कालापानीमा उदांगियो कूटनीतिक असफलता
छिमेकीहरूसँगको मित्रता नयाँ उचाइमा पुगिसकेको सरकारी दाबीमा शृंखलाबद्ध प्रश्नहरू उठेका छन्
साढे छ दशकयताको नेपाल–भारत सीमा विवाद सधैंका लागि टुंग्याउने हो भने नेपालले ठोस रुपमा ६ वटा पहलहरु गर्नुपर्छ
संसद्को रोस्ट्रमबाटै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २८ वैशाख ०७७ मा भने– सरकारले कालापानी क्षेत्रबारे भारतसँग कोरोना संक्रमणलगत्तै कूटनीतिक संवाद गर्नेछ । त्यसको भोलिपल्टै मन्त्री ज्ञवाली फेरिए ।
उनले संसदीय समितिमा पुगेर तत्काल संवाद थाल्ने दाबी मात्रै गरेनन्, मन्त्रालय बोलाएरै भारतीय राजदूत विनयमोहन क्वात्रालाई प्रोटेस्ट नोट नै थमाए ।
७ महिनाको बीचमा नेपालले भारतलाई दिएको दोस्रो प्रोटेस्ट नोट हो, यो । तर भारत नेपालसँग कूटनीति संवाद गर्न चाहिरहेको छैन । उसले अलमल र आलटाल गरेरै नेपाली पक्षलाई निरन्तर झुक्याउने र आफ्नो रणनीति कार्यान्वयन गर्दै आएको छ ।
त्यस कारण पनि कतिपय कूटनीतिज्ञ संवाद मात्रै भनेर नेपाल बस्न नहुने तर्क गर्छन् ।
मन्त्री ज्ञवालीको सक्रियतामा प्रश्न उठाइहाल्ने अवस्था त छैन तर प्रधानमन्त्री केपी ओली यतिन्जेलसम्म मौन देखिएका छन् । कूटनीतिज्ञको तर्क छ, ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग तत्कालै संवाद थाल्नुपर्छ ।
कोरोना नियन्त्रणका निम्ति सार्क क्षेत्रको सहकार्यमा भिडियो कन्फ्रेन्स गर्न सक्ने मोदीले कालापानी मुद्दामा प्रधानमन्त्री ओलीसँग संवादमा आउन नचाहनुको अर्थ लगाउन सकिन्छ । यसले भारतको बलमिच्याइँ पुन: पुष्टि भइरहेको छ ।
कूटनीतिज्ञहरू त्यसका लागि नेपालले ठोस प्रयासहरु गर्नुपर्ने ठान्छन् ।
यो पनि पढ्नुस
छिमेकीहरूसँगको मित्रता नयाँ उचाइमा पुगिसकेको सरकारी दाबीमा शृंखलाबद्ध प्रश्नहरू उठेका छन्
पहल एक : प्रमाणसहितको वार्ता
झन्डै ६६ वर्षे कालखण्डमा नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको दाबीसहित घनिभूत संवाद गरेको छैन । दुई देशको संयुक्त प्राविधिक समितिले सीमा विवाद टुंगो लगाउन झन्डै १७ वर्ष काम गर्यो । तर उक्त क्षेत्रलाई विवादित भन्नेबाहेक थप कुराकानी नै भएन । सन् २००१ मा भारतमा नेपाली दूतावासकै पहलमा संवाद भएको थियो, कालापानीकै विषयमा ।
नेपालसँग भएका प्रमाण, कालापानी क्षेत्रमा स्थानीयले तिरो तिरेका कागजात मात्र होइन, ०१८ को जनगणनाको तथ्यसहित भारतीय पक्षसँग छलफल भएको थियो । त्यतिले नपुगेर बेलायती पुस्तकालयबाट नेपाल–भारत र चीनका नक्सासमेत झिकाइएका थिए ।
उक्त संवादमा प्रत्यक्ष जोडिएका तत्कालीन राजदूत भेषबहादुर थापा प्रमाणसहितको वार्तापछि भारत पछि हटेको, त्यसपछि संवादमा आउनै नचाहेको बताउँछन् । भारतसँग अझै पनि नेपालको प्रमाणसहितको कूटनीतिक संवाद पहिलो प्रयास हुनुपर्ने उनको विचार छ ।
सुगौली सन्धिउता र यताका केही वर्षका भारत, नेपाल र चीनका नक्सामा लिम्पियाधुरा नेपाल खण्डमै देखिन्छ । सन् १९६० मा भारतीय सेना कालापानी क्षेत्रमा बसेपछि समस्या पैदा भएको हो ।
सन् १९६१ को चीन–भारत युद्धपछि कालापानीमा भारतीय सेना वेसक्याम्पै बनाएर बस्यो । चीनका लागि पूर्वराजदूत टंक कार्की अझै पनि छलफल र संवादबाट दुई देशले निष्कर्ष निकाल्न सक्ने दाबी गर्छन् । यद्यपि नेपालको तयारी र चनाखोपन कम्ती हुन नहुने कार्की सुझाउँछन् ।
पहल दुई : संसद्बाट प्रोटेस्ट प्रस्ताव
कूटनीतिक संवादभन्दा अटेरी शैलीमा सीमा अतिक्रमणमा लागेको भारतीय रवैया र बलमिच्याइँविरुद्ध सरकारले संसद्मा प्रोटेस्ट प्रस्ताव पारित गर्न सक्छ ।
कूटनीतिज्ञहरूको भनाइमा भारत कूटनीतिक संवादबाट विवादको निप्टारा लगाउनेभन्दा पनि नेपाली पक्षलाई अलमलमा पार्ने अनि आफ्ना गुह्य रणनीति कार्यान्वयन गर्छ । फलदायी संवादकै लागि पनि संसद्बाट प्रोटेस्ट प्रस्ताव पारित गर्नुपर्छ ।
कूटनीतिज्ञ श्रीधर खत्रीको भनाइमा सांसदको भूमिका विद्यार्थीहरूको सडक आन्दोलनजस्तो नभई संसद्बाटै भारतीय अतिक्रमणविरुद्ध प्रोटेस्ट प्रस्ताव पारित गर्नुपर्छ । भन्छन्, “कूटनीतिक संवादबाट भारतसँगका असमझदारी टुंगो लगाउने भन्ने कुरा धेरै भइसके । यस्ता कुरा दोहोर्याएर मात्र हुँदैन ।”
पूर्वराजदूत टंक कार्की पनि खत्रीको तर्कसँग सहमत छन् । संसद्को भूमिका प्रभावकारी बनाउन यस्ता प्रस्तावमाथि ध्यान जान जरुरी रहेको उनी औँल्याउँछन् ।
पहल तीन : चीनको भूमिका खोजी
लिपुलेक, कालापानी र लिम्पियाधुरा सीमा विवाद नेपाल– भारतको प्रयासले टुंगो लाग्ने सम्भावना कम छ । लिम्पियाधुरा त्रिदेशीय सीमाबिन्दु हो । भारतीय दबाब र चिनियाँ पक्षको अलमलकै कारण त्यहाँ सुरुमै सीमास्तम्भ राख्न नसक्दा यसको लाभ अहिले भारतले लिइरहेको छ ।
लिपुलेकलाई भारतको खल्तीमा पुर्याउन चीनको भूमिका ६६ वर्षअघिदेखि नै छ । जस्तो, २९ अप्रिल १९५४ मा चीन र भारतीय प्रतिनिधिले लिपुलेकलाई व्यापारिक नाका बनाउन सम्झौता गरेका थिए । उक्त सम्झौतामा चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री चाङ हान फु र चीनका लागि भारतीय राजदूत राघवन एनको हस्ताक्षर थियो ।
१५ मे २०१५ मा चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच लिपुलेकलाई व्यापारिक नाका विकसित गर्ने ६१ वर्षअघिको सम्झौताको पूरक मात्रै थियो । त्यस कारण पनि कालापानी क्षेत्रको सीमा विवाद टुंगो लगाउन चीनसहितको कूटनीतिक संवाद अनिवार्य हुन्छ ।
पूर्वराजदूत कार्की आवश्यक परे चीनलाई संवादमा जुटाउन सकिने बताउँछन् । ६६ वर्षदेखिको चीन र भारतबीचको त्यही सम्झौता सम्झेर हुनुपर्छ, नेकपा अध्यक्ष प्रचण्ड त्रिदेशीय संवाद अनिवार्य ठान्छन् । २८ वैशाख ०७७ मा राज्य व्यवस्था समितिमा निम्त्याइएका प्रचण्डले त्रिदेशीय संवाद आवश्यक रहेको बताएका थिए ।
पहल चार : प्रामाणिक दस्तावेज सार्वजनिकीकरण
कूटनीतिज्ञहरू नेपालले कालापानी क्षेत्र आफ्नो अंश भएको प्रमाणसहितका दस्तावेज सार्वजनिक गर्नुपर्ने बताउँछन् । तर नेपालमा प्रमाण व्यवस्थित गर्ने दक्ष जनशक्ति देखिएको छैन । अंग्रेज–नेपाल युद्धपछि सन् १८१४ को सुगौली सन्धिकै सक्कल प्रति परराष्ट्र मन्त्रालयमा नभेटिएको तथ्य छ । त्यसले गर्दा तथ्य र प्रमाण जुटाएर नेपालले दस्तावेज सार्वजनिक गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।
पहल पाँच : अन्तर्राष्ट्रिय मिसनसँग छलफल
कालापानी क्षेत्रको दाबासहितका तथ्य र प्रमाण सार्वजनिकीकरणले भारतमाथि स्वाभाविक दबाब मात्रै सिर्जना हुने छैन, अन्तर्राष्ट्रिय समुदाय चनाखो हुनेछन् । त्यस कारण नेपालमा रहेका अन्तर्राष्ट्रिय मिसनका प्रतिनिधिसँग कालापानी क्षेत्र नेपालको भएको तथ्य र प्रमाणबारे छलफल चलाएर जानकारी दिन सक्नुपर्छ ।
कूटनीतिज्ञ खत्री भारत निरन्तर संवादबाट पछाडि हटिरहेकाले नेपालले तथ्य र प्रमाणसहितका फेहरिस्त अन्तर्राष्ट्रिय मिसनलाई जानकारी गराउनुपर्ने तर्क राख्छन् । यो प्रयास नेपालले मुद्दा अन्तर्राष्ट्रियकरण गर्नु पहिलाको चरण हुनेछ ।
पहल ६ : अन्तर्राष्ट्रियकरण
सीमा विवादका प्रशस्त मुद्दा अन्तर्राष्ट्रियकरण भएका छन् । ती मुद्दा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् मात्र होइन, अन्तर्राष्ट्रिय अदालतसम्मै पुगेका छन् ।
संयुक्त राष्ट्रसंघको मञ्चमा नेपालले सीमा अतिक्रमणको आवाज बुलन्द गर्न सक्छ तर अन्तर्राष्ट्रिय अदालतसम्म पुग्न भने भारतको सहमति आवश्यक पर्छ ।
सीमा समस्याबारे नेपाल कभरेज
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...