अनि अमिताभले आयुष्मानलाई हातैले लेखेर चिठ्ठी पठाए
आमिर स्वयंले भनेका छन्, ‘आयुष्मानको विषय र चरित्र चयनबाट म आफैँ प्रभावित छु ।’ अमिताभ बच्चनले त उनलाई हस्तलिखित पत्र नै लेखे, अन्धाधुनबाट राष्ट्रिय अवार्ड जितेपछि ।

चार वर्षपहिले आयुष्मान खुरानाको आत्मकथा प्रकाशित भएको थियो, क्र्याकिङ द कोड : माई जर्नी टु बलिउड । त्यति बेला आयुष्मान अभिनीत पाँच फिल्म रिलिज भएका थिए । विक्की डोनर र दम लगाके हैसाले काफी ख्याति कमाए, बाँकी तीन फिल्म फ्लप भए । त्यसैले उनको मजाक गरिएको थियो, कत्ति न सफलता पाएझैँ आत्मकथा लेख्न हतारिएको । भलै उनले पुस्तकलाई सफलता होइन, संघर्षको कथा भनेका थिए । आफ्नै वैयक्तिक र ताजा भोगाइ खुलस्त पोखेका थिए । तर उनीजस्ता ‘आउटसाइडर’ को यो आँट नातावाद र कृपावादले गाँजेको बलिउडलाई हजम भएन । जसले जे भनोस्, आयुष्मान डगमगाएनन् ।
अहिलेकै कुरा गरौँ ।
हिरोको बलिउडी हुलियामा नअटाउने आयुष्मानका लगालग सात फिल्म सुपरहिट भए, यी चार वर्षमा । पुस्तक प्रकाशनसँगै उनको करिअरको सुनौलो समय सुरु भएछ । कम बजेट, खँदिलो कन्टेन्ट, रसिलो कथावाचन, प्रभावकारी भूमिका र जीवन्त अभिनयसहितको कुनै फिल्म रिलिज भयो भने आयुष्मानकै हुन्छ, यस्तो छवि बनेको छ उनको । एकातिर, ठूला कहलिएका स्टारका महँगा फिल्महरू पत्तासाफ भएका छन्, रेस ३, ठग्स अफ हिन्दोस्तान, साहो उदाहरण हुन् । अर्कातिर, आयुष्मानका ‘सस्ता’ फिल्महरूले कमाल गरिरहेका छन् । एउटै सिनलाई ९० करोड खर्च गरिएका फिल्मका सामु २०–२५ करोडका आयुष्मानका फिल्म भारी परिरहेको छ । फिल्म पैसा होइन, सिर्जनशीलताले अब्बल हुन्छ भन्ने योभन्दा दरिलो प्रमाण अरु के होला !
आयुष्मानले पछिल्लो पटक 'सरप्राइज' दिएका छन्, बालाबाट । यसमा उनी तालुखुइले बनेका छन् । कपाल नभएकै कारण हीनताबोधले जलाएको मात्र छैन, घरबारसमेत बिग्रन्छ । संवेदनशील विषयलाई विश्वसनीय र हास्यशैलीमा भनिएको बालालाई समीक्षकले दिल खोलेर प्रशंसा गरेका छन् । कोइमोइ डट कमका अनुसार ३० करोड भारुमा बनेको यसले रिलिजको दुई सातामा ९७ करोड कलेक्सन गरेर सुपरहिट सूचीमा दर्ज भइसकेको छ । दुई महिनाअगाडि प्रदर्शित ड्रिम गर्लले १ सय ४० करोड भारुको व्यापार गरेको थियो, यसमा केटीको भूमिकामा छन् । त्यसअगाडि पनि आर्टिकल १५, बधाई हो, अन्धाधुन, शुभ मंगल सावधान र बरेली की बर्फी सुपरहिट भएका थिए ।
यी फिल्मले दामसँगै प्रतिष्ठा कमाएकाले आयुष्मानको पहिचान अलग र विशेष बन्यो । भारतीय मिडियाले लेख्न थालिसकेका छन्, ‘आयुष्मान बलिउडका नयाँ आमिर खान हुन् ।’ आमिर स्वयंले भनेका छन्, ‘आयुष्मानको विषय र चरित्र चयनबाट म आफैँ प्रभावित छु ।’ अमिताभ बच्चनले त उनलाई हस्तलिखित पत्र नै लेखे, अन्धाधुनबाट राष्ट्रिय अवार्ड जितेपछि ।
आयुष्मान उनै अभिनेता हुन्, जो केही वर्षअघिसम्म शाहरुख खानलाई पत्र लेखेर काम पाउन बिन्ती गर्थे, करण जौहरको अफिसको ल्यान्डलाइन नम्बर पाउँदा दंग पर्थे । सन् २००४ देखि मुम्बई बस्न थालेपछिको उनको संघर्ष, धैर्य र सफलताको पदचाप गज्जबको छ । पहिलो पटक मुम्बई आएका रहेछन्, सन् २००१ मा । भारतीय रियालिटी शो पपस्टार्समा भाग लिए, बीचमै ‘आउट’ भए । त्यसपछि गृहनगर पञ्जाब चन्डिगढ नै फर्किए । दुई वर्षपछि एमटीभीको रोडिज सिजन २ मा भाग लिन फेरि मुम्बई गए ।
साथीहरूको सुझाव थियो, ‘रोडिज तिम्लाई सुहाउँदो छैन, त्यसैले दु:ख नगर ।’ तर उनलाई आफ्नो क्षमतामाथि विश्वास थियो, उपाधि नै जिते । मुम्बईमा मौका मिल्न सक्थ्यो तर चन्डिगढ नै फर्किए । त्यसको कारण पुस्तकमा लेखेका छन्, ‘बुबाले भन्नुभयो, म बलिउडका लागि तयार भइसकेको छैन । बलिउडमा प्रतिभाको खाँचो छैन, खाँचो छ त, केवल बौद्धिक प्रतिभाको । त्यसैले पढाइ नत्याग्नू ।’ बुबाका प्रेम आत्मसात् गरे, पढाइ सके, आत्मविश्वासले भरिएर मुम्बई गए ।
आयुष्मानको संघर्ष त बल्ल सुरु हुँदै थियो । उनलाई हिरो नै बन्नु थियो तर उनीजस्ता बाहिरियालाई कसले पत्याउने ? त्यसैले फिल्मसम्मको यात्रा तय गर्न आरजे (रेडियो जक्की) बाट पाइला चाले । केही वर्षमै भिजे (भिडियो जक्की) बने । टिभी शो होस्ट बने । टेलिसिरियल पनि छोडेनन् । त्यसपछि बल्ल विक्की डोनर पाएका हुन् । यो फिल्ममा उनी कास्ट हुनुको कथा पनि रोचक रहेछ ।
विक्की डोनर सुरुमा विवेक ओवरायले लगानी गर्ने र खेल्ने तय भएको थियो । पछि विवेक फिल्मबाट बाहिरिए । अर्का निर्माता रोन्नी लाहिरीले जोन अब्राहमलाई सहकार्यका लागि निम्ता दिए । जोनको आगमनपछि मुख्य भूमिकामा शरमन जोशीलाई प्रस्ताव गरियो तर उनले ‘नाईं’ भने वीर्यदाताको चरित्रले इमेज बिग्रन्छ भन्दै । त्यसपछि बल्ल आयुष्मानको भागमा परेको थियो । उनले पनि यसअघि दुई फिल्मको सहायक भूमिका अस्वीकार गरेका थिए ।
उनी पुस्तकमा लेख्छन्, ‘कहिलेकाहीँ पाएको अवसर गुमाइन्छ किनभने त्यसभन्दा ठूलो अवसर प्रतीक्षा गरिरहेको हुन सक्छ । यो भनाइ दार्शनिक सुनिन सक्छ तर यदि मैले अघिल्ला दुई फिल्म खेलेको भए विक्की डोनर कहिल्यै पाउँदैनथेँ ।’ ती फिल्म थिए, तीन थे भाइ र आई हेट लभ स्टोरिज । दुवै फिल्म आए, गए तर विक्की डोनरबाट आयुष्मानले उत्कृष्ट नवअभिनेता र उत्कृष्ट पाश्र्वगायनको फिल्मफेयर अवार्ड एकसाथ जिते । क्या दुर्लभ जित !
आयुष्मान रातारात स्टार भएनन्, शून्यबाटै प्राकृतिक तबरमा संघर्ष गर्दै र सोहीअुनरुप उपलब्धि हासिल गर्दै गए, जसले उनलाई परिपक्व बनाएको छ, ‘स्टारडम’ को भ्रमबाट पर राखेको छ । उनी भन्ने गर्छन्, ‘मलाई थाहा छ, म स्टार भएँ हुँला । तर यसको घमन्ड छँदै छैन किनभने मलाई यो पनि थाहा छ– स्टारडमले मात्र फिल्म चल्दैन, फिल्म चल्न फिल्म नै राम्रो हुनुपर्छ । हरेक फिल्म पहिलोझैँ मानेर मिहिनेत गर्यो भने मात्र त्यो अब्बल हुन्छ ।’
यही सोचाइलाई व्यवहारमा उतार्न थालेकाले उनका फिल्म हिट हुन क्रिसमस, नयाँ वर्ष, इद, दीपावलीजस्ता बिदा कुर्नु पर्दैन । अन्धाधुनबाट त उनी चीनमा पनि चिनिए । यस्तै सुखद संकेत देखेरै ठोकुवा गर्न थालिएको छ, ‘शुभ मंगल ज्यादा सावधान र गुलाबो सिताबोबाट आयुष्मानले हिट फिल्ममा ट्रिपल ह्याट्रिक गर्नेछन् ।’