विदेशी अस्पतालमा कोरोनाविरुद्ध भिडिरहेका नेपाली चिकित्सकका अनुभव
विदेशका अस्पतालहरूमा कार्यरत चिकित्सकहरूको सुझाव छ- नेपालमा लकडाउन अझै लम्ब्याउनु उचित हुन्छ ।
अमेरिकाको वासिन्टन डीसीस्थित टीएमएस न्यूरोहेल्थ सेन्टरमा निर्देशक छन्, डा मदन उप्रेती । दुई साताअघि सहकर्मी नर्समा कोरोना संक्रमण देखियो । त्यसैले उनी १३ दिनदेखि घरमै क्वारेन्टाइनमा छन् ।
वासिन्टन डीसी र न्यूयोर्कका अस्पतालहरुलाई यतिबेला कोरोना संक्रमितको उपचार धान्न हम्मेहम्मे परिरहेको छ । न्यूयोर्कस्थित चार सय बेडको ब्रुकडेल अस्पतालमा अहिले साढे तीन सयभन्दा धेरै कोरोना संक्रमित भर्ना छन् । “ब्रुकडेल मात्र होइन्, सहरका सबै अस्पताल कोरोना संक्रमितले भरिभराउ छन्” डा उप्रेती भन्छन्, “आईसीयु र भेन्टिलेटर अपुग भएर धेरैले ज्यान गुमाउनुपर्ने स्थिति आएको छ ।”
न्युयोर्कका अस्पतालमा कोरोना फैलिनुअघि झन्डै ३ हजार बेडमा मात्र भेन्टिलेटर सुविधा थियो । तर महामारी फैलिएलगत्तै सिकिस्त बिरामीको संख्या यसरी बढ्यो कि रातारात २० हजार भेन्टिलेटर थपियो । त्यतिले पनि नपुगेर अहिले २० हजार भेन्टिलेटर थप्न लागिएको छ ।
झन्डै ७ हजार क्षमताको सभाहल ज्याभिट सेन्टर अहिले अस्पतालमा परिणत भएको छ । त्यहाँ २ हजार ६ सय बेडका कोरोना उपचार गर्ने चार वटा अस्पताल बनाइएको छ । तर कोरोना शंकाकै भरमा यस्ता अस्थायी अस्पतालमा भने पठाइँदैन । त्यहाँ उपचारपछि निको हुने स्थितिमा पुगेका बिरामीलाई मात्र राख्ने गरिएको छ ।
नेपालमा त्यसको ठीक उल्टो छ । कोरोना संक्रमित वा आशंकितलाई सुरुमै अस्थायी कोरोना अस्पतालमा भर्ना गरिन्छ । ज्वरो र खोकीका बिरामीलाई अस्पतालहरूले झट्ट भर्ना लिनै मान्दैनन् । उपचारका लागि भौतारिँदा–भौतारिँदै अहिलेसम्म ६ व्यक्तिले ज्यान गुमाएका घटना सार्वजनिक भइसकेका छन् ।
“सुरुमै अस्थायी अस्पतालमा भर्ना गर्नु बिरामीको ज्यानमाथि खेलबाड गरिएसरह हो,” डा उप्रेती भन्छन्, “कोरोना संक्रमितलाई रोगले च्याप्दै जाँदा भेन्टिलेटर चाहिन्छ, जुन अस्थायी अस्पतालमा उपलब्ध नहुन सक्छ । जसलाई सघन उपचार चाहिएको छ, उसैलाई कामचलाउ अस्पतालमा राख्नु जोखिमपूर्ण हुन्छ । कोरोना आशंकित बिरामीलाई एउटा अस्पतालबाट अर्को अस्पताल सार्नु पनि भाइरस फैलाउनु सरह हुन्छ । बिरामी संक्रमित रहेछन् भने जति डुलाइयो, उति संक्रमण फैलिने डर हुन्छ ।”
अमेरिकामा बिरामीको स्वास्थ्य जोखिममा पार्ने गरी बिरामीलाई भर्ना नलिने र अर्को अस्पतालमा पठाउनु कानुनतः दण्डनीय छ । त्यसैले विशेष सेवाका लागि पठाउनै परे पनि अर्को अस्पतालले बिरामी लिन राजी भएको हुनुपर्छ । अमेरिकाले जनस्वास्थ्य र सावधानीभन्दा अस्पताललाई धेरै भरोसा गरेर पर्याप्त तयारी नगर्नुको परिणाम अहिले भोगिरहेको डा उप्रेतीको बुझाइ छ ।
“महामारीलाई राम्रा अस्पतालले मात्र धान्न सक्दैनन् भन्ने अहिले पुष्टि भइसकेको छ । त्यो अमेरिकाले सुरुमा बुझ्न सकेन,” उनी भन्छन्, “त्यसैले कोरोना फैलिइरहँदा पनि उनीहरू डराएनन्, घुमफिर गरिरहे । त्यही हेलचेक्र्याइँले महामारी फैलियो ।” जतिबेला संक्रमण फैलिन थाल्यो, त्यतिबेला चाहेर पनि रोक्न सक्ने स्थिति थिएन । १५–२० दिनमै संक्रमितको संख्या लाख नाघ्यो ।
कोरोना संक्रमणबाट जोगिने सस्तो र भरपर्दो उपाय भनेकै लकडाउन ठान्छन् डा उप्रेती । राज्यले ढुकुटी बाँडेरै नागरिकलाई घरमै उपभोग्य बस्तु पुर्याए पनि त्यो महामारी नियन्त्रणभन्दा कम खर्चिलो र प्रभावकारी हुने उनको कथन छ । भन्छन्, “अमेरिका चुकेकै बेलैमा लकडाउन नगरेर हो । नेपालले लकडाउन गरेर बुद्धि पुर्याएको छ । अझै लम्ब्याएर जोगिनु उत्तम हुन्छ ।”
डाक्टर र स्वास्थ्यकर्मीसमेत संक्रमित हुन थालेपछि अमेरिकी अस्पतालहरूमा जनशक्तिको कमी भइरहेको छ । डा उप्रेतीले चिनेकै ६ नेपाली चिकित्सक कोरोनाबाट संक्रमित भइसकेका छन् । कति संक्रमित छन्, अमेरिकाले अहिलेसम्म संक्रमणबाट मृत्यु हुने चिकित्सक र स्वास्थ्यकर्मीको विवरणसमेत सार्वजनिक गरेको छैन । कुनै पनि स्वास्थ्यकर्मीलाई बिदा दिइएको छैन । इथिकल प्रिन्सिपलले पनि कोही संकटबाट भाग्न सक्ने स्थिति छैन ।
लन्डनमा आईसीयू पाउनै मुस्किल
न्युयोर्कझैँ लन्डनका अस्पतालहरू पनि अहिले कोरोना बिरामीले भरिभराउ छन् । सिकिस्त बिरामीका लागि आईसीयू पाउन मुस्किल छ । द रोयल लन्डन अस्पताल कार्यरत नर्स प्रसूना कँडेल भन्छिन्, “आईसीयू वार्ड खाली छैन । जनरल वार्डलाई समेत कोरोना वार्ड बनाएर अस्पतालहरूले सेवा दिइरहेका छन् ।”
आइसोलेसनमा रहेका सर्वसाधारण मात्र होइन, डाक्टर, नर्स र स्वास्थ्यकर्मीमा पनि डर–त्रास बढेको छ । “बिरामीलाई मरिहालिन्छ भन्ने परेको छ । वार्डका बिरामी एकदमै निराश छन्,” कँडेल भन्छिन्, “यस्तो बेला सकारात्मक माइन्ड सेटले धेरै काम गर्न सक्छ । म जित्न सक्छु भन्ने मनोबलबाट मात्र बिरामी निको हुन सक्छ ।” उनका थुप्रै सहकर्मी डाक्टर र नर्स कोरोना संक्रमणबाट सन्चो भएर काममा फर्किसकेका छन् ।
अस्पतालहरूले बिरामीका कुरुवालाई अस्पताल आउन बन्देज लगाएका छन् । उनीहरू बिरामीलाई फोन गर्न सक्छन् । अस्पतालले बिरामीको स्थितिबारे विस्तृत जानकारी उपलब्ध गराइरहन्छ । बेलायतमा पनि पीपीई लगायत स्वास्थ्यकर्मीलाई चाहिने सामग्रीको अभाव देखिएको छ । पहिले डबल पीपीई लगाएर संक्रमित छेउ पुग्ने स्वास्थ्यकर्मीलाई अहिले एउटा मात्र उपलब्ध गराइएको छ । त्यसले सुरक्षा चुनौती थपिएको भन्दै गुनासो बढेको कँडेल बताउँछिन् ।
कतारमा निजी र सरकारी सँगसँगै
कोरोना संक्रमणपछि कतारमा निजी र सरकारी सबै अस्पतालले सरकारी गाइडलाइन अनुरुप मिलेर काम गरिरहेका छन् । अस्पतालहरूले सार्न सकिने शल्यक्रियाबाहेकका सबै सेवा दिइरहेका छन् । अस्पतालहरू बन्द गर्न वा कुनै सेवा घटाउन भने दिइएको छैन । त्यहाँ कार्यरत नेपाली चिकित्सक मोहम्मद मोदासर आलम भन्छन्, “कतारमा अहिले प्राइभेट र सरकारी अस्पताल भन्ने नै छैन । सबैले एउटै नीतिभित्र रहेर काम गरिरहेका छन् ।”
कोरोना आशंका गरिएका बिरामी सरकारी, निजी वा क्लिनिक, जहाँसुकै जान सक्छन् । उनीहरूको प्रारम्भिक जाँचपछि कोरोना संक्रमणको अधिकतम सम्भावना देखिएपछि मात्र कोरोना विशेष अस्पतालमा पठाउन सक्छन् । कोरोना संक्रमित ओसार्न छुट्टै सुविधासम्पन्न एम्बुलेन्सहरूको व्यवस्था छ । ५ सय बेडको स्थानीय सरकारी अस्पताललाई कोरोना विशेषज्ञ अस्पताल बनाइएको छ ।
अस्पतालहरूले चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्थित पालो लगाएका छन् । एकैपटक सबै संक्रमित नहोऊन् भनेर त्यसो गरिएको डा आलम बताउछन् । उनका अनुसार, चिकित्सकका अलग अलग टोली बनाइएको छ । एक तिहाइ जनशक्तिले काम गर्छ भने अरुले पालो कुर्छन् । हरेक २–३ दिनमा टोली फेरिन्छन् । प्रभावकारी सेवा दिने तर जोगिएर मात्र भन्ने नीति लिइएको छ । स्वास्थ्यकर्मीलाई पीपीईलगायत सुरक्षा बन्दोबस्त मिलाइएको छ ।
कुनै एक सदस्य संक्रमित भए सिंगो टोली क्यारेन्टाइनमा बस्छ । एकैपटक धेरै स्वास्थ्यकर्मी संक्रमित नहोऊन् भनेर यस्तो सावधानी अपनाइएको छ । शंकास्पद स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिन्छ । दोहा नजिकै औद्योगिक क्षेत्रको अल जाइम पोलिक्लिनिकमा कार्यरत आलम भन्छन्, “घर परिवार नेपालमै छन् । विदेशी भूमिमा महामारीको उपचारमा खटिँदा डर त लाग्छ नै । तर सुरक्षा र अरु व्यवस्थाले ढुक्कसँग काम गर्ने वातावरण छ ।”
कतारले दोहा लगायत मुख्य सहरमा लकडाउन गरे पनि अरु देशमा अलपत्र नागरिकलाई घर फर्किन रोकेको छैन । तर अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्छ । कतार एयरवेजले आफ्नै होटलमा थुप्रै यात्रुलाई क्वारेन्टाइनमा राखेको छ । त्यसैले कतारमा संक्रमणको दर तुलनात्मक रुपमा नियन्त्रणमै छ । “कतारमा बिरामीको उपचार कठिन छ । भिन्नभिन्न भाषाका बिरामीको उपचार गर्नुपर्छ,” डा आलम भन्छन्, “तैपनि, उपचारमा कुनै कमी गरिएको छैन ।”
चीनको सफल अभ्यास
चीनले भने १८ वर्षअघिको सार्स महामारीको अनुभवलाई प्रयोग गरेर कोरोना फैलिन रोकेको ठान्छन्, सियान मेडिकल विश्वविद्यालयका प्राध्यापक डा राजीव झा । वुहानमा संक्रमण फैलिन लागेपछि ७ दिनमै एक हजार बेडको अस्पताल निर्माण, स्वास्थ्य जनशक्तिको व्यापक परिचालन, क्वारेन्टाइन तथा आइसोलेसन र लकडाउन गरिएको थियो । फराकिला भवन, रंगशाला र सभाहलहरूलाई क्वारेन्टाइनमा प्रयोग गरिएका थिए ।
दक्ष जनशक्ति, अनुभव र साधनस्रोतको उपलब्धता त थियो नै, चीन जुनसुकै बेला आपतकालीन व्यवस्थापनका लागि तयारी अवस्थामा रहने गरेकाले पनि सहज भएको ठान्छन् डा झा । चीनमा सरकारी अस्पतालप्रति धेरै भरोसा छ । त्यसैले बिरामीले सहजै उपचार पाउने स्थिति बन्यो । नेपालमा भने वीर, शिक्षण र सिभिल अस्पताल छाडेर टेकुको साँघुरो शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको भर पर्नुपरेको छ ।
रुघाखोकी र ज्वरो आउँदैमा कोरोना हुँदैन भन्ने बुझाउन नसक्दा नेपालमा उपचारमा अनावश्यक भय सिर्जना भई बिरामी उपचारबाट वञ्चित हुनुपरेको छ । आम नागरिकमा मनोवैज्ञानिक त्रास फैलिएको छ । “कोरोना लाग्नेबित्तिकै मरिन्छ भनेझैँ गरिएको छ, जुन सत्य होइन्,” प्राध्यापक डा झा भन्छन्, “८० प्रतिशतभन्दा धेरै संक्रमित घरमै वा अस्पतालमा आइसोलेसनमा बसेरै निको हुन्छन् । त्यो चीनको अनुभव हो ।”
कोरोना प्रभावित क्षेत्रमा नगएका र विदेशबाट आएका व्यक्तिसँग कम्तीमा १४ दिन उठबस नगरेका व्यक्तिमा कोरोना संक्रमण छैन भनेर ढुक्क हुन उनी आग्रह गर्छन् । चीनमा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई तीन तहको सुरक्षा सामग्री दिइएको थियो । तर नेपालमा धेरै समयसम्म पीपीई नपाएको गुनासो आएको स्मरण गर्दै झा भन्छन्, “सरकारले स्वास्थ्यकर्मीलाई पहिलो प्राथमिकतामा राखेर सुरक्षासहित सम्पूर्ण बन्दोबस्त मिलाउनुपर्छ । चिकित्सकले पनि इथिकल प्रिन्सिपल भुल्नु हुँदैन ।”
आपतमा अस्पताल निजी र सरकारी भन्ने हुँदैन । मिलेर उपचारको क्षेत्र बाँड्न सक्छन् । त्यसका लागि स्वास्थ्य मन्त्रालयले प्रस्ट गाइडलाइन ल्याउनुपर्ने खाँचो देखिएको छ । डा झाले चीनको अनुभव सुनाउँछन्, “वुहानको कोरोना विशेष अस्पतालमा वरपरका सबै अस्पतालबाट चिकित्सक र स्वास्थ्यकर्मी खटाइएका थिए । उनीहरू दिनरात खटिनुपरेको थियो । कोरोना बिरामी नै छुन डराउनुपर्ने रोग होइन ।”
नेपालमा बानेश्वरस्थित सिभिल अस्पताललाई कोरोना विशेषज्ञ अस्पताल बनाउन सकिने उनको सुझाव छ । चिनियाँ सहायतामा खुलेको अस्पताल भएकाले चीनको सहयोग पनि लिन सकिने सुझाव दिँदै झा भन्छन्, “इटली, स्पेन र अमेरिकाजस्तो लापरबाही गरियो भने हामी महामारीमा फस्छौँ ।”
कोरोनाको डढेलो फैलिएको उत्तरी इटालीमा सबैभन्दा धेरै स्वास्थ्यकर्मी संक्रमित भए । ५ हजारभन्दा धेरै स्वास्थ्यकर्मी संक्रमित भए भने मृत्यु हुनेको संख्या पनि ६० नाघिसकेको छ । स्पेनमा स्थिति झन् डरलाग्दो छ । ५ हजार ४ सयभन्दा धेरै स्वास्थ्यकर्मीहरू संक्रमित छन् । कोरोनाको उद्गमथलो मानिएको चीनको वुहानमा ८ जना चिकित्सक र स्वास्थ्यकर्मीले ज्यान गुमाए भने झन्डै ३ हजार ३ सय संक्रमित भए । अधिकांश निको भएर काममा फर्किसकेका छन् ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...