[विशेष] हिमाली बुटी यार्सागुम्बाको नालीबेली
यार्सा हिमालय पर्वत शृंखलाको दक्षिणतिरको नेपाल, भारत, भुटान र हिमालपारि तिब्बतमा मात्रै पाइने रैथाने जडीबुटी हो । नेपालका चाहिँ उत्तरी २७ जिल्लामा यार्सा पाइन्छ ।
यतिबेला पूर्वको ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्म उच्च हिमाली भेगका घाँसे मैदान (पाटन)हरूमा मानिसको भीड लागिरहेको छ । देशका विभिन्न भागबाट त्यहाँ ओइरिएका मानिसको एउटै उद्देश्य छ, बहुमूल्य हिमाली जडीबुटी यार्साको खोजी । १०–१२ वर्षअघिसम्म पनि लुकीछिपी, सानो परिमाणमा संकलन गरिने र कम मूल्यमा किनबेच हुने यार्साको कारोबार अहिले अर्बौंको भइसकेको छ । अध्येताद्वय अंकलाल चलाउने र योगेश राजले गरेको अध्ययन अनुसार गत वर्ष मात्रै नेपालका आठ जिल्लामा नौ अर्ब रुपियाँ बराबरको यार्साको कारोबार भएको थियो ।
के हो यार्सा ?
बोलीचालीको भाषामा भनिने यार्सा, यार्सागुम्बा वा यार्सागुन्बू तिब्बती भाषाको ‘यार्ट स्वा गुन् बू’ बाट अपभ्रंश भएर बनेको शब्द हो । जसको अर्थ, गर्मीयाममा झार, हिउँदमा कीरा हो । यद्यपि, यार्सा कुनै झार भने होइन । यो एक किसिमको झुसिलकीरा र त्यसमा उम्रने परजीवी ढुसीको संयुक्त रूप हो ।
वैज्ञानिक रूपमा कीरा समूहको लेपिडेप्टेरा वर्गमा पर्ने विभिन्न जातका राती उड्ने पुतली (मथ)को फुलबाट बनेका लार्भा अर्थात् झुसिलकीरालाई जमिनमुनि बसेको अवस्थामा ओफिकोर्डेसिप्स साइनेन्सिस जातका ढुसीका बीजाणुले संक्रमण गर्छन् । लार्भाको शरीरभित्र बीजाणु प्रवेश गरिसकेपछि त्यो ढुसीको बीजाणु त्यान्द्रारूपी माइसेलियम (रेसारूपी कोष)मा परिणत भएर लार्भाको शरीरभरि फैलन थाल्छ ।
उक्त माइसेलियमले लार्भाको शरीरबाट खाना सोसेर त्यसलाई खोक्रो बनाउँदै लान्छ र आफ्नो शरीर लार्भाको शरीरभित्र फैलाउँदै जान्छ । अन्त्यमा, लार्भाको टाउकोमा आक्रमण गरेपछि लार्भा मर्छ । र, मरेको लार्भाको टाउकोबाट ढुसीको डाँठजस्तो भाग (स्टक) पलाउँछ, जुन औसतमा दुईदेखि चार इन्चसम्म लामो, खैरो रंगको हुन्छ । वसन्त ऋतुमा हिउँ पग्लन थालेपछि पलाउने यस्ता डाँठ मानिसले संकलन गर्छन् । संकलन गर्दा कुटोले खनेर वा औँलाले कीरासहितको भाग जमिनबाट निकालिन्छ । अनि, सरसफाइपश्चात् केही समय शीतलमा सुकाएर यसलाई बजारमा बेचिन्छ । संकलन नभई प्रकृतिमा छोडिएका यस्ता ढुसीका डाँठ छिप्पिएपछि बीजाणु लाग्छ ।
लाखौँको संख्यामा रहेका बीजाणु माटोमा झरेपछि सुषुप्त अवस्थामा बसिरहन्छ र स्वस्थ लार्भा भेट्टाएमा आक्रमण गरी नयाँ यार्सा बनाउँछ । बीजाणुको आक्रमणमा नपरेका झुसिलकीरा प्युपा हुँदै वयस्क पुतली बन्छन् । त्यसरी बनेको पुतलीले फेरि फुल पार्छ र आफ्नो जीवनचक्र सञ्चालन गर्छ । त्यस कारण यार्सा बन्नका लागि एकातिर ढुसीको बीजाणु चाहिन्छ भने वयस्क पुतलीको जीवनचक्र पनि सुचारु हुन आवश्यक हुन्छ । वैज्ञानिकहरूका अनुसार पूर्ण रूपमा यार्सा बन्न दुईदेखि ६ वर्षसम्म समय लाग्छ ।
यार्सा हिमालय पर्वत शृंखलाको दक्षिणतिरको नेपाल, भारत, भुटान र हिमालपारि तिब्बतमा मात्रै पाइने रैथाने जडीबुटी हो । नेपालका चाहिँ उत्तरी २७ जिल्लामा यार्सा पाइन्छ । तर, संखुवासभा, सोलुखुम्बु, गोरखा, म्याग्दी, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, बझाङ र दार्चुला जिल्लामा धेरै मात्रामा संकलन हुन्छ । नेपालमा संकलन गरिने कुल परिमाणको करिब ४० प्रतिशत यार्सा डोल्पा जिल्लाबाट मात्रै आउँछ । ठाउँ हेरीकन तीनदेखि पाँच हजार मिटरसम्मको उचाइमा रहेका औसत वर्षा चार सय मिलिमिटर हुने पारिलो हिमाली घाँसे मैदान वा बुट्यान क्षेत्रमा यार्सा पाइन्छ ।
सुनभन्दा महँगो
हाल उच्च गुणस्तरको यार्साको अन्तर्राष्ट्रिय बजार मूल्य सुनभन्दा पनि महँगो छ । त्यस कारण यसलाई जैविक सुन पनि भनिन्छ । चीनमा उच्च गुणस्तरको यार्साको सरदर मूल्य ७० लाख रुपियाँ प्रतिकिलोसम्म पर्छ । सरसामान किनबेच गरिने वेबसाइट इबेमा यसको मूल्य ५० हजार अमेरिकी डलर अर्थात् ५० लाख रुपियाँ प्रतिकिलो राखिएको छ । गत वर्ष काठमाडौँमा यसको २० देखि ३० लाख रुपियाँ प्रतिकिलोसम्ममा किनबेच भएको थियो । विश्वभरमा बर्सेनि करिब ५ देखि ११ अर्ब अमेरिकी डलर बराबरको यार्साको व्यापार हुने अनुमान छ ।
चीनले विश्वमा उत्पादन हुने यार्साको ९५ प्रतिशतभन्दा बढी बजार ओगटेको छ भने नेपालले दुईदेखि तीन प्रतिशतसम्म । त्यस कारण चीन यसको प्रमुख उत्पादक र बजार दुवै हो । विकिपिडियाका अनुसार सन् २००४ देखि २०१३ सम्ममा चीनमा यसको बजार मूल्य एक हजार प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने नेपालमा विगत १३ वर्षमा यसको बजार मूल्य २ हजार ८ सय प्रतिशतसम्म बढेको छ ।
चीनको आर्थिक उन्नतिसँगै बढिरहेका नवधनाढ्यबीच यार्सा महँगो फ्रेन्च स्याम्पेनजस्तै लोकप्रिय छ । उनीहरूले आफूसँग यार्सा हुनुलाई ‘स्ट्याटस सिम्बोल’ (प्रतिष्ठाको प्रतीक)का रूपमा लिने हुनाले महँगो मूल्य तिर्न हिचकिचाउँदैनन् । यार्सालाई ठूला सरकारी अधिकारीहरूसँग काम पट्याउन घूसको रूपमा प्रयोग गर्ने गरेका समाचार चिनियाँ अखबारमा आइरहेका हुन्छन् । नेपालबाट विदेश निकास हुने यार्सा चीनलगायत हङकङ, सिंगापुर, जापान र अमेरिकासम्म पुग्छ । चिनियाँ मूलका नागरिक बसोवास गर्ने संसारका सबै जसो सहरमा यार्सा बिक्री–वितरण हुन्छ । हिजोआज इन्टरनेटमार्फत पनि ठूलो परिमाणमा यसको खरिद–बिक्री हुन्छ ।
जीवनमरणको लडाइँ
बहुमूल्य यार्साको बजार र उपयोगिता जति आकर्षक छ, त्यसभन्दा कठिन छ, यसको संकलन । घाँसे मैदानमा फाट्टफुट्ट देखिने यार्सा खोज्नु भनेको फोहरको थुप्रोमा सियो खोज्नुजत्तिकै कष्टकर हुन्छ । संकलकहरूले पाटनमा एक इन्च ठाउँ पनि खाली नराखी भुइँमा घर्स्रंदै यार्सा खोज्छन् । दिनभरि खोज्दा कहिलेकाहीँ त एउटा पनि पाइँदैन । विकट र अत्यधिक चिसो ठाउँमा पाइने भएकाले यसको खोजी गर्न जाँदा ज्यानको बाजी लगाउनुपर्छ । त्यस कारण यार्सा संकलनका क्रममा कतिपय मान्छे लेक लागेर, बिरामी भएर, हिउँमा चिप्लिएर, पहिरोमा पुरिएर वा नदीमा खसेर ज्यान गुमाउँछन् । यार्सासँग सम्बन्धित घटनामा गत वर्ष मात्र १७ जनाले ज्यान गुमाएका थिए । यसपालिचाहिँ दार्चुलामा नौ, बझाङमा पाँच, डोल्पामा तीन, संखुवासभामा दुई, मुगुमा दुई गरी २१ जना यार्सा संकलकको ज्यान गइसकेको छ ।
सामाजिक कलह र विकृति
यतिखेर यार्सासँग सम्बन्धित द्वन्द्व पनि बढ्दो छ । यार्साकै कारण गाउँ–गाउँबीच प्राकृतिक स्रोतमाथिको अधिकारलाई लिएर द्वन्द्व चलिरहेको छ । २२ असार ०६६ मा मनाङको नार गाउँमा यार्सा संकलन गर्न आएका गोरखाका सात जनाको हत्या सिंगो नारबासी मिलेर गरेका थिए ।
यार्साकै विषयलाई लिएर गत वर्ष डोल्पाको द्यो गाविसमा प्रहरीको गोलीबाट एक स्थानीय मारिएका थिए । यार्सा संकलनका क्रममा ससाना झडप दिनहँु भइरहेका हुन्छन् । अपराधका घटना निकै कम सुनिने दुर्गम बस्तीहरूमा यार्सासँग सम्बन्धित चोरी, लुटपाट, हत्याजस्ता घटना बढ्न थालेका छन् । जस्तो : गत वर्ष डोल्पाको साल्दाङमा यार्सा व्यापारीको ६ करोड रुपियाँ बराबरको लुटपाट भएको थियो भने यसपालि ८ र १० असारमा डोल्पामा मात्रै यार्साका व्यापारी र संकलकबाट एक करोडबराबरको यार्सा र पैसा लुटिएको छ ।
यार्साकै कारण अपराध मात्रै होइन, सामाजिक विकृति पनि बढेको स्थानीयको ठम्याइ छ । जुवातास, लंगुरबुर्जाको खाल र मदिरा व्यापार यार्सा संकलन समयमा अधिक हुने गर्छ । डोल्पामा ०६८ सालमा अनुसन्धानका क्रममा जाँदा ५० रुपियाँ प्वाइन्ट म्यारिज र लंगुरबुर्जामा आठ हजारसम्म बाजी राखेर खेलेको यो पंक्तिकार स्वयंले देखेको थियो ।
स्कुले केटाकेटी पनि यार्सा संकलनमा जाने भएकाले सामान्य अवस्थामा समेत कम पढाइ हुने दुर्गम गाउँमा यार्साका कारण दुई महिनासम्म विद्यालय बन्द हुँदा पढाइमा नकारात्मक असर परिरहेको छ । विद्यार्थीसँग सानै उमेरमा धेरै पैसा हुने भएकाले यार्सा सिजनपछि उनीहरूमा पढाइप्रति रुचि कम हुने शिक्षकहरूले अन्तरक्रियाका क्रममा बताएका थिए । त्यसै गरी बझाङ, दार्चुलालगायत ठाउँमा यार्सा संकलन गर्न जाँदा अन्य वन्यजन्तुको चोरी सिकारीको घटना पनि बढिरहेका छन् ।
यार्सा घट्दै छ
एकातिर यार्साको मूल्य र संकलक बढिरहेका छन् भने अर्कातिर प्राकृतिक रूपमा यो कम पाइन थालेको छ । संकलकलाई स्रोत नै मासिने र जीविका नै धरापमा पर्ने पिरले सताएको छ । हाम्रो सर्वेक्षण अनुसार सन् २००६ मा प्रतिव्यक्ति प्रतिसिजन सरदर २ सय ६७ गोटा यार्सा संकलन हुन्थ्यो भने सन् २०१० मा उक्त संख्या घटेर १ सय २५ गोटामा सीमित हुन पुगेको छ । यो पाँच वर्षको प्रतिव्यक्ति संकलनको अवस्था हेर्दा प्रतिसंकलक प्रतिवर्ष ३२ गोटाले कम यार्सागुम्बा संकलन भइरहेको छ । त्यसिपछिका वर्षमा यार्सा टिप्न जाँदा नपाएर रित्तै फर्कने संकलक बढ्न थालेका छन् । यसपालि पनि दार्चुलाका विभिन्न भेगमा गएका संकलनकर्ताले विगतका वर्षमा भन्दा कम यार्सा पाएको बताएका थिए । त्यस्तै जाजरकोटबाट डोल्पा गएका संकलनकर्ताले पनि विगतमा जस्तो यार्सा भेट्न नसकेपछि जाँदा लागेको ऋण तिर्न भारतमा मजदुरी गर्न जान परेको बताइरहेका छन् ।
संकलनकर्ता धेरै भएर प्रतिव्यक्ति संकलनमा ह्रास आएको पनि हुन सक्छ । तर, पहिलेभन्दा धेरै ठाउँमा संकलन गर्दा पनि समग्र संकलन परिमाण नै कम हुन थालेको छ । व्यापारी पनि माग बढी भएको तर आपूर्ति कम भएको बताउँछन् । अत्यधिक र अव्यवस्थित संकलन, समयअगावै गरिने संकलन, अधिक चरिचरन, यार्सागुम्बाका लागि चाहिने पुतली–झुसिलकीराको कमी, मानिसको बढ्दो हिँडडुलका कारण स्थानीय परिस्थिकीय प्रणालीमा हेरफेर र जलवायु एवं भू–उपयोगमा आएको परिवर्तनको असरका कारण यार्साको संकलन घटेको हुन सक्छ । तर, यकिन कारण पत्ता लगाउन विस्तृत वैज्ञानिक अनुसन्धानको जरुरी छ । नेपालमा मात्रै होइन, चीन र भुटानमा पनि यार्साको संकलन घट्न थालेको छ ।
गरिबी निवारणको साधन ?
यार्सा उत्पादनमा कमी आउनु भनेको हिमाली भेगका बासिन्दाको जीविकामा प्रत्यक्ष नकारात्मक असर पर्नु हो । किनभने, तुलनात्मक रूपमा आर्थिक उत्पादनका अवसर कम भएका यस क्षेत्रका बासिन्दाका लागि यार्सा यतिखेर वरदान साबित भएको छ । यो पंक्तिकारले डोल्पामा गरेको अध्ययनमा समेत त्यहाँका मानिसको ७० प्रतिशतसम्म आम्दानीको स्रोत नै यार्सा भएको देखिएको थियो । ११ प्रतिशत मानिसले आफ्नो नगद आम्दानीको एक मात्रै स्रोत यार्सा संकलन भएको बताएका थिए । यार्साले स्थानीय रूपमा आर्थिक क्रियाकलाप पनि बढाएको छ । यार्सा संकलकबाट गत वर्ष राज्यले १ करोड २८ लाख रुपियाँ राजस्व संकलन गरेको थियो ।
नेपालमा गरिबीको भौगोलिक वितरण र यार्सा पाइने ठाउँ हेर्ने हो भने हिमाली जिल्लाहरू, जो गरिबीको विभिन्न सूचकांकमा अन्य जिल्लाको तुलनामा तल देखिन्छन्, मा बहुमूल्य जडीबुटी यार्सा पाइन्छ । त्यसैले यार्साको दिगो व्यवस्थापन गरेमा हिमाली क्षेत्रको गरिबी निवारण र आर्थिक उत्थानमा ठूलो अवसर बन्न सक्छ । केही वर्षयता यार्साको आम्दानीले स्थानीय जनजीवन केही सहज भएको पनि छ तर त्यस क्षेत्रको समग्र गरिबी घटेको छैन ।
खासमा यार्सा संकलनकर्तामा वित्तीय व्यवस्थापनको सामान्य ज्ञान पनि छैन र समस्या यहीँबाट सुरु भएको छ । यार्सा संकलनबाट आएको पैसा सहज रूपमा प्राप्त हुने तर बचत गर्नुपर्छ भन्ने चेतनाको कमी र वित्तीय संस्थासँगको पहुँच नभएकाले पनि धेरैले यार्साको आम्दानी संकलनको समयमै सकाउने गरेका छन् । नगन्य मानिसले मात्र यार्साको आम्दानीबाट घर–घडेरी जोड्न, छोराछोरीलाई महँगो स्कुलमा पढाउन सफल भएका छन् । अधिकांशको कमाइ जुवातास र मदिरा सेवन आदिमै सकिएको स्थानीयको गुनासो रहिआएको छ ।
त्यसो त यार्साको व्यापार गोप्य साँठगाँठमा हुने भएकाले स्थानीय संकलकले वास्तविक बजार मूल्यभन्दा निकै कम हिस्सा प्राप्त गरिरहेका छन् । कतिपय अवस्थामा बाहिर जिल्लाबाट आएका संकलकलाई स्थानीयले सस्तोमा बेच्न बाध्य बनाएका उदाहरण पनि छन् । वास्तविक संकलकले लाभको कम हिस्सा प्राप्त गर्छन्, जसले गर्दा उनीहरूको आर्थिक अवस्थामा सुधार हुने वातावरण बन्न सकेको छैन ।
प्राकृतिक दोहनको मूल्य
यार्साले आर्थिक अवसर मात्रै ल्याएको छैन, प्राकृतिक सम्पदाको दोहन पनि जारी छ । लाखौँ संख्याका संकलकले बर्सेनि पर्यावरणीय हिसाबले अत्यन्त संवेदनशील उच्च हिमाली पाटनहरूमा आउजाउ गर्दा त्यहाँको रैथाने वनस्पतिहरू र परिस्थिकीय प्रणालीमा कस्तो असर परेको होला ? घाँसे मैदानमा पाइने वनस्पतिहरू मान्छेको पदचापले थिचिँदै गएका छन् ।
संकलकले पकाउन र क्याम्प तताउनका लागि गर्ने दाउराको मनपर्दी प्रयोग र छाप्रा बनाउनका लागि गरिने रूख कटानले त्यहाँका जंगल मासिँदै गएका छन् । संकलकले खुला दिसा–पिसाब गर्नाले र उनीहरूले छाडेका प्लास्टिकको खोल, बोतल, लत्ताकपडाले सुन्दर पाटनहरू कुरूप बन्दै गएका छन् । त्यहाँ फोहर थुप्रिँदै जान थालेको छ । समग्रमा मानिसको अत्यधिक चापले गर्दा जलवायु परिवर्तनको कारण पहिले नै उच्च जोखिममा परेका हिमाली भेगका वनस्पति र परिस्थिकीय प्रणालीमा नकारात्मक असर परिरहेको सजिलै अनुमान गर्न सकिन्छ । र, यसको मूल्य दीर्घकालीन रूपमा चर्को हुन सक्छ ।
दिगो व्यवस्थापनका चुनौती
ठूलो पर्यावरणीय मूल्य चुकाएर संकलन गरिने यार्साको दिगो व्यवस्थापन अत्यावश्यक भइसकेको छ । यार्साको दिगो व्यवस्थापन भन्नाले प्राकृतिक रूपमा दिगो उपलब्धता, आर्थिक रूपमा गरिब संकलकलाई धेरै मुनाफा र सामाजिक रूपमा विकृतिरहित अवस्थालाई मान्न सकिन्छ । यार्साको जीवनचक्र र यसको पुन:उत्थान विधिका बारे रहेको वैज्ञानिक जटिलता (दुई जीवको संयुक्त रूप भएकाले अन्य जीवजस्तो सार्ने, उमार्ने, पाल्नेजस्ता संरक्षण विधि यसमा मिल्दैन)ले गर्दा यसको संरक्षण चुनौतीपूर्ण बनेको छ । यार्सा नेपालमा सम्भवत: सबैभन्दा बढी मानिसले संकलन गर्ने जैविक स्रोत हो । लाखाँैको संख्यामा संकलक भएकाले संरक्षण झनै जटिल बनेको छ । यसको आकार पनि निकै सानो भएको र बासस्थान कठिन ठाउँमा भएकाले संरक्षण असहज हुने नै भयो ।
तुलनात्मक रूपमा सहज ठाउँमा पाइने ठूला आकारका जनावरसमेत संरक्षण गर्न हम्मे परेको अवस्थामा यस्ता विशिष्ट गुण भएको यार्सालाई संरक्षण वा दिगो व्यवस्थापन गर्नु भनेको निकै कठिन कार्य हो । त्यसमाथि यसबारे स्पष्ट विधिको अभाव छ । अहिलेसम्म यार्साको दिगो व्यवस्थापनमा भुटानको उदाहरण अग्रणी मानिन्छ । यद्यपि, त्यो पूर्ण भने होइन (हेर्नूस् बक्स, भुटानमा यार्साको दिगो व्यवस्थापन) ।
यार्सालाई प्राकृतिक रूपमा जोगाउन र आर्थिक हिसाबले नाफामूलक उपाय यसको कृत्रिम उत्पादन पनि हुन सक्छ । कृत्रिम उत्पादनका लागि वैज्ञानिक अनुसन्धान र प्रयासहरू जारी भए तापनि प्रकृतिमा पाइनेजस्तो यार्सा (लार्भा र ढुसीको संयुक्त रूप)को कृत्रिम उत्पादनमा भने अझै सफलता पाउन सकिएको छैन । नेपालमा च्याउ खेती गरेजस्तै चीन, जापान र अमेरिकामा यसको ढुसी अंशको कृत्रिम उत्पादन हुन थालेको छ । यसरी उत्पादित यार्साका ढुसी भागहरू बजारमा किन्न पाइन्छ । विभिन्न सप्लिमेन्ट र भिटामिनमा यसलाई मिसाइएको हुन्छ ।
यार्साको कृत्रिम उत्पादनमा सबैभन्दा चुनौती यसका लागि चाहिने लार्भाको ठूलो संख्यामा उत्पादन गर्नु हो । केही महिनापहिले मात्रै जापानको एक कम्पनीले रेशम कीराको लार्भामा यार्साको च्याउ अंश उमारेर यसको व्यावसायिक उत्पादन सुरु गरेको खबर आएको थियो । चीनमा पनि पुतलीलाई पालेर लार्भा उत्पादन सुरु गरिएको छ । तर, ठूलो मात्रामा यसको कृत्रिम उत्पादन बजारमा आउन थालेपछि यार्साको अहिलेको बजार माग र मूल्य घट्न सक्छ, जसले गर्दा हिमाली भेगका बासिन्दाको यार्सा आश्रित जीविका धरापमा पर्न सक्छ । त्यस कारण ठूलो पर्यावरणीय मूल्य चुकाएर संकलन गरिएको यार्साले ल्याएको आर्थिक अवसरको सदुपयोग गर्न हामी चुक्नु हुँदैन । यार्साले स्थानीय क्षेत्रको गरिबी निवारण र जीवनस्तरमा परिवर्तन पनि गर्न सकेन भने वातावरणीय क्षतिसँगै आर्थिक अवसरसमेत गुम्ने खतरा छ ।
के गर्दै छ सरकार ?
नेपालको विकासमा जडीबुटीको सम्भावना धेरै उठाइने विषय हो । आर्थिक, सामाजिक र वातावरणीय हिसाबले यार्सालाई सबैभन्दा धेरै सम्भावनाको जडीबुटी मान्न सकिन्छ । तर, धेरै सम्भावना बोकेको यार्साको दिगो व्यवस्थापनमा सरकारी तवरबाट खासै काम भएको छैन । स्थानीय जनताको चेतना अभिवृद्धि गर्ने, अध्ययन–अनुसन्धानलाई सहयोग गर्ने, यार्सासँग सम्बन्धित आवश्यक नीति–नियम र कार्यक्रम बनाएर कार्यान्वयन गर्ने कुरामा सरकारले खासै काम गर्न सकेको छैन ।
गत जेठमा बेलायतको रुफोर्ड फाउन्डेसनको सहयोगमा अनुसन्धानका लागि छलफल र तालिममा बझाङ र दार्चुला पुग्दा त्यहाँका स्थानीय सरोकारवालाले यार्सासम्बन्धी यस्तो तालिम जिल्लामा पहिलोपटक भएको बताएका थिए । बझाङ र दार्चुला मात्रै होइन, अनुसन्धानका सिलसिलामा डोल्पा, मनाङ, मुस्ताङ, गोरखा, दोलखा पुग्दा पनि सरकारले यार्साबाट राजस्व संकलन गर्नेबाहेक अन्य काम गरेको भेटिएको छैन ।
गत सालको द्यो, डोल्पा घटना राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चाको विषय बनेपछि मात्रै सरकारले यार्सा संकलन र बिक्री–वितरणलाई व्यवस्थित गर्न कार्यदल बनाएको थियो । उक्त कार्यदलले ३१ पृष्ठ लामो प्रतिवेदन पनि बुझाएको थियो, जसमा संकलन व्यवस्थापनदेखि ऐन नियममा सुधार गर्ने, राजस्वदरमा पुनरावलोकन गर्ने, अनुसन्धान कार्यक्रम सुरु गर्नुपर्ने सुझावहरू समेटिएका छन् । तर, उक्त कार्यदलले प्रतिवेदन बुझाएको एक वर्ष भइसक्दा पनि सरकारी तवरबाट यार्साको व्यवस्थापनमा खासै केही प्रगति भएको छैन । यो दुर्भाग्यपूर्ण छ ।
यार्सा अर्थात् ‘हिमालयन भियग्रा’
प्राचीन चिनियाँ उपचार विधिमा यार्साको प्रयोग सयौँ वर्षअघिदेखि गरिँदै आएको छ । यार्साका बारे पहिलोपटक सचित्र वर्णन न्याम्नी दोर्जीले सन् १४७५ तिर लेखेको एन ओसन अफ एफ्रोडिजिएकल क्वालिटिज, अ स्पेसल वर्क अन यार्सागुन्बु भन्ने पुस्तकमा भेट्न सकिन्छ । तर, विश्वमा यसको अत्यधिक चर्चा भने सन् १९९३ मा जर्मनीमा भएको विश्व ट्रयाक एन्ड फिल्ड प्रतियोगितापछि मात्रै हुन थालेको हो । उक्त प्रतियोगितामा तीन चिनियाँ महिला खेलाडीले १ हजार ५ सय, ३ हजार र १० हजार मिटरको दौडमा पाँच विश्व रेकर्ड कायम राखे । खेलाडीको उत्कृष्ट प्रदर्शनको रहस्य दैनिक अभ्यासका क्रममा यार्सा सेवन गर्नु हो भनेर प्रशिक्षकले खुलासा गरिदिएपछि यसको चर्चा र खोजी विश्वभरि विषेशत: पश्चिमा सञ्चारमाध्यमहरूमा हुन थालेको हो । त्यसपछि यसको चर्चासँगै यसको मूल्य पनि अकासिएको छ ।
परम्परागत चिनियाँ उपचार विधि अनुसार यसको प्रयोग दम, कलेजो, मुटु र मिर्गाैलाको रोगमा गरिन्छ । नेपालमा स्थानीय रूपमा झाडापखाला, टाउको दुख्ने, हातगोडा दुख्ने उपचारका निम्ति यसलाई प्रयोग गरिन्थ्यो । यद्यपि, अहिले यसको अत्यधिक उपयोग भने यौन शक्तिबद्र्धक टनिकका रूपमा गरिन्छ । त्यस कारण यसलाई ‘हिमालयन भियाग्रा’ भनेर बजारमा बेचबिखन गरिन्छ ।
यार्साले साँच्चै यौनशक्ति बढाउँछ त ? यो आमजिज्ञासा हो । अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका वैज्ञानिकले गरेको अनुसन्धानले यार्साको नियमित सेवन गर्ने पुरुषको पिसाबमा १७–केटास्टोरोइड भन्ने तत्त्व बढी हुने देखाएको थियो । उक्त तत्त्वले पुरुषमा एन्ड्रोजिनलगायतका सेक्स हर्मोनको उत्पादन बढाउँछ । एउटा सर्वेक्षणमा यार्सा नियमित सेवन गर्ने ६४ प्रतिशत मानिसले आफ्नो यौन शक्ति बढेको बताएका थिए । पछिल्लोपटक सात जना ३० देखि ४० वर्ष उमेरका खेलाडीलाई यार्साबाट बनेका ‘सप्लिमेन्ट’ तीन महिनासम्म खुवाएर परीक्षण गर्दा उनीहरूमा सेक्स हर्मोन, टेस्टस्टेरोन बढेको देखिएको थियो । अर्को अनुसन्धानले यार्साले मानिसको शरीरमा भएको कोषको शक्तिबद्र्धक एटीपी उत्पादन बढाउने देखाएको छ ।
यार्सागुम्बामा कोर्डिसेपिनलगायत अन्य न्युक्लेओसाइड, कोर्डिसेपिक एसिड, एमिनो एसिड, असन्तृप्त फ्याट्टी एसिड, कार्बोहाइड्ेरट, पोलिसाक्काराइड, भिटामिन, सुगर, प्रोटिन, स्टेरोल, मेलानिनजस्ता रासायनिक पदार्थ पाइन्छ । यसमा पाइने केही रासायनिक तत्त्वहरू क्यान्सर र ट्युमर उपचारमा पनि उपयोगी देखिएको हालै भएका वैज्ञानिक अनुसन्धानहरूले पुष्टि गरेका छन् ।
यार्सा अर्थशास्त्र
मूल्य (चीनमा) रु ५०,००,०००
मूल्य (नेपालमा) रु २०,००,०००
संसारभरि कारोबार बर्सेनि करिब ४ ५ अर्ब देखि ४ ११ अर्ब बराबरको व्यापार
(अस्ट्रेलियाको युनिभर्सिटी अफ साउदर्न क्विन्सल्यान्डको इन्स्टिच्युट फर एग्रिकल्चर एन्ड द इन्भायरन्मेन्टमा भाइस चान्सलरका रिसर्च फेलो रहेका श्रेष्ठका यार्सासम्बन्धी एक दर्जनजति वैज्ञानिक लेख र ‘नेपालका प्रमुख गैरकाष्ठ वन पैदावार’ नामक पुस्तक प्रकाशित छन् ।)
सम्बन्धित
राष्ट्रको आर्थिक योजनाको मेरुदण्ड मानिने बजेटमा निश्चित व्यक्ति एवं घरानाको स्वार्थ हावी ह...
बजेटमा चलखेल, पहिलो घटना भने होइन
निश्चित व्यापारी पोस्ने ध्येयले भन्सार दर परिवर्तन गर्ने अर्थमन्त्री खतिवडाको व्यापारीसँग ...
गुलियो चकलेटभित्रको नमीठो खेल
लकडाउनको उकुसमुकुसमा अनौपचारिक क्षेत्रका श्रमिकहरू...
भाइरसबाट बच्न खोज्दा भोकै परिने डर
गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाएर गाउँ फर्किएका युवालाई कृषि पेसामा प्रोत्साहन गर...
खाद्यान्न बढी फलाउनेलाई नगदै पुरस्कार
सरकारले कोरोनापछिको अर्थतन्त्र चलायमान बनाउन स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारी सिर्जनाल...
आउँदो बजेटमा प्राथमिकताका तीन क्षेत्र
सय दिन नेपाली आकाशमा रहने मनसुनले अनुकूल वर्षा गराउने आकलन...