[पुस्तक अंश] गैरसरकारी कि गैरजिम्मेवारी ?
परियोजना मानसिकताले दलाल मनसायलाई बढावा दिने काम गरेको छ । यस्तो मानसिकता सरकारी स्वामित्वका संस्थान र सरकारी कर्मचारीतन्त्रमा समेत हाबी छ ।
विकासे क्षेत्रमा घोषित समावेशीकरणको ढोङ र परनिर्भरताको मानसिकता राम्रैसँग देखिन्छ । तिनले विकासको भर्याङको सबैभन्दा तल्लो खुड्किलोमा छन् स्थानीय एनजीओहरू । आधारभूत रूपमा प्रपोजल लेखेर, समस्या पहिचान गरेर र समाधानका उपाय दिएर आफूलाई टिकाइरहेका हुन्छन् । यी संस्थाहरू एकपटक स्थापना भइसकेपछि बिस्तारै माथिल्लो तहमा पुग्छन् र विशेष परियोजना सञ्चालन गर्न सक्छन् । तिनको प्रपोजलमा समस्याप्रति चाख देखाइन्छ र बजेटसहित विभिन्न संस्थामा पेस गरिन्छ । त्यो भर्याङको माथिल्लो सिँढीमा प्राय: पश्चिमा दाता, आईएनजीओ, द्विपक्षीय र बहुपक्षीय दातृ निकाय हुन्छन् । प्रपोजल स्वीकृत हुने/नहुने दाताको प्राथमिकता क्षेत्रमै निर्भर छ ।
बजेट पाउने संस्थाको विश्वसनीयता, इतिहास र नेटवर्कमा पनि त्यो भर पर्छ । एकपटक छनोट भइसकेपछि विस्तृत डकुमेन्टेसन अभ्यास सुरु हुन्छ । त्यो भनेकै परियोजना कार्यान्वयनको अभिलेख प्रमाण हो । तिनका दुवै हातमा लड्डु हुन्छ । परियोजना असफल भयो भने धेरै सिक्नु छ भन्ने पाठ । सफल भइहाल्यो भने परियोजना बिस्तारको सम्भावना । त्यसरी तयार भएको प्रतिवेदन वा डकुमेन्ट पनि पछिका लागि काम लाग्ने वस्तु हो । त्यसैलाई हेरेर माथिल्लो व्यवस्थापन करदाताको पैसा सदुपयोग भएको सम्झिँदै निर्धक्क सुत्न सक्छ । त्यो डकुमेन्ट अरूलाई काम गरेको देखाउने प्रमाण पनि हो ।
०७४ असारसम्म नेपालमा ४६ हजार २ सय ३५ एनजीओ र २ सय ६० आईएनजीओ समाज कल्याण परिषद्मा दर्ता छन् । अधिकांश काम एनजीओले नै गर्ने भए पनि उनीहरूप्रतिको दृष्टिकोण राम्रो छैन । महाभूकम्प (०७२) पछि मात्रै ५० भन्दा बढी आईएनजीओ दर्ता छन् । बजेटको सीमितताले यी एनजीओसँग राम्रा कर्मचारी नियुक्त गर्ने वा ठेक्का लिन सक्ने हैसियत छैन । तर पनि उनीहरूले धान्नै नसक्ने गरी रिपोर्टिङका माग आउँछन् । धेरैजसो अवस्थामा उनीहरूको कामको सफलता गरेको काममा होइन, लेखिएको प्रतिवेदनको गुणस्तरमा भर पर्छ । उदाहरणका लागि उत्तरी मनाङमा खानेपानी र सरसफाइ परियोजना लक्ष्यअनुसार शौचालय बनाउन सफल भएको ठानियो । तर, बनाएको ६ महिनामै कुनै पनि शौचालय प्रयोग गर्न लायक रहेनन् । ती शौचालय ढुंगाले भरिए । परियोजना चलाउनेले स्थानीय चालचलन बुझ्न सकेनन् । त्यो क्षेत्रमा पानी वा ट्वाइलेट पेपरको साटो ढुंगा प्रयोग हुन्थ्यो ।
प्रतिवेदनमा मात्रै अत्यधिक भर पर्ने प्रवृत्तिका कारण साना एनजीओहरूलाई पाएको बजेटको ठूलो हिस्सा प्रतिवेदन लेख्नमै खर्च गर्नुपर्ने बाध्यता छ । त्यसका लागि महँगो रकम तिरेर राम्रो अंग्रेजी भएका कन्सल्ट्यान्ट नियुक्त गर्नुपर्ने अवस्था छ । नेपाल प्रतिव्यक्ति प्रतिवेदन संख्या उच्च भएको मुलुक भनेर पनि कतिपयले दाबी गरेका छन् । नेपाल ‘परियोजना मानसिकता’बाट ज्यादै ग्रस्त छ । यो मानसिकताले यथार्थमा भएका कामलाई होइन, रिपोर्टलाई नै वास्तविक काम ठान्छ ।
परियोजना मानसिकताले दलाल मनसायलाई बढावा दिने काम गरेको छ । यस्तो मानसिकता सरकारी स्वामित्वका संस्थान र सरकारी कर्मचारीतन्त्रमा समेत हाबी छ । सरकारमा जो–जो यो मानसिकताबाट ग्रस्त छन्, उनीहरू समस्याको बीउ रोप्न थाल्छन् । त्यसो गर्दा समस्या समाधानका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने औचित्य पुष्टि गर्न सकिने । कार्यक्रमले पनि निरन्तरता पाउने । आफ्नो सिटसमेत सुरक्षित रहने । समस्या देखाउने प्रवृत्तिका पछाडि अरू पनि तर्क छन् । समस्या समाधानका लागि जति लामो समय लगायो, उति नै बढी प्रतिवेदन लेख्नुपर्ने । ती प्रतिवेदनले कामको बोझ कम गर्ने । तलबभत्ता भने मिलिरहने । काम गर्ने त परियोजना देखाउने बेला, निरीक्षण गर्न आउँदा वा बजेट बढ्ने सम्भावना रहँदा मात्रै । पूरै विकास क्षेत्र नै आत्मनिर्भर र स्वतन्त्र छैन– जताजता बाहुन बाजे, उताउता स्वाहा । जता सहयोग बग्छ, उतैतिर कामकाज ढाल्नुपर्ने । आईएनजीओहरूले आफ्नै स्रोत भए पनि बहुपक्षीय र द्विपक्षीय संस्थाले दिने ठूलो रकमको व्यवस्थापकका रूपमा भूमिका निभाउन थाले । केही विद्वान्ले माथिल्लो तहमा अत्यधिक रकम थुप्रिने गरेको आरोप पनि लगाएका छन् । उनीहरूका अनुसार लक्षित समूहमा भने चुहिएर मात्रै रकम पुग्ने गर्छ ।
अक्सर एनजीओहरूको काममा दोहोरोपनाको समस्या देखिन्छ । एउटै काम धेरै संस्थाले गरेका छन् । त्यो कुरा सम्बन्धित एनजीओलाई पनि थाहा छ । तर, काम छाड्नासाथ उसले रोजगारी गुमाउनुपर्छ, जुन ऊ चाहँदैन । सबै काम–कारबाहीलाई औसत बनाइन्छ । अति सफल हुँदा रोजगारी नै गुम्ने डर । ज्यादै कमसल हुँदा फन्ड नै नपाउने जोखिम । दाता आफैँले पनि नेतृत्व छिटोछिटो परिवर्तन गरेर त्यो अवस्था बनाउँछन् । हरेक तीन वर्ष वा त्यस्तै समयमा संस्थामा नयाँ निर्देशक ल्याउँछन् । नयाँ निर्देशकसँगै नयाँ एजेन्डा भित्रिन्छ । काम गर्ने तौरतरिका र अभिरुचि बदलिन्छन् । त्यसरी आउने हरेक नयाँ नेतृत्व अनुकूल नेपाली कर्मचारीले आफूलाई ढाल्नुपर्ने हुन्छ । यसको उदाहरण हो, नेसनल भिजनिङ एक्सर साइजको सञ्चालन । यो विश्व बैंकका एक प्रमुखको प्रोत्साहनबाट सुरु भयो । तर, नेतृत्व परिवर्तन भएपछि त्यसलाई निरन्तरता दिन बजेट उपलब्ध भएन ।
सशस्त्र द्वन्द्वले विकासे क्षेत्रका सबै असफलतालाई ढाकछोप गर्यो । असफल गरिबी न्यूनीकरणको अभियानबाट सरेर द्वन्द्व समाधान र मानव अधिकारतिर खुट्टा राख्न विकासे संस्थालाई सजिलो भयो । कार्यक्षेत्र नगएरै महँगा होटलमा सेमिनार गर्न पनि छुटकारा मिल्यो । द्वन्द्वको मूल जरो गरिबी हो भन्दै छलफल गर्ने निहुँ पनि भयो ।
(नेपा~लयले भर्खरै प्रकाशन गरेको अर्थात् अर्थतन्त्र : नेपाली इलम र उद्यमको यात्राबाट । अर्थ मामिलामा कलम चलाउने शाक्य ने पाल आर्थिक मञ्चका अध्यक्ष हुन् ।)
सम्बन्धित
राष्ट्रको आर्थिक योजनाको मेरुदण्ड मानिने बजेटमा निश्चित व्यक्ति एवं घरानाको स्वार्थ हावी ह...
बजेटमा चलखेल, पहिलो घटना भने होइन
निश्चित व्यापारी पोस्ने ध्येयले भन्सार दर परिवर्तन गर्ने अर्थमन्त्री खतिवडाको व्यापारीसँग ...
गुलियो चकलेटभित्रको नमीठो खेल
लकडाउनको उकुसमुकुसमा अनौपचारिक क्षेत्रका श्रमिकहरू...
भाइरसबाट बच्न खोज्दा भोकै परिने डर
गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाएर गाउँ फर्किएका युवालाई कृषि पेसामा प्रोत्साहन गर...
खाद्यान्न बढी फलाउनेलाई नगदै पुरस्कार
सरकारले कोरोनापछिको अर्थतन्त्र चलायमान बनाउन स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारी सिर्जनाल...
आउँदो बजेटमा प्राथमिकताका तीन क्षेत्र
सय दिन नेपाली आकाशमा रहने मनसुनले अनुकूल वर्षा गराउने आकलन...