बाँसुरीमा औंला नचाउँदै ग्रामी अवार्डमा मनोनित मनोजसिंह नेवा को हुन् ?
नेपाली बाँसुरीवादक मनोजसिंह नेवाको पशुपतिको द्वारदेखि ग्रामीसम्मको यात्रा
बाँसुरीवादक मनोजसिंह नेवाले, ४ मंसिरमा फेसबुकमा लेखे, ‘प्रिय देवा र मिटेनले मलाई फोन गरेर चकित पार्ने समाचार सुनाए, हामी ग्रामी मनोनयनमा परेछौं । यो हामी सबैका लागि सुखद समाचार हो ।’
संगीतका लागि विश्वकै सर्वोच्च पुरस्कार मानिने ग्रामी अवार्डमा नेपाली संलग्न संगीत सिर्जना मनोनयनमा परेको यो पहिलो अवसर हो । अमेरिकाको सानफ्रान्सिस्कोमा बस्दै आएका मनोज, जर्मनीकी देवा प्रेमल र बेलायतका मिटेनको संयुक्त एल्बम ‘देवा’ ग्रामीको ६२ औं संस्करणको 'बेस्ट न्यु एज एल्बम' विधामा छानिएको हो ।
गायत्री मन्त्रको भक्ति संगीतको यस एल्बममा ४१ वर्षे मनोजले बाँसुरीका असाधारण धुन त प्रस्तुत गरेकै छन्, गायन र कम्पोजिसनमा पनि उनको भूमिका छ ।
अमेरिकाबाट मनोजले खुसी बाँडे, “सात एल्बममा ग्रामीमा आइपुग्यौं, यसले हामीलाई औधी आनन्द र उर्जा दिएको छ ।” पश्चिमा दुनियाँमा उनी ‘मनोसे’ नामबाट परिचित छन्, स्टेज नेम यही हो । पासपोर्टमा अंग्रेजी हिज्जे लेख्न गडबड भएपछि मनोजबाट मनोसे भएका रहेछन् उनी। उक्त नामबाट जति ख्याती कमाए पनि उनलाई मनोजसिंह नै प्यारो लाग्दोरहेछ ।
बौद्धमा जन्मे-हुर्केका मनोज बाँसुरीको धुनसँगै कसरी ग्रामीसम्म पुगे ? यात्रा रोचक छ ।
मनोज ८ वर्षका थिए, बाँसुरी हातमा पर्दा । सुरुमै बाँसुरी र यसको धुनले विछट्टै प्रेम जगायो । भन्छन्, “भगवान श्रीकृष्णको कृपाले बाँसुरीप्रति लगन पैदा भयो । बौद्ध स्तुपाभित्र र पशुपतिद्वार पुगेर बजाउन थालें ।” धेरैका लागि संगीत मनोरञ्जनको माध्यम हो, बाँसुरी बजाउनुभित्र यस्तै चाह लुकेको हुन्छ तर मनोज बाँसुरीसँग अध्यात्मिक हिसाबले नजिक भए, अन्तरमनको खुसीका लागि बाँसुरीसँग खेल्न थाले ।
पशुपतिको किराँतेश्वरमा गएर बजाउन थालेपछि उनले थाहा पाए, त्यहाँ किराँतेश्वर संगीत आश्रम छ । त्यहाँ उनको भेट भयो, गुरु मदनदेव भट्टसँग । यो सामिप्यले उनको बाँसुरी वादनकलामा निखार ल्याउन भूमिका खेल्यो । मदन गुरुसँग सिकेपछि शास्त्रीय संगीतको बालप्रतियोगितामा प्रथम भए । त्यसपछि अन्य स्वनामधन्य कलाकारसँग सिक्ने र संगत गर्ने माहोल जुर्यो । रेडियो नेपाल र नेपाल टेलिभिजनमा बजाउने मौका पाए ।
मनोजले आफूलाई भाग्यमानी ठान्ने कारण अनेक छन् । तीमध्ये एक हो, १६–१७ वर्षकै उमेरमा उनले नेपालको प्रतिनिधित्व गर्दै विदेशमा बाँसुरी बजाउन पाए ।
झन्डै दुई दशक अगाडिको कुरा हो, होमनाथ उपाध्याय, ध्रुवेशचन्द्र रेग्मी, अतुल गौतम, प्रमोद उपाध्याय र मनोजको समूह थियो, प्रस्तार । यो समूह नेपालको मौलिक र परम्परागत संगीत पस्कँदै जर्मनी, स्वीट्जरल्यान्ड, अमेरिकालगायत धेरै देश पुग्यो । यसबाट मनोजले पश्चिमा दुनियाँको पूर्वीय दर्शन र संस्कृतिप्रतिको आकर्षण नियाल्न पाए । ध्रुवेश र अतुलसँग मिलेर सुकर्म ब्यान्ड खोले ।
त्यसबेला भर्खरै खुलेको १९७४ एडी ब्यान्डले सुरुमै वाहवाही पाउन थालिसकेको थियो । मनोज यसको सुरुवाती सफलतामै जोडिन पुगेका थिए । उनका अनुसार आधुनिक संगीत लिएर विदेश जाने क्रम १९७४ एडीबाटै सुरु भएको हो । त्यसअगाडि विदेशमा परम्परागत संगीत मात्र जान्थ्यो । भन्छन्, “यस ब्यान्डमार्फत मैले लोक र शास्त्रीय संगीतलाई ज्याज र रकमा अन्तरघुलित बनाएँ, बाँसुरीको सहारामा ।” ब्यान्डको 'पिँजडाको सुँगा...', 'सम्झी बस्छु...' लगायतका लोकप्रिय गीतमा मनोजको यो फ्युजन सुन्न पाइन्छ ।
बाँसुरी बजाउँदै अमेरिका पुगेपछि मनोजलाई हेक्का भएछ, यहाँ दर्शक/श्रोताको आयतन निकै फराकिलो छ । आप्रवासीको देश भएकाले अमेरिकामा सबै देशका संस्कृति छन्, तिनलाई सम्मान पनि गरिन्छ । भारतका ठूला कलाकारहरू जाकिर हुसैन, रविशंकरले पनि अमेरिकाबाटै संघर्ष गरे । भन्छन्, “अमेरिका ‘क्याटलिस्ट’ रहेछ । यहाँ जे रुचाइयो, संसारले त्यही रुचाउने रहेछ भनेर बुझें ।”
देवा प्रेमल र मिटेनका साथमा मनोज ।
यसपछि मनोज अमेरिकाकै स्थायी बासिन्दा भए । उनलाई थाहा थियो, नेपाल भौगोलिक रुपमा सानो छ तर संस्कृतिले भरिपूर्ण । त्यसैले अमेरिका बसाईको सुरुबाटै उनी नेपाल, बौद्ध र हिन्दु धर्म फैलाउन अग्रसर भइराखे । त्यतिबेला उनलाई लागेको थियो रे, नेपाल भन्दा यहाँ बस्दा नेपाली धर्म–संस्कृति र संगीतको विस्तारमा योगदान गर्न सक्छु । यो बुझाईले पूर्णता पाउँदै गयो ।ग्रामी मनोनयन त्यसको पछिल्लो कडी हो ।
मनोजले आफूलाई भाग्यमानी मान्ने अर्को कारण पनि छ । उनी अमेरिकामा बस्न थाल्नु र योग अनि पूर्वीय दर्शनप्रति उत्साह चुलिनु एकै समयमा भयो । बाँसुरी बजाउन कति माहिर भने विदेशीलाई विदेशी पारामै बजाउँथे, नेपालीलाई नेपाली शैलीमा । यही गुणले विदेशीलाई पनि उनको धुनले छिट्टै मन्त्रमुग्ध बनायो । सान फ्रान्सिस्कोका धेरै ठाउँबाट बाँसुरी बजाउन निम्तो आउन थाल्यो । त्यही बेला भेट भयो, देवा र मिटेनसँग । पूर्वीय दर्शनप्रति उनीहरूको प्रेम थियो, आध्यामिक भावले गाएको गीत र मन्त्रले मनोजलाई तान्यो ।
उनी सम्झन्छन्, “उहाँहरूले चाहिँ मेरो बाँसुरी सुनेपछि कृष्णको धुनजस्तो मिठो भन्न थाल्नुभयो । सँगै काम गर्दा पशुपति र बौद्ध चिनाउन पनि सहज हुन्छ भन्ने लाग्यो । मेरा लागि देश भनेकै धर्म र संस्कृति हो ।” १५ वर्ष बित्यो उनीहरुको सहकार्य भएको । देवा र मिटेनको भेटचाहिँ भारतमा भएको रहेछ, पछि उनीहरूले विवाह गरे ।
बाँसुरी बजाउनुमा मनोजको स्वार्थ र महत्त्वाकांक्षा थिएन । कसैको लागि होइन, साधना र पूजाको रुपमा आफ्नै लागि बजाउँथे । सुन्ने जति सबैलाई उनको विलक्षण बाँसुरी वादनकलाले मोहित बनाउँदै लग्यो । तर उनले आफ्नो जरा अर्थात बौद्ध–हिन्दु धर्म संस्कृतिलाई पटक्कै भुलेका छैनन् । अघिल्लो वर्ष काठमाडौं हाडीगाउँ बस्ने फुपूलाई अमेरिका बोलाए । फुपू सानैबाट भजन गाउँथिन्, पशुपति कुञ्जमासमेत उनका स्वर गुन्जिएका छन् ।
अमेरिका जाँदा जब मनोजले फुपूबाट ‘हरे राम...’ भजन सुने, उनलाई लाग्यो, यो एल्बममा राख्नुपर्छ । मिटेन र देवासँगको छलफलपछि यो भजन ‘देवा’ एल्बममा अटाएको छ । देवा र मनोजले मिलेर गाएका छन् । मनोजको कम्पोजिसनमा रविशंकरकी छोरी अनुष्काशंकरले सितारा बजाएकी छन् । भन्छन्, “भजन भनेको संस्कृतिको अमूल्य गहना हो । हाम्रो भजनलाई संसारभरका मान्छेले सुनेर मन पराउनु भयो, यो ठूलो सफलता हो ।”
मनोजका अनुसार उनीहरूको समूहले संगीत मात्र होइन, अध्यात्मको पनि प्रचार गरिरहेको छ । पूर्वीय दर्शनका भोका धेरै छन्, संगीतमा ढालेर प्रस्तुत गर्दा उनीहरूलाई बुझाउन सजिलो हुन्छ । बाँसुरीको आवाजमा यस्तो जादु हुन्छ, जसबाट सुन्नेको हृदय खुलिसकेको छ ।
दक्षिण अमेरिकी मुलुक चिलीमा मनोजको समूहको कन्सर्टका दर्शक ।
यही संगीतको झंकार लिएर मनोजको समूहले युरोप, अमेरिका, दक्षिण अमेरिका, क्यानडासहित धेरै मुलुकमा सांगीतिक यात्रा गरिसकेको छ । रुसको मस्कोमा त एकै पटक ६ हजार दर्शक मनोजको धुनसँग लठ्ठिए । रुसमा मात्र बाँसुरी बजाउन ११ पटक पुगिसके । सन् २०११ मा भारतमा मनोजको समूहले प्रस्तुति दियो ।
नेपालमा भने अहिलेसम्म त्यो मौका जुरेको छैन । तर अर्को वर्ष नेपालमा कार्यक्रम गर्ने योजना बुनेका छन् उनले । भन्छन्, “पशुपतिको किराँतेश्वरमा बसेर बाग्मतीसामु बाँसुरी बजाउनु जत्तिको आनन्द अन्त कतै आउँदैन ।”
आशा गरौं, टिम मनोजले ग्रामी जित्नेछ । त्यसपछि त किराँतेश्वरमा बाँसुरी बजाउँदाको आनन्द झनै दोब्बर होला !
सबै तस्बिरहरू मनोजसिंह नेवाले उपलब्ध गराएका हुन् ।
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...