विदेशबाट आएकाहरू क्वारेन्टाइनमा बस्नु सट्टा गाउँभरि मिठाई बाँड्दै
गाउँले भन्छन् : “खुट्टै ढोग्दा पनि क्वारेन्टाइनमा बस्न मानेनन् । उनीहरूका कारण अहिले सिंगो गाउँ जोखिममा छ ।”
चैतको पहिलो साता विदेशबाट फर्किएकाबारे सरकारसंग न तथ्यांक छ, न त उनीहरू क्वारेन्टाइनमा बसे । कोरोना रोकथाममा अहिले क्वारेन्टाइनमा नबस्ने तिनै व्यक्ति सबैभन्दा ठूलो चुनौति बनेका छन् ।
लकडाउन अघि अर्घाखाँची सदरमुकाम सन्धीखर्क–दिल्ली सिधा बस चल्थ्यो । दिनहुँ भरीभराउ यात्रु बोकेर एउटा बस आउजाउ गर्थ्यो । दसैँ–तिहारजस्ता चाडपर्व अघि र पछि दुई बस चल्थे । गत फागुनदेखि चैत पहिलो सातासम्म तिनै बस चढेर भारतबाट सयौ यात्रु अर्घाखाँची भित्रिए । कोरोना संक्रमणको उच्च जोखिममा रहेका तिनै यात्रुलाई लक्षित गदै हरेक पालिकाले गाउँगाउँमा क्वारेन्टाइन पनि बनाए । तर, अधिकांश यात्रु क्वारेन्टाइनमा नबसेपछि गाउँवस्तीमा अहिले कोरोना संक्रमणको त्रास फैलिएको छ ।
भारतबाट आउने व्यक्तिलाई राख्न ४५ ठाउँमा ४ सय १७ बेड क्षमताको क्वारेन्टाइन बनाइएको थियो । तर, ती क्वारेन्टाइनमा जम्माजम्मी ५१ जना मात्र बसे । तीमध्ये १२ जना समय पूरा गरेर घर फर्किइसकेका छन् ।
अर्घाखाँची मात्र होइन, भारतबाट फर्किएका व्यक्तिका कारण सुदूरपश्चिम, कर्णाली, प्रदेश ५ र प्रदेश २ का गाउँबस्ती अहिले कोरोना भयले त्राहीमाम् छन् । स्थानीय तहहरूले ठाउँठाउँमा क्वारेन्टाइन त बनाएका छन् । ती अधिकांश खाली छन् । क्वारेन्टाइनमा बस्नुपर्ने व्यक्ति घर पुगेर परिवार र समुदायलाई नै कोरोनाको जोखिममा पारेका छन् । “हामीले क्वारेन्टाइनको महत्व बुझाउनै सकेनौ । कडाइका साथ राख्न पनि सकिएन्” प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल भन्छन्, “अहिले परिवार र समुदाय नै जोखिममा परेको छ ।”
फागुनदेखि चैत पहिलो सातासम्म प्रदेश ५ मा भारत लगायत तेस्रो मुलुकबाट कति मानिस भित्रिए कुनै आधिकारिक तथ्यांक छैन । खुला सीमा रहेकाले लकडाउनपछि लुकीछिपी प्रवेश गर्ने पनि संख्या पनि उल्लेख्य छ । त्यसको तुलनामा क्वारेन्टाइनमा बस्नेको संख्या भने नगण्य छ । प्रदेशभर ३ सय ९ स्थानमा क्वारेन्टाइन छन् । ती क्वारेन्टाइनको क्षमता पाँच हजार बेड छ तर त्यसको एक तिहाई पनि बसेनन् ।
विदेशबाट फर्किनेहरू बस्न नचाहनुको एउटा कारण क्वारेन्टाइनले मापदण्ड पूरा नगर्नु पनि हो । नेपालगन्ज नाकामा राखिएका १ सय ८१ नेपाली र भैरहवामा राखिएका १ सय ४५ भारतीय मजदुरबाहेक प्रदेश ५ का अधिकांश क्वारेन्टाइनले मापदण्ड पूरा गरेका छैनन् । “गाउँ फर्किनेको तथ्यांक संकलन गर्न भनेका छौँ । कोरोना फैलिए पुन: क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले मापदण्ड पूरा गर्न भनेका छौँ” मन्त्री बराल भन्छन् ।
सुरुमा गाउँगाउँमा क्वारेन्टाइन खोल्नेको लहरै चल्यो । कतिपयले ‘होम स्टे’झैँ ठानेर प्रचारबाजी गरेको मन्त्री बराल बताउँछन् । तर, अधिकांश क्वारेन्टाइनहरू मापदण्ड अनुरुप बस्न योग्य नभएरै विदेशबाट आएकाहरू आकर्षित नभएको पाइयो । त्यसमाथि, चैत पहिलो र दोस्रो साता हवाईमाध्यमबाट आएका यात्रुलाई समेत सरकारले बाध्यकारी क्वारेन्टाइनमा राखेन । उनीहरूलाई होम क्वारेन्टाइनमा बस्नभन्दै छाडियो । संक्रमितसंगै यात्रा गरेका कतार एयर र एयर अरेबियाका सबै यात्रुको पहिचान र परिक्षण समेत हुन् नसकेकाले भुसको आगोझै भित्रभित्रै कारोना फैलिने त होईन् भन्ने डरत्रास र आशंका बढाएको छ ।
विदेशबाट फर्किएका व्यक्ति क्वारेन्टाइनमा नबस्दाको सबैभन्दा ठूलो टाउको दुखाई सुदूरपश्चिम प्रदेशमा छ । लकडाउनअघिका दुई सातामा मात्रै सवा लाख व्यक्ति भारतबाट भित्रिएर गाउँमा मिसिएका छन् । तीमध्ये नगण्य मात्र क्वारेन्टाइनमा बसे । प्रदेशभर क्वारेन्टाइन क्षमता ४ हजार ५ सय बेड रहेकोमा अहिले ९ सय ५९ व्यक्ति मात्र बसिरहेका छन् । “छिटो क्वारेन्टाइन बनाउन र विदेशबाट आउनेलाई अनिवार्य त्यहाँ बसाउनुपर्थ्यो । हामी चुक्यौँ” सदूरपश्चिम सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी भन्छन्, “कोरोना नफैलियोस् भनेर अहिले गाउँगाउँमा परिक्षण गर्दैछौँ ।”
यो पनि पढ्नुस
गाउँले भन्छन् : “खुट्टै ढोग्दा पनि क्वारेन्टाइनमा बस्न मानेनन् । उनीहरूका कारण अहिले सिंगो गाउँ जोखिममा छ ।”
क्वारेन्टाइन व्यवस्था गर्न प्रदेश सरकारले सुरुमै स्थानीय तहलाई ३ देखि ५ लाख अनुदान पठाएको थियो । दैनिक ज्यालामा निर्भर विपन्न वर्गका लागि राहत र क्वारेन्टाइनका लागि १६ करोड उपलब्ध गरायो । तैपनि, स्थानीय तहले क्वारेन्टाइन व्यवस्थित गर्न सकेनन् । विदेशबाट गाउँ पुगेका व्यक्तिलाई क्वारेन्टाइनमा राख्न नसक्नु ठूलो कमजोरी भएको मन्त्री सुवेदी बताउँछन् । स्वास्थ्य मन्त्रालयले सेती प्रादेशिक अस्पताललाई कोरोना विशेषज्ञ अस्पताल बनाई परिक्षणलाई तिब्रता दिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले ५ बैशाखमा ३४ चिकित्सकलाई जहाज चार्टर गरेर सुदूरपश्चिम पठाएको छ ।
सुदूरपश्चिममा अहिले सबैभन्दा अधिक पाँच संक्रमित छन् । पहिलोपल्ट स्थानीय कोरोना सरेपछि सिंगो प्रदेशमा त्रास फैलिएको छ । साथै, लकडाउनअघिका दुई सातामा भित्रिएका सवा लाख व्यक्तिको खोजी र परिक्षणको माग भईरहेको छ । खुला सीमाबाट लुकीछिपी र पूर्वी नाकाबाट हिड्दै आउने क्रम भने अझै रोकिएको छैन । “लकडाउनको पालना अरु प्रदेशले नगर्दा त्यसको असर सुदूरपश्चिमसम्म परेको छ । मान्छेहरू हिँडेरै आइरहेका छन्” मन्त्री सुवेदी भन्छन्, “आउन नदिए कर्णालीमै हाम्फाल्छौँ भन्छन् । आउन दिए जोखिम बढ्छ ।” त्यसरी आएका २ सय ५० जनाको आरडीटी परिक्षण गरेर घर पठाइएको उनी बताउँछन् ।
कैलाली र कन्चनपुर नाकाबाट आएका १ सय ८८ व्यक्तिलाई गाडी पठाएरै कर्णाली प्रदेश सरकारले क्वारेन्टाइनमा राख्यो । सुरुमा सुर्खेतका होटेलमै राखिएको थियो । पछि सेनाले टेन्ट गाडेर क्वारेन्टाइन बनायो । तर, खाना लगायत व्यवस्थापन गर्न भने सेनाले नसक्ने बतायो । “मापदण्ड व्यवहारिक छैन । मापदण्डले तोकेको प्रहरीको रासनसरहको रकममा सेनाले खाना खुवाउन नसक्ने भनेपछि होटलबाटै ल्याएर खुवाउनुपर्यो” कर्णालीका सामाजिक विकासमन्त्री दल रावल भन्छन्, “संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयले कोरोना रोकथाममा सन्तोषजनक काम भइरहेको छ ।”
कर्णाली प्रदेशका मन्त्री रावलका अनुसार, कपुरकोट, बबई, कुईनेपानी, हिल्सा, राकम नाकामा हेल्थ डेस्क राखिएका छन् । प्रदेशभर ४ हजार १२ क्षमताका क्वारेन्टाइन छन् । तर, त्यहाँ बस्नेको संख्या भने न्यून छ ।
क्वारेन्टाइन व्यवस्थापनका लागि कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । बाक्लो बस्ती वा कारखानामा संक्रमण फैलिएमा सारेर राख्न मिल्ने गरी १ लाख ३० हजार बस्न मिल्नेगरी क्वारेन्टाइन बनाउने भनेका थिए । तर, त्यो जिम्मेवारी कोबिड १९ संकट व्यवस्थापन केन्द्र अपरेसन (सीसीएमसी ओप्स) लाई दिइएको छ ।
क्वारेन्टाइन संचालन तथा व्यवस्थापन मापदण्ड अनुसार, घना बस्तीभन्दा टाढा खुला स्थानमा स्थायी भवन वा अस्थायी संरचना बनाई संचालन गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै, संचार, स्वास्थ्य, सडक, पानी, विजुलीको सुविधा भएको र सकेसम्म सय जनाको क्षमताको क्वारेन्टाइन संचालन गर्न भनेको छ । क्वारेन्टाइनमा छट्टै स्वास्थ्य टोली, सुरक्षाकर्मी र एम्बुलेन्स उपलब्ध गराउनुपर्ने मापदण्डमा उल्लेख छ । त्यस्तै, चार पटक स्वस्थ खाना खुवाउनुपर्ने भनिएको छ तर खाना खर्च भने प्रहरीको राशन दररेट अनुसार भएकाले अपुग भएको अधिकांश स्थानीय तहको गुनासो छ । मन्त्री भट्टराई पनि मापदण्डमा तोकिएको रकमबाट क्वारेन्टाइनमा बसेका व्यक्तिलाई खाना खुवाउन गाह्रो परेको गुनासो आएको उल्लेख गर्दै भन्छन्, “मापदण्डलाई स्थानीय विशेषता अनुसार प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्न सक्छन् ।”
यो पनि पढ्नुस
र्यापिड टेस्टबाट नेगेटिभ निस्केकालाई पनि कोरोना पोजेटिभ देखिएपछि थप सन्त्रास
कर्णालीबाट भारत रोजगारीमा जानेहरू फर्किने मौसम यही हो । भनाई नै थियो, ‘चैत १२ मा धानको बिउ छर्न नआएन (कालापहाडमै) मर्यो ठान्नु ।’ फागुनदेखि चैत दोस्रो साता बर्षे बाली लगाउन घर फर्किने बेला हो । तर, त्यसरी फर्किने व्यक्तिको यकिन संख्या प्रदेश सरकारसँग छैन । २३ फागुनमा हेल्थ डेस्क राखेपछि लिईएको विवरणले ४ हजार ४ सय ६३ व्यक्ति भारतबाट फर्किएको देखाउँछ । त्योभन्दा धेरै गुणा धेरै व्यक्ति योबीचमा आएको मन्त्री रावल स्वयं स्वीकार्छन् ।
विदेशबाट फर्केका व्यक्तिको पहिचान गरी क्वारेन्टाइनमा राख्न अहिले केही स्थानीय तहमा स्वयम्सेवक परिचालन गरिएको छ । “व्यवस्थित विवरण लिन र विदेशबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा बसाल्न नसक्दा गाउँमा जोखिम बढेको छ” उनी भन्छन्, “कोरोना फैलिन नदिने र जतिसक्दो चाँडो धेरैभन्दा धेरै परिक्षण गराउने रणनीति लिएर काम गरिरहेका छौँ ।” कर्णालीका झण्डै एक हजार व्यक्तिको परिक्षण गराईसकिएको छ । त्यस्तै ६ सय नमूना सुर्खेत र धनगढी प्रयोगशालामा परिक्षणका क्रममा छन् ।
प्रदेश २ मा औपचारिक सीमा नाकाभन्दा अनौपचारिक धेरै छन् । गाउँ–खेत जहाँसुकैबाट आवागमन गर्न सकिने स्थिती छ । भारतमा कोरोना संक्रमण डरलाग्दोसंग फैलिन थालेपछि मुख्यमन्त्री लालबाबु राउतले सीमामा कडाई गर्न सुरक्षाकर्मी थप्न गृहमन्त्री रामबहादुर थापासंग आग्रह गरे । सीमामा सशस्त्र प्रहरी थपिए पनि अझै पर्याप्त छैन । “जहाँसुकैबाट सीमापार गर्न सकिने भएकाले आवागमन रोक्न सजिलो नभए पनि सुरक्षाकर्मी बढाएर कोसिस गरिएको छ” सामाजिक विकास सचिव रामप्रसाद घिमिरे भन्छन्, “नेपाल आएर लुकेर बसेकालाई खोजेर क्वारेन्टाइनमा राख्ने र परिक्षण गर्ने काम भईरहेको छ ।” संक्रमित भेटिएका पर्सा र रौतहटमा भारतबाट आएका व्यक्तिको खोजीलाई तिब्र पारिएको छ ।
पछिल्लो समय स्थानीयले पनि त्यस्ता शंकास्पद व्यक्तिबारे सूचना दिन थालेको घिमिरे बताउँछन् । प्रदेश २ मा क्वारेन्टाइनमा नबस्नुमा खानेबस्ने अव्यवस्थाभन्दा ठूलो सामाजिक विभेदमा पर्ने भय मुख्य कारण देखिएको छ । कतिसम्म भने विदेशबाट आएका व्यक्तिलाई नै ‘कोरोना’ भनेर लान्छित गर्ने गरिएको छ । त्यसैले क्वारेन्टाईनमा ३ हजार ३ सय ४१ बेड क्षमता भए पनि अहिलेसम्म १ हजार १ सय ३७ मात्र बसेको देखिन्छ ।
भारतमा सहज आवागमन, अव्यवस्थित र बाक्लो बस्ती, जनघनत्व अधिक, संयुक्त परिवार, रोग लुकाउने प्रवृत्ति र जनस्वास्थ्यको कमजोर पूर्वाधार क्षमताका कारण प्रदेश २ मा कोरोना फैलिए ठूलो क्षति ब्यहोर्नुपर्ने विश्लेषण प्रदेश सरकारले गरेको छ ।
कोबिड १९ संकट व्यवस्थापन केन्द्र अपरेशन (सीसीएमसी ओप्स)का अनुसार, देशभर क्वारेन्टाईनको क्षमता २९ हजार ७ सय ३० बेड छ । तीमध्ये ४ हजार ६ सय ७ व्यक्ति अहिले क्वारेन्टाइनमा छन् । त्यस्तै, ३ हजार ६७ आईसोलेसन बेडमध्ये ९० जना उपचारार्थ भर्ना छन् । सेनाका व्यारेकभित्र ४ हजार ७ सय ७० बेड क्षमताको क्वारेन्टाइन छ । अन्तर्राष्ट्रिय मिसन र विदाबाट फर्केका १ हजार १ सय २५ सैनिक अहिले क्वारेन्टाइनमा छन् । त्यस्तै, २१ सैनिकलाई आईसोलेसनमा राखिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डे बताउँछन् ।
समुदायस्तरबाट सावधानी अपनाएर मात्र कोरोना संकटबाट पार पाउन सकिने उल्लेख गर्दै पाण्डे भन्छन्, “संकटका बेला सबैभन्दा प्रभावकारी काम समुदायले नै गर्न सक्छन् । भुकम्पका बेला गरिएको उद्दार कार्य त्यसको उदाहरण हो ।” ०७२ को भुकम्पमा पुरिएका २२ हजारभन्दा धेरै व्यक्तिमध्ये १७ हजारलाई स्थानीय समुदायले बचाएका थिए । ५ हजार व्यक्तिलाई नेपाली सुरक्षाकर्मीले र १९ जना मात्र विदेशी सेनाले उद्दार गरेका थिए ।
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...