मुग्लान छाडेर स्वदेश फिर्ता हुनेहरूमाथि सीमामै काँटाकिला
काम गरिरहेका कम्पनी बन्द भएसँगै मालिकले धपाउन थालेपछि मुग्लान छाडेर स्वदेश फिर्ता हुनेहरूमाथि राज्यको व्यवहार
भारतमा क्वारेन्टाइनका नाममा मानिसहरूलाई एउटै कोठामा थुनेर राख्न थालिएपछि नेपाली मजदुर स्वदेश फर्किन थाले । सजिलै बाटो नपाएपछि कति महाकाली तरेरै देश छिरे त कति अझै देश छिर्न पाउने पर्खाइमा छन् ।
लकडाउनका कारण नेपाल प्रवेश गर्ने सीमानाका बन्द भएसँगै बैतडी, डिलासैनी गाउँपालिका–१ गन्नाका इन्द्रसिंह खत्री खाना खर्च सकिएपछि १७ चैतमा उर्लिंदो महाकाली नदी पौडिएरै नेपाल प्रवेश गरे ।
खत्री भारतको बागेश्वर जिल्लाको रिमबाट भोकभोकै ६ दिन पैदलै हिँडेर दार्चुला सदरमुकामपारि धार्चुला पुगे । धार्चुलाबाट दार्चुला प्रवेश गर्ने पुल नखुल्ने सम्भावना देखिएपछि सँगै रहेका साथीहरूले महाकाली तरेर नेपाल पस्ने सल्लाह गरे । त्यही अनुसार महाकालीको बहावलाई प्रवाह नगरी नेपाल पुगेकै बेला प्रहरीले समात्यो ।
सँगै जाने अरु साथीहरूले खत्रीलाई समातेपछि महाकाली तर्ने आँट गरेनन् । पछि उनीहरू सुन्सेरा वा बलुवाकोटबाट महाकाली तरेर नेपाल प्रवेश गरे । खत्री भन्छन्, “पेटले खाना मागे पनि खल्तीमा सुको थिएन । भारतीय सुरक्षाकर्मीले गाड (नदी) बगरमा करिब तीन सय हाराहारीका हामीलाई भेँडाबाख्रा खाँदेजस्तो गरी राखेको थियो । सबैले जाऔँ भनेपछि म पौडेर आएँ ।” खोलामा पौडने क्रममा शरीरमा लगाएका कपडा पानीले बगाएको उनले सुनाए ।
१२ वर्षदेखि भारतीय मालिकको खच्चड चराउँदै आएका खत्री गत कात्तिकमा बागेश्वर जिल्लाको रिम गएका थिए । “गाउँघरको किसानीले खान नपुग्ने हुँदा भारतमा कुल्ली मजदुरी नगरी गुजारै चल्दैन । भारतमा घरखर्चको जोहो गर्न गएको ५ महिना भए पनि रित्तै हात फर्केको छु । खेतीपाती लगाउने र भित्र्याउने बेला घरमा बस्ने र बाँकी समय बर्सेनि ज्याला मजदुरी गर्न भारतका विभिन्न ठाउँ चहार्दै आएका छौँ,” खत्री सुनाउँछन् ।
यो पनि पढ्नुस
काम गरिरहेका कम्पनी बन्द भएसँगै मालिकले धपाउन थालेपछि मुग्लान छाडेर स्वदेश फिर्ता हुनेहरूमाथि राज्यको व्यवहार
घरमा काजबार (चाडपर्व) आए साहूबाट ऋण काडेर मनाउनुपर्ने स्थिति थियो । केही वर्षदेखि भारतको ज्याला मजदुरीले उक्त समस्या टरे पनि बालबच्चालाई शिक्षा दिन भने गाह्रो भइरहेको खत्रीको गुनासो छ ।
बर्सेनि धार्चुला र रिम गुलावसिंह कुटियालका खच्चड ओहोरदोहोर गराउने उनी कोरोना त्रास फैलिन थालेपछि खच्चड एक साथीको जिम्मा छाडेर घर फर्कन धार्चुला आए । मालिकपत्नीले घरखर्चसमेत नदिएकाले महाकाली तरेर नेपाल जानुको विकल्प देखेनन् ।
दार्चुला सदरमुकाममा रहेका ठूलाबडा मानिसको घरमा यसअघि काम गरेकाले खान बस्न पाइने आश थियो । नभए दुई/तीन दिन हिँडेरै घर पुगिने आशमा महाकाली तर्ने आँट थपिएको खत्री बताउँछन् ।
बैतडी पुर्चौडी नगरपालिका–७ ऐरीगाउँका दमन ऐर तीन दिन पैदल हिँडेरै बोगेश्वर, थल, डिडीहाट हुँदै धार्चुला पुगे । धार्चुलाको महाकाली बगरमा तीन दिनसम्म भोकभोकै घाम, पानी, हावाहुरी सहेर बसे । राम्ररी सुत्न त परैको कुरा ।
पेटभरि खान नपाएपछि महाकाली नगरपालिका–७ स्थित सुरकडाबाट महाकाली तरेको उनको दुखेसो छ । मजदुरी गरेर १७ जनाको समूहमा आएका उनीहरू सीमानाकाबाट ३ जना मात्र गत १९ चैतमा महाकालीमा पौडेर आएका थिए । “ऋण तिर्न र बालबच्चाहरूको पढाइ खर्च जुटाउन भारतमा मजदुरी गर्नुपर्छ । ७ वर्षदेखि यसरी नै घर खर्च बेहोर्दै आए पनि यसपालि कोरोना त्रासले सबै आउन थालेपछि हिँडेरै यहाँ पुगियो । स्वदेश छिर्न नपाएपछि जोखिम मोलेरै महाकाली पौडिएर नेपाल प्रवेश गर्यौँ,” दमन भन्छन् ।
यो पनि पढ्नुस
संक्रमणको त्रास त छँदै छ, त्यसमाथि लकडाउनले परिवार नै विच्छेद हुँदा सर्वसाधारण थप तनावमा
बैतडी डिलासैनी गाउँपालिका–२ का लोकेन्द्र बोहरा पनि १९ चैत दिउँसो महाकालीमा पौडी खेलेर नेपाल प्रवेश गरे । बोहरा घरको आर्थिक अवस्था कमजोर भएकाले दुई महिनाअघि भारतमा मजदुरी गर्न पुगेका थिए ।
केही समय मजदुरी गरेर घरपरिवारको जोहो जुटिरहेको समय कोरोना त्रासले सँगै रहेका साथीहरू घर फर्किन थाले । मजदुरी छाडेर भारतको दरबाट १५ जनाको समूहका आएका बोहरा तीन दिन पैदलै हिँडेर खलंगा पुगे । दुई दिनसम्म पनि नेपाल–भारत जोड्ने पुल नखुलेपछि महाकाली पौडिएर नेपाल आउन थाले । नेपाल प्रवेश गर्नेबित्तिकै सीमा क्षेत्रमा खटिएका प्रहरीले उनलाई समाते ।“उताको भीडभाडले भोक र रोगले मरिएलाजस्तो भयो । त्यसैले महाकाली पौडिएर भए पनि स्वदेशमै दु:ख–कष्ट सहेर बस्न मन लाग्यो,” बोहरा भन्छन् ।
भारतमा नेपाली मजदुरलाई एउटै कोठामा २५/३० जना र ठूला हलहरूमा २ सय हाराहारी क्वारेन्टाइनमा राखिएको छ । यस्तो भीडले संक्रमण बढ्ने सम्भावना बढी भएकाले क्वारेन्टाइनमै बस्नुपरे स्वदेशमै बसौँला भनेर महाकाली तरेरै यहाँसम्म आइपुगिएको उनी सुनाउँछन् ।
बैतडी पुर्चौडी नगरपालिका–८ मल्लादेहीका उत्तम बोहरा नेपालमा काम–माम नपाइने हुँदा बाध्यतावश मुग्लान पस्नु परेको बताउँछन् । भन्छन्, “वैशाखमा काटेको गहुँ असारलाई पुग्दैन, असोजमा भाँचेको मकै मंसिरलाई पुग्दैन । गाउँघरको खेती किसानीले दुई/तीन महिनालाई पनि खान नपुग्ने हुँदा भारतमा मजदुरीको विकल्प छैन । आफ्नो र घरपरिवारको खर्च जोहो गर्न वर्षौंदेखि भारतको मजदुरीले गुजारा चल्दै आएको छ ।”
दसैँ–तिहार मनाएर दैनिक ज्यालादारीमा मजदुरी गर्न गत कात्तिकमा भारतको बागेश्वरी जिल्ला पुगेका बोहराको विशुु त्यार (नयाँ वर्ष) मनाउन घर आउने योजना थियो । कोरोना संक्रमण बढ्न थालेसँगै ठेकेदारले घर फर्किन भनेपछि उक्त ठाउँमा काम गर्ने सबै नेपाली तीन दिन पैदलै हिँडेर नेपाली सीमासम्म पुगे ।
नेपालको सीमामा पुगेको १८ चैतमा चार दिन भएको थियो । खाना र थातबासको टुंगो थिएन । उनी सुनाउँछन्, “दार्चुला नाकाबाट नेपालीहरूलाई स्वदेश जान दिँदै छ भन्ने सुनेपछि भोक र निद्राको प्रवाह नगरी तीन दिनमा यहाँ आइपुगियो । घर नजिकै पुगेपछि झन् बिजोग भयो । संयुक्त परिवार भएकाले काम थोरै, खाने संख्या धेरै भए पनि ज्यालादारी नगरे चुलो बल्दैन ।”
वर्षमा दुई खेती पाक्ने हुँदा खेतीपातीको काम नभएका बेला वर्षमा दुई/तीन पटकसम्म भारतमै मजदुरी गरेर परिवार पाल्दै आएको उनले सुना ।
बैतडी पुर्चौडी नगरपालिका–७ ऐरीगाउँका देवबहादुर ऐर विशु त्यारको खर्च जोहो गर्न माघेसंक्रान्ति खाएर सडक निर्माणको काम गर्न बागेश्वर जिल्ला पुगेका थिए । “अहिले हामी १५ जना सीमा पुगेका छौँ । अझै अढाई सय जति बाटोमा अलपत्र अवस्थामा छन् । नैनीतालबाट पैदलै हिँडेर पिथौरागढ जिल्लाको पनारघाटमा अड्किएका छन्,” उनी भन्छन् ।
कोही बैतडीको झुलाघाट नाकाबाट स्वदेश फर्कन हिँडेर आइरहेको उनी बताउँछन् । साइट ठेकेदारले तीन महिनालाई काम बन्द हुने सूचना दिइसकेको छ । तीन महिनासम्म खानपिनको समस्या हुने भएपछि हिँडेरै स्वदेश फर्किनु परेको उनीहरूको भनाइ छ ।
“ठेकेदारले घर जानू भनेपछि सबै कामदार सडक निर्माण स्थलबाट हिँडिसकेका छन् । तीन दिनको बाटोमा खान नपाएपछि सबैले बागेश्वर नजिकको चलीगाउँमा मागेको धान ओखलमा कुटेर भात पकाएर खानु पऱ्यो ।
“दैनिक ज्यालादारीमा काम गर्नुपर्ने हुँदा ठेकेदारहरूले हिसाब नभएको भन्दै बाटो खर्च मात्र दिए । सबै खर्च बाटोमै सकियो । घरमा आमाबुबाले विशु मनाउन केही रुपैयाँ लिएर आन्छ भनेर सोचेका होलान् । आफू भने सबै खर्च सकिएर रित्तिएको अवस्थामा छौँ,” उनीहरू आफ्ना पीडा सुनाउँछन् ।
यो पनि पढ्नुस
विदेशका अस्पतालहरूमा कार्यरत चिकित्सकहरूको सुझाव छ- नेपालमा लकडाउन अझै लम्ब्याउनु उचित हुन्छ ।
पुर्चौडी नगरपालिका–२ महादेवस्थानका नरेश भण्डारी नेपालमा अलपत्र परेका विदेशीलाई नेपालकै विमानबाट आफ्नो देश पठाउने तर सीमाका विभिन्न ठाउँमा अलपत्र परेका नेपाली नागरिकलाई सीमाबाटै स्वदेश प्रवेश गर्न नदिनु विडम्बना भएको सुनाउँछन् । भन्छन्, “हामी नेपालका नागरिक होइनौँ र ? हामी सबैसित नेपालको नागरिकता छ । भारतमा पनि क्वारेन्टाइनमा बस्नु भनेको छ । भेँडाबाख्राजस्तै एकै ठाउँ सयौँको संख्यामा कोचेर राखेको छ । क्वारेन्टाइनमा बस्नुपरे आफ्नै देशमा बसौँला भनेरै सीमासम्म आइपुगेका हौँ । सरकारले हामीलाई विदेशीसरह व्यवहार गर्यो ।”
दार्चुला नाकाबाट नेपाल जान दिइरहेको स्थानीयले भने पनि ३५ जनाको समूहमा रहेका उनीहरू रातदिन खाना नखाएर सीमापारि बसिरहेको तीन दिनसम्म स्वदेश जान पाएका छैनन् । “८ महिनाअघि कामको खोजी गर्दै थलसम्म पुगियो । उक्त ठाउँमा अन्य गाउँलेहरू पनि मजदुरी गरिरहेकाले घरमा साहूको ऋण तिर्न लामो समय काम गरियो । काम पाइने हुँदा आउने दसैँमा घर फर्केने सोच थियो । कोरोनाको त्रासले सबै आउन थालेपछि म पनि सँगै आएको हुँ,” भण्डारी भन्छन् ।
अहिले तीनै जना बलुवाकोटस्थित विद्यालयको क्वारेन्टाइनमा बसेका छन् । एक कोठामा १४ जनालाई राखिएको यो विद्यालयमा उनीहरूसँगै ७० जना नेपाली मजदुर बसेका छन् ।
यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाका सयौँ संख्याका मजदुरलाई धार्चुला र जौलजिवी क्षेत्रका ५ स्थानमा एक साताका लागि सीमापारि क्वारेन्टाइनमा राखिएको छ । भारतमा अलपत्र नेपाली मजदुरमध्ये धार्चुलास्थित महाकालीमा निर्माण गरिएको गौशालामा ३ सय ८०, मिनिस्टेडियममा ३ सय ५, जौलजिवीमा २ सय र गलातीको फायर ब्रिगेडमा ३२ जनाको खानबस्न र स्वास्थ्य चेकजाँचको व्यवस्था गरिएको भारतीय पक्षले जनाएको छ । पारि धार्चुलाको क्वारेन्टाइनमा रहेका नेपालीहरूको अवस्थाबारे भारतीय पक्षसँग निरन्तर समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल बताउँछन् ।
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...