कपालमा अल्झिएका प्रेमीहरू
विद्रोह गर्नुपर्छ भनेर सिकाउने अनि विद्रोह गर्यो भने कित्ता निर्धारण गर्ने आम पुरुष प्रवृत्ति ।
विद्रोह गर्दैमा रातारात मान्छेहरूको मस्तिष्क र व्यवहार परिवर्तन हुने भए पो ? पढेका, बुझेका मान्छेहरू समानता र अधिकारका कुरा गर्छन् । असमान व्यवहार उनीहरू नै गर्छन् ।
‘बिहे गर्नुपर्यो । बूढी भइसकिस् ।’ मेरो ममीको बुबाको आमा । अर्थात्, मेरो हजुरबुबाको आमा । हामी उहाँलाई हजुरी भन्छौँ । उहाँ भिडियो कलमा मलाई कराउनुहुन्छ । कुनै कुनै बिहानहरू म राम्री भइनँ भन्ने सुनेरै बिताउनुपर्छ ।
‘यसको बिहे गरेको देखेर मर्न पाए भन्देखुन् । मैले आनन्दले स्वर्गमा बास पाउने थिएँ ।’
उहाँको कुरा पनि ठीकै हो । आठ वर्षको उमेरमै विवाह गर्नुभएकी उहाँ चालीस वर्ष नकट्दै एक्लै पर्नुभयो । उहाँले छोरैछोरा जन्माउनुभएको थियो । छोरीछोरी जन्माउनुभएको भए ? क–कसले, के–के भन्थे होलान् ? कल्पना गर्दा पनि नौ नाडी गलेर आउँछ ।
उहाँको हेरी मेरो विवाहको कुरा नचल्नु शुभ संकेत पनि होइन । एसएलसी सकिएपछि बिहे भइहाल्नुपर्ने थियो । तर भएन । यो कुरामा मलाई पनि पछुतो लाग्छ ।
त्यतिबेला बिहे भएर लगत्तै बच्चा पाइहालेको भए सात वर्षको भइसक्ने थियो । अनि, अर्को बच्चा तीन वर्षको हुने थियो । कहिलेकाहीँ नपाएको बच्चाको कल्पनामा हराउँछु । कहिले नभएको पतिको कल्पनामा हराउँछु ।
अहिले यो लकडाउनमा म किचेन, करेसाबारी, बच्चा, सासूससुरा, पति, देवर सम्हाल्दै बस्ने थिएँ । फेसबुक चलाउन जानेको भए पनि फुर्सद हुने थिएन । भान्साको काममा म यो समयसम्म निपुण बनिसकेकी हुन्थेँ । सासूससुरालाई के मन पर्छ ? के पर्दैन ? बूढाका साथीभाइहरू घरमा आउँदा कसरी भान्साबाट बैठक कोठामा खानेकुरा पुर्याउँदा आफूले लगाएको कुर्ताले सपक्क छाती छोप्नुपथ्र्यो भन्ने बुझिसक्ने थिएँ । धेरै परिपक्व भइसक्ने थिएँ ।
विवाह गर्नैपर्ने थियो, मैले ।
मेरो बुबाको आमाले बाह्र वर्षमा बिहे गर्नुभयो । कति मीठो खाना पकाउनुहुन्छ । भान्सा र करेसाबारीप्रतिको उहाँको मोहले म दंग पर्छु । मेरो बिहे पन्ध्रै वर्षमा भएको भए... ? ल भएन रे । अठार वर्ष कट्नेबित्तिकै गरिदिनु पर्थेन ? बिहे गर्न मन लाग्यो भन्ने उमेर भएपछि भन्लान् अनि गरिदिउँला भनेर कुरेर बसेर हुन्छ ?
बिहे गर्न मन भयो भन्न सक्नेले गर्न मन छैन भन्न पनि सक्छन् । किन यति नबुझेका होलान् । मेरा धेरै साथीहरूको दस कक्षा अगाडि, त्यसपछि बचेका साथीहरू बाह्र सक्नुअघि र त्यसपछि बचेका साथीहरू ब्याचलर सक्नुअगावै बिहे गरे ।
यो पनि पढ्नुस
विद्रोह गर्नुपर्छ भनेर सिकाउने अनि विद्रोह गर्यो भने कित्ता निर्धारण गर्ने आम पुरुष प्रवृत्ति ।
ज–जसले ब्याचलर सकाए, उनीहरू मास्टर्स सकाएर गर्छु भन्दै छन् । मास्टर्स पढ्दापढ्दै बिहे गरेनन् भने तिनीहरूको बिहे कहिल्यै हुनेवाला छैन । मास्टर्स सकाएर जागिर या व्यापार, व्यवसायको चक्करमा फस्छन् । फेरि त्यहाँबाट नाफाघाटामा चल्न थाल्छ, जिन्दगी । त्यतिन्जेल मात्तिएर हिँडेका मेरा केटी साथीहरूलाई विवाहले बाँध्न कहिल्यै सक्ने छैन ।
साथीहरू, बिहे गर्ने भए गरिहाल्नु है ?
‘विवाह कसरी हुन्छ ? यसका लागि के–के चाहिन्छ ? एउटी छोरी मान्छे कस्तो बन्नुपर्छ ?’ यस्तो जिज्ञासा पनि मनमा उठ्न सक्छ । यो पूरै पढिसक्दा तपाईंले यसको उत्तर पनि पाइसक्नुहुन्छ ।
तपाईं गोरी हुनुहुन्छ भने राम्रै भयो । सेतो छालाले विवाह गर्नका लागि मद्दत पुर्याउँछ । काली अथवा गहुँगोरी हुनुहुन्छ भने पनि केही छैन । गोरो बन्नका लागि अनेक उपाय छन् । ब्युटिपार्लर सहरदेखि गाउँगाउँसम्म त्यसै फस्टाएको छैन । गोरो छालाप्रतिको हाम्रो आकर्षणको परिणाम हो, त्यो । त्यसैको आडमा कति व्यवसाय चलेका छन् । हाम्रो कालो छालाप्रति आकर्षण हुन्थ्यो भने प्रयोगशालामा वैज्ञानिकहरू मान्छेको छाला कसरी कालो बनाउन सकिन्छ भनेर प्रयोग गरिरहेका भेटिन्थे । छालामा हुने मेलानिन तत्त्वलाई अझै बढाएर कसरी कालो बनाउन सकिन्छ भन्ने खोजमा हुने थियो । यो कुरा छाडिदिऊँ ।
‘हामी जे छौँ, त्यहीँ देखाएर किन हिँड्न सक्दैनौँ ? तपाईं मात्रै होइन, म पनि त्यस्तै छु । त्यसरी आफ्नो प्राकृतिक चमक छोपेर कृत्रिमताको चमकमा किन चम्किन खोजिरहेछौँ हामी ?’ अहँ, यस्तो प्रश्न झुक्केर पनि नगर्नू । समाज जेको पछि लाग्छ, हामीले त्यसैलाई पछ्याउनुपर्छ । बुझ्नुभयो नि ? बिहे गर्ने सम्भावित उम्मेदवार पो हो त तपाईं ।
विवाहका लागि सबभन्दा पहिलो सर्त हो, प्रश्न नगर्नु । जे भए पनि आफ्नो भाग्य सम्झेर स्वीकार्नु ।
‘अबदेखि कपाल नकाट् । नाकमा फुली लगा । निधारमा रातो टीका लगा । आँखामा गाजल लगा । ओँठमा के–के जाती पाउँछ, अहिले । त्यो लाली पनि लगा । कानमा अहिले सुनको टप नलगाए पनि बजारिया टप लगाए हुन्छ । तर यसरी बुच्चै नभ् । घाँटीमा सिक्री लगा । सुनको सिक्री बिहे गर्दा किनिदिम्ला । अहिले चाँदीको बनाएरै भए पनि लगा । कपाल लामो बनाएर सर्लक्क बाँध । अगाडि झार्न मन भए थोरै निकाल्नू । अरू सबै सर्लक्क बाँध्नू । बुझिस् नि ?’ हजुरीले यसो भनिन्जेल म सुनेरै बसिरहेकी थिएँ । उहाँको कुरा एकदम ठीक हो ।
अनुहार ऐनामा हेरेको, आफैँलाई विरक्त लागेर आयो ।
‘अनुहारमा दल्ने क्रिम पनि पाउँछ । त्यो पनि लगाउनू । यो मंसिरसम्ममा तेरो बिहे गर्नुपर्छ । यसरी बूढी भएर बसेर हुन्छ ? बूढीकन्या भएरै मर्न मन छ ? यसरी बसेर कहिल्यै मोटाइँदैन । सधैँ यस्तै ख्याउटी हुन्छेस् ?’ हजुरीको कुराले लामो सास लिन्छु । उहाँले आफूले जिन्दगीभर जानेको सुन्दरताको परिभाषा सिकाउँदै हुनुहुन्थ्यो । के नराम्रो भयो र ?
‘जति चिटिक्क पर्छेस्, उति राम्रो केटा पाउँछेस् ।’ उहाँको यो कुराले मन झनै रोमान्चित हुन्छ । केटीको विवाहका लागि पहिलो मापदण्ड भनेकै उसको रूप हो । सुन्दरता हो । त्यसपछि बल्ल अरू कुरा आउँछ ।
केटाहरूलाई पनि तनावै छ । राम्रो कमाउने नभइन्जेल बिहे गर्दैनन् । आफूले मन पराएकी केटीले त्यतिबेलासम्म बिहे गरिसकेकी हुन्छे । आ–आफ्नै अप्ठेराहरू...
‘तँ जत्तिकी राम्री नातिनी मेरा छैनन् । तर तेरो पारा भएन । खाली वैराग बनेर हुन्छ ? कति चिटिक्क बन्नुपर्छ, बिहे गर्नका लागि ? पहेँलो लुगा तँलाई सुहाउँदैन । त्यो फिटिक्कै नलगाउनू । सकेसम्म राता, उज्याला कपडा लगाउनुपर्छ ।’
काला, खैरा रङहरूले मान्छेलाई कहाँ सुन्दर देखाउनु ? हजुरीको कुरा एकदम ठीक हो ।
‘हुन्छ हजुरी । म अब त्यसै गर्छु ।’ बिहानभर यस्तै कुरा गरेपछि मैले अन्तिममा सहमति जनाएँ । उहाँ धेरै खुसी हुनुभयो । हजुरबाले सम्झाउँदा–सम्झाउँदा थाकेर मलाई सुधार्ने जिम्मा हजुरीलाई दिनुभएको थियो । उहाँ राम्रोसँग सुन्न पनि सक्नु हुन्थेन । मैले कुरामा असहमति जनाएँ या सहमति भनेर सुनाउनका लागि हजुरबा हुनुहुन्थ्यो । हजुरबा पनि मेरो कुराले मख्ख पर्नुभयो ।
‘जति कुरा गरे पनि यस्तै हो । अब सधैँ राम्री भएर बस्नू । बुच्चै भएर होइन । म जतिबेला पनि फोन गर्न सक्छु । राम्री हुन मन लाग्दैन ? किन हो ? फोन गरेरै भन्नुपर्ने ? अब हामीले भनेको कुरा पनि मान्नुपर्यो । छट्पटाएर हिँड्ने होइन ।’
‘हुन्छ ।’ फोन राख्न पाउने खुसीले मैले मुस्कुराउँदै जवाफ दिएँ ।
‘तेरो हाँसो कति राम्रो हो । हाँसेको राम्रो देखिँदो रहेछ । खितिति नहाँस्नू । छोरा मुन्छे देखेसी शिर निहुराउनू । ठाडठाडै हेर्ने होइन । नभए संस्कार नभएकी भन्छन् ।’ हाँसोबारे आफूले जानेको गुह्य रहस्य खोल्नुभयो ।
भिडियो कल गरिसकेपछि मैले आफ्नो बिहेबारे धेरै बेर सोचेँ ।
‘बिहे गर्नू न दिदी । झन् खोजिदिने भन्नुभएको छ । मेरो पालामा त्यस्तो कसले भन्ला ?’ मेरो विवाहबारे चिन्ता गरेर टाउको दुखाउने र ज्यान सुकाउने हजुरबा, हजुरआमालाई के भन्नु ? उहाँहरूले भनेको नमानिरहनु ? मैले मान्नुपर्छ ।
मेरो प्लस टु पढ्दै बिहे भएको भए ? मेरो ब्याचलर नसकिँदै बिहे भएको भए ?
मलाई धम्की या लोभ देखाइदिएको भए, बिहे गरिसक्ने थिएँ । कहिलेकाहीँ आफैँसँग प्रश्न गरिबस्छु, विवाहको राजनीति नजान्दै बिहे भइसकेको भए ... । भान्सामै अल्झिएको भए... मसँग विवाह गर्ने पुरुष कति भाग्यमानी हुन्थ्यो । म उसका कुरा चुपचाप मान्थेँ । ऊ पनि मलाई माया गरेको नाममा घरका सारा कामधन्दाहरू जिम्मा लगाएर अफिसमा मस्त रहन्थ्यो । कहिलेकाहीँ अधिकार जताएर माग्ने सारी, गरगहनाका लागि उसले गर्ने अतिरिक्त मिहिनेत र कमाइमै म अल्मलिन्थेँ । उसले कमाएर पुर्याइदिने भएपछि मैले कमाइरहनु परेन । कति रमाइलो !
कहिलेकाहीँ आफैँसँग प्रश्न गरिबस्छु, विवाहको राजनीति नजान्दै बिहे भइसकेको भए ... । भान्सामै अल्झिएको भए... मसँग विवाह गर्ने पुरुष कति भाग्यमानी हुन्थ्यो । कहिलेकाहीँ अधिकार जताएर माग्ने सारी, गरगहनाका लागि उसले गर्ने अतिरिक्त मिहिनेत र कमाइमै म अल्मलिन्थेँ ।
उसले भनेजसरी शृंगारिएर बस्थेँ । ऊ कति बेला आउला र खाना खाउँला भनेर पर्खिबस्थेँ । जिन्दगी यस्तो पो हुन्छ । प्रीति यस्तो पो हुनुपर्छ त । जतिबेलै उसैको सम्झना । तरकारी पकाउन लाग्यो, उसलाई के मन पर्ला ? फेरि उसलाई मीठो लागेन भने ? हिजो ओछ्यानमा हुँदा मैले किन उसलाई इन्कार गरेँ हुँला ? त्यस्तो गर्नुहुन्न । आज ऊ आएपछि मीठो परिकारले उसको मन जित्छु । आखिर म उसैकी हुँ । उसलाई मन भएका बेला आफैँलाई तयार गर्न नसक्नु मेरै कमजोरी हो ।
‘ओछ्यानमा असन्तुष्ट पुरुषको नजर बाहिरतिर जान्छ । त्यहीँ भएर आफूलाई जहिल्यै समर्पित गर्नू । नाइँनास्ती नगर्नू ।’ हजुरीको कुरा सम्झिएर आत्मग्लानिले फतक्कै हुन्थेँ । कहिले बच्चाहरू हातमा खेलाउँदै महान् आमा बन्न सकेकामा मख्ख पर्थें । बच्चाहरूका लागि मैले आफूलाई समर्पित गरेकी छु । यिनीहरूका लागि दु:ख गरेको कुरा बुझ्लान् नि भन्दै मन बुझाउँथेँ ।
म मात्रै हो र ? सबैको वैवाहिक जीवन यस्तै त हो । बाहिरबाट हेर्दा चम्किलो, भित्र कालो । पीडा र छटपटीका आँसुहरू । अहँ, म यस्तो सोचेर पनि विद्रोह गर्दिनथेँ ।
‘पति भनेका भगवान् हुन् । पतिको सम्मान जहिल्यै गर्नू ।’ अरूहरूको अगाडि पतिका बारे कहिल्यै नराम्रो नबोल्नू । मलाई सिकाइएका स्कुलिङका कारण पनि आफ्नो कुरा सधैँ पटुकीमा पोको पारेर राख्थेँ । सहनशील बन्थेँ ।
म धेरै व्यावहारिक भइसक्ने थिएँ । प्रेम भनेर देखाउने पुरुषहरूको गुह्य रहस्य पनि बुझ्ने थिएँ । उनीहरूले कसरी प्रेमको नाममा आफ्नो अहंतालाई महत्त्व दिन्छन् भन्ने बुझ्ने थिएँ । म यी सबै कुराबाट अनविज्ञ छु । साँच्चै मैले किन विवाह गरिनँ ?
मेरा केही साथीहरू घर र अफिस भ्याएका छन् । कति जाँगरिला हुन् । तर उनीहरू मलाई फिटिक्कै मन पर्दैन । कस्तो दम्भ र उद्दण्ड स्वभावका छन् । यसो केही भइहाल्यो कि घरमा रडाको मच्याउँछन् । हाम्रा आमाहरूले पनि घर र खेतबारी भ्याएकै हुन् । कहिल्यै चर्को स्वर सुन्न पाइएन । बुबाप्रति सधैँ कृतज्ञ । सधैँ सम्मान । सधैँ प्रेम । उनीहरू भने आफ्नै श्रीमान्को खेदो खन्न बेर लगाउँदैनन् । तँभन्दा म के कम भनेर श्रीमान्सँग निहुँ खोज्छन् । डिभोर्सको धम्की दिन्छन् । कसले सिकायो, उनीहरूलाई यस्तो उद्दण्ड बन्न ? किन चुपचाप सहन सक्दैनन् ? तिनले आफ्ना बच्चालाई बुबाका बारे बताउनुपर्दा के भन्लान् ? त्यसले बच्चामा कस्तो छाप पर्ला, बुबाप्रति ?
आमाकै कारणले हामीले बुबालाई देवतासरी देख्यौँ । कहिल्यै नराम्रो गर्नै नसक्ने । गल्ती गर्नै नसक्ने अजीव प्राणी । हामी छोरीहरूका लागि पिता भनेका भगवान्सरह । त्यो सब आमाको कारण बाउले पाएको सम्मान थियो । आमाले बाउको कर्तुत खोल्न सक्थिन् तर कहिल्यै खोलिनन् । सधैँ राम्रा–राम्रा कुरा मात्रै सुनाइन् । बाउको डर मात्रै देखाइन् । बाउको हाउगुजीले गर्दा म आजसम्म उहाँसँग दोहोरो कुराकानी गर्न सक्दिनँ ।
बुबाले यसको बिहे फलानो केटासँग हुन्छ भनेर ममीमार्फत मलाई सुनाएको भए... मैले कसरी नाइँनास्ती गर्न सक्नु ? त्यसमाथि ममीले आँखाभरि आँसु पारेर बुबाले तेरो राम्रोका लागि भनेका हुन् । केटा खासाको छ भनिदिएको भए ... म आफ्नो घर भनेर लोग्नेको घर सम्हालिराख्थेँ । तीज र तिहारमा आउँदा ममीलाई सासूससुराको कुरा लगाउँथँे । तर पतिको कुरा कहिल्यै सुनाउँदिनथेँ । म बरु मेरा पिताजस्ता पति पाउने कर्म रहेनछ भन्दै धिक्कार्थें । यसरी म पनि हजुरीकै उमेरमा पुग्थेँ ।
मसँग सुनाउन केही थान अनुभवहरू हुने थिए । पुरुषहरूको मानसिक चित्रण र विवाहले ल्याएको आर्थिक सुरक्षाका पाटाहरू हुने थिए ।नभए बेलैमा पतिसँग अलग्याइएको अवस्थामा बच्चाहरू हुर्काउनका लागि गरेका संघर्षहरू हुने थिए । धेरै कुराहरू हुने थिए । विवाहले सबै कुरा दिएर कसरी आफ्नै जीवन पनि अरूमा समर्पित गरेर खुसी हुनुपर्छ भन्ने सिक्ने थिएँ ।
हजुरी सुनाउनका लागि मसँग केही छैन । तपाईंले मेरो विवाहको चिन्ता किन यति ढिलो गर्नुभएको ? बूढी भइसकेँ म । यी केही कुरा थाहा नपाउँदै मेरो विवाह हुनुपथ्र्यो । छोरा मान्छेले जे पनि गर्न सक्छन् । छोरी मान्छेले केही गर्न सक्दैनन् । धेरै भए, राम्री भएर सौन्दर्य प्रतियोगितामा भाग लिएर देश–विदेशका अवार्डहरू मात्रै पाउने हुन् । त्यसका लागि पनि भाग्य हुनुपर्यो । राम्रो अनुहार र मिलेको शरीर, मापदण्डअनुसारको उचाइ हुनुपर्यो । मेरो यस्तो भाग्य कहाँ ! पूर्वजन्ममा पापै गरिएको रहेछ । यो जन्ममा यस्तो कर्म भोगिएको छ । यस्तै भन्दै चित्त बुझाउनेवाला थिएँ । दाजुभाइ, बुबा, हजुरबुबा अनि बिहे गरेपछि बूढा, छोरा, ससुराको कुरा मान्ने थिएँ । उनीहरूले कोरिदिएको नियमको घेरा तोडेर बाहिर चियाउने आँट त परको कुरा । कल्पना पनि गर्न सक्ने थिइनँ ।
म साँच्चै मेरी आमाजस्ती किन भइनँ ? म मेरी हजुरीले भनेजस्तो ज्ञानी बन्न किन सकिनँ ?
मन त लाग्छ, म केही नबुझुँ । जति नबुझ्यो, उति राम्रो । त्यति सहज हुन्छ, जिन्दगी । बुझेर विद्रोह गर्दैमा रातारात मान्छेहरूको मस्तिष्क र व्यवहार परिवर्तन हुने भए पो ? पढेका, बुझेका मान्छेहरू समानता र अधिकारका कुरा गर्छन् । असमान व्यवहार उनीहरू नै गर्छन् । केही राम्रा मान्छेहरू यसैको चपेटामा परेर संक्रमणकालीन अवस्थामा जिन्दगी बिताइरहेका छन् । महिलाले असल छन् भनेर विश्वास नगर्ने अनि पुरुषहरूले महिलाको लंगौटी धुने भनेर खिसीट्युरी गर्ने । आफैँमा संघर्षरत मनुवाहरू कति होलान् ? कति दु:खलाग्दो होला, कसैले आफ्नो नमानिदिँदा । आँखा चिम्लेर असल पुरुष सम्झन खोज्छु, आफ्नै बुबाको अनुहार झल्झल्ती आउँछ ।
मेरी आमाले आँखा चिम्लेर असल पुरुष सम्झिनुपर्दा आफ्ना पति सम्झनुहोला कि आफ्ना पिता ?
विवाह गरेँ भने मैले असल भनेर मेरो बूढालाई भनुँला कि आफ्ना बुबालाई ?
साँच्चै मैले किन विवाह गरिनँ ?
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...