पढ्नुहोस्, ‘माछा माछा’ को समीक्षा
थोरै मात्र सिने चेत भएका र नवीन खुराक खोज्नेलाई 'माछा माछा' ले रत्याउन सक्दैन ।
काम छैन, दामको चर्को अभाव छ । खाने, बस्नेसमेत टुंगो छैन । त्यसैले पैसाकै लागि अपराध गर्नुपर्ने बाध्यता आइलाग्छ, हत्या, अपहरण, लुटपाट यस्तै–यस्तै । तर ढंग पुग्दैन, एकपछि अर्को संकटमा फस्नुपर्छ । उज्यालो होला भनेको जीवन झन् अन्धकारतिर धकेलिन्छ ।
यही कथाको आसपासमा दर्जनौँ फिल्म बनेका छन् । नेपाली फिल्मवृत्तका लागि कोसेढुंगा मानिने लुट पनि करिब यस्तै छ । लुटपछि त यस्तै कथा र शैलीमा फिल्म बनाउने होडबाजी नै चल्यो । यसको धङधङी अझ अन्त्य भएको छैन । प्रमाण हो, माछा माछा । बासी कथा नै सही, प्रस्तुति रोचक हुन सक्थ्यो तर निर्देशक सुनील गुरुङ यस मामलामा पनि चुकेका छन् । निर्देशक नयाँ हुन् तर फिल्मका पात्र, कथाउठान, विकासक्रम, अन्त्यसम्म नयाँपन आभास हुन्न । हरेक दृश्य पहिल्यै कतै देखे–देखेझैँ लाग्छ । केही पन्चलाइन र त्यसको टाइमिङले मात्र त फिल्मलाई बचाउँदैन ।
प्रदीप (सौगात मल्ल), बाबुराम (विजय बराल) र किशोर (अनोज पाण्डे) राजधानीमा सँगै बस्छन् । इलम छैन, कोठाभाडा तिर्नै धौधौ छ । खाना पकाउने ग्याससमेत छैन । त्यही बेला उनीहरुलाई मान्छे मार्नुपर्ने, त्यसबापत २० लाख रुपैयाँ पाउने अफर आउँछ तर सम्झौताअनुरुप हत्या गर्न लाग्दा अनेक फसाद आइलाग्छ । त्यसबाट उम्कने हत्कन्डा र तनावसँगै फिल्मअगाडि बढ्छ । क्राइम जनराका औसत पारखीले यसको क्लाइमेक्स सहजै अनुमान लगाउन सक्छन् ।
फिल्ममा प्रधान अर्थ रहन्छ, निर्देशकको मौलिक अवधारणा र त्यसलाई मूर्त बनाउने स्क्रिप्टको । परम्परागत सूत्र र शैलीबाट निर्देशक प्रताडित भयो भने फिल्मको सौन्दर्य लोप हुन्छ । सिनेमाले स्वतन्त्र संसार निर्माण गर्न र त्यसमा दर्शकलाई सयर गराउन चुक्छ । चिया पसलका ग्राहक, उनीहरुको गफ र छेवैको रेडियोमा बजिरहेको समाचारसहितको पहिलो दृश्य नै थोत्रो लाग्छ । यही नियतिलाई निरन्तरता दिन्छ, मुख्य पात्रको प्रवेश, उनीहरुको लथालिंग कोठा, संकटबाट गुज्रेकै बखत आउने ‘सुनौलो प्रस्ताव’ आदि–आदिले । खासमा नयाँ र रोचक दृश्य सिर्जनुभन्दा पुरानैले काम चलाउन खोजेको ध्येय देखिन्छ, लेखकसमेत रहेका निर्देशकमा ।
मुख्य पात्रको चरित्रचित्रणसमेत रोचक र नवीन छैन । प्रदीपको घरबेटीको छोरीसँग लभ परेको छ, पैसा कमाएर बिहे गर्ने योजना छ उसको । ‘पैसा पठाइदेऊ’ भनेर किशोरकी आमाले गाउँबाट फोन गरिरहन्छिन् । उनीहरुलाई सोझा र निर्दोषकै रुपमा देखाइन्छ । तर एक्कासि मान्छे मार्न राजी हुन्छन् । चरित्रमा यस्तो व्यापक रुपान्तरणका लागि चाहिने विश्वसनीय संघर्षचाहिँ देख्न पाइन्न । जबकि उनीहरुको पीडा राजधानीका ‘बाहिरिया’ ले भोग्ने साझा संकटभन्दा खास गहिरो छैन । अनि, पैसा पाउनसाथ डान्सबार दौडने, सम्पत्तिका हरणका लागि युवतीको प्रयोग गर्ने, क्यासिनोमा घरबार सक्ने, अपराधमा गरिब आफन्त संलग्न गराउने, अवैध धन्दामा संलग्नहरुले एकअर्कालाई सिध्याउन खोज्ने दृश्यहरु उस्तै रंगरोगनमा कति हेर्नु ? न मूलकथा ताजा छ, न त त्यसभित्रका उपकथा र पात्रहरु नै ।
कतिपय दृश्य र संवाद हाँसो पैदा गर्न सक्षम छन् । प्राय: दृश्यको पिँधमा हँसाउने नियत छ । मुख्य तीन पात्रमध्ये किशोरले कम ‘स्पेस’ पाएको छ तर उसको आनीबानीले ध्यान तान्छ । आफ्नी प्रेमिकालाई केटा माग्न आउँदा चिया बोकेर जाने दृश्य हसाँउनकै खातिर राखिएको छ, यसले उसको प्रेम र पात्रलाई निम्छरो बनाउँछ । तर हास्यपरक र चोटिला संवाद, दृश्यअनुरुप लोकेसन, पात्रको रहनसहनजस्ता पक्षमा ध्यान पुर्याइएको छ । ध्रुव कोइरालाको हुलिया, व्यवहार र बोल्ने शैली हुबहु आम भिलेनभन्दा रत्तिभर अलग छैन । माछा माछाको वजन गिराउन भूमिका खेलेको छ, पाश्र्वसंगीतले । यति कर्कश र लाउड छ कि दृश्यको भावलाई भताभुंग पारिदिन्छ । जबकि दृश्य कमजोर भएपछि त्यसलाई ढाकछोप गर्न ध्वनिको सहारा लिएको प्रतीत हुन्छ ।
अलि गहिरिएर हेर्दा ठ्याक्कै मेसो पाइन्छ, लुट २ र यस फिल्ममा प्रवीण खतिवडाको भूमिका करिब उही हो । लुट २ की एलिसा राईचाहिँ यसकी सरिता गरी अनि नम्रता श्रेष्ठचाहिँ लुटकी ऋचा शर्माझैँ । किशोरमा धमालका जावेद जाफ्रीको झल्को मिल्छ । सौगात मल्लको फिल्म छनोट र अभिनय केही वर्षयता प्रत्युत्पादक बनिरहेको छ तर यसपटक पनि पटकथामा उपलब्ध दायराभित्र चरित्र जीवन्त बनाउन चुकेका छन् । यसो पनि भन्न सकिन्छ, यही स्तरको फिल्म, चरित्र र अभिनयले सौगातप्रतिको अपेक्षा पूरा हुन्न ।
भूमिका सशक्त नभएझैँ विजय बरालको अभिनय विशेष लाग्दैन, औसत मात्र हो । अनोज पाण्डेको प्रस्तुति यही कोटीमा पर्छ । फिल्मकी ‘एक्ली हिरोइन’ भए पनि नम्रता श्रेष्ठको भूमिका असाध्यै खुम्चाइएको छ । प्रवीण खतिवडा, भोलाराज सापकोटा, सरिता गिरीजस्ता सहायक कलाकार आफ्नो भूमिकामा फिट नै छन् । पहिलो प्रयास भए पनि निर्देशक सुनील गुरुङप्रति सहानुभुति राख्न सकिन्न । कारण, यसमा सुनीलको ‘आफ्नोपन’ छँदै छैन । दयाहाङ राई र रामबाबु गुरुङले यस्तो ‘बासी प्याकेज’ मा किन लगानी गरे ? उदेक लाग्छ ।
नाम माछा माछा भए पनि खासमा यो ‘माछा माछा भ्यागुता’ नै हो । थोरै मात्र सिनेचेत भएका र नवीन खुराक खोज्नेलाई यसले रत्याउन सक्दैन । हल्काफुल्का कमेडीमै रमाउनेले चाहिँ हेर्दा हुन्छ ।
फिल्म : माछा माछा
निर्देशक : सुनील गुरुङ
विधा : क्राइम–कमेडी
समय : २ घन्टा ५ मिनेट
कलाकारहरू : सौगात मल्ल, विजय बराल, अनोज पान्डे, नम्रता श्रेष्ठ आदि ।
रेटिङ : १.५/५
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...