नेपालमा व्यक्ति संक्रमित हुने तर लक्षण नदेखिने परिस्थितिले महामारीको भयावह संकेत गर्ने स्वास्थ्यकर्मीको चेतावनी
६५ वर्षीया मनकुमारी पौडेलको ज्यानलाई दम रोगले च्यापेको थियो । तर हिँड्डुल राम्रैसँग गर्थिन्, घरधन्दा पनि चलाउँथिन् । उनका आफन्त भने बेल्जियममा थिए ।
आफन्तकै बोलावटमा केही समय पहिला बेल्जियम पुगेकी थिइन् । जब युरोपलाई कोरोना संक्रमणले लपेट्न थाल्यो, त्यतिबेलै पौडेल हतारहतार काठमाडौँ आइन्, ४ चैत ०७६ मा ।
कतार एयरलाइन्सको क्युआर ६५२ उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिइन् । साथमा थिइन्, १९ वर्षीया अंशु सापकोटा । सँगै आएका उनीहरूको काठमाडौँ–बाग्लुङ यात्रा निस्फिक्री थियो । पोखरासम्मको यात्रा हवाईजहाज र त्यहाँबाट माइक्रोबस चढेर गाउँ पुगेका उनीहरूले थुप्रैलाई भेटे । उनले सोचेकै थिइनन्, कोरोना संक्रमण होला भनेर ।
त्यतिबेलासम्म नेपालमा कोरोना संक्रमण फैलिएको थिएन भने उनीहरूमा उक्त रोगसँग मिल्दो कुनै लक्षण देखिएको थिएन । दुई–तीन दिनमै ज्वरो आउने, खोकी लाग्ने समस्याले अंशु थलिएपछि परीक्षण गर्दा कोरोना संक्रमणको पुष्टि भयो । त्यसपछि पौडेल जाँचका लागि अस्पताल आइन् । उनमा पनि कोरोना संक्रमण देखियो, २० चैत ०७६ मा । तर पौडेललाई भने लक्षणबिनै परीक्षणबाट कोरोना पुष्टि भयो । अर्थात्, ६५ वर्षीया पौडेलमा लक्षण थिएन तर १९ वर्षीय युवतीमा कोरोना संक्रमणको लक्षण देखियो ।
धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र पोखरेलको भनाइमा ती ६५ वर्षीया महिलामा अस्पताल बसाइका क्रममा पनि लक्षण देखिएन । भन्छन्, “अस्पताल आइपुग्नु पहिला केही ज्वरो आएको थियो वा श्वासप्रश्वासको अप्ठेरोलाई दमकै समस्याका रूपमा लिनुभएको हो कि । तर अस्पतालमा चाहिँ लक्षण देखिएन ।”
संयोग कस्तो भइदियो भने घरमा हुँदा होस् वा अस्पताल । युवतीमा लक्षण देखिने तर वृद्ध महिलामा देखिएन । र, कोरोना संक्रमणबाट छिटो निको पनि तिनै वृद्ध महिला भइन् ।
सप्तकोशी नगरपालिका–१ स्थित मुस्लिम टोलमा आरडिटीबाट परीक्षण गर्दै स्वास्थ्यकर्मी । सीमामा रहेको उदयपुर जिल्लामा फेला परेका १२ जना कोरोना सङ्क्रमितहरु सप्तरीको मस्जिदहरुमा बसेको खुलेपछि उनीहरु बसेको क्षेत्रहरु शनिबार सिल गरिएको छ । नानीमैया कटवाल/रासस २७ दिन लामो अस्पताल बसाइबाट ६ वैशाख ०७७ मा टेकु अस्पतालबाट निस्किएकी प्रसिद्धि श्रेष्ठले श्वासप्रश्वासमा खुबै समस्या भएको अनुभव सुनाइन् । अस्पतालबाट निस्कँदै गर्दा सञ्चारकर्मीलाई श्रेष्ठले भनिन्, “सास फेर्न निकै गाह्रो हुने रहेछ, आलस्य पनि निकै भयो, त्यतिबेला । पलङबाट ओर्लिन पनि मन नलाग्ने ।”
५ चैत ०७६ मा फ्रान्सबाट काठमाडौँ आएकी २१ वर्षीया श्रेष्ठले निको भएर घर फिर्ने बेला अनुभव सुनाइरहदा उनमा २७ दिन पहिला नै कोरोना संक्रमणको लक्षण प्रस्टै अनुभूत गरियो । टेकु अस्पतालमा उपचाररत धादिङका अर्का युवा पनि कोरोना संक्रमणले च्यापेपछि अस्पताल पुगेका हुन् । युएईबाट काठमाडौँ आएको दुई दिनमै ती युवामा समस्या देखियो अनि ट्याक्सी चढेर टेकु अस्पताल पुगेका थिए । उनले अनुभव सुनाउने क्रममा भनेका थिए, ‘सास फेर्न गाह्रो र ज्वरो पनि आएपछि अस्पताल आएको हुँ ।”
नभन्दै अस्पतालको परीक्षणमा उनमा कोरोना संक्रमण देखियो । त्यही अवस्था थियो, धनगढीमा भेटिएका अर्का युवाको पनि । उनी पनि युएईबाट काठमाडौँ हँुदै धनगढीसम्मको लामो यात्रामा थिए । काठमाडौँ, नेपालगन्ज, अत्तरियालगायत बजार घुम्दै घर पुगेका थिए । घर पुगेलगत्तै ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिन थालेपछि धनगढी प्रादेशिक अस्पतालमा उपचारका लागि आए । उनमा कोरोना संक्रमण भइसकेको पुष्टि भयो र उपचारमै छन् ।
यी सन्दर्भले दुई तथ्यलाई प्रस्ट पारिरहेको छ । एक– कोरोना संक्रमणबिना लक्षण पनि भइरहेको छ । दोस्रो, वृद्धलाई भन्दा युवामा संक्रमणको लक्षण बढ्ता देखिएको छ । यी घटनाले विश्व स्वास्थ्य संगठनले भनेझैँ नभई नेपालमा संक्रमणको जोखिम भएको उमेर समूह र दीर्घरोगीलाई भन्दा युवालाई छिटो लक्षण देखाइरहेको छ ।
चैतको पहिलो साता विदेशबाट फर्किएकाबारे सरकारसंग न तथ्यांक छ, न त उनीहरू क्वारेन्टाइनमा बसे । कोरोना रोकथाममा अहिले क्वारेन्टाइनमा नबस्ने तिनै व्यक्ति सबैभन्दा ठूलो चुनौति बनेका छन् ।
किन देखिएन लक्षण ?
विश्वव्यापी कोरोना संक्रमणको गति, संक्रमणको उमेर र लक्षणको सन्दर्भमा नेपाल अपवादजस्तो देखिएको छ । नेपालका संक्रमित ३१ मध्ये ५ जनामा मात्रै लक्षण देखियो । अनि, ६० वर्ष नाघेका वृद्ध संक्रमणको जोखिमभित्र मानिएको छ । तर नेपालमा त्यही उमेर समूहका बिरामीमा लक्षण त देखिएको छैन नै, निको पनि छिटो भएका छन् ।
संक्रमित ३१ जनाको आधारमै आकलन र निष्कर्ष निकाल्न नसकिने भए पनि चिकित्सकीय पक्षबाट अध्ययनको पाटो भने भइदिएको छ ।
सेती प्रादेशिक अस्पताल आकस्मिक वार्डका प्रमुख तथा प्रवक्ता नेपालको सन्दर्भमा किन फरक छ भनेर अध्ययन आवश्यक रहेको ठान्छन् ।
जस्तो, कैलालीको लम्कीचुहा नगरपालिका–१ भरुवाकी ६५ वर्षीया एक महिलामा पनि कोरोना पुष्टि भयो, १ वैशाख ०७७ मा । पर्साबाट कैलाली पुगेकी ती महिलाको लामो सफर एक्लो थिएन । एक हुलसहित लम्की पुग्दासम्म ती महिलामा कोरोना संक्रमणको जाँच गराएकी थिइन् । लक्कीमा पनि संयोगले र्यापिड डाइग्नोसिस्ट टेस्टको टोलीको परीक्षणमा पोजेटिभ देखिएपछि पुन: पीसीआर टेस्ट गरियो । यसमा पनि पोजेटिभ देखियो । अनि, धनगढी प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरियो । उनी उपचारमै छिन् । ती महिलामा न पहिला कोरोनाको लक्षण देखिएको थियो, न त अहिले नै ।
अस्पतालमा उपचाररत ५ जनामध्ये ४ जनामा लक्षण देखिएको छैन । अस्पतालका प्रवक्ता जगदीश जोशीका अनुसार एक जना बिरामीमा उच्च रक्तचाप र दमको समस्या छ तर उनमा पनि कोरोनाको संक्रमण देखिएको छैन । भन्छन्, “अस्पतालमा उपचाररत ५ जनामध्ये ४ जनामा कोरोनाको लक्षण देखिएको छैन, परीक्षण मात्रै पोजेटिभ देखिइरहेको हो ।”
धनगढीकै अवस्था छ, कोसी अस्पतालमा पनि । ६ वैशाखमा उदयपुरको गाईघाटस्थित भुल्के मस्जिदमा भेटिएका ती संक्रमितमा पनि लक्षण नदेखिएरै परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । अहिले उनीहरूको कोसी अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ । अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट संगीता मिश्रका अनुसार ती संक्रमितको अवस्था सामान्य छ भने अहिलेसम्म कुनै पनि लक्षण देखिएको छैन ।
६ वैशाखमा थपिएका अर्का कोरोना संक्रमित भने ६५ वर्ष उमेर नाघेका छन् र तिनमा पनि कोरोनाको लक्षण छैन ।
भक्तपुरको सनसिटी अपार्टमेन्टमा बस्ने परिवारका दुई जनामा होस् वा चितवनमा भेटिएका संक्रमित आमा–छोरा । ती सबैमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छैन । लक्षण देखिएर परीक्षण गरिएभन्दा पनि विदेशबाट आएकै कारण मात्र उनीहरू परीक्षणको दायरामा परेका हुन् ।
संयोगले उनीहरू कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भयो । अहिलेसम्म भेटिएका ३१ जनामध्ये सबैको अवस्था सामान्य छ भने उनीहरू आइसोलेसन कक्षमा उपचाररत छन् । त्यसमध्ये ३ जना त निको भएर घर फर्किसकेका छन् ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड- १९ को सङ्क्रमणको उपचारपश्चात शनिबार डिस्चार्ज भएर घर फर्किएकी काठमाडौँकी १९ वर्षीया युवती। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयनेपालमा किन उल्टो चक्र देखिन्छ त ? चिकित्सकीय अनुसन्धानको पाटो बनेको यो प्रकरणको अहिले नै निष्कर्ष निकाल्न भने सकिँदैन । तर जोशी विश्वव्यापी सन्दर्भभन्दा नेपालमा फरक देखिनुमा तीन कारण ठान्छन् । एक– अहिलेसम्म आयातीत भएकाले भाइरसमा सार्ने क्षमता कमजोर भएको हुन सक्छ । दोस्रो– नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढ्ता छ । अर्थात्, नेपालीको खानामा प्रयोग हुने बेसार, लसुन, खुर्सानीसहित विभिन्न जडीबुटी मिसिएको खानपिनको शैलीले रोगप्रतिरोधात्मक क्षमता बढेको हुन सक्छ । तेस्रो– वातावरण । बढ्दो गर्मीले भाइरस संक्रमणको फैलावटको गतिलाई सीमित गराएको हुन सक्छ । जोशीको भनाइ मान्ने हो भने युरोपेलीको खानपिन र जीवनशैलीले रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । अर्थात्, मैदाजन्य फास्टफुड खानाले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउँदैन । त्यसमाथि थपिने मद्यपान, धूमपान तथा अनेकौँ चिसो पेयपदार्थले पनि फाइदा गर्दैन ।
जोशी भन्छन्, “तर यिनै कारणलाई अन्तिम मान्न भने सकिँदैन ।” जनस्वास्थ्यविज्ञ शरद वन्त नेपालमा अन्यत्रको भन्दा फरक दृश्य रहे पनि अन्तिम निष्कर्ष निकाल्नु हतारो हुने ठान्छन् । भन्छन्, “नेपालमा जुन गतिमा संक्रमण देखिएको छ, त्यो अन्यत्रको भन्दा ढिलोचाहिँ पक्कै हो, जसमा हामी खुसी हुनुपर्छ । तर लक्षण देखिएन र वृद्धहरू छिटो निको भए भनेर हौसिहाल्ने बेला भएको छैन ।”
भयावहको संकेत
व्यक्ति संक्रमित हुने तर लक्षण नदेखिने परिस्थितिले महामारीको भयावह संकेत पनि गर्छ । केही स्वास्थ्यकर्मीले अहिलेको अवस्थालाई हुरीअघिको सन्नाटाको रूपमा पनि व्याख्या गरेका छन् ।
तीन साता लामो लकडाउन र परीक्षणले देखाएको संकेतले महामारीकै रूप नलिन पनि सक्ने संकेत देखिँदै छन् । जोशीको विश्लेषणमा संक्रमितमा लक्षण नदेखिने अवस्थाले महामारीको संकेत पनि गर्छ । यो परिस्थितिले संक्रमित पहिचान गर्न आम रूपमै पीसीआर परीक्षणको माग गर्दछ ।
अहिलेसम्म करिब ५ लाखभन्दा बढी विदेशमा रहेका नेपाली घर फर्केका छन् । तीबाहेक उनीहरूको सम्पर्कमा पुगेका सबैमा परीक्षण गर्न कति सम्भव हुन्छ ? तर आम परीक्षण नगरी नहुने संकेत भने लक्षणबिनै संक्रमितहरू देखिनुले गर्छ । किनभने लक्षणबिना पनि संक्रमितले अरूलाई संक्रमण गराउन सक्छ ।
वन्त भन्छन्, “लक्षण नभए पनि अरूलाई संक्रमण गराउन सक्ने भएकाले संक्रमित पहिचान गर्न आम रूपमा परीक्षण नै मुख्य कुरा हो ।” संक्रमणले तीव्रता नपाउनुमा लकडाउनलगायत रोकथामका उपायले पनि काम गरेको हुन सक्छ ।
धीमा गतिको संक्रमणलाई यही रूपमा नियन्त्रण गर्न सकियो भने मात्रै महामारीबाट बच्न सकिन्छ । लक्षण नदेखिँदैमा माइल्ड भाइरस भनेर बस्न पनि हुँदैन । तर अझै पनि समय घर्किसकेको छैन, पूर्वतयारीका लागि । चिकित्सकलाई हतोत्साहीभन्दा प्रोत्साहित गरियो भने मात्रै महामारीसँग लड्न सकिन्छ ।
योगेश ढकाल नेपाल म्यागजिनका वरिष्ठ संवाददाता हुन् । उनी राजनीति, कुटनीति, सुशासन, पर्यटन तथा वातावरणका विषयमा रिर्पोटिङ गर्छन् ।