जहाँ पुगे, त्यहीँ थुनिए
संक्रमणको त्रास त छँदै छ, त्यसमाथि लकडाउनले परिवार नै विच्छेद हुँदा सर्वसाधारण थप तनावमा
काम गरिरहेका कम्पनी बन्द भएसँगै मालिकले धपाउन थालेपछि मुग्लान छाडेर स्वदेश फिर्ता हुनेहरूमाथि राज्यको व्यवहार
धेरै दिनको यात्राले थकित शरीर । भोक र प्यासले ओइलाएको अनुहार । काँधमा झोला र झिटीगुन्टा । कोहीकसैका काखमा साना बच्चा । तर मनमा भने जसरी भए पनि घर पुगिछाड्ने अठोट ।
सयौँ किमि यात्रा पार गरेर आफ्नो देश छिर्ने बेलामा उनीहरूको दृढ मनोबलमाथि तेर्सिएर अवरोध गर्ने गर्थ्यो– नेपाल–भारतबीचको दसगजा सिमाना ।
कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि नेपाल र भारतले लकडाउन गरेपछि भारतमा रोजगारी गरी सुनौली नाका हुँदै घर फर्केका हजारौँ नेपाली नागरिकले सीमामा भोग्नु परेको पीडाको चित्रण हो, यो । लकडाउन गरिएपछि झन्डै एक सातासम्म सुनौली नाकाको दसगजा सीमा क्षेत्रमा यस्तै खाले परिदृश्य देखा परिरहे ।
नेपाल–भारतबीचका सबै सीमा बन्द गरिएपछि पनि सुनौली नाकाबाट घर फर्किने नेपाली आउने क्रम रोकिएन । भारतबाट घर फर्केका नेपालीको ठूलो समूह हरेक दिन सिमानामा देखा परिरह्यो । अनि, एउटै घटना क्रम दोहरिरहन्थ्यो, नेपाली यात्रु लकडाउन तोडेर नेपाल आउन खोज्ने । सीमामा तैनाथ नेपाली सुरक्षाकर्मीले दसगजामै रोकेर आउन नदिने ।
सीमावर्ती नेपालको बेलहियाका पर्यटन व्यवसायी तथा स्वयंसेवी रमेश थापाले यो क्रम धेरै पटकसम्म चलिरहेको र यसको दोहोरो मारमा दुवै मुलुकका स्थानीय पर्ने गरेको बताए । “सयौँ किमि परबाट अनेक दु:ख र हन्डर खाँदै नेपालको सीमामै आएर पनि उनीहरू भोक र प्यासले तड्पिएको हेरेर बस्न सकिँदैनथ्यो,” थापाले भने, “उनीहरूलाई खाने–बस्ने व्यवस्था न सरकारी स्तरबाट हुन्थ्यो, न त प्रदेश र स्थानीय निकायबाटै ।”
सिमानामा नेपालीले पाउने गरेको दु:ख र कष्ट हेर्न एक दिन पनि प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख, उपप्रमुख, प्रदेश मन्त्रीलगायत ठूलाबडा कसैले पनि मुख नदेखाएको उनले सुनाए । हरेक दिन दुवै देशका स्थानीय स्वयंसेवी र संंघसंस्थाको पहलमा उनीहरूलाई खाने व्यवस्था मिलाइएको थियो । एक–दुई दिन बिराएर सिमानामा जम्मा भएका नेपालीलाई स्थानीय प्रशासनले घर आउने व्यवस्था मिलाइदिन्थ्यो । तर अर्को दिनदेखि सीमामा उही समस्या सुरु हुन्थ्यो । घर आउने नेपालीको सिमानामा उस्तै भीड । भीडमा महिला र बालबालिका पनि हुने भइहाले ।
भारतको सुनौली बजार बन्द अवस्थामा रहेकाले नेपालीको समूह भोक र प्यासले तड्पिएको देखिन्थ्यो । नेपाल प्रवेश आशामा धेरै समय सडकमा बिताउँदा पनि प्रवेश नपाउँदा उनीहरू आक्रोशित बन्थे । नेपालतर्फ आउनमा उनीहरूलाई भारतीय पक्षबाट भने कुनै रोकावट थिएन । नेपाल तर्फबाट आउनमा रोक लगाइएपछि उनीहरू सीमा गेटमै रहेको भारतको स्वागतद्वारमुनि घन्टौँसम्म झोलागुन्टा बोक्दै सीमामा खटिएका सुरक्षाकर्मीसँग नेपाल आउने अनुमतिका लागि दिनभर बिन्तीभाउ गरिरहन्थे ।
यो पनि पढ्नुस
संक्रमणको त्रास त छँदै छ, त्यसमाथि लकडाउनले परिवार नै विच्छेद हुँदा सर्वसाधारण थप तनावमा
“हामी लामो समयदेखि यात्राका क्रममा भएकाले सिमाना बन्द गरिएको जानकारी भएन,” मुम्बईमा रोजगारी गरी घर फर्केका नवलपरासी बुग्दीकाली गाउँपालिका डेढगाउँ घर बताउने टेकबहादुर नेपालीले भने, “अनेक दु:ख र कष्टको यात्रा गरेर पनि आफ्नैबाट आफ्नै देश जाने अनुमति नपाउँदा ग्लानि भएको छ ।”
सिमानामै सबैको स्वास्थ्य जाँच गरेर क्वारेन्टाइनमा राखिए पनि आफूहरू तयार रहेको उनले बताए ।
सीमामा जम्मा भएका आफ्नै नागरिकलाई नेपाल प्रवेशको अनुमति दिने या नदिने भन्नेबारे स्थानीय प्रशासनले केन्द्रमा सोध्ने गर्थ्यो र जवाफ नआउँदासम्म सबै अनिर्णयको बन्दी हुन्थे ।
कोरोनाको संक्रमण नियन्त्रणका लागि नेपाल–भारत दुवैतर्फ लकडाउन र सीमा बन्द गरिए पनि भारतको दिल्ली, मुम्बई, पन्जाब, हरियाणा, कानपुर, गोरखपुर, बनारस, लखनउ, कश्मीर, राजस्थान, तमिलनाडु, कोलकातालगायत विभिन्न स्थानबाट नेपालीहरू यो नाका हुँदै आउने गर्छन् ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले उनीहरूलाई नेपालतर्फ आउनका लागि छाड्ने आदेश नभएकाले सीमामै रोकिएको जवाफ दिने गर्थे । “उनीहरूलाई छाड्ने कुनै पनि आदेश अहिलेसम्म आएको छैन,” पन्थको जवाफ हुने गर्छ, “उनीहरूलाई कहाँको क्वारेन्टाइनमा राख्ने भन्ने समस्या पनि अर्कोतर्फ छ ।”
भैरहवा–सुनौली नाका भारतसँगको आवतजावत हुने मुलुककै मुख्य प्रवेशस्थल भएकाले नेपालको सबै क्षेत्रका यात्रु यस नाकाबाट आउने गर्छन् । तर यात्रु आगमनको अनुपातमा उनीहरूलाई राख्ने क्वारेन्टाइनको क्षमता भने रूपन्देहीमा कमी भएकाले यात्रु क्वारेनटाइनमा बस्न तयार भए पनि समस्या भएको प्रजिअ पन्थ बताउँछन् ।
यसबारे केन्द्र र प्रदेशबाट अहिलेसम्म वैकल्पिक व्यवस्था हुन नसकेको उनको भनाइ छ ।
सिमानामा अलपत्रमा पर्ने अधिकांश नेपालीले भारतमा आफू कार्यरत संस्था तथा रोजगारदाता निकाय बन्द भएपछि नेपाल आउनुपर्ने बाध्यता रहेको बताउँछन् । “सिमाना बन्द गर्नेबारे केही दिनको पूर्वसूचना दिएर निर्णय गरिनुपर्थ्यो,” केरलामा आफू कार्यरत होटल बन्द भएपछि नेपाल फर्केको बताउने धादिङका मिलन भारतीले भने ।
विदेशमा अलपत्र र समस्यामा परेका नागरिकको उद्धार गर्नु राज्यको जिम्मेवारी र दायित्व हो । नेपाल सरकारले आफ्ना नागरिकको उद्धार गर्न भन्दै अन्य विदेशमा चार्टर गरेर पनि विमान पठाउने गरेको छ । तर भारतबाट बाध्य भएर घर फर्केकालाई भने सीमाबाटै प्रवेशमा रोक लगाउनुुले सरकार आफ्ना नागरिकप्रति उत्तरदायी हुन नसकेको देखिन्छ । बरु सबैलाई क्वारेन्टाइनमा राखेर मात्र घर जाने व्यवस्था मिलाउनुपर्ने धारणा धेरैले व्यक्त गरेका छन् ।
यो पनि पढ्नुस
विषम परिस्थितिमा मानवता र विश्व शान्ति/न्यायको अवधारणा सबैलाई प्यारो लाग्छ । तर जब त्यो विषम परिस्थिति टर्छ, मान्छे आफ्नो पुरानो स्वभावमै फर्किन्छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा बेलहियाका स्थानीय विष्णु शर्माले भारतबाट रोजगारी गरी घर फर्कन विवश गरिब नेपालीप्रति राज्यले आफ्नो दायित्व वहन गर्न नसकेको आरोप लगाए । “विकसित देशमा रहेका नेपालीलाई विमान लगेर उद्धार गर्ने सरकारले भारतमा मजदुरी गरेर सीमामा अलपत्र जनताबारे वास्ता गर्नु पर्दैन ?” शर्मा भन्छन्, “भारतमा मजदुरी गर्ने के नेपाली नागरिक होइनन् ?”
सिमानामा नेपालीको एउटै आवाज गुञ्जिने गर्छ, ‘हामी रहरले आएका होइनौँ, बाध्यताले हो । आफ्नो देश आउने वातावरण मिलाइदेऊ सरकार ।’ आफूले काम गरेको कम्पनी बन्द भएसँगै मालिकले धपाउन थालेपछि विवश भएर नेपाल फर्किनु परेको पीडा उनीहरू सुनाउँछन् ।
“काम गरेको कम्पनी बन्द भएपछि मालिकले राख्न मानेन,” अर्घाखाँचीको मालारानी गाउँपालिका–३ घर भएका सुनील खनालले भने, “अहिले आफ्नै देशमा प्रवेश नपाउँदा पराया बनेजस्तो लाग्न थाल्यो । आफ्नै घरको ढोका बन्द गरेजस्तो हुन थाल्यो ।”
सुनौलीमा अलपत्र परेका अधिकांशले भारतमा खाने र बस्ने समस्या भएपछि नेपाल आउनु परेको बताएका छन् ।
नेपालमा सरकारले तोकेको स्थानमा दुई सातासम्म क्वारेन्टाइनमा बस्न तयार रहेकोसमेत उनीहरू सुनाउँछन् । “सरकारले हामीलाई क्वारेन्टाइनमा राख्छ भने भनेकै स्थानमा बस्न तयार छौँ नत्र आफ्नै घरमा क्वारेन्टाइनमा बस्नेछौँ,” दिल्ली नजिकैको गाजियावादमा नोकरी गर्ने गरेका अर्घाखाँची नरपानीका सुरेश भुसाल भन्छन्, “हामी सबै नेपाल पुगेपछि दुई साता क्वारेन्टाइनमा बिताउने मनस्थितिले नै हिँडेका हौँ ।”
यो पनि पढ्नुस
गाउँले भन्छन् : “खुट्टै ढोग्दा पनि क्वारेन्टाइनमा बस्न मानेनन् । उनीहरूका कारण अहिले सिंगो गाउँ जोखिममा छ ।”
सीमामा जम्मा भएका झन्डै चार सय संख्याका नेपाली आफ्नो माग पूरा गराउन दसगजामै धर्नामा बसे । नेपाल पनि आउन नपाइने, भारतीय सुरक्षाकर्मीले पनि फर्केर उतातिर जान नदिने चेपुवामा परेपछि गत सोमबार राती करिब साढे ९ बजेदेखि उनीहरू संगठित भएर दसगजामै धर्नामा बसेका थिए ।
तर उनीहरूको यो धर्ना २४ घन्टा बित्न नपाउदै बीचमै अन्त्य भयो । भारतीय सुरक्षाकर्मीको ठूलो समूह धर्ना स्थल आएर चार–पाँच वटा बसबाट उनीहरूलाई मंगलबार साझ ६ बजेतिर भारत फर्काइदिपछि धर्ना अन्त्य हुन पुगेको थियो । पहिला दसगजा सीमाबाट भारततर्फ फर्कनसमेत नदिएका भारतीय सुरक्षाकर्मीले नेपाल र भारत सरकारबीच अर्को निर्णय नहुञ्जेल व्यवस्थित रूपमा क्वारेन्टाइनमा राखिने प्रतिबद्धता जनाउँदै आफ्नातिर फर्काएका थिए ।
दसगजामै रहेका नेपालीलाई नेपाली सुरक्षा अधिकृतहरूले पनि भारत फर्कन दबाब दिएका थिए । धर्नामा बसेका नेपाली अन्तत रुँदै भारततर्फ नै लागेका थिए । भारतीय र नेपाली सुरक्षाकर्मीले उनीहरूलाई भारततर्फ फर्कनका लागि दबाब दिँदाको क्षण भने निकै कारुणिक थियो । “बरु हामी यही दसगजामा भोकै बसेर मर्न तयार छौँ तर भारततर्फ जाँदैनौँ,” दसगजा सीमामा बसेका नेपाली सामूहिक रूपमा बिन्तीभाउ गर्दै थिए, “हिजो हामीलाई भारतमा बस्न नदिएर नेपाल आउन बाध्य बनाइएको थियो ।”
कसैले रुँदै त कसैले आक्रोशित बन्दै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै थिए । कतिले आफूलाई नेपाली नागरिक भन्नसमेत लाज लाग्ने वातावरण सरकारका तर्फबाट भएको आक्रोश व्यक्त गर्दै थिए । केहीले विपद्मा परेका नागरिकलाई नेपाल सरकारले उद्धार गर्नुको सट्टा भारततर्फ नै धकेलेर आफ्नो दायित्वबाट पन्छिएको आरोप लगाएका थिए ।
यो पनि पढ्नुस
प्रकोपका बेला कुनै व्यवस्थालाई दोष दिनु उपयुक्त नहोला तर यो उदार अर्थव्यवस्थाको उपज हो भन्ने अनुभवले पुष्टि गरेको छ ।
सबै बसमा बसेर भारत फर्किन लाग्दासमेत अर्घाखाँचीको साविक पणेनी गाविस– ४ कि शान्ता विक आफन्तको छातीमा टाँसिएर रुँदै भारत जान चाहेकी थिइनन् । “बरु म यही मर्छु । आज मेरो देश नै पराइ बन्यो,” उनको विलौना थियो ।
भारत उत्तर प्रदेश सरकारले लकडाउन गरिएपछि जो जहाँ छ, त्यही नै व्यवस्थित रूपमा राख्ने निर्णय गरेसँगै भारतीय पक्षले दसगजामा रहेका नेपालीलाई फर्काउनु परेको बताएको थियो । नेपालीहरूलाई भारतीय सुरक्षाकर्मीले ९ किमि पर नौतनवास्थित नौतनवा इन्टर कलेजमा व्यवस्थित रूपमा राखिने भारतीय सुरक्षा अधिकारीले जनाए ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ भारतबाट नेपाल आउन खोजेकालाई भारतीय पक्षबाट र नेपालबाट भारततर्फ जान चाहेकालाई नेपालका तर्फबाट राख्नुपर्ने भएकाले नेपालीलाई भारततर्फ लगिएको बताउँछन् । केन्द्रबाटै नाका नखोल्ने भन्ने भएपछि यस खालको निर्णय गरिएको र यसबारे माथि जानकारी गराउँदा ठीक छ भन्ने जवाफ आएको पन्थले जनाए ।
उनका अनुसार त्यस्ता नागरिकलाई संक्रमणको अवस्था हेरेर न्यूनतम पनि १४ दिनको क्वारेन्टाइनमा राखिनेछ ।
दसगजा सिमानाबाट नेपालीलाई भारततर्फ फर्काएसँगै भारत प्रवेश नपाएर त्यहाँ रोकिएका करिब डेढ सय संख्याका भारतीय नागरिकलाई पनि रूपन्देही प्रशासनले नेपाल फर्काएर सीमादेखि करिब २ किमि वरको डन्डा नदी नजिकको निमा प्रतिमान मेमोरियल ट्रस्टमा राखिएको छ । त्यसपछि १९ चैतसम्म भारतबाट आएका कुनै पनि नेपाली नागरिक सीमामा देखा नपरेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए ।
“नेपाल आउने नागरिकलाई भारतले नै क्वारेन्टाइनमा राख्न थालेपछि अब यो समस्या दोहोरिने सम्भावना देखिँदैन,” अधिकारीले भने । पहिला स्वयं भारत सरकारले नै बसमा चढाउँदै यहाँसम्म ल्याएर छाड्ने गरेको सीमा क्षेत्रका स्थानीय र नेपाली यात्रुले बताएका थिए ।
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...