पढ्नुहोस्, ‘मर्दानी २’ को समीक्षा
दिमागबाट नहराउने फिल्म हो, मर्दानी २ । बलात्कारमाथि कैयौँ फिल्म बने तर यो अलग र विशेष छ ।
हैदरावादमा प्रियंका रेड्डीका चार बलात्कारीलाई प्रहरीले इकाउन्टर गरेपछि भारतभर दुई धार स्पष्ट देखियो । एकथरीले बलात्कारी बाँच्न लायक नहुने र अदालती प्रक्रिया लम्बेतान हुने भएकाले गोली ठोक्नु उचित भन्दै प्रशंसा गरे । अर्काथरीले अदालतले अपराधी नठराई प्रहरीले मार्नु लोकतान्त्रिक मुलुकका लागि धब्बा भन्दै चर्को विरोध गरे । समाजको ठूलो तप्काचाहिँ प्रहरीकै पक्षमा छ किनभने बलात्कारका घटनाले समाजमा आतंक मच्चाइरहेको छ । बलात्कारको यो डरलाग्दो नियतिलाई बरोबर पर्दामा उतारिन्छ । मर्दानी २ पछिल्लो उदाहरण हो । निर्देशक/लेखक हुन्, गोपी पुथरन । पाँच वर्षअगाडि प्रदर्शित मर्दानीको सिक्वेल हो यो । मुख्य भूमिकामा रानी मुर्खजी नै छिन् ।
बलात्कार एक व्यक्ति वा निश्चित समूहले गर्छ तर त्यसमा पूरा समाज कसरी जोडिन्छ ? मर्दानी २ मा त्यसको झल्को पाइन्छ । निर्देशक पुथरनले महिला प्रहरी अधिकृत र खुंखार यौन अपराधीलाई केन्द्रमा राखेका छन् । विषय र पात्रचयनसँगै कसिलो कथावाचनले दर्शकलाई पूरापूर बाँध्छ ।
राजस्थानको कोटा सहरमा एसपी शिवानी शिवाजी रोय (रानी मुखर्जी) र बलाकारी–हत्यारा सन्नी (विशाल जेठ्वा) को प्रवेश करिब एकै समयमा हुन्छ । सन्नीले अपरिचित युवतीलाई आफ्नो जालमा फसाएर बलात्कारपछि निर्मम हत्या गर्छन् । एकपछि अर्को छात्राको हत्या भएपछि कोटा त्रसित हुन्छ । सन्नीले एसपी शिवानीसमेत आफूलाई पक्डन चुनौती दिन्छन् । शिवानी पूरा पुलिस फोर्स लगाएर अपराधी समात्न लागिपर्छिन् तर सन्नी यति ‘स्मार्ट’ छ कि प्रहरीलाई छक्काइदिन्छ । तर कहिलेसम्म ? क्लाइमेक्स अतिरञ्जित होइन, सार्थक छ ।
पहिलो दृश्यबाटै सन्नीको चरित्र स्थापित गर्दै मूलकथामा प्रवेश गरिएको छ । लुथरन कुनै सस्पेन्स राख्दैनन्, खुरुखुरु कथा भन्दै जान्छन् तर पात्रको समीकरण र प्रवृत्ति रोचक भएकाले फिल्मप्रतिको आकर्षण बढ्दै जान्छ । यो फिल्मको मेरुदण्ड भनेकै सन्नीको चरित्र र पफर्मेन्स हो । उनका सबै अपराधबारे दर्शक जानकार हुन्छन्, घृणा र डर पैदा हुन्छ तर यति नयाँ–नयाँ शैली अपनाउँछन् कि बेवास्ता गर्नै सकिन्न । हाम्रो सामाजिक बनोटले सन्नीजस्ता पात्र जन्माइरहेको छ किनभने उसलाई संरक्षण गर्ने र सहरमा आमन्त्रण गर्ने अरु कोही नभएर स्थानीय नेता हुन्छन् । राजनीतिक स्वार्थपूर्तिका लागि नेताले अपराधी जन्माउने, पोस्ने र आखिरमा आफैँलाई घातक हुने तीतो–सत्यको प्रतिनिधि हो, सन्नी ।
बलात्कारको घटना भएकाले एसपी शिवानी अझ मर्माहत हुन्छिन् तर अपराधी समात्न उनले प्रहरी संगठनभित्रबाट साथ पाउँदिनन्, उनीभन्दा कनिष्ठ अधिकृतले समेत हेप्छन्, टेर्दैनन् । कारण, उनी महिला हुन् । बाहिर जति समानताको ढोल पिटे पनि उच्च ओहोदा आसिन पुरुषलाई महिलाको निर्देशन मान्न कथित ‘इगो’ ले दिँदैन । खासमा बलात्कारको अन्तर्यमा महिलामाथिको यही बदला, प्रतिशोध र अपमान लुकेको हुन्छ, न कि यौन आशक्ति र कुन्ठा । सन्नीको पृष्ठभूमि, पुरुष प्रहरी अधिकृत र नेतामार्फत यो तीतो–सत्यलाई प्रस्ट्याइएको छ । सन्नीको पागलपन र आवेगपूर्ण हर्कतले दर्शकलाई समेत त्रसित बनाउँछ ।
समाजझैँ सिनेमामा पनि महिला पात्र कमजोर छन् । पुरुषको बाहुबलीपना देखाउन कि महिलालाई प्रयोग गरिएको हुन्छ कि सौन्दर्य साधनामा सीमित गरिन्छ । यो विद्यमान कथनविपरीत छ, मर्दानी २ । आफ्नै क्षमताले सहरकी प्रहरी प्रमुख बनेकी महिला छिन्, जसले दर्जनौँ गुण्डालाई ढालेर होइन, एकदमै व्यावहारिक र कानुनसम्मत ढंगले अपराधीलाई समात्छिन् । अर्थात्, वास्तविक जीवनमा अनुसरण गर्न योग्य नायक । आफूमाथिको विभेदलाई गलत साबित गर्न उनी निर्भीक लाग्छिन् । यस हिसाबले पनि फिल्म प्रशंसनीय छ । तर सुरुआतबाटै मिडियाको प्रयोगले चाहिँ केन्द्रीय कथाको बेगलाई बिथोल्छ । झन् फिल्मको अन्त्यभन्दा केही अगाडि शिवानीको टेलिभिजन अन्तर्वार्ता त बेकामे छ । दृश्यमार्फत व्यक्त गरिसकेको महिला सशक्तीकरणको सन्देशमाथि विश्वास नभएर निर्देशकले बासी संवाद प्रयोग गरेको देखिन्छ । त्यस्तै, नेतासामु प्रहरीलाई ज्यादै निरीह बनाइएको छ ।
सक्षम प्रहरी अधिकृतका रुपमा रानी मुखर्जी जीवन्त लाग्छिन् । यस्तै भूमिकाले हो, कलाकारलाई लामो आयु दिने । ग्ल्यामर, गीत, मारधाड एक्सनबिनै उनको चरित्रले मन जित्छ । रानीलाई बलशाली बनाउन विशाल जेठ्वाको भूमिका अपरिहार्य छ । विशालको यो डेब्यु फिल्म हो । पहिलो फिल्ममै यति सशक्त चरित्र पाउनु र त्यसलाई विश्वसनीय बनाउनुले उनको भविष्य उज्यालो देखिन्छ । उनी भिलेनको परम्परागत मानकमा अटाउँदैनन् ।
खासमा कथाका लागि उनी ‘भिलेन’ हुन् भने फिल्मको ‘हिरो’ । रानी र विशालको गज्जबको रसायन नै फिल्मको वजन बढाएको छ । सामान्य कथालाई असामान्य ढंगले पस्केका निर्देशक पुथरन प्रशंसाका बलिया हकदार हुन् ।
दिमागबाट नहराउने फिल्म हो, मर्दानी २ । बलात्कारमाथि कैयौँ फिल्म बने तर यो अलग र विशेष छ ।
फिल्म : मर्दानी २
निर्देशक/लेखक : गोपी पुथरन
कलाकार : रानी मुखर्जी, विशाल जेठ्वा
जनरा : एक्सन–थ्रीलर
समय : १ घन्टा ४५ मिनेट ।
रेटिङ : ३.५/५
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...