पढ्नुहोस्, गुड न्युजको समीक्षा
अक्षयकुमारका फ्यान मात्र होइन, ‘इन्फोटेन्मेन्ट’ फिल्मपारखी जोकोहीलाई गुड न्युजले दंग बनाउँछ ।
हामीकहाँजस्तै भारतमा पनि सिनेमा र समाजको दूरी बढिरहेको छ । राष्ट्रवादको अतिरञ्जित चित्रण र बकम्फुसे कमेडी फिल्मको बाहुल्य छ, बलिउडमा । कोही सस्तो मनोरञ्जनलाई नै सर्वथा मानिरहेका छन् । त्यसैले सिनेमाको मूल चरित्रको अस्तित्वमाथि नै सवाल खडा भएको छ । तर कहिलेकाहीँ यस्ता सिनेमा पनि बन्छन्, जसले सामाजिक प्रवृत्तिलाई रोचक शैलीमा पेस गर्छन् । गुड न्युज यही लहरमा उभिएको छ । यसको केन्द्रमा छन्, सन्तान नभएर तड्पिएका दुई दम्पती । निर्देशक हुन्, राज मेहता । हाउसफुल ४ बाट आलोचित अक्षयकुमार फेरि स्वाभाविक कमेडीतिरै फर्किएका छन् ।
वरुण वत्रा (अक्षयकुमार) र दीप्ति वत्रा (करिना कपुर खान) ले करिअरलाई प्राथमिकतामा राखेका छन् । उमेर ढल्किएपछि दीप्ति आमा बन्न लालायित छिन् तर गर्भ बस्दैन । आफन्तले पनि बच्चा जन्माउन दबाब दिएपछि अस्पताल पुग्छन् । यस्तै समस्याबाट पिल्सिएको अर्को वत्रा दम्पती हन्नी (दिल्जित दोसाँज) र मोनिका (कियरा आडवानी) पनि सोही अस्पताल पुग्छन् । चिकित्सकको गल्तीका कारण वरुण र हन्नीको वीर्य साटिन्छ । अर्थात्, वरुणको वीर्यले मोनिका गर्भवती हुन्छिन्, हन्नीको वीर्यले दीप्ति । अपरिचित र फरक पृष्ठभूमिका यी दुई जोडीको प्रेम, घृणा र आक्रोशसँगै फिल्म अगाडि बढ्छ ।
गुड न्युज किन पनि विशेष लाग्छ भने पर्दामा यस्ता पात्र र कथा देखिएको थिएन । तर ती पात्रजस्तै सन्तान नभएर छटपटिएकाहरु समाजमा धेरै छन्, यसले फिल्मप्रति आत्मीयता पैदा गर्छ । यसका कथाकार ज्योति कपुरले गर्भावस्थामाथि बधाई हो लेखेका थिए । छोराको बिहे गर्ने बेला गर्भवती भएकी आमा मुख्य भूमिकामा थिइन् । बधाई होले नाम र दाम मनग्ये कमायो । गुड न्युजले पनि त्यही सामथ्र्य राख्छ । अक्षयकुमार, करिनाको स्टारडमको बोझले यसको कथा थिचिएको छैन । निर्देशक मेहताले दैनिक जीवनका स–साना उल्झनलाई रसिलो शैलीमा मूलकथामा बुनेका छन् ।
तीव्र सहरीकरण र करिअर बनाउने लहडले पारिवारिक संरचनामाथि नकारात्मक प्रभाव पारेको छ । विवाह ढिला हुन्छ, बच्चा जन्माउन अझ ढिला । अनि, चाहँदा–चाहँदै गर्भ बस्दैन, पतिपत्नीको स्वास्थ्यमा खराबी देखिन्छ । यसले उनीहरुमा मनमुटाव उकास्न भूमिका खेल्छ ।
यस्तै दम्पतीलाई लक्षित गर्दै अनेक प्रविधि आविष्कार भएका छन्, अस्पताल खुलेका छन् तर त्यहाँ संवेदनशीलता हुन्न, व्यापार चम्काउने एकोहोरो होड हुन्छ । यसले फेरि पनि दम्पतीकै सपनामाथि लात मार्छ । गुड न्युजमा यही तीतो–सामाजिक परिवेशलाई विश्वसनीय ढंगले चित्रण गरिएको छ । परिस्थितिजन्य कमेडीले सुगन्ध थपेको छ । हाँस्दा–हाँस्दा रुने र रुँदा–रुँदै हाँस्नुपर्ने दृश्य पनि सिर्जेका छन्, निर्देशकले ।
तुलनात्मक रुपमा मध्यान्तरअघि रमाइलो छ, सन्तान जन्माउन पात्रले गर्ने दौडधुप स्वाभाविक लाग्छ । तर वरुण र दीप्तिको जोडीको झगडालाई अनावश्यक महत्त्व दिइएको छ । उनीहरुबीचको टकराव प्रस्ट भइसक्दा पनि उस्तै आशयका दृश्य दोहोर्याइन्छ । यही जोडी नाचेको दुई गीतले कथाको वहाब बिगार्छ । हन्नी–मोनिकाको प्रवेशले रोचकता थप्छ, दुईमध्ये दर्शकलाई यो जोडी प्रिय लाग्छ । जति आधुनिक र उदार भए पनि वंशको निरन्तरताका लागि हामी कति मरिहत्ते गर्छौं भन्ने दृष्टान्त हो, यो फिल्म । यसमा व्यक्तिविशेषभन्दा परिवार र समाजकै सोचले काम गरेको हुन्छ । त्यसैले आफ्नो शरीर दाउमा राखेरै सन्तान जन्माउन विवश हुन्छन्, महिला ।
गुड न्युजमा हरेक पात्र ‘कमेडी टाइमिङ’ मा विशिष्ट लाग्छन् । अक्षयकुमार आकषर्णको अग्रभागमा भइहाले । उनको पात्र अलि सन्काहा छ । विषयवस्तु चयनमा उनी आम अभिनेताभन्दा अब्बल देखिँदै छन् । यो फिल्मले उनको लोकप्रियता अझ बढाउनेछ । आमा बन्न नपाउँदाको बेचैनीलाई करिनाले जीवन्त शैलीमा अभिव्यक्त गरेकी छन् । उमेर सुहाउँदो यस्तै भूमिकाले हो, कलाकारलाई जीवन्त बनाउने । दिल्जितचाहिँ फिल्मको सबैभन्दा बिन्दास पात्र हुन् । कियरासँगको उनको ‘केमेस्ट्री’ गजबकै छ । कियराको निर्दोषपना उत्तिकै प्रिय लाग्छ । पहिलो फिल्म नै निर्देशक राज मेहताले सानदार बनाएका छन् । उनीसँग थप सार्थक सिनेमाको अपेक्षा राख्न सकिन्छ ।
अक्षयकुमारका फ्यान मात्र होइन, ‘इन्फोटेन्मेन्ट’ फिल्मपारखी जोकोहीलाई गुड न्युजले दंग बनाउँछ ।
फिल्म : गुड न्युज
निर्देशक : राज मेहता
कलाकारहरु : अक्षयकुमार, करिना कपुर खान, दिल्जित दोसाँझ, कियरा आडवानी आदि ।
विधा : कमेडी–ड्रामा
समय : २ घन्टा १२ मिनेट
रेटिङ : ३/५
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...