संकटमा राज्यले नसुनेको नागरिक आवाज
उनको भाषा पूरै त बुझ्दिनँ तर यतिचाहिँ बुझ्छु, उनी भनिरहेका छन्- हाम्रो बालबच्चा, परिवार भोकै छन् । के तिमीले खान दिन्छौ ? म स्तब्ध हुन्छु । के उनको आवाज सरकारले सुन्यो त ?
सीमावारि र पारि अड्किएका नेपालीहरूलाई आफ्नै थातथलो फर्किने सुर्ता
वर्षभरि रोग नलागोस् भनेर शरीरमा सिस्नो लगाइन्छ । सिस्नो लगाउन देवर–भाउजूबीच जुहारी नै चल्छ । कुलदेवताको पूजा गरी ‘गहतको डुब्का’ (स्थानीय खानाको परिकार) पकाएर खाइन्छ । देउडा खेलेर रमाइलो गरिन्छ । १ वैशाखमा सूर्यले पृथ्वीको परिक्रमा पूरा गर्छ । त्यसैको खुसीयालीमा बिसु पर्व मनाइन्छ, सुदूरपश्चिममा । र, नयाँ वर्षको स्वागत गरिन्छ ।
परदेश गएकाहरू पनि यो पर्व मनाउनका लागि एक साताअघि नै घर आइपुग्थे । तर यस पटक भने त्यसो हुन सकेन । कारण थियो– कोरोना संक्रमणबाट बच्न गरिएको लकडाउन । अझ छिमेकी भारतमा यसले मान्छेको ज्यान लिएपछि दुवैतर्फका सीमानाका बन्द भए ।
काम बन्द भएपछि मुग्लानबाट फर्किने उतै (भारत) धार्चुलामा रोकिए । वारि छिरेका पनि दार्चुला (नेपाल) मै अड्किए । वारिका वारि र पारिका पारिकै क्वारेनटाइनमा बसे ।
लकडाउनले सीमा बन्द भएपछि पारि धार्चुलामा अड्किने नेपालीको संख्या सयौँ थियो । तीमध्येका एक हुन्, दार्चुला मार्मा गाउँपालिकाका २६ वर्षीय रमेश ठगुन्ना ।
धार्चुलाबाट दार्चुला प्रवेश गर्ने पुल नखुलेछि रमेशजस्तै सीमामा अड्किएका बैतडी, डिलासैनी गाउँपालिका–१ गन्नाका इन्द्रसिंह खत्रीलाई महाकाली नदी पौडिएरै नेपाल प्रवेश गर्दा प्रहरीले समात्यो । त्यसपछि महाकाली तर्ने आँट कसैले गरेनन् । रमेशले पनि हिम्मत जुटाएनन् । अलपत्र परेका ६ सय नेपालीलाई जोलजिबी, धार्चुला र बालुवाकोट क्वारेनटाइनमा राखिएको छ ।
सुदूरपश्चिमेलीको प्रमुख रोजगारी गन्तव्य हो, भारत । रोजगारीका लागि त्यहाँ जानेको यकिन तथ्यांक कसैसँग पनि छैन । जाने व्यक्तिको संख्या भने लाखौँ रहेको अनुमान छ । गाउँको खेती किसानीले खान पुग्दैन । भारतमा कुल्ली मजदुरी नगरी गुजारा चल्दैन । त्यसैले खेतीपाती लगाउने, भित्र्याउने, यार्सा टिप्न घर बस्ने र बाँकी समय बर्सेनि भारतका विभिन्न ठाउँ जाने गरेका छन् ।
सडक बनाउने काम गर्न ठगुन्नासँग गाउँका अन्य १५ साथीहरू पनि गत मंसिरमा भारत पुगेका थिए । तर उनीहरूलाई यो समय फापेन । घरमा खर्च नपठाएको धेरै भइसकेको थियो । दैनिक भारु ५ सय पाउने गरी ज्यालादारी काममा राखिएको थियो । ठेकेदारले लकडाउनको बहाना बनाएर लिन बाँकी भएको पैसा पनि दिएन । काम बन्द गरेपछि उनीहरू घर हिँडेका थिए ।
रमेशसँग घरमा खर्च पठाउनका लागि राखेको भारु ८ हजार मात्रै छ । त्यो पैसा पठाउन नपाएकामा चिन्तित छन्, उनी । भन्छन्, “पैसा पठाउन पाएको भए नयाँ वर्षमा घरपरिवारले मीठो खान पाउँथे ।”
६ जनाको परिवार रहेका ठगुन्नाका बुबा मानसिंह पनि भारतमै रोजगारी गर्छन् । मानसिंह रमेशभन्दा एक दिनअघि हिँडेकाले सीमा कट्न भ्याए तर घर जान पाएनन् । त्यही क्वारेनटाइनमै राखियो । कमाउन हिँडेका बाउ–छोरा नै क्वारेनटाइनमा हुँदा घरमा खर्च जुटाउन समस्या भएको रमेश सुनाउँछन् । यो नयाँ वर्षमा सुदूरपश्चिमका धेरै घरमा चाड मनाइएन ।
भारतको धार्चुलामा १७ चैतबाट उनीसहित ३ सय २७ नेपालीलाई एउटै क्वारेनटाइनमा राखिएको छ । त्यहाँ बस्ने सबैको व्यवस्था फरक भए पनि उनीहरूको उद्देश्य भने एउटै छ, आफ्नो मुलुक पस्ने । एउटै कोठामा भेँडाबाख्रा जसरी कोचेर राखिएको छ । सबैलाई सुत्न पुग्ने ठाउँ पनि छैन ।
क्वारेनटाइनमा बसेका उनीहरू सबैको कोरोना परीक्षण गर्दा त्यसको रिपोर्ट नेगेटिभ आएको छ । तर रमेश ढुक्क छैनन् । बाहिर सामाजिक दूरी कायम गर्नुपर्छ भनेर सिकाएका व्यक्तिले नै भित्र भने सबैलाई एकै ठाउँ कोचेर राखेका छन् । तीमध्ये एक जनालाई कोरोना लाग्यो भने मरिन्छ कि भन्ने डरले रमेशको मन अत्तालिएको छ । कहिले त परिवारको मुख नदेखेरै मरिन्छ कि भन्ने डर छ, उनलाई । त्यो बेला परिवारको निकै सम्झना आउने गरेको ठगुन्ना बताउँछन् । भन्छन्, “अझै कति दिन बस्नुपर्ने हो, थाहा छैन ।”
यो पनि पढ्नुस
उनको भाषा पूरै त बुझ्दिनँ तर यतिचाहिँ बुझ्छु, उनी भनिरहेका छन्- हाम्रो बालबच्चा, परिवार भोकै छन् । के तिमीले खान दिन्छौ ? म स्तब्ध हुन्छु । के उनको आवाज सरकारले सुन्यो त ?
ड्युटीमा खटिएका एक प्रहरी हवल्दारले रातीको समय मदिरा सेवन गरेर आफूहरूलाई कुटपिट र गाली गरेको उनीहरू बताउँछन् । प्रहरी अफिसरलाई उजुरी गरेपछि ती हवल्दारलाई ड्युटीबाट हटाइएको थियो । त्यसपछि भने सन्तोषको सास फेरेको ठगुन्ना सुनाउँछन् ।
संक्रमितको संख्या बढेसँगै नेपालमा पुन: १५ वैशाखसम्मका लागि लकडाउन लम्बाइएको छ । भारतमा पनि तीन साता थपिएको छ । दुवैतिर तत्काल लकडाउन खुल्ने सम्भावना नदेखेपछि क्वारेनटाइनबाट निकाल्न पटक–पटक विभिन्न जिल्लाका सिडियोलाई अनुरोध गरिएको रमेश बताउँछन् । भन्छन्, “बरु नेपालकै क्वारेनटाइनमा बस्छौँ ।”
जेठ पहिलो साताबाट असार दोस्रो सातासम्म यार्सा टिप्ने समय सुरु हुन्छ, दार्चुलामा । परदेश गएका पनि यार्सा टिप्न घर फर्किन्छन् । गाउँमा भएका बूढाबुढी र केटाकेटीबाहेक सबै यार्सा टिप्न उकालो लाग्छन् । यार्सा टिप्दाटिप्दै कतिको मृत्यु पनि हुन्छ ।
क्वारेनटाइनमा बसेकालाई लकडाउन लम्बिए यार्सा टिप्न नपाइने हो कि भन्ने अर्को चिन्ता छ । रमेश पनि प्रत्येक वर्ष बुबा र श्रीमतीसँगै यार्सा टिप्न अपी हिमालतिर लाग्थे । भन्छन्, “यो वर्ष यार्सा टिप्न नपाए ऋण तिर्न सकिँदैन ।”
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...