मन्त्री खुसी पार्न पत्रकारको हुर्मत
मन्त्री रिसाए भन्ने भयले मिडिया र पत्रकारलाई दोष दिनुअघि ऐनामा आफ्नै अनुहार हेर्ने कि ?
‘झलक सुवेदीले तिम्रोबारे के–के लेख्या छन्, पढ्यौ ?’ एक सहकर्मीले सोध्दा मैले खासै चासो दिइनँ । सोचेँ, सुवेदीले फेसबुकतिर मैले लेखेका फिचर/समाचारमा चित्त नबुझेका कुरा लेखे होलान् । भोलिपल्ट म्यासेन्जरमा नयाँपेजडटकमको एउटा लिंक आयो । ‘नदुखेको कपालमा डोरी लगाएपछि’ शीर्षकमा सुवेदीकै लेख रहेछ । सरर स्क्रोल गरेँ, मेरो नाम जोडेर हुँदै नभएको कुरा लेखिएको रहेछ ।
यसको पृष्ठभूमि छ । योगेश भट्टराईलाई भिजन भएको नेता मानिएको थियो । त्यसैले पर्यटनमन्त्री नियुक्त हुँदा पार्टीइतरबाट पनि बधाई र शुभकामना मिल्यो । आश गरिएका मन्त्रीमा दर्ज भए तर पदमा पुगेपछि उनको कार्यशैली र व्यवहार बदलियो । पशुपतिनाथमा राष्ट्रिय गान बजाउने निर्णय गरे, नेपालगन्जमा बुद्ध एयरको विमान उनकै कारण १५ मिनेट ढिला भयो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको शौचालय फोहोर रहेछ भन्ने विदेशीलाई भट्टराईले रुखो भाषामा झपारे । नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन र्यालीका लागि डढेलोले आक्रान्त अस्ट्रेलिया पुग्दा स्थानीय सुरक्षाकर्मीले रोके । भट्टराई एकपछि अर्को लफडामा फसेपछि मैले वाम विश्लेषकका रुपमा चिनिएका सुवेदीलाई प्रतिक्रियाका लागि फोन गरेको थिएँ ।
त्यो फिचर २४ पुसमा नेपाल म्यागजिनको अनलाइन संस्करणमा प्रकाशित भयो । सुवेदीको कुनै प्रतिक्रिया आएन । तर नयाँपेजमा एकैचोटि २ फागुनमा आएर सुवेदीले प्रयोग गरेको शब्द र शैलीबाट म झसंग भएँ । उनले ‘मेरो भनाइ उल्टो अर्थ लाग्ने गरी भाँचकुँच पारी राखिएको,’ ‘गैरजिम्मेवारीपूर्ण ढंगले स्रोतलाई उडाउन खोजेको’ ‘मेरो भनाइ छेडखानी गर्ने’ जस्ता आरोप लगाएका छन् ।
कहिल्यै प्रत्यक्ष नभेटे पनि लेखहरु पढेकाले सुवेदी मलाई मन पथ्र्यो । उनीसँगको बातचित टिपेको डायरी पल्टाउँदा फिचरका शब्दमा खासै अन्तर भेटिनँ । उनले भनेजस्तो १९ होइन, २४ पुसमा हाम्रो कुरा भएको थियो । ल्यान्डलाइनबाट कल गरेकाले मैले रेकर्डचाहिँ गर्न पाइनँ । डायरीमा टिपेको कुरा उनलाई दोहोर्याएर सुनाएको थिएँ । सुवेदीले ‘उनले यस्तो ठानेका रहेछन्’ भनेर लेखेको आरोप लगाएका छन् तर त्यस्ता शब्द लेखिएकै छैन, न त उनलाई उडाउने र छेडखानी गरेका शब्द छन् ।
आफूबाट गल्ती नभएको निधो भएपछि उनलाई फोन गरेँ । सुरुमा उनको भनाइ समेटिएको अनुच्छेद अक्षरश: पढेर सुनाएँ । अनि सोधेँ, ‘यसमा केही समस्या छ ?’
‘छैन,’ उनले भने ।
‘अनि किन त्यस्तो लेख्नुभयो त ?’ फेरि सोधेँ ।
‘त्योभन्दा तल्लो अनुच्छेद पढ्नुस्,’ उनले भने ।
जम्मा त्यही एउटा अनुच्छेद थियो, उनीबारे लेखिएको । उनलाई पत्रिकामा छापिएको शंका लाग्ला भनेर अनलाइनमा मात्र आएको जानकारी गराएँ । त्यसपछि उनी एकछिन मौन भए र भने, ‘मलाई लिंक पठाइदिनुस्, फोन गरिहाल्छु ।’
मैले लिंक म्यासेज गरिदिएँ । आधा घन्टा बित्दा पनि फोन आएन । म्यासेज गरेँ, ‘पढ्नुभयो ?’ जवाफ आएन । एकछिनपछि फेरि म्यासेज गरेँ, ‘त्यहाँ केही गल्ती छ ?’ बल्ल जवाफ आयो, ‘फेरि डिटेल पढ्ने मौका दिनुभएकामा धन्यवाद । ...पछिल्लो वाक्यको रहेछन् भन्ने शब्दचाहिँ पटक्कै मिलेन भन्ने लाग्छ ।’ यही म्यासेजमा पनि उनले गलत लेखेका छन् । उनले भनेजस्तो पछिल्लो वाक्यमा ‘रहेछन्’ होइन, ‘रहेनछ’ छ । लेखमा उनले मैले गोकर्णसँग सारमा यस्तो भनेको थिएँ भनेर जे उल्लेख गरेका छन्, मेरो फिचरमा त्यही लेखिएको छ ।
अब सुवेदीले सामग्री प्रकाशित भएको एक महिनापछि यसरी किन दोहोरो कुरा गरे भन्ने सवाल अवश्य उठ्छ । त्यसको जवाफचाहिँ उनको सोही लेखमा छ । मन्त्रीले भेटमा ‘यी दाइ पनि मलाई सहयोग गर्छु भन्नु छैन, अनेक वलि सुझाव मात्र दिँदा रहेछन् भनेर ठट्यौली शैलीमा गुनासो गरे’ भनेर लेखेका छन् ।
अर्थात्, सुवेदीले त्यो लेख मन्त्रीलाई खुसी बनाउन नै लेखिएको प्रस्ट हुन्छ । त्यसमाथि उक्त अनलाइन मन्त्री निकट नै मानिन्छ । मन्त्री रिसाए भन्ने भयले मिडिया र पत्रकारलाई दोष थोपर्दै सुवेदीले बोली फेरे भन्नेमा सन्देह छैन ।
लेखमा सुवेदीले ‘नेपालका आमसञ्चार गृहहरुले पक्षपातपूर्ण व्यवहार गर्ने र आफ्नो स्वार्थ वा मतलाई विश्वसनीय बनाउन अरुको हुर्मत लिने’ बताएका छन् । यो कुरा त उनले ऐनाअगाडि बसेर आफैँलाई सोध्नुपर्ने होइन ?
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...