स्वास्थ्य मन्त्री र कर्मचारीको किचलोले कोरोना रोकथाम फितलो
स्वास्थ्य मन्त्री भानुभक्त ढकाल मन्त्रालयका अधिकारीहरूमाथि हस्तक्षेप गरेरै भए पनि आफू अगाडि देखिन चाहन्छन् । फलतः कोरोना रोकथामका लागि एकद्वार प्रणालीबाट काम अगाडि बढ्न सकेको छैन ।
आठ महिनादेखि मिर्गौलाको उपचार गराइरहेका सन्तोष यादव फलोअपका लागि भरतपुर पुगेका थिए । तर कोरोनाको शंकैशंकामा थुनुवाझैँ बनाएर राखियो । राम्रो उपचार नपाएरै उनको ज्यान गयो ।
मिर्गौला रोगको नियमित परीक्षणका लागि चितवन मेडिकल कलेज पुगेका थिए, वीरगन्ज, जगन्नाथपुरका सन्तोष यादव । आठ महिनादेखि मिर्गौलाको उपचार गराइरहेका यादव ९ चैतमा पनि उसै गरी फलोअपका लागि भरतपुर पुगे । तर यसपटक उनमा ज्वरो र निमोनिया पनि थपिएको थियो । त्यसैले मेडिकल कलेजका चिकित्सकले उनको उपचार गर्न मानेनन् । भर्ना लिएर पनि उपचारै नगरी उनलाई कोरोना विशेष अस्थायी अस्पताल रिफर गरियो ।
दिउँसो ३ बजे कोरोना विशेष अस्पताल पुगेका यादवसँग सोधपुछ गरियो । पुराना रिपोर्ट र लक्षण हेरेपछि ज्वरो आएकै भरमा भर्ना नलिने भन्दै कोरोना अस्पतालले मेडिकल कलेज फर्काइदियो । फर्किएर आएका यादवलाई मेडिकल कलेजले इमर्जेन्सीमा त राख्यो तर उपचार गरेन । "डाक्टरहरुले दाइलाई छुँदा पनि छोएनन्," यादवलाई डाक्टरले इमर्जेन्सीबाट उठाएर ह्विलचेयरमा राखेर बाहिर निकालिदिएको सम्झिँदै भाइ विनोद भन्छन्, "सिकिस्त बिरामीलाई रातको बेला जबर्जस्ती बाहिर निकालियो ।"
मेडिकल कलेजले कोरोना अस्पतालका चिकित्सकसँग यादवलाई पुन: भर्ना लिइदिन अनुरोध गरेको थियो । आईसीयूमा राख्नुपर्ने स्थितिका यादवलाई राति ९ बजे कोरोना विशेष अस्पतालले भर्ना लिएर आइसोलेसन वार्डमा राख्यो । "फलोअपका लागि आइएको थियो । तर कोरोनाको शंकैशंकामा थुनुवाझैँ बनाएर राखियो । राम्रो उपचार नपाएरै दाइको ज्यान गयो," विनोद पछुतो मान्छन्, "बरु नआएकै भए हुने रहेछ ।"
यो पनि पढ्नुस
स्वास्थ्य मन्त्री भानुभक्त ढकाल मन्त्रालयका अधिकारीहरूमाथि हस्तक्षेप गरेरै भए पनि आफू अगाडि देखिन चाहन्छन् । फलतः कोरोना रोकथामका लागि एकद्वार प्रणालीबाट काम अगाडि बढ्न सकेको छैन ।
अस्थायी अस्पतालमा भर्ना गरेपछि सन्तोषले बान्ता गरेका थिए । खोकी र बान्ता रोकिने औषधिबाहेक अस्पतालले उनको कुनै उपचार नगरेको विनोद बताउँछन् । १० चैत दिउँसो नमुना संकलन गरियो । तर जहाज छुटेको भनेर त्यो दिन पठाइएन । ११ चैत बिहान स्थिति नाजुक भएको भन्दै यादवलाई आईसीयूमा सारियो । दुर्भाग्य, नमुना काठमाडौँ पठाउनु र उनको मृत्यु सँगसँगै जस्तो भइदियो ।
अस्पतालले यादवलाई बिहान साढे ९ बजेतिर मृत घोषणा गरेपछि झन् सनसनी फैलियो । कोरोना लागेरै निधन भएको धेरैजसो चिकित्सकको अड्कलबाजी थियो । त्यसैले उनको शव अलग्गै राखियो । धन्न त्यही साँझ आएको यादवको रिपोर्टमा कोरोना नेगेटिभ देखिएपछि बल्ल उपचारमा संलग्न चिकित्सकले सन्तोषको लामो सास फेरे । तर त्योभन्दा पहिल्यै कोरोनाको आशंकामा उपचारै नपाएर बिरामीको ज्यान गइसकेको थियो ।
"पुराना स्वास्थ्य रिपोर्ट हेरी निमोनिया र मिर्गौलाको बिरामी ठानेरै सुरुमा हामीले फर्काएका हौँ," कोरोना अस्थायी अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारी भन्छन्, "मेडिकल कलेजले उपचार नगर्ने भनेर पठाएपछि राति भर्ना गर्नुपर्ने बाध्यतामा हामी पुग्यौँ ।" खोकी र ज्वरो देखिनासाथ बिरामीलाई कोरोना अस्पताल पठाइहाल्ने प्रवृत्तिले समस्या उत्पन्न भएको उनी बताउँछन् ।
चितवन मेडिकल कलेज भने पुराना बिरामीमा ज्वरो र खोकी भएमा कोरोना जाँच गर्नैपर्ने गाइडलाइन अनुरुप नै यादवलाई विशेष अस्पताल रिफर गरिएको दाबी गर्छ । कलेजका निर्देशक डा. दयाराम लम्साल भन्छन्, "शंकास्पद बिरामीलाई त्यसै राख्दा झन् धेरै जोखिम हुन सक्ने भएकैले विशेष अस्पताल खोलिएको हो । डाइग्नोसिस छिटो हुने व्यवस्था हुनासाथ अहिलेको समस्या हट्छ ।"
यो पनि पढ्नुस
लकडाउनको यो चरणको पर्याप्त तयारी र त्यसको प्रभावकारी कार्यान्वयन् हुन नसके धेरै नागरिकहरूको लागि लकडाउन आफैँ कोभिड—१९ को प्रकोप जत्तिकै पीडादायी हुन सक्छ ।
भर्खरै खुलेकाले भरतपुर कोरोना विशेष अस्पतालमा पर्याप्त स्वास्थ्य उपकरण तथा सेवा उपलब्ध छैनन् । अस्पतालभन्दा धेरै आइसोलेसन वार्डजस्तो मात्र छ । मुटु, कलेजो, निमोनिया, मिर्गौला, मधुमेहका पुराना रोगीका लागि अस्थायी अस्पतालभन्दा स्थायी अस्पताल नै उपयुक्त हुन्छन् । त्यसैले यस्ता अस्थायी अस्पताल दीर्घरोगीका लागि जोखिमपूर्ण छन् भन्ने यादवको मृत्युले पनि देखाउँछ ।
कास्कीमा पनि कोरोना क्वारेन्टाइनमा अर्का एकको पनि उसैगरी उपचार नपाएरै ज्यान गयो । १ चैतमा भारतबाट घर फर्किएका थिए, ५० वर्षीय विश्वबन्धु नेपाली । उनलाई क्वारेन्टाइनमा बस्न भनियो । कोरोनाका कुनै लक्षण थिएनन्, बरु उनी मुटु र कलेजोका दीर्घरोगी थिए । तैपनि, ११ चैतमा रुपा गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा नेपालीलाई बसाइयो । १२ चैतमा उनी बेहोस अवस्थामा भेटिए । उपचारका लागि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाँदै गर्दा नेपालीको मृत्यु भयो ।
क्वारेन्टाइनको लहड
भरतपुर महानगरले ७ चैतमा ७२ घन्टामै कोरोना अस्थायी विशेष अस्पताल निर्माण गरी सञ्चालनमा ल्याएको घोषणा गर्यो । त्यसको लहर प्रदेश र स्थानीय तहमा यसरी पर्यो कि बिना कुनै पूर्वाधार क्वारेन्टाइन र अस्पताल भन्दै प्रचारबाजी गर्ने क्रम सुरु भयो । त्यसले मौसमी रुघाखोकी र ज्वरोका बिरामीलाई समेत स्थायी अस्पतालहरुले उपचार गर्न छाडेर क्वारेन्टाइन पठाउन थाले ।
क्वारेन्टाइन सञ्चालन गर्दा न्यूनतम मापदण्ड पूरा गर्नुपर्छ । ४ फागुनमा चीनको वुहानबाट उद्धार गरिएका १ सय ७५ विद्यार्थीलाई भक्तपुरको खरिपाटीमा सेनाको व्यवस्थापनमा तयार पारिएको क्वारेन्टाइनमा राखिएको थियो । त्यहाँ खानेबस्ने, नियमित स्वास्थ्य जाँच गर्ने र स्वाब परीक्षणमा पठाउने व्यवस्था गरिएको थियो । तर लहडका रुपमा देशभर खुलेका क्वारेन्टाइन र कोरोना अस्पतालमध्ये अधिकांशले कुनै मापदण्ड पूरा गरेको देखिँदैन ।
यो पनि पढ्नुस
पछिल्ला केही वर्षयताका राजनीतिक घटनाक्रम होउन्, या सामाजिक, निर्मला हत्याकान्डलाई छाड्ने हो भने बाँकी सबका सब मुद्दाहरूलाई हामीले बेवास्ता गरिदियौँ । यस्तै व्यवहार गरेका छौँ हामीले कोरोना स्वास्थ्य प्रकरणलाई पनि ।
भारतले 'जनता कर्फ्यु' लगाउनुअघिदेखि नै स्थलमार्गबाट स्वदेश फर्किने नेपालीको सीमामा घुइँचो लाग्यो । ८ चैतदेखि लकडाउनसम्म पश्चिमका बाँके, बर्दिया, कैलाली र कन्चनपुर नाकाबाट मात्र ए लाखभन्दा धेरै स्वदेश फर्किए । कैलालीका विभिन्न नाकाबाट ५२ हजार ५ सय ७८ भित्रिए भने कञ्चनपुरबाट ३१ हजार १ सय ७० र बाँकेबाट १५ हजार स्वदेश फर्किए । सामान्य ज्वरो जाँच गरी उनीहरुलाई क्वारेन्टाइनमा बस्ने सर्तमा छाडिएको थियो ।
ज्वरो आएका केहीलाई नेपालगन्ज, धनगढी र महेन्द्रनगरका अस्पतालमा राखेर स्वाब परीक्षणका लागि काठमाडौँ पठाइएकोमा अहिलेसम्म नेगेटिभ रिपोर्ट आइरहेका छन् । लकडाउनपछि १२ चैतमा सीमामा अलपत्र परेका सयौँलाई अन्तिम पटक भन्दै सरकारले बस चढाएरै सम्बन्धित जिल्लासम्म पठाउने व्यवस्था मिलायो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी हरि खतिवडा भन्छन्, "क्वारेन्टाइनमा बस्ने प्रतिबद्धता लिएर बस चढाएर जिल्ला पठाएका हौँ । क्वारेन्टाइनमा राख्ने र निगरानी गर्ने जिम्मेवारी अब स्थानीय तहमा छ ।"
काठमाडौंकी १९ वर्षीया युवतीमा दोस्रो कोरोना संक्रमण भेटियो, ४ चैतमा ।* विद्यार्थी भिसामा फ्रान्स पुगेकी उनी कोरोनाकै डरले कतार एयरवेजको उडान नं. क्यूआर ६५२ बाट स्वदेश फर्किएकी थिइन् । १० चैतमा कोरोना पुष्टि भएपछि उनीसँगै सवार चालक दलसहित २ सय ५ यात्रु चिन्तामा छन् । त्यस्तै, ६ चैतमा संयुक्त अरब इमिरेट्सको सारजाँहबाट नेपाल आएका ३० वर्षीय युवामा पनि ११ चैतमा कोरोना पोजेटिभ देखियो । उनी आएको एयर अरेबियाको उडान नम्बर जी ९–५३७ मा चालक दलका सदस्यसहित १ सय ५८ यात्रु थिए ।
यो पनि पढ्नुस
बिरामीको उपचार गर्न नमान्ने निजी अस्पतालहरूसँग मन्त्रालयले स्पष्टीकरण त लियो तर थप कारवाही के गर्ने ? मन्त्रालयका उच्च अधिकारीहरू नै अन्योलमा छन् ।
स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, यी दुवै जहाजमा यात्रा गर्ने अधिकांश सम्पर्कमा आए पनि २६ जना मात्र प्रत्यक्ष निगरानीमा क्वारेन्टाइनमा बसेका छन् । यस्तोमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा क्वारेन्टाइन व्यवस्थापन कार्यदल गठन गरिएको छ । उनले बाक्लो बस्ती वा कारखानामा संक्रमण फैलिएमा समेत सारेर राख्न सकिने १ लाख ३० हजार जना बस्न मिल्ने गरी सरकारले देशभर क्वारेन्टाइन बनाउन लागेको बताएका छन् ।
त्यसबारे पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीले ट्विट गरेका छन्, 'माननीय मन्त्री योगेश भट्टराईले एक लाख तीस हजार मान्छे अट्ने सुविधा भएको क्वारेन्टाइन बनाउने भन्नुभएछ । मेरो सल्लाह, अब धेरै गफ नदिनुस् । कमसेकम काठमाडौँका अस्पतालका स्वास्थ्यकर्मीहरुलाई सुरक्षा पोसाक, औषधि र नभई नहुने उपकरण उपलब्ध गराउनुस् । समय धेरै छैन ।'
माननीय मन्त्रि योगेस भट्टराई ले एक लाख तिस हजार मान्छे अट्ने सुबिधा भएको quarantine बनाउने भन्नुभयेछ। मेरो सल्लाह: अब धेरै गफ नदिनुस् कमसेकम काठमाडौँ का अस्पताल का स्वास्थ कर्मी हरु लाई सुरक्ष्या पोसाक, औषधि ,र नभैनहुने उपकरण उपलब्ध गराउनुस। समय धेरै छैन
— Dr. Prakash C Lohani (@PCLohani) March 26, 2020
कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले त्यसरी घर फर्किएकाहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन प्रदेश र स्थानीय सरकारलाई अह्राएको छ । तर को, कहाँ क्वारेन्टाइनमा बसेको छ, अत्तोपत्तो छैन । स्थानीय तहले बनाएका क्वारेन्टाइनमै राखेका धेरैजसो अव्यवस्थाका कारण भागेकाले स्थिति नियन्त्रणमा देखिँदैन । शंकास्पद बिरामीको स्वाब परीक्षण गर्न काठमाडौँ पठाउनुको विकल्प छैन । सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र नेपालगन्जमा तत्कालै प्रयोगशाला खोल्ने निर्णय गरेको छ । त्यसमा पनि युद्धस्तरमा काम भएको देखिँदैन ।
यो पनि पढ्नुस
कोरोना संक्रमणको सन्त्रास त छँदैछ, उपभोक्तालाई भान्साको चिन्ता पनि छ । दैनिक उपभोग्य सामग्रीको अभाव हुने चिन्ता उपभोक्ताहरूमा देखिन्छ ।
मुख्यमन्त्री शंकर पोखरेलका अनुसार, प्रदेश ५ मा चार वटा अस्पताल तयार गरिएका छन् । दाङको बेलझुन्डी, बाँके–बर्दियाका लागि खजुरा, लुम्बिनीका पहाडी जिल्लाका बिरामीसमेत हेर्ने गरी बुटवल र गम्भीर अवस्थाका बिरामीका लागि भैरहवास्थित भीम अस्पताल तयारी अवस्थामा राखिएको उनको दाबी छ ।
सरकारी तथा निजी अस्पताललाई ज्वरो जाँच क्लिनिक सञ्चालनमा ल्याउन भनिएको छ । त्यसका लागि १० लाख अनुदान पनि उपलब्ध गराउन लागिएको छ । खोकी र ज्वरोकै कारण कोरोना अस्पताल पठाउने स्थितिमा यो निर्णयले केही सुधार हुन सक्छ । तर ती अस्पतालमा पनि कोरोना शंका गरिएका दीर्घरोगीले उपचारका लागि आवश्यक उपकरण तथा सेवा नपाउने जोखिम उच्च देखिन्छ ।
पोजेटिभमात्र रिफर
कोरोना संक्रमण, रोगथाम र नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई विस्तारित सेवा बन्द गर्न भनेको छ । त्यस्तै, बिरामीलाई फलोअपमा नबोलाउने, आकस्मिकबाहेकका नियमित शल्यक्रिया नगर्ने र होलबडी जाँच पनि रोकेको छ ।
अस्पतालहरुलाई ज्वरो क्लिनिक सञ्चालनमा ल्याउन निर्देशन दिइएको छ । तर सुविधासम्पन्न धेरै अस्पतालले अहिलेसम्म विभिन्न बहाना देखाएर क्लिनिक सञ्चालनमा ल्याइसकेका छैनन् । कोरोना भयले ज्वरो र खोकी भन्नासाथ रिफर गरिहाल्नेमा अधिकांश निजी अस्पताल छन् । काठमाडौँमै पनि सिभिल अस्पताल बानेश्वरबाट वीर अस्पताल, त्यहाँबाट शुक्रराज टेकु र त्यहाँबाट पुन: वीर अस्पताल पठाउने गोलचक्कर चलिरहेको छ । यस्तोमा स्वास्थ्य मन्त्रालयले आइसोलेसनमा राखेर नमुना परीक्षणका लागि पठाउन र पोजेटिभ देखिए मात्र टेकु पठाउन निर्देशन दिएको छ । एउटै बिरामी १० ठाउँ भौतारिनुपरेको गुनासो आएपछि यो निर्णय गर्नुपरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बताउँछन् ।
यादव मृत्यु प्रकरणपछि भरतपुर कोरोना विशेष अस्पतालले 'मल्टी अर्गान' रोगका बिरामीलाई सुविधासम्पन्न अस्पतालमै उपचारका लागि पठाउने निर्णय गरेको छ । कोरोना अस्पताललाई पनि सुविधासम्पन्न बनाउन उपकरण थपिएको छ । अस्पतालका प्रवक्ता डा. अधिकारीका अनुसार, निजी तथा सरकारी अस्पतालले जनशक्ति, भौतिक स्रोतसाधन र उपकरण उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । तर चिकित्सक, नर्स र स्वास्थ्यकर्मी आएनन् । जब कि, उपत्यकाबाहिर सबैभन्दा धेरै ४ सय ८० पीपीई र २ सय १० एन १९ आफूहरुसँग रहेको उनी बताउँछन् । "युद्धको बेला सिपाही र महामारीका बेला डाक्टर डराएपछि जित्न सकिँदैन," डा. अधिकारी भन्छन्, "जनताभन्दा स्वास्थ्यकर्मी र डाक्टर डराएको स्थिति छ । त्यसले रोगको महामारीभन्दा डर–त्रासको महामारी धेरै भयो ।"
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...