देशमुख) पनि संकटमा फस्छन् । यसबाट उन्मुक्ति पाउन अर्बपति बाबुका तीन छोरी कृति (कृति सानोन), नेहा (कृति खरबन्दा) र पूजा (पूजा हेग्डे) सँग बिहे गर्ने चाल रच्छन् । तर निम्न आय भएका उरन्ठेउला ह्यारी, रोय र म्याक्सले धनी केटीको मन जित्लान् ? ह्यारीको बिर्सन बानीको जड के होला ? यिनै सवाल वरपर घुमेको छ फिल्म । हेर्दै जाँदा क्लाइमेक्स अन्दाज गर्न सकिन्छ ।
बलिउडमा कमेडी फिल्मको लर्को छ । अन्धाधुन, बरेलीकी बर्फीजस्ता शानदार कमेडी फिल्म पनि नबनेका होइनन् तर अधिकांश फिल्म स्टारडम, पन्चलाइन र द्विअर्थी संवादकै भरमा चलाउन खोजिन्छ । हाउसफुल ४ यसभन्दा अलग छैन । फरक कत्ति मात्र भने यसको कथा वर्तमान समयमा मात्र सीमित छैन, ६ सय वर्षअगाडिको समयसँग समेत सरोकार राख्छ । बाहुबली मार्काकै फिल्ममा देखिएका सेट छन्, राजा बन्ने होड र खुट्टा तान्ने खेल छ । तर रत्तिभर विश्वसनीय लाग्दैन । राजा, राजकुमार, प्रजा, भिन्न राज्यबीचको लडाइँ, प्रेममा जबर्जस्ती हास्य घुसाइएको छ । तर्क र कारण खोज्दा लभगभ सबै दृश्यमा भाउन्न हुन्छ ।
मल्टिस्टारर, भव्य क्यानभास, एकअर्काका प्रेमिका साटिने, लन्ठु केटाहरुले पैसाका लागि धनी परिवारकी छोरी पट्याउने, बीचमा एउटा भिलेन निस्कने र त्यसलाई सबै मिलेर सखाप पार्ने, अघिल्ला हाउसफुल यही परिधिमा रुमल्लिएका हुन्थे, यसपटक पनि त्यस्तै हो । हरेक मुख्य पात्रलाई अहिले र ६ सय वर्षअगाडिको दुई हुलियामा देख्न पाइन्छ । तर उनीहरुको चालढाल उस्तै हुन्छ ।
ह्यारीले अन्य साथी र प्रेमिकाको दिदीबहिनीलाई याद फर्काउने दृश्यहरु केही हदसम्म रोचक लाग्छ । नत्र पूरा फिल्ममा साजिद–फर्हादले कमेडीको नाममा कथा र दर्शकको चेतनास्तरमा खेलबाड गरेका छन् । त्यसैले त फिल्म हेरेपछि खिन्न भइन्छ । यसको पटकथा पनि यही जोडीले लेखेको हो ।
अरु त अरु, अतिथि भूमिकामा देखिएका नवाजुद्दिन सिद्दिकी र राना दग्गुवत्तीले समेत निराशा पार्छन् । नवाजुद्दिनले सेक्रेड गेम्सको प्रतिष्ठित संवाद ‘कहिलेकाहीँ त लाग्छ म नै भगवान हुँ’ माथि मजाक गरेका छन् । उनको झाँक्री चरित्रले कुनै कोणबाट फिल्मको स्तरवृद्धिमा भूमिका खेलेको छैन । राना दग्गुवत्तीचाहिँ बाहुबलीको परिचित भल्लालदेवकै झल्को दिने चरित्रमा हल्का ढंगले प्रस्तुत भएका छन् ।
निर्देशकद्वयले बलिउड र भारतीय समाजमा चर्चित हरेक पक्षलाई घोलघाल पारेर मसलेदार बनाएका छन् तर उही, कथा र पात्रअनुरुप नभई मनमौजी शैलीमा घुुुसाइएको छ । अक्षयकुमार, बबी देवल र रितेश देशमुखको चरित्र र अभिनय दुवै अतिरञ्जित लाग्छ । तुलनात्मक रुपमा कृति सानोन, कृति खरबन्दा र पूजा हेग्डे प्रभावशाली छन् । ‘वाला...’, ‘भूत...’ जस्ता गीत सुन्दा रमाइलो लाग्छ तर फिल्ममा खास अर्थ छैन ।
यति भनिरहँदा छुटाउन नहुने कुरा के हो भने बेतुकका कमेडीमा रमाउने र हासउफुल सिरिजका खाँटी फ्यानलाई भने हाउसफुल ४ ले निराश पार्दैन । फिल्ममा थोरै मात्र विश्वसनीय आधार खोज्नेका लागि त समय र पैसाको बर्बादी मात्र हो ।
फिल्म : हाउसफुल ४
निर्देशक : सजिद–फर्हाद
कलाकार : अक्षयकुमार, बबी देवल, रितेश देशमुख, कृति सानोन आदि ।
विद्या : कमेडी
समय : २ घन्टा २५ मिनेट
रेटिङ : १/५
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...