महाकाली तरेर देश पस्नेको कथा
भारतमा क्वारेन्टाइनका नाममा मानिसहरूलाई एउटै कोठामा थुनेर राख्न थालिएपछि नेपाली मजदुर स्वदेश फर्किन थाले । सजिलै बाटो नपाएपछि कति महाकाली तरेरै देश छिरे त कति अझै देश छिर्न पाउने पर्खाइमा छन् ।
उनको भाषा पूरै त बुझ्दिनँ तर यतिचाहिँ बुझ्छु, उनी भनिरहेका छन्- हाम्रो बालबच्चा, परिवार भोकै छन् । के तिमीले खान दिन्छौ ? म स्तब्ध हुन्छु । के उनको आवाज सरकारले सुन्यो त ?
बाहिर आकाश नीलो छ । नीलो क्यानभासको कुनामा पोखिएको छ, सेतो रङ । बादलको होइन, हिमालको । जसलाई म सजिलै झ्यालबाटै नियाल्न सक्छु । झ्यालका पर्दाहरू एकतमासले हल्लिरहेका छन् । मानौँ, मेरो कोठाले मस्तसँग सास फेर्न पाइरहेको छ ।
चराचुरुंगीहरूको चीरबीर बिहानैदेखि तेजिलो सुनिन्छ । मेरो वासस्थानसँगै मिलेर बास बनाइरहेका छिमेकी परेवाहरूको चहलपहल पनि उस्तै स्फूर्त छ । शान्तिका प्रतीक यी परेवाहरू झनै अशान्त लाग्छ, मलाई । एकअर्कालाई देखिसहँदैनन् । तर प्रेमिल जोडीहरू भने कौसीको डिलमा आउँछन्, एकअर्कामा चुच्चो अल्झाउँछन् । सायद चुमिरहेका होलान् । केही बेरमै एक परेवामाथि अर्को परेवा उक्लन्छ । क्षणभरमै ओर्लिन्छ, त्यो ।
म ठम्याउँछु– कुन भाले, कुन पोथी । सोच्छु, मेरो यो ठम्याइ पनि त फेल खान सक्ला । किनकि हामी अरूले बनाइदिएको सिद्धान्तलाई नै आँखा चिम्लेर पत्याइरहेका हुन्छौँ ।
मेरो दायाँपट्टि पल्लो घरको कोठामा मीठोसँग संगीत बजिरहेको छ । म पनि यतिबेला जोन डेँभरको टेक मी होम कन्ट्री रोड्स बोलको गीत सुनिरहेकी छु । सहर हो, यो । पल्लो कोठा, वल्लो कोठा एकअर्कालाई सुन्न सक्छन् । सायद मेरो कोठामा बजिरहेको संगीत उता पनि सुनिरहेका होलान् । अझ यतिबेला त दुवै कोठाका झ्याल खुल्ला झन् । नत्र प्राय: बन्द हुने झ्याल हुन् यी । मान्छे बाहिरिएपछि कोठा बन्द रहन्छ नै । बन्द कोठाका झ्याल पनि त प्राय: बन्द नै हुन्छन् । तर अचेल मान्छेहरू घरभित्रै छन् । त्यसैले घरहरू उज्याला छन् । कोठाहरू पनि खुला छन् ।
यो पनि पढ्नुस
भारतमा क्वारेन्टाइनका नाममा मानिसहरूलाई एउटै कोठामा थुनेर राख्न थालिएपछि नेपाली मजदुर स्वदेश फर्किन थाले । सजिलै बाटो नपाएपछि कति महाकाली तरेरै देश छिरे त कति अझै देश छिर्न पाउने पर्खाइमा छन् ।
यतिबेला बाहिर निस्कनु भनेको युद्धमा सामेल हुनुजस्तै हो । र, यो युद्धको नाम हो– कोभिड १९ । अर्थात्, कोरोना भाइरसको संक्रमण । यो संक्रमणभन्दा बढी आक्रमण लागिरहेछ । त्यसैले मान्छेहरू त्रासमा लुकिरहेछन् । त्रास पनि किन नहोस्, जब गुणात्मक पाराले कोरोना संक्रमणका केसहरू बढिरहेका छन् । हेर्दाहेर्दै मृतकको संख्या २१ प्रतिशतमा पुगिसकेको छ । संक्रमितको संख्या मात्रै १२ लाख नाघिसक्यो ।
नयाँ साल २०२० नलाग्दै अर्थात् २०१९ को अन्ततिर चीनको वुहान सहरबाट सुरु भएको यो महाव्याधि संक्रमणले विश्व घुम्दै हाम्रो मुलुकमा पनि प्रवेश गरिसकेको छ । यतिबेलासम्म विभिन्न मुलुकले यो संक्रमण फैलिन नदिनका लागि अनेक प्रयास गरिसकेका छन् । विभिन्न देशका वैज्ञानिकहरू यसलाई निर्मूल पार्ने भ्याक्सिन आविष्कारका लागि जुट्दै छन् ।
यो अभियान सफल नहुञ्जेल डरलाग्दो संक्रमणबाट जोगिने एक मात्र विकल्प भनेको सामाजिक दूरी कायम गर्नु नै हो । यसैका लागि कोरोना भाइरसबाट संक्रमित प्राय मुलुकहरू लकडाउन अर्थात् लकडाउनको अवस्थामा छन् । यही लकडाउले हाम्रा कोठाका झ्यालहरू आजकल अलि बढी समय खुल्ला भएका हुन् । यतिबेला हामी कोठाको झ्याल खोल्नु र झ्यालबाट देखिने संसार नियाल्नुमा मात्रै सीमित हुनु हुँदैनजस्तो लाग्छ । एउटा सचेत नागरिकको हिसाबले देशमा के भइरहेछ र त्यो सही भइरहेछ या गलत । त्यो नियाल्न हामीले मनमस्तिष्कको झ्याल खोल्न पनि उत्तिकै जरुरी छ ।
यो पनि पढ्नुस
संक्रमणको त्रास त छँदै छ, त्यसमाथि लकडाउनले परिवार नै विच्छेद हुँदा सर्वसाधारण थप तनावमा
साँच्चै अनौठो वेगमा कोरोना भाइरसले विश्व हल्लाइरहेका बेला यसविरुद्ध हाम्रो सरकारको गतिविधि भने किन यस्तो सुस्त लागिरहेछ ? अहिलेसम्म ९ जना संक्रमित भेटिएका छन् । उनीहरूको सम्पर्कमा रहेकाहरू अनि सम्पर्कमा रहेकाहरूको पनि सम्पर्कमा आएकाहरू । अनुमानै गर्ने हो भने पनि सयौँ नाघिसके होलान् ।
वैदेशिक रोजगारको भरमा जीवन गुजारा चलिरहेको हाम्रो मुलुकमा संक्रमित राष्ट्रबाट घर फर्कनेहरू पनि थुप्रै छन् । ती सबैको कोराना भाइरस परीक्षण किन यति ढिलो भइरहेछ ? तीन महिनामा १३ सय जति मात्रको कोरोना भाइरस परीक्षण गर्नु सरकारको अल्छीपना हो । सरकारले निकै धेरै समय त क्वारेन्टाइन बेड विस्तारमै बितायो । संक्रमण परीक्षणका निम्ति गुणस्तरीय उपकरणको व्यवस्थापनका लागि चुस्त गतिमा कदम चालेको पाइएन । पहिलो कोरोना संक्रमित भेटिएको समयदेखि अहिलेसम्म देशका विभिन्न ठाउँमा परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउन सकिन्थ्यो होला । त्यो पनि भएन ।
यो पनि पढ्नुस
परदेशबाट फर्किआएका आफ्नै नागरिकलाई बन्द दैलो
ढिलो गरी झिकाइएका स्वास्थ्योपचारका सामग्रीको आयातमा अनियमितता भएको भन्दै सञ्चार माध्यमहरू तातिएका छन् । हामी पनि तिनका समाचार पढेर, सुनेर दु:खी छौँ । आक्रोशित छौँ । देश गरिबीले आक्रान्त छ । त्यसमाथि यो महामारीले अर्थतन्त्र कुन अवस्थामा पुग्ने हो ।
हालै मात्रै जर्मनीको हेसे प्रान्तका अर्थमन्त्री थोमस स्याफरले कोरोना भाइरसका कारण अर्थतन्त्रमा पर्न गएको गिरावटबारे चिन्तन गर्दागर्दै आत्महत्या गरे । हाम्रोजस्तो अल्पविकसित मुलुकमा यही कोरोना भाइरसको कारण आर्थिक भारमा पिल्सिएर परिवारले नै आत्महत्या गर्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन । यस्तो विषम परिस्थितिमा पनि देश हाँक्ने अभिभारा लिएकाहरूले आफ्नै निजी स्वार्थ पूरा गर्न लाग्छन् भने हामी पक्कै अभागी नागरिक हौँ । तर हामी यस्तो हुन चाहन्नौँ ।
यदि निजी स्वार्थका लागि अनियमितता भएको छ भने त्यसको भण्डाफोर गर्नुपर्छ । भाइरस फैलिन नदिनका लागि लकडाउन गरेर मात्रै सरकारको जिम्मेवारी पूरा हुँदैन । कहाँ के भइरहेछ, त्यसको प्रत्यक्ष निगरानी राखेर समाधानका उपाय अवलम्बन गर्नु आजको आवश्यक्ता हो ।
यतिबेला लकडाउनका कारण घरघरमा अनेकन समस्याले जनताको मानसिक अवस्था बिथोलिएको छ । भर्खरै मेरा एक मित्रले दुवै मिर्गौलाकी बिरामी श्रीमतीको हिजो हुनुपर्ने डायलेसिस आज पनि हुन सकेन भनेर चिन्ता व्यक्त गरे । अर्का एक जनाको त डायलेसिस नभएको पनि ६ दिन भइसक्यो रे । केही दिनअघि मात्र सञ्चार माध्यममा छाइरहेको थियो, यो विषय ।
यो पनि पढ्नुस
काम गरिरहेका कम्पनी बन्द भएसँगै मालिकले धपाउन थालेपछि मुग्लान छाडेर स्वदेश फिर्ता हुनेहरूमाथि राज्यको व्यवहार
यो लकडाउनको क्रम लम्बिने हो भने एउटा कहालीलाग्दो भविष्य निश्चित छ । यहाँ सयौँ व्यक्तिका गरिखाने बाटोहरू बन्द भइसकेका छन् । अरू देशले जस्तो आफ्ना नागरिक पाल्ने हैसियत हाम्रो सरकारसँग छैन । त्यसैले जतिसक्दो छिटो कोरोना संक्रमण फैलनबाट रोक्दै जनतालाई नै सहभागी गराउने गरी विशेष कार्ययोजना अगाडि सार्नु आवश्यक छ । सही समयमा सही कदम जनताको विश्वास जित्ने आधार हो । विश्वास त्यस्तो हतियार हो, जसले जस्तोसुकै प्रतिकूल अवस्थामा पनि विचलित नभई ढुक्कसँग आफ्नो बाटोमा हिँड्न प्रेरित गर्छ । जसरी मेरी छोरी ढुक्कसँग पढ्छे, खेल्छे, खान्छे, आफ्नो मन लागेको काम गर्छे किनकि उसलाई आफ्नी आमाप्रति विश्वास छ– यो लकडाउनका बेला पनि आमाले भोको राख्ने छैनिन् ।
ठीक यसैबेला छोरी आउँछे र सोध्छे, खाजा खाने बेला भएन ? मेरो बायाँपट्टिको घरको भान्सामा पनि छिमेकी दिदी यताउता गरिरहेकी हुन्छिन् । साँच्चि भन्दा लक डाउनपछि उनी भान्सामा निकै व्यस्त छिन् । आखिर भोको पेटले खाना त माग्छ, अरू के माग्छ र ?
फेसबुकमा कसैको म्यासेज आउँछ । हेर्छु । एउटा अनलाइन पोर्टलमा प्रकाशित भिडियो रहेछ । भिडियोमा प्रहरीको नियन्त्रणमा रहेका सुदूरपश्चिमका एक अर्धनग्न व्यक्ति कराइरहेका हुन्छन् । लकडाउनले भारत र नेपालको सीमा बन्द छ । यसले वैदेशिक रोजगारको क्रममा भारत गएका थुप्रै नेपालीहरू नाकामै अलपत्र परेका छन् । तर यी बहादुर गोर्खाली भने महाकाली नदी तरेरै स्वदेश फर्केका रहेछन् । उनले बोलेको पूरै भाषा त बुझ्दिनँ तर यतिचाहिँ बुझ्छु, हाम्रो बालबच्चा, परिवार भोकै छन् । के तिमीले खान दिन्छौ ? म स्तब्ध हुन्छु । मेरा शब्दहरूले पनि लक डाउनको पालना गरेझैँ लाग्छ । थाहा छैन, सरकारले उनको आवाज सुन्यो या सुनेन ।
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...