वैकल्पिक मार्गबाट भित्रिँदै हुलका हुल नेपाली
भारत तथा तेस्रो देशबाट आउनेहरूमा कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै सरकारले सीमाबन्दसँगै लकडाउन गरेको छ । तर खुला सीमामा पूर्ण रूपमा आउजाउ रोक्न गाह्रो छ ।
सरकारले सीमानाका बन्द गरेपछि मुख्य नाका तथा अन्य ठाउँबाट प्रवेश गरेकाहरू अझै क्वारेन्टाइनमा बसेका छैनन् ।
सुदूरपश्चिम प्रदेशको प्रमुख सहर धनगढीमा पहिलो कोरोना संक्रमित फेला नपरेसम्म लकडाउनको पूर्ण पालना भएको थिएन । उपत्यकाबाहिर पहिलो कोरोना पोजेटिभ धनगढीमै फेला परेसँगै झस्किए, नगरबासी ।
१४ चैत शुक्रबार सूर्यास्त हुँदै थियो । एकाएक सञ्चार माध्यमसँगै सामाजिक सञ्जालमार्फत धनगढीमा कोरोना संक्रमितको खबर डढेलोजसरी फैलियो । लकडाउनका बेला पनि घर वरपर टहलिरहेकाहरू भित्र पसे । तरकारी, खाद्यान्नलगायत अत्यावश्यक सेवाका लागि बाहिर निस्केकाहरू पनि दौडिँदै घर पुगे । कतिले त झ्यालढोकासमेत बन्द गरे ।
सोही दिन घरअगाडि कोइला भेटिने र त्यसको तिलक लगाउँदा कोराना लाग्दैन भन्ने हल्ला चलाइयो । त्यो हल्लाका पछि केही दौडिए पनि । केहीले घरका ढोकाको दाहिनेतिरको माटो खनेर कोइला खोजे । तर प्रहरीले सामाजिक सञ्जालमार्फत हल्ला फैलाउनेको खोजी गरे पनि अहिलेसम्म फेला पार्न नसकिएको बताएको छ ।
दुबईबाट फर्केका धनगढीका एक युवकमा कोराना पोजेटिभ भेटिएको थियो । त्यसको एक सातापछि २२ चैतमा नेपाललाई कोभिड–१९ संंक्रमणको दोस्रो चरणमा प्रवेश गराउने सहर पनि धनगढी बन्यो । संक्रमित परिवारकै महिला सदस्य र भारतबाट फर्केका कैलालीको लम्कीका युवकमा त्यसै दिन कोरोना पोजेटिभ पाइएको थियो । धनगढीका संक्रमितबाट परिवारका एक महिला सदस्यमा सरेको हो । भारतबाटै फर्केका छिमेकी कञ्चनपुरमा फेला परेको अर्काे ‘केस’ ले स्थानीय बढी भयभीत भएका छन् ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा २२ चैतमा सुदूरपश्चिम प्रदेशमा थप तीन जनामा देखिएको कोरोना पोजेटिभले चिन्ताको विषय बनाएको बताउँछन् । कैलालीमा पहिलो संक्रमित परिवारका एक महिला सदस्य, कैलालीको लम्कीमा र कञ्चनपुरमा भारतबाट घर फर्केका नेपालीमा कोरोना पोजेटिभ भेटिएको थियो ।
यो पनि पढ्नुस
भारत तथा तेस्रो देशबाट आउनेहरूमा कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै सरकारले सीमाबन्दसँगै लकडाउन गरेको छ । तर खुला सीमामा पूर्ण रूपमा आउजाउ रोक्न गाह्रो छ ।
अहिले धनगढीमा खाद्यान्न पसलसमेत बन्द छन् । सेवा लिने नाममा खुट्टा तन्काउन बाहिर निस्कने पनि सरकारको लकडाउनको पूर्ण पालनमा लागेका छन् । धनगढी उपमहानगरका अधिकृत लेखनाथ ओझा चार वटा ‘केस’ ले सुदूरपश्चिम आत्तिएको सुनाउँछन् । भन्छन्, “सुदूरपश्चिमबासीको मनमा के नेपालको कोरोना इपिसेन्टर बन्ने त होइन भन्ने भय पलाएको छ ।”
भारतबाट फर्केका कैलाली लम्कीका कोरोना संक्रमितको ट्राभल्स हिस्ट्रीसमेत सार्वजनिक भएपछि सुदूरपश्चिममा त्रासको वातावरण बढी छाएको उनको कथन छ । गौरीफन्टाबाट ११ चैतमा प्रवेश गरेका युवाहरू नाकामा २८ घन्टा एक हजारको भीडमा थिए भन्ने खबर केही घन्टामै सार्वजनिक भएको थियो ।
नेपाल–भारतका सबै नाका बन्द गरिसकेपछि गत १० चैत साँझ सयौँ नेपाली भारतका विभिन्न सहरबाट गौरीफन्टा नाका आइपुगेका थिए । उनीहरूले स्वदेश प्रवेशको माग राख्दै नाराबाजी र जबर्जस्तीको प्रयास गरेका थिए । तिनै नाराबाजी गर्ने भीडमा शनिबार भारतबाट घर आएका लम्कीका कोरोना संक्रमित युवक रहेको खुलेको हो । उनी भारतको मुम्बईबाट आएका थिए । “भारतबाट स्वदेश फर्केका नेपालीले क्वारेन्टाइनमा बस्न नमानेर घर गएको सुनिएको छ,” ओझा भन्छन्, “यसले गर्दा सुदूरपश्चिमबासी अहिले बढी डराएका छन् ।”
यो पनि पढ्नुस
गाउँले भन्छन् : “खुट्टै ढोग्दा पनि क्वारेन्टाइनमा बस्न मानेनन् । उनीहरूका कारण अहिले सिंगो गाउँ जोखिममा छ ।”
उच्च जोखिम
सुदूरपश्चिम प्रदेशबाट भारतमा काम गर्न जानेको संख्या निकै छ । हिउँदे र बर्खे बाली गरेर यहाँका युवा रोजगारीका लागि भारतका विभिन्न सहरमा जाने गर्छन् । दसैँ वा नयाँ वर्ष (विशु) मनाउन घर आउने र केही दिन परिवारका साथ खुसी मनाएर फर्कने चलन परम्परागतजस्तै हो । कैलाली र कञ्चनपुरबाट भारतका विभिन्न सहरमा काममा जानेको संख्या पनि कम छैन । भारतमा काम गर्न जानेहरूको यकिन तथ्यांक भने कसैसँग छैन । भारतमा कोरोना त्रास फैलिएपछि त्यहाँबाट सुदूरपश्चिममा डेढ लाख मासिन भित्रिएको अनुमान छ ।
सरकारले सीमानाका बन्द गरेपछि नेपाल प्रवेश गर्न सकिने विभिन्न ठाउँबाट छिरेका नेपालीहरू क्वारेन्टाइनमा बसेका छैनन् । मुख्य नाकाबाट प्रवेश गरेकाहरू पनि क्वारेन्टाइनमा बसेका छैनन् ।
भारतको दिल्लीबाट सुदूरपश्चिम प्रदेश नेपालको छोटो दूरीमा पर्ने भएकाले कैयौँ नेपाली हिँडेरै सीमानाका गौरीफन्टा र गड्डाचौकी पुगेका थिए । दार्चुलाको सिरानीबाट उत्पन्न महाकाली कञ्चनपुरको ब्रह्मदेव, बनवासासम्म सीमा नदी भएर बग्छ ।
कञ्चनपुरको ब्रह्मदेवमण्डीमाथि मलास डडेल्धुरा, बैतडी, दार्चुलाबासीको महाकाली वारपार गर्ने परम्परागत साधन ट्युब, नाउ, डुंगा र हाम फालेर भारतमा काम गर्ने नेपाली कति स्वदेश आए, पत्तो छैन । कैलाली र कञ्चनपुरको करिब २ सय किलोमिटर खुला सीमा क्षेत्रबाट कति छिरे, त्यो पनि कसैलाई थाहा छैन ।
यो आपद्को घडीमा काम गर्ने थलो छाडेर एकैचोटि स्वदेश फर्कंदा प्रदेश सरकारले केही कमी–कमजोरी गरेको स्थानीय नागरिक समाजको कथन छ । “ठूलो संख्यामा सुदूरपश्चिमेली भारतका विभिन्न सहरमा काम गर्छन् । उनीहरू यो आपद्को घडीमा स्वदेश फर्कनेछन् भन्ने जान्दाजान्दै प्रदेश सरकारले पूर्व तयारी गर्न सकेन,” नागरिक समाजका विजय भट्ट भन्छन्, “उनीहरूको एक–एक स्वास्थ्य जाँच गरी क्वारेन्टाइनमा व्यवस्थित रूपमा बसाउन प्रबन्ध मिलाउने समय थियो । तर प्रदेश सरकारले सीमानाका बन्द गरेको दुई दिन अघिसम्म नेपाल प्रवेश गरेकाको स्वास्थ्य जाँच पनि भएन र क्वारेनटाइनमा बसाउने काम पनि भएन ।” भट्टका अनुसार सीमा बन्द भएको एक साताअघिदेखि भारतमा काम गर्ने नेपालीहरूको स्वदेश फर्कने चाप बढी सकेको थियो ।
यो पनि पढ्नुस
देशमा सङ्क्रमणको पहिलो केस पहिचान भएदेखि यता तपाई हाम्रो साझा प्रयत्नले संक्रमितहरूको संख्या ९ जनामा मात्र सीमित गर्न सकिएता पनि हामी अझै पनि उच्च जोखिममा छौंँ ।
१८० नेगेटिभ, ४ पोजेटिभ
सुदूरपश्चिम प्रदेशका सातै जिल्लामा अहिले २ हजार ३ सय ९९ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश र स्थानीय सरकारले क्वारेनटाइनका लागि ५ हजार १ सय ५६ बेडको व्यवस्था गरेको भट्ट बताउँछन् ।
कैलालीमा ४ सय ८०, कञ्चनपुरमा १ सय ८१, बैतडीमा ५ सय १३, दार्चुलामा १ सय ९०, डडेल्धुरामा १ सय ११, डोटीमा ४ सय २४, बझाङमा ३ सय २४, अछाममा ५९ र बाजुरामा १ सय १७ जना क्वारेन्टाइनमा रहेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार कुल १ सय ८४ जनाको स्वाब टेस्ट गरिएको छ । तीमध्ये १ सय ८० जनाको रिपोर्ट नेगिटिभ आएको छ भने ४ जनाको पोजेटिभ ।
अहिले सुदूरपश्चिममा र्यापिड टेस्ट (द्रुत जाँच) का लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खटाएको ६ सदस्यीय स्वास्थ्य प्राविधिकको टोलीले २५ चैतदेखि काम सुरु गरेको छ । कैलालीको लम्की, चुहा, गोदावरी नगरपालिका र कञ्चनपुरको शुक्लाफाँटा, कृष्णपुर र भीमदत्त नगरपालिकामा र्यापिड टेस्ट भएको छ ।
यसअघि सरकारले सुदूरपश्चिम प्रदेशमा उच्च जोखिम देखिएपछि कोरोना भाइरसविरुद्धको परीक्षण प्रयोगशाला स्थापना गरेको छ । सेती प्रादेशिक अस्पतालमा स्थापना भएको प्रयोगशालामा एक जना विशेषज्ञसहित ४ जनाको टोलीले परीक्षण सुरु गरेको छ ।