प्रजा परिषद्लाई माओत्सेतुङको सहयोग
विसं ००७ को क्रान्ति सफलतापूर्वक सम्पन्न भएपछि रौतहटका धेरै गाउँमा शिक्षा प्रचारको अभियानै चल्यो।

त्यति नै बेला टंकप्रसाद आचार्य र रामहरि शर्मा प्रजा परिषद्को राजनीतिक-सांगठनिक विस्तारका क्रममा रौतहट पुग्नुभएको थियो। उहाँहरू मसँग सम्पर्क गर्न आउनुभयो। उहाँहरूको अनुरोध र आग्रहपछि म पनि प्रजा परिषद्को सदस्य भएँ। अनि, हामीले जिल्लामा प्रजा परष्िाद्को सांगठनिक संरचना खडा गर्यौँ। छोटो समयमै म उहाँहरूको भित्रियासमेत बन्न पुगेँ। त्यसपछि त मेरा लागि काठमाडौँस्थित आचार्यको घर आफ्नै घरजस्तो लाग्न थाल्यो। समयको कुनै पाबन्दी रहेन। जति बेला पनि उहाँको निवास मेरा लागि खुला थियो।
१३ माघ ०१२ मा उहाँ प्रधानमन्त्री भएपछि त मेरो आवतजावत झन् बाक्लो भयो। मलाई उहाँ बडो इज्जत दिनुहुन्थ्यो। खोपीको मान्छेजस्तै व्यवहार गर्नुुहुन्थ्यो। प्रधानमन्त्री भइसकेपछि उहाँले जिल्ला न्यायाधीश बनाउन भरमग्दुर प्रयास गर्नुभयो। उहाँलाई मेरो प्रश्न थियो, "घूस खान दिनुहुन्छ भने म न्यायाधीश बन्छु।" किनभने, त्यस बेला न्याय सेवा घूस र नजरानाले ज्यादै बदनाम थियो। प्रधानमन्त्रीजस्तो व्यक्तिले 'घूस खान दिन्छु' भन्ने कुरै भएन। म पनि जिल्ला न्यायाधीश भइनँ।
यसैबीच उहाँलाई चीन भ्रमणको निम्तो आयो। भ्रमणका दौरान माओत्सेतुङले प्रजा परष्िाद् पार्टी सञ्चालनार्थ ६ लाख भारतीय रुपियाँ सहयोग दिनुभएछ। त्यति बेला मुलुकमा नेरु -नेपाली रुपियाँ)को चलन थिएन। नेरुको प्रचलन त आचार्यले सुरु गर्नुभएको हो। एक सय भारुको १ सय २८ नेरु कायम गरी मुलुकभरि ने पाली मुद्रा उहाँकै कार्यकालमा सञ्चालनमा आएको हो।
चीन भ्रमणबाट फर्केलगत्तै उहाँले त्यो सहयोग राशि कसरी पार्टी सञ्चालनका निम्ति खर्च गर्ने भन्नेबारे सल्लाह गर्नुभयो। धेरैले धेरै किसिमका सल्लाह दिए। मैले भने पार्टीका नाममा अचल सम्पत्ति जोडेर आर्थिक उपार्जनको जोहो गर्नुपर्ने सुझाव दिएँ। त्यति बेला हालको पद्मोदय हाई स्कुल रहेको पुतलीसडकको जग्गा प्रतिरोपनी १४ हजार रुपियाँमा बिक्रीमा थियो। राणाहरूमा आफ्नो सम्पत्ति बेचेर भारत जाने होड थियो। त्यसै क्रममा झन्डै चार रोपनी जग्गा जनकशमशेर राणाले बिक्रीमा राखेका थिए। मैले आचार्यलाई त्यही जग्गा किनेर एक रोपनीमा पार्टी कार्यालय, एक रोपनीमा अतिथि आवासगृह, एक रोपनीमा उहाँका सन्तानसम्मले भोगचलन गर्न पाउने तर अचल सम्पत्ति भने पार्टीकै हुने र एक रोपनी जग्गामा भवन बनाएर भाडामा लगाउने सल्लाह दिएँ। उहाँ त जंगिनुभयो, "छिमेकी मित्रराष्ट्रले पार्टी चलाउन दिएको पैसाले घर बनाउने? जग्गा किन्ने? हुँदैन।"
त्यसपछि उहाँले त्यो सहयोग रकम त्यस बेला खुकुरी दलका नामले चर्चित भरतशमशेर राणाको गोर्खा परष्िाद्को प्रभाव कम गर्ने र आफ्नो प्रभाव बढाउने उद्देश्यले पार्टीको प्रचारप्रसारका निम्ति खर्चनुभयो। हङकङबाट केही थान लिथो मेसिन, टाइपराइटर र माइक झिकाउनुभयो। जोडतोडले पार्टी प्रचारको काम भयो। गोर्खा परष्िाद्का केही कार्यकर्ता पैसा दिएरै भए पनि किनियो।
भरतशमशेर ज्यादै चलाख थिए। आफ्ना मान्छेलाई आचार्यका कार्यकर्ता बनाएर प्रजा परष्िाद्मा प्रवेश गराउने काम ज्यादै चलाखीपूर्ण तरकिाले गरेका रहेछन्। त्यस्ता कार्यकर्ता प्रजा परष्िाद्का जिन्सी सामान हात पर्नासाथ गोर्खा परिषद्मै फर्किहाल्थे। यसरी प्रजा परष्िाद्को नगद र जिन्सी सामान लिएर थुप्रै कार्यकर्ता गो रखा परिषद्मा फर्किए। समयक्रममा प्रजा परष्िाद्का धेरैजसो जिन्सी सामान गोरखा परष्िाद्का सम्पत्ति बने। झन्डै डेढ लाख रुपियाँ पार्टी प्रचारप्रसारका नाममा महामन्त्रीका रूपमा कार्यरत भद्रकाली मिश्रले लिए। तर, मिश्रले त्यो रकमबाट पुतलीसडकमा आफ्ना नाममा ६ रोपनी जग्गा किने। पार्टी चलाउन दिएको अलिकति पैसा आचार्यले रामहरि शर्माकी छोरीको बिहेमा खर्च गरे। अन्य सबै रकम गोरखा परष्िाद्का कार्यकर्ता किन्नमै खर्च भयो। पछि त आचार्य नै टाट पल्टिए। पार्टी पनि रसातलमा भासियो। ०१५ सालको चुनावसम्म आइपुग्दा नपुग्दै प्रजा परिषद् शिला खोज्नुपर्ने अवस्थामा पुग्यो ।