क्यानभासमा जीवनका रङ
भूकम्पले निम्त्याएको पीडा र बेचैनी क्यानभासमा पोख्ने कलाकार

मानव जीवनका सुख र दु:खलाई कलात्मक रुपमा उधिनिरहेका छन्, कलाकार जयशंकरसन श्रेष्ठ । ठमेलस्थित दलाई–ला आर्ट स्पेसमा जारी उनको ‘अन्त्यहीन यात्रा’ शीर्षक एकल प्रदर्शनी क्यानभासमा फरक तरिकाले जीवन हेर्ने आँखीझ् याल बनेको छ । उनका क्यानभासमा कुमालेको चक्रजस्तै घुमिरहने जीवनका रङ पोखिएका छन् ।
काठमाडौँको साँखुमा जन्मेहुर्केका श्रेष्ठ अरुजस्तै ०७२ को भूकम्पबाट मानसिक रुपमा विक्षिप्त भए । भर्खर नयाँ घर किनेका उनका छिमेकी सपरिवार उक्त घरभित्रै भूकम्पको सिकार भए । धेरैका घर भत्किए । आफ्नै घरमा पनि क्षति पुग्यो । त्यही बेचैनी उनले क्यानभासमा पोखे ।
साँखु आसपासका विषय उनका चित्रको मुख्य ‘थिम’ बनेका छन् । भत्किएका घर, सम्पदा तथा सांस्कृतिक धरोहरसँगै जीवनका सानाठूला आरोहअवरोह चित्रमा कोरिएका छन् । “दु:ख मलाई मात्र पर्ने होइन तर सधैँ दु:ख पनि हुँदैन,” उनी चित्रका अर्थ बुझाउँछन्, “प्रकृति, संस्कृति, जीवन र जगत् अन्त्यहीन छ ।”